Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

दर्शनढुङ्गो र देउता (कथा )

दर्शनढुङ्गो र देउता (कथा )

नेप्लिज डायस्पोरा

१६, मंसिर २०८१
images
दर्शनढुङ्गो र देउता (कथा )

उकालो चढेर लखत्रान परेका खेमराज चोताराको डिलमा थच्क्क बस्छन् । टोपी निकालेर आफ्नै हनुहार तिर हम्किन्छन् । अनमेल प्रेम विवाह गरेकोमा असन्तुष्टि जनाउँदै उन्का बुवाले गरेको किचकिच सहन नसकेर अर्कै गाउँमा गएर आफ्नी पत्नी सँग बस्दै आएका थिए । खरदार ओहोदाका सरकारी कर्मचारी भएपनि जीवन राम्रै सँग चलिरहेको थियो । दुइटा सन्तान पनि भए । उनीहरूलाई हुर्काए,पढाए र बढाए पछि दुबैजना बिदेश लागे । छोरा दुबई र छोरी जापान । पतिपत्नीको जीवन हाँसी खुसीनै चलिरहेको थियो । अचानक पत्नी सिताको पेट दुखेर अस्पताल पुर्याए । पाठेघरमा क्यान्सर भएको थाहा भयो । छोरा छोरीले बेला बेलामा पैसा पठाएकोले उपचार खर्चमा कमी भएन ।

चौतारोको सीतल हावा खाँदै थिए । सीतालाई केही भैहाल्यो भने म कसरी बाँच्ने होला भन्ने चिन्तालाग्न थाल्यो । टोलाउँदै थिए । चौताराको डिल देखि अलि परको दर्शन ढुङ्गोमा उनको नजर पुग्छ । ढुङै ढुङाको बिच त्यो ढुङ्गा टल्किरहेको थियो । उन्ले त्यो दर्शनढुङ्गो माथि ल्याएर बरको रुखको फेदमा राखे । पुछपाछ पारे । टल्किन थाल्यो । अझै टल्काउँन मन लाग्यो । नजिकैको धारामा लगेर धोएर ल्याए । मिलाएर राखे र हिँडे । अर्को दिन त्यँहा पुग्दा कसैले त्यो ढुङ्गालाई अबिर लागाएर फूल चडाएका रहेछन् । आफूले धोएर राखेको ढुङ्गो त देउता भैसकेको देखेर उनी आफै अचम्मित भए । गल्तीले अरू ढुङ्गा सँगै रहन पुगेका रहेछन् क्यारे देउता ! मैले यहाँ ल्याएर पुण्य गरेछु भनेर मक्ख परे । दिन प्रतिदिन शक्तिसाली देउता भनेर गाउँले सबैका आस्थाका केन्द्र बन्दै गए । उनी पनि त्यो बाटो हिढ्दा फूलपाती चढाउने गर्न थाले ।

 

एक छिन उनलाई पनि देउता सँगै बसेर आफ्ना पीढा सुनाउंन मन लाग्यो । लोग्ने मान्छेलाई जहाँ पाए त्यहाँ आँसु झार्न कहाँ मिल्छ र ! तर यो ठाँउ आफ्ना लागि उपयुक्त छ भन्ने लाग्यो । अनमेल प्रेम बिबाहले ल्याएको पारिवारिक समस्या , आफ्नी अर्धाङ्गिनीको लामो समय देखिको अस्वस्थता ,छोराछोरी वैदेशिक रोजगारीमा जानुपर्ने बाध्याता अनि आफ्नो घर र अफिसको दैनिकि आदिले पीडित भएको ज्यान । दिक्क बनेको मन मस्तिष्कलाई हल्का पार्ने ठाउँ चाहिएको थियो । न बिरामी पत्नीको अगाडि रुनु, न गाउँले सँग रुनु, न त छोराछोरी सँग फोनमा रुनु । आफ्ना बावुले त सत्रुलाई जस्तो व्यवहार गर्नेगरेकाले उनको अगाडि गए पनि आँसु नै झर्दैनन् । त्यसैले तिनै देउता मात्र उनका लागि एकमात्र उपयुक्त ठाउँ बन्यो ।

सीतालाई बचाउँन अस्पतालमा पैसाको खोलो बगाउँने अनि समय मिलाएर एक छिन त्यहि चौतारोमा पुगेर देउताका सामु बलिन्धारा आँसु बगाउन थाले ।

एकदिन सीतालाई बचाउँन सकिएन भनेर डाक्टरले जवाफ दिए । पाठेघरको क्यान्सर शरीर भरि पुरै फैलिईसकेछ । छोराछोरी छुट्टी लिएर आए । सबै आफन्त छरछिमेक सबैको अगाडि उनको अङ्गालोबाट आफ्नो प्राण भन्दा प्यारी मायालु अर्धाङ्गिनीलाई तानेर लाग्यो त्यो निष्ठुरी दैबले । काजकृया भयो । केही दिन पछि छोराछोरीहरू पनि बिदेश फर्के ।

छोराछोरीले पठाएका मात्र नभएर आफूले सँचय गरेर राखेको सबै पैसा सिद्धियो । आफ्नी प्राण भन्दा प्यारी पत्नीको जीवन लिला सिद्धियो । आफ्नो दाम्पत्य जीवन सिद्धियो । जन्मदाता आफ्नै घमण्डमा छन् । छोरा छोरी आफ्नो भविश्य निर्माणमा व्यस्थ छन् । उनको वेदना सुनिदिने कसैलाई चासो छैन । तिनै देउता सँग पेटभरी रुन खोजे । घिक्क घिक्क आवाज मात्र आईरह्यो । आँसु झर्न सकेन ।

-राम लामा अविनाशी 

images
प्रकाशित मिति :मंसिर १६, २०८१ आइतवार - ०४:५५:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend