-राम लामा अविनाशी
अचेल नेपालमा द्वेषको राजनीति चलिरहेको छ । को सही र को गलत भन्न म चाहन्न । सबैलाई आफ्नो बुझाइ उत्तम लाग्न सक्छ । उनीहरूको आफ्नो बुझाइ राष्ट्रको हितमा नभएको चासो मात्र यहाँ व्यक्त गर्न खोजिएको छ । २०४६ सालमा भारतका नेता चन्द्र शेखर नेपाल आएका थिए । काठमाण्डौको चाक्सीबारीमा एक जोडदार भाषण गरे । "दुनियाँमे कहीँ भि आदमिको भगवान नहीँ मानते हे । बस् ! तुम नेपाली लोग ऐसा बेबकुफ हैँ जो आप्ना राजाको बिष्णु अबतार मानते हो " । जिन्दा आदमी कहीँ भगवान होता है क्या? और, देश केबल राजाका नही होता है । देशका मालिक हर एक नागरिक होते हैँ । नेपाल देशका मालिक भि यहाँका हर एक नेपाली है । इसिलिए, उठो, जागो आप्ने अधिकारके लिए ।" हामी उपस्थित सारा नेपालीले तर- र- र-र ताली पड्कायौँ ।
बस् ! एकजना भारतीले हामी सारा नेपालीको दिमाग हल्लाई दिए । हामी त्यहाँ उपस्थित जनताहरू मात्र हल्लेनौँ त्यहाँ अनुपस्थित आफुले चिने जानेका सबैको दिमाग हल्लाउनमा हामी जुट्यौँ । राजतन्त्र सहि थियो भन्न खोजेको होइन । त्यही कुरा नेपालीहरूको स्वविवेकले उब्जिनु पर्ने बेला चाँहीँ भईसकेको थियो । किनकी, निर्दलीय निरङ्कुस शासन प्रणालिको थिचोमिचोले जनता थलिएका थिए ।
राष्ट्रबादी विद्यार्थी मण्डलका कार्यकर्ताले दिन दहाडै बसमा चेलीबेटीको सामुहिक बलत्कार गरेका थिए । नमिता र सुनिता जस्ता अबोध चेलीहरूलाई पोखरामा बलत्कार पछि हत्या गरिएको समाचार सार्वजनिक भएको थियो । यी घट्नाको विरोध गर्नेलाई प्रहरीले समातेर खोरमा कोच्थे ।
बलत्कार, हत्या आदि अचेल भएका छैनन् भन्न खोजेको होइन । दु:खका साथ भन्नु पर्छ । निर्मला हत्याकाण्ड जस्ता अनेकौँ काण्डहरू भएका छन् तर अहिले "निर्मलाका हत्यारालाई कार्वाही गर " जस्ता नारा लगाउने छुट त दिएको छ नि प्रजातन्त्रले । छुट दिनु नै न्याय त होइन नि । कारवाही चाँहीँ खोइ ? पहुँच वालाले गरेको अपराधलाई न त्यो बेलामा कारवाही हुन्थ्यो न अहिले हुन्छ । त्यो बेलाको निरंकुश पञ्चायती ब्यबस्था र अहिलेको बहुदलिय प्रजातन्त्र बिच फरक यही हो ? केवल वाक स्वतन्त्रता ? वाक स्वतन्त्रताको पनि अहिले हनन् भएको छैन र ?
त्यो समयमा जनताको हिम्मत गिराईएको थियो, आवाज दबाइएको थियो । हो त्यही आवाज र हिम्मतलाई चन्द्र शेखरले खुलाईदिएका मात्र हुन् । नेपाली जनतालाई आफ्नो ईशारामा नचाउँदै गए । हामी त्यही ईशारामा नाच्दै गयौँ । जनता नाच्ने स्थिती बाट सुरु भएको त्यो संस्कार पछि नेताहरूले पछ्याउँदै गए । अहिले नेताहरू बिना ईसारामा कामै गर्न नसक्ने भएका छन् । जनताले नेता चुन्छौँ, नेताले नेतृत्व चुन्नु पर्ने हो तर प्रधानमन्त्री आयातित निर्णयले छानिन्छन् । वाह रे वाह ! नेपालीको स्वभिमान, नेपालको राष्ट्रियता अनि स्वतन्त्रता !
बाह्य हस्तक्षेपमा सहमति नजनाउँदा राजा बीरेन्द्रले कति अप्ठ्यारो सहन पर्यो भन्ने कुरा हरेक बुज्रुक नागरिकलाई थाहा छ । यही कुराको उपज थियो शान्ति क्षेत्र नेपालको अवधारणा । भारत र अन्य केही देश बाहेक अधिकांशले सहमति जनाएका थिए । कल्पना गरौँ त, विश्वका शान्तिका अग्रदूत भगवान बुद्ध जन्मेको देश शान्ति क्षेत्र घोषित छ । विश्वले समर्थन गरेको छ । कति शोभायमान देखिन्थ्यो यही अवधारणालाई निरन्तरता दिन सक्ने कोही दूरदर्शी नेता भइदिएको भए ! के कोही छौँ अहिले ?
अहिले त हामी बुद्ध भगवानको बेईज्जत गर्न तिर उन्मुख छौँ । विश्वभर शान्ति फैलाउँने बुद्ध भगवान जन्मेको देशका नेताहरू राक्षस जस्ता । जनता पनि तिनै राक्षसी स्वभावका नेतालाईनै पटक पटक चुनाव जिताउछौँ । राक्षसी स्वभाव यस अर्थमा कि राक्षसले अरुको अस्तित्व स्विकार्दैन । आँफै जान्ने आँफै सुन्ने बाँकी सबै बेवकुफ ठान्ने । अरुलाई सिध्याउन खोज्ने राक्षस जस्तै नेपाली राजनीतिमा पनि ठ्याक्कै त्यस्तै छ ।
प्रजातन्त्र ल्याउनका लागि धेरै नेपाली नेताहरूले त्याग, तपस्या, संघर्ष , आन्दोलन गरेका छन् , जेल-नेल भोगेका छन् । “यो हाम्रो नेतृत्वले ल्याएको प्रजातन्त्र हो । त्यसैले देश चलाऊँने अबसर हामीलाई मात्र हुनुपर्छ” भन्ने नेताहरूको सोचाई छ । नेपालको राजनीतिज्ञको मापदण्ड त्यो मात्रै हो त ? दक्षता र सक्षमता चाहिदैन ?
आन्दोलनको भिड डोर्याउन सक्ने नेताले देश बिकास गर्न सक्छन् भन्ने छैन । आन्दोलनबाट सत्ता पल्टाउन मिठो र जोसिलो भाषण गरे पुग्छ तर, देश चलाऊन बिकासका आधारशिला , दुरदर्शी योजना र त्यसलाई कार्यन्वयन गर्न योग्यता, दक्षता तथा अनुभव चाहिन्छ । हाम्रा नेताहरूको अनूभव त , आन्दोलन गरी ढुङ्गामुढा गरेको र बर्षौँ जेलनेल भोगेको छ । तर, योग्यता के हो ? दक्षता केमा छ ? । हामी नेपाली जनतानै बेवकुफ छौ । आलु रोप्छौँ अनि भेण्टा फलेको हेर्न चाहन्छौँ ।
पढेर, देखेर, बुझेर नयाँ योजनाका साथ आएका उर्जावान नयाँ पिँढीलाई स्वीकार्न किन न चाहने ? अव पुरानो सोचलाई सच्च्याउनु पर्ने बेला भएन र ! नयाँ पिढिको क्षमताप्रति ढुक्क हुन सकिंदैन, कार्यक्षमताको परीक्षण भएको छैन भन्ने तर्क राखिन्छ । तर, अनुभवी भनिएका नेताहरूले पनि आपसमा सत्ताको तानातान , भ्रष्टाचारमा लुछाचुंडी गर्नु सिवाय के नै लछारपाटो लाएका छौँ र !
पञ्चायती कालमा यदाकदा भष्टाचार नहुने होइन । हुन्थ्यो । त्यो पनि अण्डर टेबल । तर अहिले त कहिले खुलेयाम त कहिले बिचौलिया मार्फत बार्गेनिङ्ग गरिन्छ । यतिमात्र कहाँ हो र ! नीति नै बनाएर भ्रष्टाचार गरिन्छ । गिरिबन्धु टि स्टेट , ललितानिवास काण्ड आदि जस्ता थुप्रै काण्डहरू यस्का ज्वलन्त उदाहरणहरू हुन् ।
बहुदलीय शासन प्रणालीको अरू बिकल्प हुनै सक्दैन । तर, निरङ्कुस शासन प्रणालीलाई ढालेपछि जनताले पूर्ण स्वतन्त्रताको महशुस गरेका छन् ? बहुदल आएदेखि नै देशले कुनै उल्लेखनीय विकास पाएको छ ? देश विकासको त कुरै छोडौँ ! हेटौँडा सिमेण्ट, बाँसबारी छाला तथा जुत्ता, भृकुटी कागज, हेटौँडा कपडा, गोरखकाली रबर आदि भएका कलकारखानाहरू पनि सिध्यायौँ । यो पनि कसैको ईशारामा भएको थियो । ईशारा जो सुकैले गरेको भएता पनि त्यो अनुसार नाँच्ने त हाम्रै नेता थिए ।
देश विकास गर्न नसकेपनि नेताहरूले आफ्नो जीवनको आर्थिक विकास भने मनज्ञ गरेको देखिन्छ । नेताहरूको आर्थिक विकासमा मात्र रुमलिएको छ नेपाली राजनीति । जस्ले बिरोध गर्छ उसलाई अनेक पासो थाप्ने संस्कार नै बनी सकेको छ । जो सत्तामा पुग्छ उस्ले प्रतिपक्षलाई फसाउँने षड्यन्त्रमा ब्यस्त देखिन्छ । यो न उ सबै उस्तै । कुनै न कुनै घोटाला नगरेका नेता त भेटाउनै कठिन छ ।
कुरा चाहीँ कस्ले राष्ट्रघात गरे , कस्ले पार्टी भित्रै अन्तरघात गरे र कस्ले जनतालाई धेरै बेबकुफ बनाए भन्ने मात्र हो । आफू चोखिने प्रयास गर्न एकले अर्काको गल्ती मात्र कोट्याउँछौँ । अरूको अस्तित्वलाई मुठारेर आफ्नो अस्तित्वलाई अग्लो देखाउन चाहन्छौँ । फसाउने तथा कार्वाहीको पहल गर्छौँ । यही हो भगवान बुद्धको आदर्श ? आफू जन्मेकै माटोमा जन्मेका गौतम बुद्ध आज विश्वभरी लोकप्रिय छन् । यस्को कारण बुझ्न सके पाप लाग्छ र ? रामायण र महाभारत बाट मात्र किन ? गीता बाट पनि सिकौँ न । जीवन र जगतको सत्यार्थ बुझ्न सके नेपाली राजनीतिक सोसाइटी पनि अलि सभ्य हुन्थ्यो कि ?
अधिकांश जनता देशका सच्चा नागरिक बन्न चाहेनन् । बस् ! नेताका कार्यकर्ता मात्र बन्न चाहे । देश भन्दा पार्टी ठुलो ठान्न थाले । अन्धभक्त भएर आफ्ना नेताको साथ र समर्थन गर्छन् । नेताहरू पनि पहिला आफ्नै कार्यकर्तालाई देखभाल गर्छन् । दशकौँ देखि आफ्नो झोला बोकेर हिढेका कार्यकर्तालाई आफु सत्तामा गएको बेला कमाउने अवसर त दिनै पर्यो । यो उनीहरूको बाध्यता हो । नत्र अर्को चुनावमा गोलखाडी खानु पर्छ । जस्ले गर्दा स्वतन्त्र रुपमा बस्न चाहने विद्वान तथा शिक्षित र सक्षम ब्यक्तिहरुलाई निकम्मा बनाइए । आफ्नो दक्षतालाई देश विकासमा योगदान गर्ने अवसरै पाउँदैनन् । अनि निराश जिन्दगी बिताउन वाध्य भएका छन् ।
नयाँ नयाँ नियुक्ति छान्न नेतृत्वको एउटा गजबको आधार तालिका नै रहेछ । पहिलो- आफ्नो कार्यकर्ता हो ?,दोश्रो- घुस र तेश्रो- आफन्त पर्छ ? चौथो- चिनेजानेको वा छरछिमेकी केही हो ? यस्ता कोही पनि भेटिएनन् भने मात्र अरूले अवसर पाउँदा रहेछन् । त्यो पनि नेतृत्वको ईसारामा नाच्नेछु भन्ने वाचा गर्नु पर्ने हुंदो रहेछ ।
अर्को टट्कारो समस्या भनेको बाह्य ईशारामा नाच्नु पर्ने नेताहरूको बाध्यता हो । दशकौँ जेल नेल भोगेर बल्ल तल्ल नेतृत्वमा पुगे पछि त्यसलाई बचाउन अनेक तिकडम बाजी गर्नु पर्ने हुन्छ । ती मध्य विदेशी प्रभुहरूको शरणमा पर्नु पनि उनिहरूको एउटा बाध्यता हो । चाहे आन्दोलन होस्, चाहे जन युद्ध । सबैले धेर थोर बिदेशी सहयोग लिएका कुरा बाहिर न आएका होइनन् ।
गर्न सके त हुँदो रहेछ नि ! बर्षौँ देखी लोडसेडिङले वाक्क दिक्क बनेका नागरिकलाई एक सक्षम ब्यक्तिले लोड्सेडिङ्ग मुक्त गराईदिए । त्यतिमात्र होइन,आज बङलादेश र भारतमा बिजुली निर्यात हुँदैछ । उनलाई खुलेर प्रशंसा गर्नुको साटो अनेक लाल्छना लगाउँने प्रयत्न गरिँदैछ । कमसेकम राम्रो कामको प्रशंसा गर्न त कन्जुसाई नगरौँ न ! चाहे तो सरकारले गरेको होस् या कोही ब्यक्तिले ।
आफ्नै नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउँनेमा सरकारमा रहेकाहरू समेत मुछिनु कति लाजमर्दो कुरा हो ? करिब ८० लाख पढालेखा युवाहरु अन्तर्राष्ट्रिय श्रमिक बनेका छन् । यस्तो देशको नेतृत्वकर्ता हुँ भनेर के गर्व गराई छ र ! यस्ता कुराहरू कोट्याउँदै जाने हो भने यो छोटो लेख मात्रै होइन एउटा सिङ्गो किताव नै बन्न सक्छ ।
अचेल एउटा हल्ला चल्न थालेको छ । मिसन चौरासी । त्यो बेलामा पनि भोट हाल्ने त जनताले नै हो । बुझ्ने युवाहरु परदेशमा रगत पसिन बगाउंनमा ब्यस्त छन् । देशको मोह भएका समुह भन्दा चुनावमा मासु चिउरा र रक्सीको मोह भएको समुह बढि छ । उनीहरुलाई नेताको नाम बाहेक अरु केही थाहा हुँदैन । जस्ले सबै भन्दा बढि खुवाउँछ उस्को मात्र नाम याद गर्छन् र भोट हाल्छन् । त्यसपछि कस्ले जित्यो भन्ने पनि उनिहरूले मतलव गर्दैनन् । मतलव गरुन् पनि किन ? चुनावको बेलामा भन्दा अरु कुनै पनि बेला नेता सँग कुनै सरोकार नै हुँदैन ।
ठुला पार्टीहरूका आफ्नै कार्यकर्ता र सदस्यहरू बढी छन् । जो अन्धभक्त छन् । जन्मदाता भन्दा ठुला मात्र होइन देउता भन्दा पनि ठुला ठान्छन् । आफ्ना नेताका लागि मर्न र मार्न पनि तयार हुन्छन् । भोटको त के कुरा । त्यस्मा पनि मासु चिउराबाट आउने भोट् जोढ्दा जित्नलाई प्रयाप्त हुन्छ । बिभिन्न भ्रष्टाचारमा जम्मा गरेको रकम भोट किन्नका लागि फुकी दिन्छन् । नयाँ पार्टी तथा नेताहरू सँग त्यो ल्याकत हुँदैन ।
माथि उल्लेखित सबै कुराहरू बर्षौँ देखि चलिरहेको छ । पञ्चायत काल देखी अहिले सम्म । कतिले गल्ती कोट्याएर फेसबुक ,टिकटक जस्ता सोसल मिडियाहरूमा ब्यक्त गरे । कति अनलाईन मिडियामा, त कती छापा पत्रिकाहरूमा छापिए । केही उपलब्धी भयो त ? छैन । किनकि , बुझ्नु पर्नेले बुझ्न चाहदैनन् । निदाएकालाई बिउँझाउँन पो सकिन्छ तर निदाए झैँ गर्नेलाई के सकिन्थ्यो र ? भन्ने उखान चरितार्थ भएको छ ।
देशमा अमनचयनको त कुरै छोडौँ । सरकारमा रहेका पार्टिहरू पनि संसद भवन भित्रै धकेला धकेल गर्छौँ । त्यति मात्र होइन सडकमा बिरोध सम्म गर्न थाली सकेका छौँ । वकिलहरू अदालत परिसरमा नै कुटाकुट गर्छौँ । साधारण जनताको त के कुरा गर्ने ? सुरक्षाको कुरा गर्ने हो भने आफ्नै राजालाई बचाउन नसक्ने सुरक्षा संयन्त्रले देश बचाउँन सक्छ भनेर कसरी विश्वस्त हुन सकिन्छ ?
त्यसैले, सच्चा देशप्रेमी नागरिकहरू एक जुट भएर राष्ट्र र राष्ट्रियता बचाउनतिर गम्भीर भएर लाग्नु पर्ने बेला आईसकेको छ । ब्यबस्था त फेरियो तर अवस्था फेरिन सकेन । सरकारको नेतृत्वमा फेर बदल भईरहेको छ । जुन जोगी आए कानै चिरिएका । सबैले आफ्नो दुनो मात्र सोझ्यायौँ ।
अहिले सम्म जुन सिस्टमले देश चलेको छ यसले कहिल्यै पनि स्वाभिमान नेपाली, स्वतन्त्र र विकशित देश बनाउँनै सक्दैन । जनता, प्रशासन, न्यायालय आ-आफ्नो पार्टिका गलत नेताहरूको कब्जामा छन् । देश गलत नियतका नेत्रित्वको कब्जामा छ । नेत्रित्वहरू गलत नियतका विदेशीहरूको कब्जामा थिए र छन् । हो हजुर ! हाम्रो देश नेपाल कब्जामा छ ।
-अमेरिका