Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

नागरिकता नम्बर (लघुकथा )

नागरिकता नम्बर (लघुकथा )

नेप्लिज डायस्पोरा

२८, मंसिर २०८१
images
नागरिकता नम्बर (लघुकथा )

नागरिकता नम्बर

       सहायक प्रमुख जिल्ला अधिकारी कार्यकक्षकाे ढोका बाहिर फाटेको चप्पल उतारेर फुटेका कुर्कुच्चा भुँइमा लतार्दै मलिन अनुहार लिएर धनवती प्रवेश गरिन् ।काँपीरहेका हातले कागजको मुठो टेबलमा राखेर उभिइन। 

फाइलका पाना फर्काएर हेरिसकेपछि मुखमा पुलुक्क हेर्दै सहायक प्रमुख जिल्ला अधिकारीले  प्रश्न गरे-"धनवती को" ?

उनले डराई डराई भनिन्-"हजुर धनवती म हुँ ।"

सहायक प्रमुख जिल्ला अधिकारीले सोधे-"बाबुको नागरिकता छैन ?"

धनवतीले भनिन्-"म सानै हुँदा बाबु मरे ! नागरिकता यही कार्यालयबाट निकालेका थिए रे ! आमा बरालिएर हिँडिन् ! म मामा घरमै हुर्की बढे । पढाउने लेखाउने कोही भएनन् । मामाको घरमा घाँस दाउरो गर्दागर्दै बिर्खेसँग बिहे भयो । दुई वटा छोराछोरी छन्। छोराछोरीलाई स्कुल पठाउँ भनेकाे जन्मदर्ता खोजे। नागरिकता नभईकन जन्मदर्ता पनि नहुँदो रहेछ। जन्मदर्ता नभए स्कुल भर्नै नहुँदो रहेछ। म त आँखा भएको अन्धा भएँ तर छोराछोरीका आँखा खोलिदिउँ भनेर नागरिकता निकाल्न धाएको आज एक हप्ता भइसक्यो। अहिलेसम्म बनेन ।" आफूले झेलेको शास्ति सम्झेर धनवती भक्कानिएर सुँक्कसुँक्क गरिन्।

      छेउमा उभिएका सुब्बाले भने-"रोएर हुँदैन, बाबुको नागरिकता खोज्नुस् ।" 

      "कहाँ जाऊ म बाबुको नागरिकता खोज्न ? मृत्युदर्ता ल्याएकै छु। प्रहरी सर्जमिन मुचुल्का ल्याएकी छुँ। पोइला गएकी आमाको नागरिकता ल्याएकी छुँ।" उनले ठाडो कडा मिजासमा उत्तर दिइन्।

    सहायक प्रमुख जिल्ला अधिकारीले पेश गरेका कागजात पुनःअध्ययन गरे। धनवतीले ल्याएको बाबुको मृत्यु दर्तामा नागरिकता नम्बर थिएन। जिल्ला प्रशासन कार्यालयमा नागरिकता वितरण गरेको अभिलेख थिएन। 

उनले फाइल धनवतीलाई फर्काइदिँदै भने- "कानुनको कुरा हाे । जागिरको सवाल छ। बाबुको नागरिकता नम्बर नखुलेकाेले अहिलेलाई दिन सकिएन । तपाईं खोजेर ल्याउनुस्।"

धनवतीले रुँदै भनि- "के मृत्युदर्ता मैले लेखेकी हुँ र ? के जिल्ला प्रशासनको नागरिकताको रेकर्ड मैले राख्ने हो र ?म त थाकिसकेँ। मलाई नागरिकता चाहिँदैन। छोराछोरीलाई सानाेमा मागेर र ठूला भए लुटेर खान सिकाउँछु। तपाईँहरूले बाँड्ने नागरिकताका नम्बरहरू छिमेकी देशका नागरिकहरूका लागि सुरक्षित राख्नुहोला  । हामी यो देशले नचिनेका नागरिकलाई के चाहियो र ?"

    आँखाका आँसु पुछ्दै धनवती ढोका बाहिर निक्लिइन् । जवाफहिन सहायक प्रमुख जिल्ला अधिकारी धनवतीका फुटेका कुर्कुचाले बनाएका पदचाप  नियालिरहे ।

 

गाेपीराम भण्डारी

images
प्रकाशित मिति :मंसिर २८, २०८१ शुक्रवार - २१:४५:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend