Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

स्मृतिमा आइरहने केही अनुहारहरू -डिल्लीराज अर्याल

स्मृतिमा आइरहने केही अनुहारहरू -डिल्लीराज अर्याल

नेप्लिज डायस्पोरा

१२, कार्तिक २०८१
images
स्मृतिमा आइरहने केही अनुहारहरू  -डिल्लीराज अर्याल

 

यतिबेला वि.सं.२०८१ को आधाआधी, अर्थात् आश्विन महिना चलिरहेछ । म करीब करीब ७० को उकालो काट्दैछु। आज भन्दा ४८ वर्षजति अघि २२ वर्ष जतिको हुँदा मैले नोकरीको प्रारम्भ गरेको थिएँ । हर समय त्यसकै चिन्तामा, काममा मैले आफ्ना ३० वर्षभन्दा बढी समय बिताएँ ।
 

अवकाश लिएको १८ वर्ष हुन लागेछ । नोकरीकै क्रममा चापपानीमा मैलेजि. रत्नबहादुर थापासँग काम गर्ने अवसर पाएँ । उहाँ त्यति वेला चन्द्र नि.मा.वि वि.स.समितिका अध्यक्ष हुनुहुन्थ्यो। कुन्नि किन म अरूसित भन्दा उहाँसित अलि नजिकिएँ । हुनत लीलाधर बस्याल, भलबहादुर पराजुली, डिल्लीराज ढकाल, टङ्कबहादुर थापा, कुलबहादुर सारू, जयन्त गाहा, मुक्तिराम अर्याल, मित्रलाल बस्याल लगायतका सम्बन्धित धेरैसँग उस्तै सम्बन्ध थियो तैपनि ‘भवन्ति भव्येषु हि पक्षपाता’ (सज्जनको पक्षपाती) हुने नै रहेछ ।

रत्नबहादुर थापासँग बढी नजिकिनुको मूल कारण यही पो थियो कि । उहाँमा वचनमा दृढता, सरलता, सहयोगी भाव र निस्वार्थ रूपले काममा तत्पर हुने जस्ता गुणहरू थिए। मसँग ‘तपाईंले छोडेका दिन मैले पनि छोड्छु, हाम्रो बिदाई सँगै हुनेछ’ भन्ने गरेको पनि निकटताकै कारण होला भन्ने ठान्दछु ।

म ०३७ को प्रारम्भमै सरुवा भएर सर्वोदयमा गएपछि करीब दुई तीन महिना विद्यालयको एउटा कोठामा बसें । त्यसपछि ०५० को अन्त्यसम्म करीब १४ वर्ष मेरा दिन बौघा पोखराथोकमै बिते । त्यहाँ मैले जति धेरै कुरा सुनें, बुझें र अनुभव गरें, त्यति १८\१९ वर्षको विद्यालय महाविद्यालयको कक्षामा पनि गर्न सकिनँ कि ! त्यस्तो मौका चापपानीमा पनि पाएको हुँ, तर यहाँ अझबढी पाएँ ।

नेपाली समाजमा उखान टुक्काहरूको व्यापक चल्ती छ । मैले त्यतिवेलादेखि उखानको सङ्कलन गर्न थालेको हुँ । आवश्यकता अनुसार घर गाउँमा प्रयोग गरिने गरेका दुई हजार जति उखान मेरा सङ्कलनमा थिए । तिनमा नेपालीपन र स्वदेशी वा अन्य विदेशी भाषाको प्रभावको अनुभव पनि मलाई भयो । सानैमा सुनेका कतिपय उखान ठूलो भएर बल्ल बुझेको, कतिपयको तात्पर्य अझ पनि बुझ्न नसकेको अनुभव पनि गरें र पनि बुझ्ने कोशिस गरिरहें । तिनको मजा लिइरहें ।

सानोमा कहिलेकहीं काम गर्न अल्छी गर्दा आमाले भन्नुहुन्थ्यो- ‘खान नपाएर हो मरिने काम गरेर त मरिन्न भो । त्यसै गरी बुबैले अल्छीलाई दुःख हुन्छ, अल्छी बन्न हुन्न भन्ने बताउने सन्दर्भमा भन्ने गर्नुहुन्थ्यो ‘इलमीका भागमा माछा र मासु अल्छीका आँखामा आँसु । काम गर्नको दुःखले जोगी भयो जोगी भएको भोलिदेखि भोकै रह्यो ।’

सुन्ने, उडाउने उमेर थियो । एक कानले सुन्ने अर्को कानले उडाउने गरिन्थ्यो। त्यसमा ध्यान दिएर सुन्ने र अपनाउनेतिर मन जान्नथ्यो, तैपनि तिनको प्रभाव छ, र सम्झनामा आइरहन्छन् ।

नोकरीका क्रममा चापपानी बस्दा पनि उखान, स्मृतिहरू कम सुनिएन । कति त नयाँ पनि हुन् कि । अध्यक्ष थापा भन्नुहुन्थ्यो- ‘मन्तरी भन्दा सन्तरी ठूला ।‘ ‘जो मे करता है उसके गलेमे छुरी पडता है’- यो उखान पनि मैले त्यहीं सुनेको हो । भन्नेको अनुहार सम्झिरहेंछु तर नाम स्मृतिमा आएन ।’
शायद खड्गबहादुरबाट हो कि ! 

सरुवा भएर सर्वोदयमा आएपछि पहिलो पटक विद्यालयको अध्यक्षमा गंगाबहादुर रानालाई जानें । उनीभन्दा अघि शायद तिलवीर थिए । भारतीय सेनाका निवृत्त लेप्टेन हुन् कि ! त्यसको शान बाँकी भए जस्ता, तर मलाई त्यस्तो पदले कहिल्यै छोएन । भर्खरै ‘बज्रादपि कठोराणि मृदूनि कुसुमादपि’- पढेर आएको मान्छे। लेप्टेन, क्याप्टेन हेर्नै कुरै थिएन । मैले त उनको व्यवहार हेरें । उनको योग्यता, क्षमता र आचरण हेरें । त्यसैका आधारमा व्यवहार गरें । 

बरू नयाँ अध्यक्ष सूबेदार त्यो पनि नेपाली सेनाका अलि सरल, हँसिला, सानो च्यान्टे शरीरका मजाका लाग्थे । उनीसँग राम्रो सहकार्य भयो । हाइस्कूल बनाउने खेल उनीसँग मिलेर खेलियो । बडो असहज भने हुने तरिकाले- उनी पनि विगतका थुपै स्मृतिहरू संक्षिप्तमा राख्थे । के आई सिंलाई पक्डन जाँदाका घटनाहरू सुनाउँथे । नयाँ नयाँ घटनाका जानकारी पाइन्थे। 

सर्वोदयमा छँदा ऋषिराम राना, लालबहादुर खत्री र गंगाबहादुर रानासँगका सहकार्य सम्झन लायक रहे र छन् । तीबाहेक अरू पनि केही अनुहार सम्झनामा छन् तर तिनको नाम झट्ट सम्झन मुश्किल पर्छ । अरू केही सकारात्मक र नकारात्मक भूमिकाका आधारमा सम्झिइने मान्छेहरू पनि मनमा छन् ।

पोखराथोक बसाइको कुरा पनि बडो रमाइलो छ । एक युगै बिताएको ठाउँको सम्झना जति पनि हुन्छन्, छन्, तर सबैको उल्लेख एउटै प्रसङ्गमा हुन सक्दैन । खालि त्यहाँ बिताएको केही कालखण्डको, केही घटना र व्यक्तिका बारेमा मात्र सम्झन, कोट्याउन सकुँला कि !

त्यहाँ मेरो बसाइको सबैभन्दा लामो अवधि देवीबहादुर खत्रीकै घरमा भयो । बुढो पाको मान्छे, पुराना कुरा, देशका र विदेशका (भारतका सुनौली नौतनवादेखि काश्मिर, चण्डिगढ, चित्रौल सम्मका) पनि सुन्ने मौका पाएँ । जो मेरा लागि एकदम नौला हुन्थे । फौजी भएकाले धेरै कुरा सेनाका, पल्टनका र गएका ठाउँका हुन्थे । उहाँ हिन्दीका उखान पनि नेपाली शैलीमा भन्नुहुन्थ्यो -'ना किसी से दोस्ती ना किसी से दुश्मनी’, हैन त मास्टरबाबु ।

म त्यतिबेला कम उमेरकै थिएँ । सम्बन्धको हिसाबले मैले दाजु भन्नुपर्ने भए पनि हामीले त्यस्तो नातोको खासै प्रयोग गरेनौं । उहाँहरू दुवैले हामीलाई मास्टर बाबु, मास्टर्नी नानी, भन्नुहुन्थ्यो बस् । हामीले त्यस्तो सम्बोधन गर्नै परेन, गरिएन । नाति मेजरको नामबाट मेजरको बुबा, मेजरको बुबैले काम चल्यो । त्यहाँ बस्दाका अनुभव पनि धेरै छन् र बेलाबेलामा मैले उल्लेख गर्ने गरेको छु ।


'आउँतिरको न बाउँतिरको’ उखान मैले घरमै आमाले भन्ने गरेको सुनेको थिएँ, तर त्यो त गंगाबहादुरले पनि प्रयोग गर्ने गरेको पाएँ । मेजरको घरमा पनि प्रायः प्रयोग गरेको सुनें ।

यसरी मैले घर, गाउँ समाजदेखि बाहिरसमेत यस्ता उखान, टुक्का, पुराना घटना, कथा, संस्मरण .... लगायतका धेरै कुरा सुन्ने मौका पाएँ, जो आज पनि मेरा सम्झनामा छन् । 

आदरणीय देवीबहादुर खत्री (बौघा) बाट, भिउरामा हिन्दी शिक्षक ताराप्रसाद पाण्डेबाट र आदरणीय बाहुनबा होतृराज उपाध्याय (बर्भा) बाट अरूबाट भन्दा बढी कुरा सुनें कि जस्तो लाग्छ मलाई । गाउँमा बस्दा सबैभन्दा अचम्म हुन्थ्यो बिरामी परेका वेला । पोखराथोक बस्दाका हाम्राघरेलु डाक्टर भुवनेश्वर खत्रीको उपचारको प्रभाव पनि अझै सम्झँदै छु । एउटा विशेष उपचारको त मैले मेरो झलझली आँखामा उल्लेखै गरेको छु ।


सुन्न त घरै आमा बुबाबाट पनि धेरै कुरा सुनें, जानें । बुबै पनि उखानमा कम हुनुहुन्नथ्यो । उखान बाहेकका अरू घटना, कथा, कहानी जस्ता कुरासमेत कैयौंबाट सुनें । माहिलोबा लोकनाथ उपाध्याय कथा, सामाजिक, राजनैतिक, व्यावहारिक घटना सुनाउनुहुन्थ्यो । जि. रत्न बहादुर थापा, (चापपानी) सू.गंगाबहादुर रानाहरूबाट सुने जस्तै आदरणीय दाजु टङ्कप्रसाद आत्रेय, हरिप्रसाद उपाध्याय, भीमदेव लुइँटेल (मदनपोखरा), कमलराज रेग्मी,(तानसेन) प्रमानसिं थापा (गुम्हा), कविराज अर्याल, मोहनसिं थापा (बुटवल) मार्कण्डेय शुक्ला ( बैकुण्ठपुर) लगायतका धेरै धेरैबाट सुनें । अझै अरू पनि कतिपयका धेरै घतलाग्दा कुरा सुनें तर पनि तिनको नाम सोधिएन, सोधिएकाको पनि कतिको नाम सम्झन सकिएन।

बुटवलमा मोहनसिं थापासँग बडा घतलाग्दा कुरा हुन्थे । उनी बडो मिठो हाँसो हाँस्थे र गम्भीर कुरा गर्थे। उनीसँग कानुनी, राजनैतिक, सामाजिक, शैक्षिक कुराहरू, घटनाहरू, व्यावहारिक पक्षका विषयहरू हुन्थे । तीमध्ये कतिको त मैले टिपोट पनि गर्थें । भन्थे- 'केही दिनसम्म दिनदिनै, खुवाउने गरेपछि खाइरहनेले खुवाउनेसँग माग्ने अधिकार पाउँछ ।’ जति समय हामी छिमेकमा रह्यौं, यस्ता धेरै कुरा सुनिए । बुटवलमै कविराज अर्यालसँग पनि समयसमयमा वार्तालाप हुन्थ्यो, सुन्ने, सुनाउने चल्थ्यो ।

म जब गुम्हाबाट तानसेन सरुवा भएर आएँ, तानसेनमै घर किनेर बस्न थालें, त्यो घर संयोगले कमलराजजीकै घरसँग साँध जोडिएको थियो । आआफ्ना घरबाटै गफ गर्न मिल्थ्यो । शायद उहाँहरूकै आफन्तको थियो । एउटै संस्थामा काम पनि गर्न थाल्यौं । तानसेन बस्न थालेपछि कमलराज, विनयकुमार, बानियाँ कान्छा, प्रेमचन्द्र पौड्याल लगायतका व्यक्तित्त्वहरूसँगको पुरानो सम्बन्ध अझ बिस्तारित भयो । एउटै संस्थामा रहेर पनि काम गरियो ।

मान्छेको गफ सुन्ने, भेटघाट गर्ने बानी पनि बडो अचम्मको हुने रहेछ । गफले सम्बन्ध बढाउने पनि रहेछ । कालिदासले यसैलाई भनेका होलान्- ‘सम्बन्धमाभाषण पूर्वमाहु...’ भनेर आफ्नो रघुवंश महाकाव्यमा । हुनत गफले नोक्सान पनि गरेको होला तर मलाई रमाइलो र लाभदायकै लाग्छ । म माडी फाँटको बीचमा रहेको चौखुट्टेको ठाँटीमा बसेर गफ गरिरहेका शुकदेव लुइँटेल, शोभाखर, ऋषिराम बुबाहरू, देवीबहादुर दर्लामी, टीकाराम खनाल, जीवनाथ भट्टराई, दधिराम पौड्याल, साठीघरे बुबा, ढकाल बुबा,भीमदेव लुइँटेल, लक्ष्मीपति लुइँटेल, मणिराज ढुङ्गाना,पटवारी चेतबहादुर लगायतका पाका अनुहारहरू सम्झन्छु । तिनका उपदेशमूलक, जानकारीमूलक, यदाकदा गरिने हाँसोकाकुरामध्येका कतिपय घत लाग्दा कुरा सम्झन्छु ।


अहिले काठमाण्डौंमा पनि सनत कोइराला, वसन्त खरेल, विष्णु भट्ट, छत्रभूषण दाहाल, नागेन्द्र आचार्य लगायत... पाका पुराना, अनुभवीहरूका गफ सुन्छु । तिनका कुरामा, गफमा पनि धेरै धेरै कुरा पाउने सम्भावना देख्छु, खोज्छु। कति दिन त म भाषाका कुरा कार्यक्रम हेर्न, कुरा सुन्न मनोहरवस्तीबाट पाटन ढोकासम्म पनि पुगेको छु । कहिलेकहीँ सुन्न पाइने घतिला कुराले दिएको वा दिने तृप्तिको आनन्द लिएको छु, लिन्छु । कतिपयको टिपोट गर्छु, जसरी मैले कविराज अर्याल, कमलराज रेग्मी, मोहनसिं थापा आदिका भनाइका सार टिप्ने गर्थें । 

म जब जब प्रमानसिं थापा (गुम्हा) पर्मान सरले सुनाएको बर्माबाट नेपालतिर पैदल आउँदाका कथा, बर्माको जङ्गलमा सर्पले बेरेको कथा, चपली मैयाँलाई हेर्न जाँदाको कथा, भर्ती भएको नेपालको पद छोडेर भागेर लाहुर गएका कथा, जहाजमा फलाँस खेलमा घर ल्याउन किनेका गहना सबै हारेर उतै फर्कन तयार भएका जस्ता कथा सम्झन्छु, मलाई अलग्गअनुभूति हुन्छ, महाभारतको जुवाको प्रसङ्गको सम्झना हुन्छ । सोच्छु- कसरी सबै कुरा बिर्सन्छन् जुवाडेहरू !

कतिपय मान्छेका यस्ता अनुभूतिहरू अत्यन्त प्रेरक र रोमाञ्चक पनि हुन्छन् । कतिका संवेद्य पनि हुन्छन् । गफमा यस्ता धेरै कुरा आउँछन् । कसले कसरी सुन्छ र लिन्छ? भन्ने मात्र हो । लिन सक्नेले त्यसैबाट पनि धेरै लिन सक्छ । मौरीले फूलबाट मात्र होइन, फोहोरबाट पनि आवश्यक सामग्री लिएको देखिन्न र ? लिन, दिन सक्नु एकप्रकारको खुबी हो जो सबैसँग हुन्न । जोसँग हुन्छ त्यसले कमालै गर्छ । मैले यस्तै कुराको अनुभव गरेकाले होला गफ सुन्नुलाई पनि पढाइकै एउटा कोटीमा राख्छु र मौका मिल्दा हिंजो जस्तै सुन्न हाजिर हुन्छु । मेरा स्मृतिमा रहेका तिनका अनुहारहरू आज पनि मेरा नजर सामु आइरहन्छन्, आइरहन्छन् । तिनले हिंजोका तिनै कुरा नयाँ शैलीमा दोहोर्‍याइरहन्छन् र म त्यसरी नै दङ्ग परेर सुनिरहन्छु, सुनिरहन्छु । 

images
प्रकाशित मिति :कार्तिक १२, २०८१ सोमवार - १९:१४:२३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend