Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नरेन्द्रजंग पिटर संगको भलाकुसारी- शेखर ढुंगेल

नरेन्द्रजंग पिटर संगको भलाकुसारी- शेखर ढुंगेल

नेप्लिज डायस्पोरा

२५, आश्विन २०८१
images
नरेन्द्रजंग पिटर संगको भलाकुसारी- शेखर ढुंगेल

जीवन सफल असफल के भयो जस्तो लाग्छ ? 
सूत्र वा अङ्कगणितका भाषामा यसको उत्तर हुँदैन । सफलता र  असफलताको मानक समवेदनासँगै जोडिन्छ । अनुभूतिका अन्य तराजु हुँदैनन् । प्रश्न वा जिज्ञाशा तपाइका- उत्तर, अनुभूति र विश्वास मेरा । हो, म जवाफ मार्फत सार्वजनिक विषय प्रव्रश गर्न चाहान्छु । दोबाटोमा पुगेर जीवनपथमा  लम्कँदा पुगिने गन्तव्य कालान्तरमा जीवनगाथा बन्छन् । यात्रासँगै अनुभव थपिँदा महत्वकाङ्क्षा पुरागर्न उठाइने जोखिम र परिणामले सफलता र असफलताको फैसला गर्छ । मानिससंग अपार क्षमता हुन्छ, तर त्यसलाई कति उपयोग, उपभोग गर्न सकिन्छ भन्ने कुरा परिवेश र इच्छाशक्तिमा भरपर्छ । मान्छे भित्र एकैपटक असंख्य मान्छे सकृय हुन्छन। आँखा, दृष्टि, नेत्र र नजर एकैजस्तो भए पनि त्यसका संवेगात्मक अर्थ ज्ञानको क्षेत्रफल अनुसार हुन्छ । विश्वासका आधार पनि  जीवन र जगतलाई बुझ्ने क्षमता र आलोचनात्मक चेतले निर्धारण गर्छ ।    सफलता र असफलता बीचका दूरी एउटा रौँ जतिकै  फरक हुन्छन । सन्तुष्टि केमा ? भन्ने विषयले किटान गर्छ । सफलता र
असफलता कसका नजरबाट भन्ने कुरा हो ? म सन्तुष्टि छैन । हरेक सन्तुष्टिले निष्कृय जिन्दगीको माग गर्छ, म सकृय जिन्दगीमा रमाउँछु ।

अर्थ आर्जनको सपना कुन उमेरसम्म देख्नु पर्छ जस्तो लाग्छ ?
धन चाहिन्छ । तर धन, रूप र सत्ता असाध्यै चञ्चल हुन्छन । तिनले  मान्छेमाथि  राजगर्दा घमण्ड र अहंकार बढेर मानवलाइ विमानवमा फेरिदिन्न्छ ।   सपना मानिसले जीवनभर देख्नुपर्छ, उमेरले छेकवार लगाउनु हुँदैन । तर, सपनालाई विपनामा फेर्ने परिस्थिति तयार गर्ने आँट, सहितको योजनामा भर पर्छ । जीवनका सपना अर्थआर्जनमात्र सीमित हुँदैन । अर्थअर्जन केका लागी भन्ने प्रश्न मानवीयतासंग जोडिन्छ ।  अर्थोपार्जनमा मात्रै जीवन खर्चिनेहरूमा मानवीय संवेदना र सौन्दर्यपना उमेरसंगै रित्तिदैजान्छ । एउटा उचाइमा पुगेपछि उ सोच्न थाल्छ -अाखिर किन  राजामहाराजाका छोडेर  कोहीपनि कसैका उत्तराधिकारी हुँदैनन् ! तब  वैराग्य चल्न थाल्छ । वैराग्यका कारणमा कुनैपनि धनाढ्यले मानवसभ्यतामा उल्लेख्य पात्र नदेखिनु हो । धन र शक्ति अार्जनमा मान्छे सकृय पार्ने अत्यन्तै शक्तिशाली उर्जा हुन्छ । साथसाथै  मानवीय चेत र बन्न साधनाले संसारमा दुःखका कारण के, के हुँन ? किन संसारमा युद्ध हुन्छन ? किन मान्छेले मान्छे नखाओस् भन्ने सोचले ललकार्छ पनि । सत्ता, सम्पत्ति र सन्तान मोहले मान्छे अमानविय बन्छ  । भ्रष्ट हुन्छ । खलनायक बन्ने तत्वबारे जान्दाजान्दै पनि नायकहरू आफ्नै मलामी किन बन्न जान्छन् ?  भन्न सकिँदैन । द्रव्यमोह, सन्तान मोहलाइ द्रव्यत्यागीहरूले केही शिक्षा दिन सक्लान् ?

 

अर्थार्जनको सपनाका कुरा गर्दा केही चर्चा गरैँ-   म गेट्स,वारेन वाफेटको कुरा गर्दै छैन । वैदिककथाका माहादानी को पनि चर्चा गर्दै छैन । अति खति हुन्छ । भारत गुजरातको भारूच जिल्लामा जन्मिएका प्रकाश शाह आईआईटी अध्ययनपछि रिलायन्समा कम्पनीमा जोडिएर उपाध्यक्ष रहे । वार्षिक  एक अर्ब २५ करोडको प्याकेज तलब थियो । उनी श्रीमती नयानावेन सहितै सम्पूर्ण सम्पत्ति दान गरेर जैन भिक्षु बने । उनका छोराले ७ वर्ष पहिल्यै सन्यास लिइसकेका थिए । -भारतका वारेन बफेट भनिने राकेश झुनझुनवाला ४० हजार करोड व्यापार साम्राज्यका मालिक थिए । उनी कमाइको एक तिहाइ समाज सेवामा खर्च गर्थे । उनको पाँचसय करोडको रेयर फाउन्डेसन छ । उनको यसैसाल १४ अगस्टमा निधन भयो ।
-मलेसियाका तेस्रा धनाढ्य आनन्द कृष्णनका छोरा वेन अजहन सिरिपान्यो वौद्द भिख्खु बने । उनलाई संसारभर खोजीँदा थाइल्याण्डको सुदूर दताओ दुम मठमा भिक्षुको रूपमा भेटियो । आनन्दको घर फर्काउने र व्यापार साम्राज्य सम्हाल्ने अनुरोध भिख्खु अजहनले अस्वीकार गरे ।

-अर्थ सपनाबारे सोधी हाल्नु भो । सोच्छु — अर्थ सपना कसरी आँउछन् ?  तिनीहरू उम्रिने, हुर्कने,फैलिने, झाँगिने र व्यक्तिगत वा सामाजिक जीवनमा तीनले पार्ने असरबारे गम्छु । सपना पनि कहिलेकहीँ कस्तो, कस्तो देखिन्छ ! उफ ।   धेरै सपनाहरू जिन्दगीका कुनै न कुनै प्रत्यक्ष वाअप्रत्यक्ष दिल र दिमागमा छिपेका, जैविक गुणमा रहेका, पुर्खाका कथाव्यथा, आफ्नै डाँडा, पाखा,पखेरा, बालसखा, सांस्कृतिक विरासत, अतृप्त चाहना, अध्ययन, चिन्तन, मनन, बहस, छलफल,कल्पनामा रहेका विषय नै आउने हुन  । बाउआमाका अतृप्त चाहनाका सन्तानले जीवनमा बोकिरहनु परेझै सपना पनि हुन्छ । आफ्नु जीवनलाई पनि स्वयंले जिउनु नपाएर मान्छेसामाजिक बन्धनमा पर्नु र जीवनका फैसला पनि अरूले गरिदिनु विवशता झेलीरहेको पनि हुन्छ । हो, स्तर अनुसारकै जीवन मात्रै हैन, सपना पनि हुने गर्छन ।
अर्थअर्जन सपना  अवचेतन मनमस्तिष्क र भौतिक सुखसुविधाका लालसाले पैदा गर्छन । अहिले खुशी बेचेर सुख खोज्न भाैतारिने समाजको ठूलो हिस्सा छ । हाम्राजस्तो देशमा सरकार अभिभावक नभएकाले धन नै वृद्धावस्था  इन्सुरेन्स भएकाले अर्थसपना देखिनु र रुमल्लिनु स्वभाविकै हो । अर्थसपना शारीरिक र मानसिक स्वस्थ भइन्जेल सकृय हुन्छ, सपना र लालसा अशक्ततामा पनि हुन्छ। खर्बपति कल्वमा उमेर ६० कटेपछिका पनि धेरै  छन् ।
व्यक्तिका हैसियत, ज्ञान र सूचनामा पहुँच, त्यसलाई ग्रहणका क्षमता अनुसारकै सपना, विश्वास र भूमिका हुन्छन । कतिपय सपना प्रेरणादायी, सुखदायी, चुनौतिपूर्ण हुन्छन भने कतिपय कहालीलाग्दा । सपनाले अतालिएर हृदयघात हुनेहरू संसारमै धेरै छन । सपना फलका व्याख्याताहरू आदिकालदेखि नै रहँदै अाए । आधुनिककालमा पनि श्रेष्ठ मनोविज्ञानबीच सपना र मानवचेतबिचको भाव, सम्बन्ध खोज्ने प्रयासरत छन । जीवहरूमा मान्छे धेरै कम्प्लिकेटेड  जात हो ।  विज्ञानले अझै प्रमाणित नगरिसकको उस्को मस्तिकको क्षमता र खेल अनौठो छ ।

जन्मेको समाजलाई देशलाइ के योगदान दिए जस्तो लाग्छ ? केही बुँदागत ?
संसारमै राजनीति सीमा मेटिँदै मान्छे क्रमशः विश्व नागरिकमा फेरिँदैछ । सूचना र प्रविधिले भिषारहित विश्व बनाइसक्यो । धर्म र राष्ट्रियता मुर्खहरू या सत्ताप्यासाको अन्तिम सरणस्थली बनिराखेको छ । तर, म को हुँ ? भन्ने प्रश्नले कोख, जन्मभूमि, भाषा र संस्कृतिले महत्व राख्छ।  एक्टिङ लोकली, थिङ्किङ गोल्बलि भविष्यको विश्व समाज हो ।
-क)अफूले पाएका ज्ञान, क्षमता र हैसियत जन्मभूमिले मागीरहेको हुन्छ ।क)
ख)  प्रवासिएका हरेक व्यक्ति जन्मभूमिका अवैतनिक राजदूत हुन\ हुनुपर्छ ।
ग) जिन्दगी जिउने र भोग्नेक्रममा निभाएका व्यक्तिगत र सामाजिक भूमिका नै योगदान बन्छन्। योगदाननै गराैँ भनेर कोही पनि भूमिकामा हुँदैन, दायित्व निभाउदै जाँदा त्यो योगदान बन्छ । योगदान विज्ञापन बन्न सक्दैन ।

जीवनको मुख्य प्राथमिकता के हुनु पर्ने रहेछ भन्ने अनुभूति भयो आज आएर ?
निजी र पुँजीमा अत्यन्तै व्यक्तिवादी सोचले ग्रसित थिँए । संगत, बसाइ, ज्ञान र अनुभवका क्षेत्रफल फैलिदैजाँदा सोच र सपनालाई पनि असर पार्दो रहेछ । परिस्थिति र मनस्थितिले विश्वास र अभ्यास पनि फैलिने वा खुम्चिएर सुन्दरता,  सत्य,  विश्वास,  मान्यता अनुसार भूमिकामा उत्रिँइदो रहेछ  । सत्य पनि समय र अनुभवसंगै फेरिँदो रहेछ ।
ज्ञानका एउटा क्षेत्रको विकासले अर्को क्षेत्रको समृद्दि असर पार्दोरहेछ ।  जिज्ञासा र विवेकको अन्तरघुलनले हिजोका सत्य खारेजहुँदै नयाँ सत्यले जीवनमा प्रवेश गर्दैजाँदा प्राथमिकता पनि फेरिँदैजाँदा रहेछन् । सभ्यताका विकासमा ज्ञानका भूगोल पनि त्यहीका हावापानी, उत्पादनका साधन, श्रोत र स्वामित्वले प्रभाव पार्दोरहेछ । नयाँनयाँ आविष्कारले मानवमस्तिष्क फराकिलो हुँदैजाँदा सूचना र प्रविधि विकाससाथै सभ्यताहरू नजिकिँदै जाँदोरहेछ । भाषा अव समस्या रहेन । अनुवाद गर्ने धेरै एप्स आइसके । खोजी टुल्स पुस्तकालय बन्यो । संस्कृतिबीचमा अन्तरघुलन हुँदैगयो । तव सत्यम्, शिवम्, सुन्दरम्‌का अर्थहरू पनि फेरिँदैजँदा जिज्ञासाले निकास खोज्दै गयो । लक्ष र सपना  प्रभावित हुँदै गए । विज्ञान कथामाला उल्लेखित टेलीप्याथी र मानव मस्तिष्कका बिचको सम्बध अझै प्रमाणित छैन् । सौर्य मण्डलमा जीवन छैन भन्ने ठोकुवा गर्नु मुर्खता हुन्छ । अझ विभिन्न रूपका शरीर भएका सचेत प्राणी हुन सक्छन । थाहा नपाँउनु, नहुँनु हैन रहेछ । जीवशास्त्रमा एलियनजस्तो अन्य ग्रहका जीव चर्चा भैरहेका छन । ब्याकहोलको रहस्य स्टेफन हकिंङसले खोलिदिए ।
जसरी क्षुद्रग्रह मेक्सिकोमा विष्फोट सहित डाइनासोर लगायतका प्राणी लोप हुनु र सांग्ला प्रजाति भने रहनुले अध्ययनलाई अझ प्रोत्साहित गर्छ । निदाइरहेका मानिस, पशुका अनुहारमा अाउने परिवर्तन भाव सपनाकै प्रभाव हुन । अहिले ब्रेन म्यापिङ हुन थाल्यो र सपना देख्ने क्षमताको पनि । म असल बाउ, असल श्रीमान, असल राजनीतिज्ञ, असल प्रमी , सफल लेखक, असल र पूर्ण नागरिक बन्न सकिन ।  कम्प्लिट म्यान बन्ने कोसिसमा कम भएको जस्तो लाग्यो । अझै आफू योग्य विद्यार्थी बन्न नसकिरहेको झै लाग्छ । सातैदशकके जीवनयात्रामा धेरै समय समुचित र उन्नत जीवन अभ्यास गर्न नसकेको अनुभूति भैरहेको छ ।

५ अतीतका ५ पीडा ५ सुखदायी र ५ सँधै सम्झनामा आउँदा भित्र भित्रै हाँसो उठ्ने बच्चा हुँदा गरेको उटपट्याङ काम ?
म अत्यन्तै गरिब परिवारमा जन्मे हुर्केको  धार्मिक मान्छे । कोखले म जैसीबाहुन परिवारमा जन्मे। जैसी वाहुनमा भताहा जातको समस्या हुन्छ । निरक्षर बाआमालाई धर्मशास्त्र सुनाउन मैले पढ्न पाएको हुँ । असाध्यै धर्मप्रति श्रद्धालु थिए । बिहा, ब्रतबन्ध र पूजामा सिलोक दोहोरी खेल्थे । बच्चै महाभारत, रामायण, देवी भागवत स्वस्थानी पढेको, बाचेको । एउटा शब्द बिग्रँदा  सिधा नर्कैमा जानु पर्ने स्वस्थानीले दिएको आतंक भनिसाध्यै छैन । स्वस्थानीले मेरो जीवनयात्रा फेरिदियो । वैदिक साहित्य र धार्मिक ग्रन्थ छुट्याउनै सक्या थिइन । मान्छे बाउ मरेको बिर्सन सक्छ, पैत्रिक सम्पत्ति हरण बिर्सन सक्दैन । हामी जालीबाट जमिन नापीमा  लुटियाैं । मध्यमवर्गबाट फेरी तन्नम गरिबीमा झर्याैं । मुक्तिका लागी  भाकल गरीँ, ठालु गुहारीँ, अड्डा अदालत गँई ।   मेरा बाबाआमाको अंशमा कसैको एकथोपा आँसु र रगत परेको थिएन । बाँझो चपरी पल्टाएर मध्यम वर्गीय किसान बनेका थिए । जव लुटियाैं तव ममा धर्म, कानुन र सत्तामाथीको विश्वास हरायो । धार्मिक ग्रन्थ च्यातेर आची पुछीँ । ठोकेँ -अपराधीलाइ । कानुनबाट बच्न पलायन भैँ । म एउटा मान्छे हुँ, जीवन जिउनेक्रममा धेरै सकार र नकार काम गरेको छु । म आदर्शवादी मान्छे हैन तर कमजोर पक्ष भन्न चाहन्न । म गान्धीजति इमानदार र नेहरूजतिको छली बन्न सक्दिनँ । म निजी जिन्दगीबारे लेख्ने चार्ली च्याप्लिन् भन्दापनि जिकज्याक रुसोले सत्य नजिक लेखे, सोच्छु । कमजोरी तुरुप थापिने समाजमा सेल्फ सेन्सर मान्छे गर्छ । मान्छेका भावनाको समग्र चित्र कोर्न शब्द हुँदैनन्, इमानदार नै बन्न चाहे पनि । माफ गर्नुस् ।

देशको लागि एउटा असल नागरिकको कर्तब्य निर्वाह गर्न सक्षम र सफल भए जस्तो लाग्छ ? केहि उदाहरण भए ,,,
यि धेरै अदर्श कथन वा कविका कुरा भए । योजनमै कसले गर्ला भन्न सक्दिन । तर समयसंगै मान्छे त्यो भूमिकामा भने पुग्छ । लेर्मेन्तोभले लेखेका छनः बिद्रोही खोज्दछ अधीँमानै त्यहाँ शान्त छ । उमेर र निभाएको भूमिका फर्केर नियाल्दा म असल राष्ट्रिय नागरिक र वैश्विक नागरिक बन्न नसकेको र प्रयासरत मान्छे भने पक्कै हुँ । मसंग अल्पज्ञान, अग्रह र साँघुरो ज्ञानक्षेत्र भएकाले अझै अन्धविश्वासलाइ पुरा त्याग्न सक्या छैन । संस्कार र संस्कृति फेर्न ज्यादै कठिन पर्दो रहेछ, वंशको असर(जिन) पर्दोरहेछ । अफैलाइ मान्छेबाट मानव बन्न प्रयासरत छु । भिडबाट नजोगिइ मानवबन्ने प्रकृया गाह्रो हुँदोरहेछ । सामाजीकीकरण हुनु भनेको भिड हुँनु हैन । राजनीतिक र सास्कृतिक चेत विहिनमान्छेमा मानविय उर्जा हुँदैन। कम्प्लिट सिटिजनलाइ वेवास्ता गर्ने अनुमति हुँदैन ।

म पार्टिगत राजनीतिमा ४ दशक रहेर अहिले राजनीतिक आन्दोलन र सकृयता त छु तर राजनीतिक नाइके र  मालिक भने कोही छैनन् । संसारका हरेक भूभागमा भएका अन्याय विरूद्धको आन्दोलनमा सरिक हुन्छु । करपोरेट राजनीति, साम्राज्यवादी भूमिका, श्रम शोषण विरुद्ध उभिन्छु । धार्मिक शोषणको विरुद्ध खडा हुन्छु । सार्क क्षेत्रमा श्रेणीगत मान्छे बनाउने मनुस्मृतिको विरुद्ध सकृय छु । लेखनमा, सडकमा, जुलुसमा मेरो सकृय उपस्थिति हुन्छ । मूल्य बेगरको आदर्श प्रलापलाई घृणा गर्छु ।

जीवनको प्राकृतिक गन्तब्य (मृत्यु ) कति बर्षमा होला जस्तो सोच्नु हुन्छ  ? कारण भए र अन्तिम दिन कस्तो रहोस् जस्तो लाग्छ ?

शारीरिक उमेर भन्दापनि मानसिक सकृय रहँदारहँदै मर्न पाइयोस् । आफूले पाएका ज्ञान, अनुभूति र  अभ्यास पुस्तान्तरण गर्न पाइयोस् ।  एउटा पुस्ताका अनुभूति अर्काले सोही स्तरमा गर्न सक्दैन, नदि त्यही भएपनि पानी त बगिसकेको हुन्छ । अन्तिमदिन सचेत अवस्थामा  बोल्दाबोल्दै, शारीरिक सक्षम हुँदानै होस् भन्ने चाहना हो । तर त्यो आफ्ना चाहनामा भर पर्दैन । उफ ।

ईश्वर प्रति आस्था विश्वास राख्नु हुन्छ ? पर्छ वा राख्नु हुन्न वा विश्वास गर्नु हुन्न ? कारण भए ।

म कुनै इश्वर, अल्लाहा वा गड छन भन्ने विश्वास गर्दिन । मैले स्वर्ग वा नर्क (जन्नत वा जहन्नुम) गएर फर्केर आएको संसारमै कुनै मान्छे भेटेको, देखेको वा सुनेको छैन । भगवान, गड र अल्लाह भेटेका पुरोहित, पास्टर र मौलवी पनि देखेको छैन । कार्य, कारण र परिणाम एक आपसमा जोडेर हेर्छु । कथनी र करनी सम्मन्धमा किन र कसरी भन्ने कसी लगाएर मात्रै विश्वास गर्छु । अनुयायी बन्छु ।  हरेक धर्ममा  किन र कसरी भन्ने आलोचनात्मक चेत निषेध गरिन्छ । सभ्यता विकासका क्रममा भूगोलका विशिष्टतामा सामाजिक कानुनका रूपमा धर्म र दर्शन विकास भए र संस्कृति बन्दै गए ।  संस्कृतिको अड पाइँदैनथ्यो भने धर्मको अयु तत्काल सकिन्थ्यो । धर्मले सामान्यजनलाई मनोवैज्ञानिक उपचार र आत्माबल भने दिन्छ । विज्ञानले रहस्य खोतल्दै जाँदा धर्मको अव आवश्‍यकता रहेन । म ६६ वर्षीय युवा हुँ, १६,१७ वर्षीय वृद्ध हैन । म विज्ञानको भाषामा जीवन र जगतसँग संवाद गर्छु । जव यो धरतीमा जीवन छ, अन्य ग्रह वा अन्तरिक्षमा पनि जीवन होला भन्ने कल्पना गर्छु। भावना र अवचेतन मस्तिष्कले जीवनका सत्यलाई नेतृत्व गर्न हुँदैन भन्ने मान्यता राख्छु । अझ सार्क मुलुकमा त धर्मको आडमा मानव सभ्यताको कलंक जाति ब्यवस्था छ । मनुवादले नै चेतनाको  नेतृत्व गरेको छ । यसैलाई धर्म भनिन्छ । धार्मिक हिंसालाई शक्ति प्यासाहरूले बढाएकोमारिस उठछ, प्रतिरोधमा उठ्नु कर्तव्य ठान्छु ।

यदि पुनर्जन्म भएमा के भएर जन्मने इच्छा राख्नु हुन्छ र हुन्थ्यो ?
पुनर्जन्मका विश्वास नै गर्दिन । यो प्रश्न मेरोलाई अर्थहीन छ । त्यसैले स्वर्गको चाहना र नर्कको आतङ्कबाट मुक्त छु । मेरो जन्म र हुर्काइ हिन्दु परिवारमा भयो । त्यसमा ८४ लाख योनीमा पुनर्जन्म भनिन्छ । बाआमाको मृत्युपछि गरुड पुराण सुनेँ, म राैरव नर्कको मानसिक आतङ्कबाट मुक्त छु ।

जीवनमा आजसम्म सम्पर्कमा आएका मध्य कति ५ लाई खुसी पार्न  सफल र कति ५ लाई दुखी पार्नु भयो ? कहिले आत्म मूल्यांकन गर्नु
पर्छ जस्तो लाग्छ  ? छोटकरीमा अनुभव ,,,
भूमिका अनुसार समाजमा सम्बन्ध हुन्छन । कर्मले मान्छेलाई नजिक्याउँछ, टढ्याउछ । विश्वास, सकृयता र पक्षधरताका आधारमा मित्र र विमित्र तयार हुन्छन । बिचमा रहने र धारणा नबनेका, नबनाइएका ब्यक्तिहरू पनि समाजमा हुन्छन । तिनै पक्षसँग सरोकार रहन्छ । त्यसैले खुशी र दुखी भइन्छ । त्यसको लेखाजोखा गरेको छैन ।  सभ्यता विकासमा सामाजिक हस्तक्षेपले क्रमभंग भएर नित्य नयाँ समाज बन्छ भन्ने विश्वस्त छु । त्यस सामाजिक टकराहटमा मित्र र विमित्र तयार हुन्छन । सम्पर्कमा खुशी पार्न सकेका र दुखित भएका हुन्छन । प्रतिशत भन्न सक्दिनँ । बहुजनहिताय, बहुजन सुखाय मै जीवन सक्रियतामा पारीँ भन्ने सोच्या छु ।

अहिले स्वेच्छिक मृत्युवरणको इच्छा वा माग को चर्चा चलेको छ हजुरको बिचार के छ रु र
कस्तो अवस्थामा यो सोच स्वीकार्य हुनु जरुरी छ वा हुँदैन ?
मृत्युपछिको शरीर (क्याडभर) विज्ञानका अध्ययनार्थी वा कामलाग्ने अंग अरूले प्रयोग होस् भनेर मैले मेडिकल कलेजमा दान दिएको छु । अंग बैक अहिले नभएकाले क्याडभरले पनि जीव विज्ञानलाई सहयोग पुग्ला भन्ने सोचेको छु । नारायणी नदी पश्चिम मृत्युपछि शरीर दान दिने पहिलो दाता हुँ । समस्या छः दान त हामीले दियौँ, परिवार साक्षी पनि बसेका छन्, तर विश्वविद्यालयलाई बुझाउन वाध्यकारी भने  छैनन् । हामी अहिले त्यसलाई बाध्यकारी कानुन बनाउन सदनमा लबिङ गर्दैछौ । थप विषयः स्वेच्छिक मृत्युको । स्वेच्छिक मृत्यु चाहना र आत्महत्या फरक विषय हो । जव मानिस सम्मानपूर्वक बाच्न सक्दैन, पाउदैन तब निश्चित प्रकृया पुरा गरेर मर्न पाउनु पर्छ । सिरियस अल्जाइमर, ब्रेन हेमरेज, कोमा, फोर्थ स्टेज क्यान्सर, पार्किन्सन्स जस्ता  बिरामीले स्थानीय जनप्रतिनिधि, अस्पताल, पुलिस प्रशासनले अनुमति दिएपछि स्वेच्छिक मृत्यु अधिकार उपभोग गर्न पाउनुपर्छ । जव जिन्दगी जिउनु अत्यन्तै कष्टकर हुन्छ तव मृत्यु सहज हुन्छ ।  यसलाई दुरूपयोग हुनबाट बच्न सामाजिक र प्रशासनिक जागरुकता  भने हुँनुपर्छ ।

  समाजशाश्त्रीहरु भन्छन् आधुनिक जीवनको सफलताको लागि क, अध्ययन ख, रोजगारी ग,
मनोरञ्जन घ, भ्रमण ण, अध्ययन छ, मानव सेवा ९, त्याग ०, हजुर यो कुरोमा कहाँ हुनु हुन्छ  ? के कति सम्पन्न भयो वा हुने छ ?
मान्छे मिसिन हैन । जीवन फर्मुलामा चल्दैन, ढाँचामा हाँकिँदैन् । उसलाइ मनोरञ्जन, भ्रमण, प्रेम, याैन, अध्ययन, मानवसेवा सबै चाहिन्छ । भावनाजन्य प्राणी भएकाले सबैले आकर्षण गर्छ । म जीवनयात्रा र विश्वासको विज्ञापन गर्न रुचाउदिन । माथि धेरै भनिसकेँ । विज्ञ र योग्य पाठकले मेरो सपना, भूमिका र चाहनाको ब्रेन म्यापिङ गरिसक्नु भएकाले थप भन्ने कुनै विषय नै रहेन । प्रेम त मानवलाइ अति अवस्यक मनोवैज्ञानिक रसायन हो ।

हजुर लाइ अनन्तसम्म यो समाज र देशले सम्झी रहने उल्लेख्य कुनै सुकर्म बताउन चाहनु हुन्छ?
म भैँमान्छे (सवाल्ट्रन) हुँ । सवाल्ट्रन इतिहासका निर्माता हुन् तर कतै ग्रन्थमा उल्लेखित  भने हुँदैनन् । कर्म व्यापार हैन, जसको फाइदा लिन गरिएको हुन्छ । मेरा करोडाैँ पितामह जस्तै म पनि यस धरतीमा अज्ञात भएरै बिलाउने छु । इतिहासले कसैलाई ब्याज खाने अनुमति तबमात्र दिन्छ जव उ विगतको गौरव, आदर्श, मूल्य, मान्यता, नैतिकता र सपनाको वर्तमानमा हकवाला पनि हुन्छ। मानिसको मूल्यांकन उसका विगतका योगदानमा नभै वर्तमानको भूमिकामा गरिन्छ ।  इतिहासले पनि नायक खलनायक छुट्याउदा पछिल्लो
भूमिकालाई आधार मान्छ ।

नेपालको सन्दर्भका सेना प्रहरी र प्रशासनमा अवकाश अवधि ६५  र६७ भए हुन्थ्यो जस्तो अनुभूति भएन ? अवकास पछिको समयलाई सदुपयोग गर्न अनेक विकल्पहरू खोज्नु पर्दा बिस्व विद्यालयका प्राध्यापकहरूलाई त् चाहरको स्वास्थ्यले साथ दिउन्जेल काम गर्न दिए उत्तम हुन्छ जस्तो लाग्दैन र?

नागरिक क्षमताको उच्चतम् प्रयोग राज्यले गर्नुपर्छ । व्यक्तिले पनि निजी जिन्दगीमा योग्यता, क्षमता र दक्षता अनुसार भूमिका तय गर्नुपर्छ । म यसबारे धेरै बोल्ने क्षमता राख्दिनँ । तर राजनीतिमा भने समयमै रिटायर्ड हुँदा त्यसले समाजमा सकारात्मक सन्देश दिन्थ्यो । निराश जनमतमा आशा र उर्जा थप्थ्यो । तर, हाम्रो देशमा भने दुर्भाग्य छ ।

images
प्रकाशित मिति :आश्विन २५, २०८१ शुक्रवार - २०:३८:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend