Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

गुल्नारा ( “विशृङ्खलित सपना” कथासङ्ग्रहबाट )

गुल्नारा ( “विशृङ्खलित सपना” कथासङ्ग्रहबाट )

नेप्लिज डायस्पोरा

२५, आश्विन २०८१
images
गुल्नारा ( “विशृङ्खलित सपना” कथासङ्ग्रहबाट )

गुल्नारा- गोपी मैनाली

गुल्नारा । यौवनमा मदमस्त फक्रिएकी कज्जाख युवती । झट्ट देख्दा नेपालका हिमसुन्दरी म्हेन्दो, डोल्मा, पासाङजस्ती । राता गाला, गालालाई हिउँ र घामको सङ्घर्षले फुटाउन खोजेझैँ लाग्ने मिहिन सुन्दर धाँजा । बाटुलो चेहरा, गोला र ठूला आँखा । नितम्बसम्म सलल्ल झेरेका कपालले सुुन्दरतालाई फहराइरहेको छ । उसको हेराइले पनि हाचिओजी सेन्टरका छात्रावासे केटाहरू भुतुुक्क हुन्छन् । उसको तोतेबोलीले केटाहरूलाई बाण लाग्छ । भुतुक्कै हुन्छन् ।

 

‘ओहायो गोजाइमास गुल्नारा’ । लबीमा कसैको प्रतीक्षामा आँखा बिछ्याइरहेकी क्लासमेटलाई बिहानीको अभिवादन गरेँ तर उसले सुनिन कि बुुझिन । न आकृतिको सङ्केत न शब्दको प्रतिक्रिया,भन्नेलाई नै लाज लाग्यो होला ।

लाक्यूले पनि अभिवादन ग¥यो ‘गुड मर्निङ् गुल्नारा’ । सेपालिका, कामिला, होसादा, सिन, फाङ, हक, आतुर, जमिल, नाकायामा, विरोल, सालेह, सोङसोङ सबै बिहानीको ग्रिटिङ्पछि मच्चिएर गफ गरिरहेका छन् । गुल्नारा न हामीलाई ग्रिटिङ् गर्छे न हसखुस मुद्रामा नै छ । साथीहरूको कुराकानीको विषय बनी गुल्नारा । लेमा र लाक्यू त रिसाउन पनि खोजे । म सम्झाउँदै छु– सुरु सुरुमा लजाएर नबोलेकी हुनसक्छ, किन टीकाटिप्पणी गर्ने ? जो जसरी रमाउन चाहन्छन्, रमाउन देऊन !

हतार–हतारमा ब्रेकफाष्ट लिएर हामीहरू कक्षाकोठातिर लाग्यौं । कक्षाको नियम कडा छ । फुर्सदको समय हसीमजाक गरेर, एक अर्कोसँग ख्यालठट्टा गरेर बस्नु हामीहरूको दैनिकी पनि, विवशता पनि । हामीहरूमध्ये सबै नै पहिलोपटक जापान आएका छौं । शिक्षा हासिल गर्नु त छँदैछ, जापानले गरेको अभूतपूर्व प्रगति पनि हेर्नुु, सिक्नु छ, । देश देशको विषयमा जान्नु पनि छ । विदेशी व्यक्तिहरूसँंगको साथीत्वले व्यक्तिगत र व्यावसायिक सम्बन्धका साथै जनस्तरको कुटनीतिले प्रश्रय पाइरेहको छ तर गुल्नारा सधैँ किन छुट्छे ? किन एक्लिन्छे ? जवान केटी त्यति सारो लजाउन हुन्छ ?कि हामीलाई इग्नोर गरेकी ?

ऊ पहिलो पटक लामो अवधिका लागि मुलुक बाहिर आएकी छ । होमसिक भएको त होइन ?ऊ निकै लजालु छ, अन्तर्मुखी पनि छ । उसको चेहराले रहस्य र सुन्दरताको कथा मौन सञ्चार गरेको छ । जमिल जस्तो उत्ताउलो, अविवाहित साथी पनि गुल्नारासँग केही बोल्न सक्दैन । आँखा जुधाएर हिँड्छ ।

गुल्नारा, अर्थात् आगोको लप्का, अनारको फूल, रसियन मुस्लिम नारीहरूका लागि रुचाइएको नाम । आगोको लप्कामा सुन्दरता पनि छ, जलन पनि । आफू जलेर अरूलाई पनि जलाउनु आगोको लप्काको विशेषता । मङ्गोलियन साथी बायरा रुसी भाषाको जानकार, मास्को, किभतिर पढेको । गुल्नाराको अर्थ उही बायराले लगाइदियो । साथीहरूले गुल्नारालाई अनारको फूल सम्झेनन्, आगोको लप्का नै सम्झिरहेका छन् । सितिमिति आगो अगि पर्न डराउँछन् ।

गुल्नाराको गम्भीर भाव, गहकिलो बोली, अकण्टक हेराइ, आँखाको गहिराइ आगोको लप्काजस्तै सुन्दर तर नजिक पुुग्दा डराउनुपर्ने खालका । नाम र स्वभाव कति मिलेको !

आज हामीहरूमध्ये धेरैजना छक्क परेका छौं । हाचिओजी केन्द्रको लवीमा जवान दा¥हीवाल केटासँग गुल्नारा मच्चीमच्ची गफिएकी छ । निक्कै मस्किएकी छ । उसको सुन्दरताले आज फक्रिने अवसर पाएछ । दा¥हीवाल केटा अर्को छात्रावासमा बस्ने, वन विज्ञानमा डिप्लोमा गर्न आएको सिरियाली सरकारको वनअधिकृत, रफिक सिद्धिकी ।

गुल्नारा र रफिकलाई दुुई कुराले नजिक्याएको छ । पहिलो दुवै मुस्लिम हुन्, दोस्रोएकअर्काको भाषा र संस्कृतिमा सामीप्य छ । मनोविज्ञानको शक्ति, फ्रायडले भने झैँ लिविडो शक्ति पनि होला ।

जापान सरकारको प्राविधिक सहयोग कार्यक्रम अन्तर्गत चार समूहको अन्तर्राष्ट्रिय तालिम डिप्लोमा सञ्चालन भइरहेको छ । हामीहरूउन्नाइस मुलकका पच्चिसजना अन्तर्राष्ट्रिय कर प्रणालीको नव्वे दिने डिप्लोमा तालिममा छौँ, गुल्नारा त्यसमध्येकी एक । रफिकको समूह वनविज्ञान विषयमा, अर्को समूह चिकित्सकको र अर्को समूह चाहिँ सूचना प्रविधिको । यी सबै तालिम नब्बे कार्य दिनका छन् । छोटा छोटा अवधिका अरूतालिमहरू पनि सञ्चालनमा छन् । अनुुभव आदान–प्रदानका कार्यक्रमहरू पनि चलिरहेका छन् । शिक्षाप्रणालीको विषयमा ज्ञान विनिमय गर्न विज्ञका रूपमा चुमानसिंह बस्नेतलाई निम्त्याइएको छ ।

घरपरिवार छाडेर तीन महिनाका लागि समुुद्रपार रहनु, दिनरात पढाइ, गृहकार्य, प्रोजेक्ट वर्कमा घोटिनु हामीजस्ता तीस काटेकाका लागि सजाय नै हो । परिवार, कार्यालय र कक्षाको तेहोरो चिन्ता । महिला साथीहरू फोटो खिचेर रमाइलो गरिरहेका छन् । कामिला र सेपालिका नयाँ ठाउँ पुुग्ने बित्तिकै, फुर्सद हुनेबित्तिकै फोटो खिचिहाल्छन् । दुुई हप्तामा कामिलाले पाँच हजार फोटो खिचिछ । पुरुष साथीहरू फुर्सद पाए पवतिर जान्छन् । हामीहरूमध्ये कतिपय डाउनटाउन घुमेर रमाउँछौं । पार्क र रेष्टुरामा गएर अल्मलिन्छौं । नब्बे दिन काट्ने उपायका आआफ्नै तरिका छन् ।

गुल्नारा अक्सर समूहमा सामेल हुन्न । सखारै उठेर लवीमा बस्छे, त्यही आइपुुग्छ दाह्रीवाल युवक रफिक । त्यही रमाउँछे, त्यही गफिन्छन् । खित्का छाडेर हाँस्छन्, गाला चिमोट्छन् । फुुर्सद मिल्दा लवी बाहिर साकुरा फूलमुिुन लठारिन्छन् । अँगालिन्छन् । हिँड्दा पनि रफिक गुल्नारालाई हातले छेकेर हिँड्छ । सायद भनिरहको होला –गुल्नारा मेरो हो है साथी हो ! हुने भए कक्षाकोठा बदलेर कर व्यवस्थापनमै आउँथ्यो होला । उनीहरूको यो प्रेमलीलाको सम्पूर्ण साक्षी यहीँको प्रकृति र वैजनी रङ्गका साकुरा हुन् । साकुरालाई जति उनीहरूको लीला कसलाई थाहा होला र ?

सालेह कक्षाकै अभिभावक, परिपक्व व्यक्तित्व । प्यालेस्टिन सरकारको कर निर्देशक । ऊ फाल्तु कुरा कहिल्यै गर्दैन, ईश्वरले अरूलाई सहयोग गर्न उसलाई जन्माएको हो भन्छ । जे प¥यो सक्ने सहयोग गरिहाल्छ । रफिकको प्रतीक्षामा रहेकी गुल्नारालाई देख्छ ‘गुड मर्निङ गुल्नारा’ तर उसले कुनै प्रतिक्रिया दिइन ।

भाषा नबुुझेर ? होइन, सामान्य भाषा पनि नबुुझ्ने भएअन्तर्राष्ट्रिय तालिममा कसरी छानिई ? अभिवादनलाई चाहिने सामान्य जापानी शब्दहरू सासाकी सानले सिकाइकी छन्नि!

सधैँ सकारात्मक सोच राख्ने सालेह भन्छ –होइन मैनाली ! गुल्नारा धेरै निस्सासिएकी छ । त्यसैले टोली भएकी । कक्षामा सेपालिका, कामिला, होसादा, सोङसोङसँग रहेर पनि त्यति कुरा गरिएको सुनिदैन । उसलाई होमसिकनेस भएको हुनुुपर्छ । तालिम प्रशासनलाई भनेर उसलाई रमाउने बनाउनुपर्छ । भर्खर विवाह गरेर आएका केटीहरू बौलाएका छन् रे विगतमा । तालिमको अभिलेख हेर न !
भारतीय साथी गोविन्द सिंहको तर्क अर्कै छ । मुस्लिम महिलाहरू हिन्दू, बुद्धिष्टहरूसँग त्यति खुल्दैनन् । हेर न मलेसियन कामिला अरूलाई मन घोच्ने यौनबाण दिन्छे तर इण्डोनेसियन वायुसँग मदमस्त इतरिएर बस्छे । उसको हेराइमा इन्दे्रणी ईष्र्या हुन्छ, बोलीमा मादकताको ढीठ । केटाहरूलाई आच्छुुआच्छुु पार्छे ।

होइन गोविन्द, सालेह त मुसलमान हो नि ! फेरि गुल्नारा कामिलाजस्तो बुर्को हाल्ने मुुस्लिम युवती पनि होइन, कज्जाख मुस्लिम । कति स्मार्ट गेटअपमा हुन्छे । प्रत्येक दिन पहिरन फेरेकै हुन्छे । तज्जाकी, अजरबैजानी, कज्जाख मुसलमानहरूसोभियत संघमा गएपछि मुस्लिम संस्कृति लगभग सकिएको छ । उनीहरू धर्मप्रति उदार छन् । सम्बन्ध, सम्पर्कमा उदार छन् । थोडै पाकिस्तानी, साउदी, अफगानीजस्ता हुन्छन् ? पूर्व सोभियत संघका मुस्लिम युवतीहरू कति फरासिला, फुर्तिला र हरेक विषयमा उदार हुन्छन् भन्ने कुरा बैंककतिर देखिन्छ । हेर्न जाउ त उनीहरूको चर्तिकला १ आधा बुर्काहाल्ने कामिला त केटाहरूका अघि मादक ग्लेमरमा तीखा बाण छाड्छे । गुल्नारा त कज्जाख महिला । जिउडाल पनि मङ्गोलियनजस्तो । नेपालका शेर्पिनी झैँ खाइलाग्दी । उसले नबताए कसले मुस्लिम भन्छ ?

मेरो कुरा गोविन्द सिंहलाई कति मन प¥यो कुन्नि तर उसले प्रतिक्रिया जनाएन । प्रतिक्रिया नजनाउनुको धेरै अर्थ असहमति हो ।
यत्तिकैमा मङ्गोलियन साथी बायरा दासछेरेन गुल्नाराका साथ आइपुुग्छ । केटाहरूको जमातलाई आकृतिको अभिवादन पनि नगरी गुल्नारा फटाफट बाहिर बगैचामा गई र रफिकसँग अँगालिई । त्यहाँ पनि धेरैबेर अडिएनन्, ढकमक्क फुुलेका साकुराका बोटमुनि पुुगे । रफिकको काखमा टाउको राख्दै गुल्नारा आफ्नै संसारमा हराई। रफिकले के आदेश जमायो, केहीबेरपछि दुवै अलप भए । कता गए कुन्नि !

साकुरा फूल गुल्नाराजस्तै ससाना आकारमा रूखभरि एकैचोटि फुुल्ने फूल हो । साकुरा एकै चोटि सर्वाङ्ग फुल्छ तर महिना दिन पनि रहँदैन, अर्को वसन्तमा आउने वाचामा हरियो बन्छ । गुल्नारा (अनार फूल)सँग साकुराको रङ्ग र आकारमा समानता छ । प्रवृत्तिमा पनि समानता छ । जापानी दम्पतिहरू साकुरा फुलेपछि त्यसैको फेदमा दिवा खाना खाएर मायाप्रीतिको उत्सव मनाउँछन् । साकुरा गहिरो प्रेमको प्रतीक हो । रफिकका लागि गुल्नारा आगोका लप्का बन्छे कि साकुराको फूल ?

बायरासँग भने गुल्नारा स्वाभाविक कुराकानी गर्छे । आज पनि ब्रेकफास्टमा गुल्नारा बायरासंँगै थिई । लेमा, फेलिक्स, जमिल, बाजिरोभहरू बायराको आरिसमा छन् । आफूतिर आकर्षित गर्न नसकेपछि सुन्दर केटीहरूको कुरा काट्ने केटा संस्कृति भनौँ कि पुरुष मनोविज्ञान । कुरा काटेर सुन्दरताको क्षतिपूर्ति लिन्छन् केटाहरू । जमिलले बायरालाई भनिहाल्यो –मोज गर बायरा मोज गर ।

बायराले रहस्य खोलिदियो –साथीहरू तिमीहरूलाई थाहा छैन, उसलाई भाषा (अङ्ग्रेजी) आउँदैन । विग्रला कि भनेर जानेको पनि बोल्न डराउँछे । कक्षामा पनि इसारामा प्रश्न गर्छे । म सोभियत संघमा पढेकोले रसियन राम्ररी बोल्छु, ऊ त पूर्व सोभियत संघकी नागरिक भइहाली । त्यसैले हामी रसियनमा कुरा गछौं । नजानेको कुरा ऊ रसियनमा सोध्छे, म जानेको बताउँछु । हाम्रो सम्बन्ध यत्ति हो । उसले जानेको भाषामा तिमी पनि गाइड गर्न सक्छौ । तज्जाक साथी सोविर वाजिरोभ पनि उसलाई सघाउँछ । नपत्याए सोध न !

बायरा भन्दै जान्छ –उसको खास मिल्ती भने सिरियन रफिकसँग छ । हेरौँ न उनीहरू कहाँसम्म पुुग्छन् । गुल्नारा आगोको लप्का बन्छे कि साकुराको फूल, त्यो तीन महिनापछि नै देखिन्छ ।

मेरो वाक्य फुस्किहालेछ – तीन महिनापछि त हामी आआफ्नै मुलुकमा हुन्छौं । न गुल्नाराको राप देख्छौ न साकुराको मदमोहकता ।
होइन मैनाली ! हामी कतै त रहन्छौँ नि ! संसार सानो छ, सूचना सञ्जालले पनि जानकारी दिन्छ । फेरि सरकारी कामको सिलसिलामा सिरिया वा कज्जाखस्तान जान वा हाम्रो मुलुकमा उनीहरू आउन पनि त सक्छन्नि!

मलाई अनौठो लागिरहेको छ । यति छोटो अवधिमा, आएको दुुई हप्तामात्र भयो रफिक त रौस–रमाइलोको लागि पनि गुल्नारासँंग नजिकिएको होला, गुल्नारा त केटी मानिस, त्यैपनि मुस्लिम केटी । यति छिटो जीवनको निर्णय गर्नुहुन्छ ? समर्पित हुनुहुन्छ ? सिरियाको कठोर मुस्लिम समाज, मुल्लाहहरूको बोलबोला भएको समाजमा अर्को मुलुककी केटीले जीवन निर्वाह गर्न सक्छे ? महिलाहरू प्रेमलाई अन्तिम बनाउन चाहन्छन् । बहकावमा आएर, रूप वा पैसा देखेर, आवेगमा आएर गरिएको निर्णय जीवनपर्यन्त कसरी टिक्छ ? विवाह विश्वासमा टिक्नुपर्छ । भगवान गुल्नाराको त्यो रापिलो सुन्दरताले आफैलाई भस्म नगराओस् ।

निहोन सिम्बोनले आज प्रकाशित समाचार अनुसार गत वर्षमात्र सात लाख दम्पतीले स्वेच्छाले दाम्पत्य जीवन विच्छेद गरेछन् । जापानजस्तो समाजमा दम्पतीबीच विश्वास विच्छेद हुने क्रम तीव्र रहेछ । सुख र समृद्धिमा सन्तृप्त जापानी समाज भित्रभित्रै खोक्रिँदै गएको रहेछ । यान्त्रिक र रोवोटिक बन्दै गएको रहेछ । विशेषतः महिलाहरू खुसीबाट परतिर पुुग्दै रहेछन् । यसो भने पनि भयो खुसीको खोजीमा भौँतारिइरहेका छन् । जापानिज वाइफ अमेरिकन लाइफ भन्ने कहावत अन्त्य हुँदै रहेछ । बाहिरबाट देख्दा जापानीहरू कति सुखी लाग्छन्, खुसी लाग्छन् । पुरुषहरू काम, काम, काममा छन् । कर्तव्य र काममा छन् । बालबच्चा र श्रीमतीलाई समय दिन नभ्याउँदा जापानी वाइफ खोक्रिँदै, निस्सासिँदै र निख्रिँदै गएका रहेछन् । भौतिक सन्तृप्तिले मनहरूलाई जोड्न, खुसी ल्याउन नसक्ने रहेछ । प्रोफेसर यामादा कक्षामा निराश भाकामा भन्दै थिए –जापानको समस्या भनेकै सामाजिक सम्बन्धको समस्या हो । पारपाचुके, पोपुलेसन एजिङ, लिभिङ टुुगेदरको समस्या हो । होइन भने हामी सधैँ सम्पन्न छौं । प्रविधि र आर्थिक आयाममा विश्व जितेर पनि हामी निराश हुने अवस्थमा छौँ । कोइजुमी सरकार यही निराशा कसरी तोड्ने भन्ने चिन्तामा छ ।

कोइजुमी सुधारका लागि निक्कै सचेत छन् । जापानी समुदायको विश्वास जितेर जनमुखी कार्यक्रमहरू ल्याइरहेका छन्, तर परिवार तहको विश्वास विच्छेद हटाउन उनले कसरी सक्थे ? सुख, समृद्धि र सन्तृप्ति भएपछि मानिसले आत्मिक सुख, प्रेम र शान्ति खोज्ने रहेछ । मनको तृप्ति मनहरू नजोडिएर कसरी प्राप्त हुन्छ र ?

के आन्तरिक र बाह्य सफलता अलग हुन्छ ? भौतिक रूपमा सम्पन्न देखिएका मानिस भित्रभित्रै जलिरहेका हुँदा हरेछन् । परिवार, बालबच्चा, साथीसङ्गाति सबै औपचारिक भएपछि काम र कार्यस्थलबाहेक के बाँकी रहने भो र ? देख्दा सुन्दर जापानी समाज रोबोटिक सभ्यताको विकास गर्दैछ । मानवता विस्थापित हुँदैछ । संवेग र हार्दिकताहरू हराँउदै छन् । निमानवीकृत समाज बन्दैछ । त्यसैले हार्दिकतामा होइन, कर्तव्यमा जीवन बाँचेको छ । निमानवीकृत, माया हराएको समाजलाई गुल्नाराको प्रेमले शिक्षा दिनुपर्छ । मनभित्र पनि छुट्टै संसार छ, छटपटी छ । रहस्य, आवेग र उदबुुदी छन् ।

शनिवार बिदा भएपनि सिन्जुकु र सिवुुया घुम्ने कार्यक्रम छ । सबैजना लबीमा तयारी अवस्थामा छन् । गुल्नारा आयोनोपोभा भने रफिकसंँग साकुरा बोटमुनि लाडिएकी छ । साकुराको वैजनी मोहकले गुल्नारा जोडी लठ्ठिएको छ । बिहानीको कलिलो घाम, साकुराको श्वेत–रक्तिम दृश्य र गुल्नाराको मन्द मुस्कानले बाहिरको वातावरण निकै मोहक देखिन्छ । सूर्योदयको देशमा गुल्नारा र साकुराले नयाँ दिनको थालनी गरेका छन् । प्रत्येक बिहान यसरी नै जीवनको सुरुवात गरेर मध्यरातमा टु्ङ्ग्याउँछन् । प्रत्येक दिन एउटा जीवन हो प्रेमीहरूका लागि । गुल्नारा हिन्दू केटीले लगाउने जस्तै फ्रकमा सजिएकी छ, रफिक भने सादा पैन्ट र ब्रान्डेड भेस्टमा । महङ्गा ब्रान्डेड पहिरनमा रहनु रफिकको विशेषता हो, यसले उसको खानदानी हैसियत देखाउँछ ।उसको सङ्गतपछि गुल्नारा पनि ब्रान्डेडमै सजिन थालेकी छ ।

क्याफ्टेरिबाट व्रेकफास्ट प्याकेट र एक एक बोतल पानी टिप्दै हामी सबै बसमा चढ्यौं । गुल्नारा अझै साकुराको फेदमा रफिकसँगै लठ्ठिएकी छ । प्रेमिल प्रकृति, प्रेमिल परिवेशले समय, ब्रेकफास्ट र यात्रालाई किन सम्झिन्थ्यो ?

मुराकामी सानले उर्दी लगाए –सिन्जुकु सिवुयाका लागि बस तयार छ, एक एक व्रेकफास्ट प्याक र पानी बोतल लिएर बस आउनुहोस् । मुराकामीको पछि–पछि हातेब्याग लिएर गुल्नारा पनि बस चढी । रफिक पनि हाम्रै समूहमा गुल्नारासँगै आयो । सबै साथीहरूले क्ल्याप लगाउँदै गाउन थाले–‘गुल्नारा, गुल्नारा यु आर लक्की गुल्नारा, गुल्नारा गुल्नारा यु आर ब्यूटी गुल्नारा …’। लेमा, सिङ, जमिल बाजिरोभ खुबै रमाइला छन् । यात्रामा ढिला आउनेलाई उनीहरू कम्ती दपेट्छन् र !

गुल्नराको जोडी सबैभन्दा बसको पछिको सिट रोज्यो, अगिल्तिरका सिट हामी बसिसकेका थियौं । शादी र म अगिल्लो सिटमा छौं । शादी मलाई औधी माया गर्छ । फरासिलो र प्रष्ट छ । हाम्रो साथीत्व गाढा भइसकेको छ । काहीँ जान प¥यो भने पनि सोध्छ । क्याडवोरी चकलेट ल्याइदिन्छ । काराओके उसको चाख हो, कर गरी गरी मलाई छुटाउँदैन ।

मैले शादीलाई सोधें –शादी तिम्रो घर सिरियामा कहाँ छ ?
किन र मैनाली ? राजधानी डमास्कसभन्दा केही बाहिर बस्छु । राजधानी महङ्गो छ ।
जागिर राजधानीमा । दैनिक आउजाउ गर्न भ्याउँछौ ?
हो, म भ्याउँछु । आउजाउ गर्छु ।
अनि रफिकको नि ?
सिरियामा चिनजान थिएन, यही आएर चिनेको । उसको घर सदर मुकाममा नै छ रे !ऊ धनी खानदानी परिवारको एकलौटो छोरा ।
प्रश्न गर्दै गएँ –रफिकको विवाह भएको छैन ?
ऊ पनि जवाफ फर्काउँदै छ – हो, भएको छैन । विवाह भएको भए पनि गुल्नारासँग विवाह गर्न कुनै बाधा छैन । हाम्रो कानून (धर्म) अनुसार चारजनासम्म केटीसँग विवाह गर्न पाइन्छ । हाम्रो कानून उदार छ । नारी भनेका सुन्दर फूल हुन् । त्यो सुन्दरताको स्वाद लिन हाम्रो कानून उदार छ । केही अघि यमनी नाजीले पनि यस्तै जवाफ दिएथ्यो ।

मनमनै सोचेँ –माया, भावना, जैविक आवश्यकता, आत्मीयतालाई कानूनका अक्षरले कसरी समेट्छ ? धर्मले नारी र पुरुषलाई भिन्न व्यवहार गर्न पाइन्छ ? विवाह त एकजनासँग गर्ने हो नि ! पुरुषले चारजासँग, महिलाले चाहिँएकजनासँग ? महिलाले चाहिँ अर्को पुुरुषको अनुहार देखिएला भनी वुर्का लगाउनुपर्ने पुरुषले चाहीँ चार पत्नी ल्याउन पाइने । अझ यो व्यवस्था उदार ? पुुरुष प्रभुत्वका लागि महिलालाई बस्तु र सौन्दर्य साधन बनाउन पाइन्छ ? ईश्वरले यति अन्याय गर्न सक्दैन । आफ्ना समान सृष्टिलाई भेदभाव गर्ने ईश्वर हुनै सक्दैन । यदि त्यसो हो भने ईश्वर मानिसले सिर्जना गरेको भ्रम हो, भ्रम सिर्जना गरेर गरिएको शोषण हो ।

मन थाम्न सकिन –अँ शादी तिम्रो कानूनले दुुई देशका नागरिकबीच विवाह गर्न स्विकार्छ ? कज्जाख केटीले सिरियाली केटासँग विवाह गर्न सरकारी अनुमति चाहिँदैन ?

शादीसँग जवाफहरू तयार छन् –धार्मिक रूपमा हामी सबै मुसलमान एक हौं । जहाँसम्म विवाहको कुरा छ, अनुमति चाहिन्छ । अनुमति पाइन्छ पनि तर मुस्लिम विधि अनुसार परिवार चल्नुपर्छ ।

रफिक आस्ताना गएर गुल्नारासँग बस्न मिल्दैन ?गुल्नारा डमास्कस नै जानुपर्छ र ?तिम्रो धर्म यसमा त उदार होला नि !
त्यो त मिल्दैन साथी । श्रीमती श्रीमान्कोमा नै जानुपर्छ । धर्मले त्यसो मान्दैन ।
गुल्नारालाई डमास्कसमा करअधिकृत बनाउन मिल्दैन ?
त्यो चिन्ता किन लिने ?ऊ जागिरका लागि होइन, घरजम गर्न जाँदै छे । जागिरभन्दा दाम्पत्य ठूलो हो । रफिक धनी छ, खानदानी छ । गुल्नारालाई सजाएर राख्न सक्छ । त्यसैले त गुल्नारा उससँग लठारिएकी हो नि !ऊसँग सङ्गत गरेपछि गुल्नारा कति ब्रान्डेड भएकी छ हेर न !

अनि गुल्नारा वर्षमा कैयनपल्ट देश विदेश घुम्ने, जागिरमा माथिसम्म पुग्ने युवा करअधिकृत ऊ साँच्चै सिरियाको कठोर मुस्लिम परिवारको चौघेरामा बस्न सक्छे ?सुनको पिँजडमा सजिएर कैदी दिन बिताउन, जीवन बिताउन सक्छे ?के तिम्रो धर्मले नारीलाई पुरुषले मोज गर्ने सुन्दरता र सृष्टि थाम्ने भारमात्र दिएको छ ?
त्यो त मलाई नसोध साथी । उनीहरूले प्रेम गरेका छन् प्रेम । प्रेम अन्धो हुन्छ भन्ने थाहा छैन ? किन ऊसधैँ रफिकको अँगालोमा हुन्छे त ?उसले पनि त आफ्नो विषयमा सोचेकी होली नि ! करअधिकृत भैसकेकी सरकारी अधिकारी । तिमीभन्दा ऊ धोरै बाठी छ ।
के साँचै उनीहरूले प्रेम गरेका छन् । कि नव्वेदिने रौस–रोमाञ्चको यात्रा ? मुस्लिम मुलुकमा त्यो पाइँदैन, जापानमा त्यो पाइयो । हैन ?
त्यो पनि मलाई नसोध साथी ।

प्रेम नै गरेको भए पनि डमास्कसले गुल्नारालाई स्वागत गर्छ, सधैँस्विकार्छ भन्नेमा म कत्ति विश्वस्त छैन । पतिपत्नीको मनमुटाव भए गुल्नारा आफ्ना अभिभावकलाई सुनाउन, मनका बह पोख्न कहाँ जान्छे ? आस्ताना जान अनेकन औपचारिकता पूरा गर्नुपर्छ । मुसलमानहरूश्रीमतीलाई मनमुटाव भएपछि तलाक दिएर मात्र चुप लाग्दैनन्, मार्न पनि पछि पर्दैनन् । तिमीले समाचारहरू सुनेका हौला नि ? दाम्पत्य प्रेमको ब्रेक अप होइन, जीवनकै ब्रेक अपका समाचार सुनेका हौला नि !

अर्को कुरा, गुल्नाराले कज्जाख सरकारसँग पनि अनुमति लिनुपर्ला नि ! यो प्रेममा दुुई देशको कुटनैतिक सम्बन्ध पनि आकर्षित हुन्छ ।
दुुई देशका प्रतिनिधिहरू सभा–सम्मेलनमा जाँदा, वार्ता–गोष्ठीमा जाँदा यस्तो सम्बन्ध हुने हो भने अन्तर्राष्ट्रिय कानूनले पनि यसलाई सम्बोधन गर्नुपर्छ । अन्यथा देश–देश बीचको हित त हुँदैन नै, व्यक्तिगत जीवनको व्यवस्थापन पनि क्षतविक्षत हुन बेर लाग्दैन ।

शादी चुप लाग्यो । सायद उसको मन र दिमागले छुट्टाछुट्टै कुरा सोचिरहेको होला । मेरा कुराहरू त्यति मन परेका छैनन् होला । जति मिल्ने साथी भएपनि धर्म र जातको कुरा आएपछि मुस्लिमहरू कडा हुन्छन् । मुस्लिमहरूको जात र धर्म एकै हो, धर्म भनिने कडा जन्जिर विश्वास बाँध्नेभन्दा पनि विश्वास थिच्ने, क्षतविक्षत पार्ने काँडे साङ्लो हो । विश्वास विच्छेद गरेर पतिपत्नी कसरी समाज चलाउँछन् होला ? नारी मनोविज्ञान त जहाँको पनि एकै होला नि ! जापानी, भारती, नेपाली नारी पतिलाई आप्mनो मात्र बनाउन चाहन्छन्, अर्कीले मनखोलेर कुरा गरेको पनि रुचाउँदैनन् । मुस्लिम नारी मनोविज्ञान भिन्न पक्कै हुँदैन, धर्मको जन्जिरले बाँधेर राखेको मात्र हो ।

गुल्नारा–रफिक प्रेम लैला–मजनुको यात्रामा छ । कक्षा, सेमिनार, प्रस्तुतिहरूमा पातलिँदै गएको उपस्थितिले यही बताइरहेको छ । कक्षा सकिने बित्तिकै डाउन टाउन जाने, चिया–कफी लिने, कोही पवतिर पस्ने साथीहरूको दैनिकीबाट गुल्नारा पृथक् छे । बाटो किनार, पार्क, कर्नरहरू अक्सर हामी नजाने स्थान उनीहरूको प्राथमिकतामा छ ।

गुल्नरा गम्भीर चेहरा गम्भीर लागे पनि अन्जान स्वभावकी छ । विपरीतमा रफिक जोदाहा । उसकी श्रीमती नबन्दै गुुल्नारालाई कमान्ड गर्न लागेको छ । उसको पहिरन, सङ्गत, घुमफिरमा गुल्नाराले स्वतन्त्रता गुमाउँदै छ । रफिक प्रेमका नाममा गुल्नाराका सबै कुरा नियन्त्रण गर्दैछ ।
उता कामिला र बायुपनि निकै रमाएका छन् । कामिला बुर्का लगाएर नै वायुसँग मात्तिन्छे । रङ्गरौसमा ऊ लजाउन्न, बरु हामी पुरुष लजाउँछौं । – तिमी केटाहरूले मनपर्ने साजसज्जामा हामी हिँडेनौ भने हाम्रो सुन्दरताको कुनै अर्थ रहँदैन । एकदिन मलाई पनि रातो बनाई । ओरिएन्टल मार्केटमा मोतीको माला किन्दै थियौं । मसंँग टाँसिउँला झैँ गरेर अचानक प्रश्न गरी –कुन माला लगाऊँ मैनाली ? म अवाक् भएँ । म लाजले भुतुक्क भएँ । म केटामान्छे मोतीको माला म कसरी छान्न सक्छु ?उसले भनी –तिमीलाई जुन मन पर्छ म त्यही लगाउँछु । हामी केटीहरू राम्रो देखिने तिमीहरूका लागि हो । तिमीहरूको नजरमा सुन्दर देखिएनौं भने हाम्रो सुन्दरताको के अर्थ ? तिमीहरूले मन पराएनौं भने हाम्रो गहनाको के अर्थ ?

मनमनै कामिला र गुल्नाराको तुलना गरेँ । दुवै मुस्लिम समाजका केटीहरू, दुवै सरकारी अधिकृतहरू, उनीहरूबीच थुप्रै भिन्नता छ । विवाहित भएर पनि कामिला नारी स्वतन्त्रता, निजी स्वतन्त्रताको उपयोग गरिरहेकी छ, कहिलेकाहीँ इत्तरिएर सीमा क्रस गर्न खोज्छे । मनोरञ्जन र नैतिकसीमा सन्तुलन गर्न सक्छे । तर गुल्नारा ….। सधँै सारी–कुुर्थामा उपस्थित हुने एकमात्र छात्रा सेपालिका सौम्य र शालीन छ । कामिला, होसादा महिला साथी नभए सेपालिका एक्लै हिँड्छे । केटाहरू हुँदा पनि उसको व्यवहार सामान्य छ तर फोटो खिच्न भने कामिला र सेपालिकाको प्रतिस्पर्धा नै छ । एक्लै हिँड्दा पनि बाटो हिँड्ने जापानीलाई क्यामेर दिएर फोटो पोजमा बसिहाल्छे ।

फोटो त आड्रिया रोज सोङसोङ पनि खिच्छे तर ऊएकदम सामान्य देखिन्छे । उसका फोटोहरूमा प्रकृति र प्रगतिका दृश्यहरूले प्राथमिकता पाउँछन् । कक्षामा होस् कि यात्रामा ऊ महिला पुरुषको भेदमा कहिले हुन्न । सेन्ट लुसिया विकासमा, महिला सशक्तीकरणमा निकै अघि हुनुुपर्छ ।
गुल्नारालाई फोटोको त्यति सोख छैन । पढाइमा त लत्तो छोडिसकी । समय पायो कि त्यही दाह्रीवाल केटासँग हिँड्नु उसको दिनचर्या । क्याफ्टेरियामा पनि सँगै, बगैँचामा पनि सँगै, साकुराको फेदमा सँगै, योदोवासीमा पनि संँगै, आकिहावारा, हिनो, सागामीहारा, योकोहामा, टोकियो टावर, फुुजी साङ जतापनि सँगै । तर अलग अगल छात्रावास, अलग कक्षा । कोठामा भेट्न हाचिओजी केन्द्र प्रशासनले अनुमति दिँदैन । त्यसैले अबेरसम्म लवी, क्याफ्टेरिया, ल्यावमा रहन्छन् र सबेरैबाट यही क्रम सुरु । होइन सधैँभरि के कुरा गरेको होला ? बताएर नसकिने कुरा ।
आजबाट रमादान सुरु भयो । मुुस्लिमहरूको रोजा (सूूर्य उपवास), एकमहिने लामो सूर्यव्रत । सूूर्योदय अघि र सूर्यास्तपछि मात्र खान र देखिन हुने । परेन फसाद । विचरा गुल्नारा एक महिना कसरी बिताउँछे ? रमादानले धेरै कुरा रोक्यो, बजार जान रोक्यो, पार्कमा बस्न रोक्यो । साकुरा त अब पालुवा बनिसके, लबी, ल्याव जान पनि रोक्यो । प्रेम गर्नेका लागि त रमादान नलाग्नुपर्ने नि १शादीलाई सोध्नुपर्ला उसको धर्मले के गर्छ भनेर ।
रमादान सकिनेबित्तिकै रफिकको समूह फिल्ड प्रोजेक्टका लागि केही दिन होक्काइदो जानुुपर्ने भयो । टोकियोबाट निकै टाढा । बिदाइमा गुल्नारा आँसुमा बलिन्द्रा भई बोली अवरुद्ध भयो । उसले टाटा गरेको हात पनि निक्कै लुला देखिए । मानौं मनको भाका हातले पनि बुुझेको थियो । कक्षाकोठामा पनि उदास रही । कामिला समय–समयमा गुल्नारालाई डोज दिन्छे– प्रेममा यस्तै हुन्छ, तिमीहरू सिक्दै छौ गुल्नारा । हेरौं कहाँ पुुग्छौ । ऊउमेरमा पनि, प्रेममा पनि अनुुभवी नै रहेछ । लेमा, जमिल, लाक्यू सबै जिक्स्क्याउँछन् । बायरा भने छोरीलाई झैँ सम्झाउँछ । खै के के भन्छ, हामी रसियन बुुझ्दैनौं । बायरा साच्चै अभिभावक जस्तो छ, उमेरमा पनि व्यवहारमा पनि ।

बिहानै कपडा धुन बेसमेन्टमा गएर वासिङ् मेशिनमा कपडा हाल्दै थिएँ । सालेह पनि त्यही आयो । गुड मर्निङ मैनाली ! ह्वाटस् एवाउट रिपोर्ट एन्ड प्रिजेन्टेशन ? मैले आफ्नो प्रस्तुतिको खाका बनाइसकेको थिएँ । उसले भने तयार गरेको रहेनछ । के गर्नेमा सालेह चिन्तित छ ।
मैनाली मेरो मुलुक युद्धले क्षतविक्षत छ, के कर सुधार ? स्वाधीनताको युद्ध सकिएपछि न अन्य पक्षमा ध्यान दिने हो । मैले के प्रस्तुत गर्ने ?उसले कोठामा लग्यो र कम्पुटरमा दारुणिक चित्रहरू, भिडियो देखाउँदै रुन थाल्यो । इजरायली डोजरले नर्सरी स्कुलमाथि गरेको आक्रमणमा ससाना नानीबाबुहरूको ओठ र नाकबाट आएको रगत देखेपछि मेरो पनि आँसु झ¥यो । केही ब्याकग्राउन्ड राखेर त्यही दृश्य प्रस्तुत गर्न सुुझाएँ । अन्तर्राष्ट्रिय शान्तिका लागि यसले केही सन्देश दिन्छ कि ! मेरो सुुझाव अनुसार उसले त्यसै गर्ने भयो ।
बिहानीको खाजापछि कलिलो घाममा बायरासँग गफ गर्दै थिएँ, गुल्नारा हामीतिर आई । आज उसैले अभिवादन गरी –ओहायो गोजाइमास मैनाली सान । त्यसपछि रसियनमा बायरासँग केही कुरा गरी । बायराको सल्लाहपछि टुटेफुटेको अङ्ग्रेजी भन्न भनी – मैनाली सान यु हेल्प मी फर ट्याक्स रिपोर्ट प्रिजेन्टेशन ।

आफैले तयार गरेको छैन उसलाई कसरी सहयोग गर्ने होला ? भन्न त मन लागेको थियो समय छउन्जेल रफिकसँग लठारिइस्, अब आत्तिएर भो । अर्को मनले सोच्यो – सकेको सहयोग नगरे केको क्लासमेट ?

जापानबाटै आफ्नो अफिसको महत्त्वपूर्ण काम अनलाइनबाट गरिरहेको छु । डायरी साहित्य पनि लेख्दै छु । कसरी सहयोग गर्ने, कज्जाखस्तानको करप्रणाली मलाई के थाहा ?

बायराले पनि अनुरोध ग¥यो । उसलेतालिम पूरा गरिन भने सरकारले उसलाई कार्वाही गर्छ । सरकार कडा छ । प्रेम गरेर मात्र समय सकेकी होइन, भाषाका कारण ऊ न प्रतिवेदन बनाउन जान्दछे न प्रस्तुति गर्न । मलाई पनि भाषा आउँदैन, जे जानेको तिमीले बनाइदेऊ ।
मलाई केही असजिलो प¥यो । बायराले मलाई धेरै सघाएको छ । शारीरिक काममा त कति सघाएको छ कति । उसले भनेको कसरी नमान्ने ? सुमो कुस्ती देखाएर हसाएको छ, हिरोशिमामा असजिलो पर्दा सघाएको छ । बजार जाँदा गह्रुङ्गो सामान उसैले बोक्छ ।जे जति सक्छु गरिदिनै प¥यो ।

चार दिन लगातार पुस्तकालयमा बस्यौं । गुल्नाराले रसियनमा भन्ने, बायराले सकेजति अङ्गे्रजीमा बताउने । बीस पेजको प्रतिवेदन र प्रस्तुतिका २० स्लाइड बनाएँ । गुल्नारा निकै खुसी भई । धेरै धन्यवाद मैनाली, यो गुण कसरी तिर्ने ? तिमी सबैलाई सहयोग गर्छौ मलाई थाहा छ । सालेह, बायरा, म्यान्मारको हान मिन्ट सबैलाई सहयोग गरेका छौ । उसले कज्जाखस्तान आउने निम्ता पनि दिई । सरकारी कामको सिलसिलामा आउने अवसर पाएँ भने म भेटौँला भन्नेबाहेक मैले के भन्नुथियो र ?सोभियत सङ्घ विखण्डनपछि आल्माआतीबाट कज्जाख राजधानी आस्ताना सरेको छ रे ! कोरियाली कम्पनीले आस्तानालाई भव्य राजधानी शहरका रूपमा निर्माण गर्दै छ रे ! मौका मिले अवश्य जानेछु, त्यो यङ्गेष्ट क्यापिटल अफ दी वल्र्ड हेर्न ।

तीन महिनाको अवधि सकियो । हाचिआजी केन्द्रमा जापान सरकारले भव्य कार्यक्रमका साथ हामीलाई बिदाइ ग¥यो । सालेह र म भोलि बिहानै बैंकक हँुदै आआफ्नो मुलुक फर्किने भयौं । उन्नाइस मुलुकका साथी उन्नाइसतिर छरियौं ।

आआफ्ना मुलुकमा गएपछि साथीहरू विस्मृतिमा पर्दै गए । कार्यालयको काम, पारिवारिक जिम्मेवारी । एकाध महिनामा मेल गर्ने बाहेक सम्पर्कको माध्यम थिएन । स्काइप, ह्वाट्सअप, भाइवर, मेसेन्जरको त्यति चल्ती थिएन । म्यान्मारको जुन्टा सरकारले मेल पनि सेन्सर गर्दो रहेछ, मिन हान्ट सम्पर्कमा छैन । समय समयमा जापानिज साथी, विरोल, बायरा, बाजिरोभ, लेमा, सोङसोङ मेल पठाइ रहन्थे । गुल्नाराको विवाह त्यही सिरियन अधिकृतसँग भएको र उसले आस्ताना छाडेकोसम्म थाहा पाएको थिएँ ।

एक दिन निकै लामो मेलमा बायराले गुल्नाराको विषयमा लेखेको रहेछ ।
मैनाली ! गुल्नारा निकै रमाएर सिरिया घरजम गर्न गई । उसका आमा बुुवाबाट पनि अवरोध भएन । करअधिकृतको जागिर छोडाउन उनीहरू चाहँदैनथे तर छोरीको खुसी आफ्नै खुसी भनेर चित्त बुुझाए ।

सुरुका दिनमा रफिकको परिवारले माया पनि गरे, तर त्यो माया एक महिना पनि टिकेन । सुट–फ्रकमा ठाँटिने गुल्नारा कोठाभित्रकी दास वनेर कति रहन सक्थी ? सुन्दरताको अर्थ श्रीमान्को इच्छापूर्तिको पुतली बन्नमा सीमित भयो । शहर बजार घुम्ने कुरा निकै टाढा थियो । रफिकलाई फुर्सद हँुदा परिवारको स्वीकृतिपछि मात्र सम्भव थियो । बधुवा पशुभन्दा पनि पाशविक जीवन । फोन गर्न, पत्रिका पढ्न, टिभी हेर्न सबैका लागि सासू ससुराको अनुमति चाहिने । देशादेशावर घुमेकी पढलेखा महिला कसरी सुनको पिँजडामा बन्दी हुन सक्थी ? तर स्वतन्त्रताको युद्ध, निजत्व प्राप्तिको युद्धमा ऊ सधैँ पराजित भई ।

आस्तानमा आमाबुुबाले पनि छोरीको हाल थाहा पाए तर के गर्न सक्थे र ? भूगोलको दूरी, राष्ट्रियताको दूरी, त्योभन्दा ठूलो सराया कानूनको कठोर सिक्री ।

रफिक सासू ससुराभन्दा कठोर मुद्रामा प्रस्तुुत हुन थालेछ । गुल्नाराका शरीरभरि निलडाम, हातका औला थिचिदिएछन्, खुट्टामा कुर्सीले हानेछन् । सुन्दर गोलो अनुहार र भिउटे गाला दाँत र नङ्ले चिथोरिएर अर्कै भएछन् । नितम्बसम्म झरेका कपाल सबै लुछिएछ । भौतिक आक्रमणले कुुरूप हुने नै भई, मानसिक यातनाले विक्षिप्त बनिछ, बर्बराउन थालिछ तर त्यो यातनागृहबाट निक्लने सम्भावना रहेन । निक्लेर कहाँ जाने ? सबैले गुल्नाराकै गल्ती देख्ने भए । पासपोर्ट पनि परिवारले कता पुु¥याए कता ।

गुल्नाराका मनमा विगतका स्वप्निल प्रेमस्मृतिप्रति घुणा जाग्दै गयो । निर्विचार आफैलाई भुल्न चाहेर पनि सकिनछ ।
पूरै डमास्कस एउटा यातनागृह, प्रत्येक घर श्रीमतीहरूका लागि ढोकाभरि जन्जिर कसिएका यातनागृह । महिलाहरू नै महिलाका परम पीडक । जीवनबाट हार खाएकी गुल्नारा कैयनपटक आत्महत्याको प्रयासमा पनि असफल भइछ । मृत्यपनि त्यति सहज कहाँ रहेछ र !
कुनै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले लामो प्रयासपछि उसलाई उद्धार गरी आस्ताना पठाइदिएछ । आठ नौ महिना अघिसम्म कि त्यो गुल्नारा, सुुन्दरताको त्यो राप, सबै खरानी भएपछि कि कुरूप गुल्नारा । आफ्नै लागि भार भएको जिन्दगी । बाँच्ने विकल्प पनि झन्डै समाप्त भएका छन् ।

आफ्नै सुन्दरताप्रति उपहास गर्दै, आफैप्रति घृणा र व्यङ्ग्य गर्दै, आफूले गरेको प्रेमलाई थुक्दै गुल्नाराले घोषणा गरी – बाँकी जीवन नारी मुक्ति र बाल बचाउ अभियानमा समर्पित हुनेछु ।

images
प्रकाशित मिति :आश्विन २५, २०८१ शुक्रवार - २१:१४:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend