वर्षौदेखि तिम्रा भाषण सुन्दासुन्दै
तिम्रा नारा लिएर जुलुसमा हिंड्दाहिंड्दै
लोकतन्त्रका भजन गाउँदै म काङ्ग्रेस बनें
गणतन्त्रका गीत गाउँदै ऊ कम्युनिष्ट बन्यो
हामी अलग-अलग एक-एक गण समातेर
एक-एकवटा गुँडमा उकुसमुकुस बसिरह्यौं
एक अर्काको गुँड मन पर्दै नपर्ने हुँदै गयौं
बेलाबेलामा आक्रमण गर्ने तहसम्म पुग्दैरह्यौं
हाम्रो वास मात्र एउटा हाँगामा भए पनि
मात्र रूखको एउटा टोड्कामा भए पनि
हामी अरूका गुँड भत्काउने बन्दै गयौं
र हाम्रै गुँड पनि भत्काइँदै, भत्किंदै गए,
गुँड भत्किएका कुराले हामीलाई छोएन
र हामी भत्काउने बन्दै, भत्काउँदै गयौं,
हामीहरू उनीहरूका गुँड भत्काउँदै गयौं
उनीहरू हाम्रा गुँड भत्काउँदै, रमाउँदै गए
दुवैतिर बच्चाहरूको बिचल्ली हुँदै थियो
गुँड दुवैतिरको भत्किंदै, भत्काइँदै थियो
दुवैतिरका घर, परिवारको हाल एउटै थियो
आदेश मान्ने हाम्रो चाल एउटै, उस्तै थियो
त्यसले तिम्रो कम्युनिष्टलाई छुँदै छोएन
त्यो पीडाले मेरो काङ्ग्रेसलाई दुख्दै दुखेन
न मेरो काङ्ग्रेस मेरो गुँड बनाउन आयो
न तिम्रो कम्युनिष्ट तिम्रो गुँड बनाउन आयो !
कहिले वर्षा आयो र भीषण बाढी आयो
कहिले ग्रीष्म आयो र प्रचण्ड गर्मी आयो
तिम्रा मेरा पार्टीबाट त खालि आदेश आयो
आदेश, निर्देशमा विद्वेष आयो, लडाईं आयो !
कसैको हात हरायो, कसैको खुट्टा हरायो
आमाबाबु, छोराछोरी हराएको खबर आयो
आदेश, निर्देश दिनेका उचाइले हिमाल छायो
आदेश मान्नेको गन्तव्य कतै भेटिएन, हरायो !
२०९१ कार्तिक १४