अगिल्तिर नाक ठोक्किने भीर, तलतिर नागवेली निलो भेरी नदी, नदी किनाराभन्दा माथि रहेको निवासको झ्यालबाट भेरी र भीरलाई नियाल्नु, रमाउनु, एक्लै टोलाउनु मेरो दिनचर्या बनेको छ । सरकारी सिन्दुर परेपछि अधिकृतको पहिलो पोष्टिङमा निकै रमाएर दुर्गम जिल्लामा सेवा गर्न आएको नौजवान राष्ट्रसेवक । प्रकृति र संस्कृतिको विविधतासँग परिचित हुने अवसर राष्ट्रसेवक भएरनै जुटेको हो । जागिर नभएको भए म यहाँ आउने थिएँ र ? यहाँको प्रकृति र जीवनशैलीसँग परिचित हुन पाउँथेँ र ?
कार्यालय समयपछि साथी पनि हुँदैनन् । रक्सी र तासमा रमाउन नसक्नेका लागि को पो साथी हुन्थे र ? तास रक्सीमा नलाग्नेहरू पनि आआफ्नै खोपीमा आगो ताप्दै भोटेचिया पिएर समय काट्छन् । दुर्गमका आफ्नै व्यथा ।
‘रक्सी खाऊँ, तास पनि सिकौँ । नत्र कसरी समय काट्ने ?एक डेढ वर्ष नपुगी पक्कै सरुवा हुँदैन ।’
‘होइन इच्छा नभएको कुरामा आदत किन बसाल्ने ? रक्सी र तासले को पो सप्रेको छ र ? छार्का, भिजेर, साल्दाङ र शेको प्राकृतिक विकटता, शहरतारा र त्रिपुराकोटको संस्कृतिसँग भिजेर बस्नुपर्छ । विविधता र जटिलतासँग भिज्नुको मज्जा नै अर्को ।’
भित्रभित्रै द्वन्द्वमा छु । मनभित्रको द्वन्द्वले टोलाउँछु पनि, घरी एक टङ्कारले भेरी नदी र ठाँगे हिमालभरि आँखा बिछ्याउँछु । घरी सरस्वती थानदेखि शहरताराको खोँचसम्म आँखा फिजाउँछु । उराठ अजङ्गको पहाडको खोचमा चिसो हावाको झोक्कासँग जबर्दस्त रमाउनुका विकल्प पनि कहाँ छ र ? पहिलो पोस्टिङ एक वर्ष त दुःखमै रमाउन पनि त सकिएला नि १
यी अजङ्गका उजाड डाँडालाई हरियालीले छोप्न पाए... । एउटा बिरुवा हुर्किन पनि दशकाँै लाग्छ यो हिम मरुभूमिमा । हुर्किएका रूखहरू काटेर नै यी डाँडाहरूउजाड मरुभूमि बनेका हुन् । रूख नकाटे यो जाडोमा दिनचर्या चल्दैन । रूख काट्दा अर्को रूख त्यत्रो बनाउन शताब्दी लाग्छ, जीवन र प्रकृतिको द्वन्द्व !
बिहानको तिखो जाडो, बेलुकीको मुटु हल्लाउने सिरेटो, अजङ्गका पहाड, कताकति देखिने वनस्पतिका तिखा पातहरू, हावासँगै ओइरिने पहराका ढुङ्गा, छुन नसकिने पानी सबैले यहाँको जटिल जीवनशैलीको परिचय हुन् । यहाँ जिउन पनि अलि कडा हुनुपर्छ, जटिलतासँग मितेरी लगाउनुपर्छ ।
समय काट्ने एउटा साथीको नाममा पुरानो नेशनल पानासोनिक रेडियो छ । जागिरमा आउनु अघि रेडियो भनेको समाचार सुन्ने, लोकसेवा र विश्वविद्यालयको रिजल्ट सुन्ने साधन थियो, अब बिस्तारै गीत सुन्न थालेको छु । फर्मायसी गीत, लोक गीत, आधुनिक गीत, राष्ट्रिय गीत । जे भए पनि सुन्नु न छ ।
सिलोनको विनाका गीतमालाको आधुनिक गीतदेखि अन्तमा आउने के एल साइगलको स्वरसम्म सुन्नु प्रतिबिहानको रुटिन बनेको छ । अब थाहा भयो, केएल साइगलको गीत कार्यक्रमको अन्तमा नै बज्छ ।
दाहाल यज्ञनिधिको साहित्य संसार सुन्दैछु । कति मिठो स्वरमा कविका रचना पाठ गरेको, निबन्ध पढेको । अर्को मनले भन्छ – यहाँको प्रकृति आफै कवि, आफै कविता । कुन रस छैन यहाँको प्रकृतिमा ?
‘बिहान कति छिटो निद्रा खुलेको? बेलुका नौ नबज्दै सुतेपछि छिटै निद्रा खुल्ने नै भयो । सुत्नु शरीर र इन्द्रीयलाई आराम दिनु न हो । सधैँ आराम पाएपछि किन आराम खोज्थे र ?’
दुर्गम स्थानले मानिसलाई अल्छी बन्न सिकाउँछ । पढ्ने पत्रिका पनि छैन । खाने कुरा पनि सधैँएउटै । अनि रेडियो सुन्दै अजङ्गका नाङ्गा पहाड, भेडा च्याङ्ग्रा र चौरीको लहर आँखाभरि कैद गर्नु दैनिकीका भाग बनेका छन् ।
विचरा भेडालाई निकै दुःख छ, चौरजहारीदेखि त्रिपुराकोट, जुफाल, दुनै, छार्का, तिन्जे, भिजेरसम्म सामान ओसारपसारका साधन, पछि उनीहरूले ओसारेको चामलसँगको सितन पनि यिनीहरू नै । कति निर्दयी मानिस १मोटर वाटो बने भेडाहरू कति सुखी हुनेथिए होला १ हो मैले मोटरबाटोका लागि सकेजति प्रयास गर्नुपर्छ । एउटा बाटो चौरजहारी दुनै, अर्को दुनै फोक्सुण्डो, अर्को दुनै शे र क्रमशः तिन्जे, छार्का, भिजेर । माझफालतिर जाने, साल्दाङको जटिलतामा जाने बाटो भए भोडा र चौरीलाई मात्र होइन, त्यहाँको जीवन बाँच्ने शैलीलाई पनि सघाउँथ्यो,अनि त म जस्ता कर्मचारीले पनि दिन काट्न रेडियोको गीत वा बाउन्न पत्ती तासमा अल्मलिन पर्दैन ।
विचरा सुकराम छ र सेवा गरेको छ । यो पनि नभएको भए आफै पकाउनुपथ्र्यो, अनि खान्थिस् तैले जागिर । अरू कार्यालय सहयोगी पनि यस्तै परिश्रमी छन् ?
होइन, यहाँ आएपछि खाना पनि धेरै रुच्न थालेको छ । दुईजनालाई तीस किलो चामलले पनि महिना धान्दैन । विचरा खाद्यको हाकिम भलाद्मी छन्, कोटा त दश किलो न हो । जति मागे पनि रित्तै फर्काएका छैनन् ।
रात पनि निकै लामा छन् । रातमा झन भेरीको सुस्कुरावट पनि कति गहिरो सुनिएको ? निद्रा लाग्नु, मीठो सपना देख्नु । होइन के भएको ? काठमाडौंमा त रात पनि निकै छोटा थिए । बिछ्याउनामा जानासाथ निद्राले मोहनी लगाई हाल्थ्यो । यहाँ त निद्रामा पुग्न पनि सङ्घर्ष नै गर्नुपर्ने ।
आज रातभरि खुवै न्यानो भएको त हिउँ परेर पो रहेछ । अब हिउँ हेर्न ठाँगे हिमालसम्म आँखा तन्काउन नपर्ने भयो, आँगन, पिँढी, छाना, पाखा सबैतिर हिउँ नै हिउँ सेताम्मे । करेसाबारीका रायोको साग, आरु र स्याउका बुटाहरू पनि हिउँले छोपेछ । भेरी नदीमात्र बगेको छ, सायद उसमाथि परेको हिउँ पानीमै समाहित भयो होला । ठूला कुरामा साना मिलेपछि ठूलोले सानालाई आफैमा समाहित गर्छ । सबैतिर सेतै हिउँ, बीचमा गहिरिएर निलो भेरीको नागवेली । सेतो कापीमा निलो वाङ्गोटिङ्गो धर्को कोरेजस्तो, कति राम्रो देखिएको १
सबैजना हिउँमा सकी नसकी हिँडेका छन्, फोटो खिचेका छन् । सिडिओ साव तस्वीर खिच्न निक्लेपछि सुरक्षाकर्मीलाई आपत । मेरो पुरानो पेन्टाक्स क्यामेरामा मिल्ने रिल नै पाइन । केही दृश्य त म पनि कैद गर्थे नि ! चरण हाकिम, पशु हाकिम, कृषि हाकिमसँग भन्नुपर्ला ।
भर्जिन कर्णाली, दृश्यको खेतीमा रमाएको छ । शहरिया भनाउँदाले देख्दा हुन् कति खेल्थे होलान् । युरोपतिरका पर्यटक भए कति रमिन्थे होलान् ।
होइन, हामी पनि त रमाएको छौ नि ! फोटो खिच्न रमाएका कर्मचारीहरू आँगन, बाटो र सालिकभरि छ्याप्छ्याप्ती छन् । स्थानीय पनि अब आलु, स्याउ राम्रै हुने भो भन्नेमा मख्ख छन् । रमाउने तरिका मात्र फरक न हुन् । दुःख भने यी भेडा, च्याङ्ग्रालाई हो । जाडो मनाउन यिनीहरू नै मारिनुपर्ने । यो मानिसको जातै अन्यायी । जीवनभर कति प्राणी वनस्पति सक्छ होला ?
हिउँ धेरै परेकाले कार्यालय सेवाग्राहीविहीन छन् । लाग्छन् काम नगरी तलब खाने कार्यालय । एकीकृत सेवा दिने चार पाँच कार्यालय मात्र भए हुने । यति धेरै कार्यालय, यति धेरै दरबन्दी ?
हिउँ नपग्ली बाटो पनि देखिँदैन । हिउँमाथि टेक्दा खुट्टा काप, कोप्चामा पर्ला भन्ने डर छ, होस पु¥याएर हिँड्न यहीँका मानिस मात्र जान्दछन् । चिठी, चपेटा त्यसैपनि आइपुग्न दुई हप्ता लाग्थ्यो, अब कति दिन पर्खनुपर्ला ।
खाद्यको चामल र बुढासाहुकोमा आलु र नून सकिए हामी कसरी बाँचौला ? सामल भए न सुकरामले पकाउने हो ?
गाला र ओठ पनि चिसोले पट पट फुट्न थाले, छाला उप्किएर झर्न लागे । यी लामा कपाल पनि कति खस्रा, आफ्नै हात पनि आफैलाई बिझाउने १
‘साव चिया खाऊ, जाडोमा चिया धेरै खानुपर्छ । गोर्खाली मन्ठा त्यति जान्दैनौं ।’ सुकरामका माया गर्ने शब्द पनि भर्जिन छन् ।
चिया टेवुलमा रोखर पनि सुकराम एकछिन ठिङ्ग उभिन्छ । सायद फर्मायसी गीत मन परेर होला । ‘उकाली ज्यानको चप्लेटी ढुङ्गा कान्छी मट्याङ ट्याङ.....’ उसलाई मन प¥यो होला । आवाजको भोलुम बढाई दिएँ । रमाउने मन पनि परिवेश अनुसार हुनेरेछ । तिमालमा भए माइच्याङ र च्याङ्वाका तामाङसेलो, बा¥हबिसे बलेफीतिर ‘लप्सीको गेडो चुसेर’ कुमार बस्नेत घन्किन्छ । बेनी बाग्लुङतिर बेनीको बजार, जता माया त्यतै छ नजर घन्किन्छ । काठमाडौंमा अरूणा लामा र नारायण गोपालले नपुगेर लियो सायरा घन्किन थालिसक्यो, रक र ¥यापमा युवाहरू लहसिँदै छन् ।
नजिकैको अगेनामा खाना बनाउँदा पनि सुकराम रेडियोतिर हेरिरहन्छ । समाचारमा ध्यान दिन्छ, गीतमा पनि, अरू कार्यक्रममा पनि ।
होइन यहाँको रैथाने गीत चाहिँ केहोला ? शहरतारामा त देवीले सपनामा भाषा सिकाए कि थिइन् रे ! ताराली भाषालाई डोल्पालीहरू देवभाषा भन्ने गर्छन् । आफ्नै संस्कृतिले समृद्ध छ डोल्पो, तर विस्तारै बिटुलिँदैछ । कर्मचारी र पर्यटकहरू बिटुल्दैछन् । मोटर आयो भने जनजीवन त सुखी होला, संस्कृति भने मासिनेछ ।
‘साव खान आऊ । जाडो छ, तम्लाई आपिसमा कल्ले खाना दिम्च ?’ यो सुकरामको मान र माया हो । तल्लो डोल्पाली सबै सुकराम नै हुन् । माथिल्लो डोल्पाली चाहिँसबै थिन्ले ।
स्टीलको थालमा ठाँगे हिमाल जत्रै भातको चोइली, जिम्मु झानेको कालो सिमीको दाल, बोक्रा नछिलेको आलुको तरकारी र पुदिना पिँधेको अचार । हामी यसलाई कर्णाली स्पेसल भन्छाँै । जाडोले होला खुवै स्वादिलो पनि छ ।
कर्णाली स्पेसलसंँग मीठो साइनो छ । सरेर गए पनि सुकराम र कर्णाली स्पेसल कसरी भुलुँला ?मेनु, परिकार पनि स्थान विशेष हुने न हुन् ।
दुनोजस्तो दुनै, अफिस नसकिँदै घामले डाँडा काट्छ । घामले डाँडा काटेपछि मुटु पनि काम्छ, सास फेर्दा पनि वाफ आउँछ ।
निवास आएपछि स्टिलको गिलासभरि रातो चिया दिनु उसको रुटिन हो । बडो इमान्दार र मिहेनती पनि छ सुकराम । जाडोले होला नभनी चाहिँ नुहाउँदैन । म पनि त शनिवार मात्र नुहाउँछु, काठमाडौँमा ननुहाई कहाँ खाइन्थ्यो र ! ननुहाएर होला, चिया ल्याउँदा पनि, खाना दिँदा पनि बेग्लै हस्को छुट्छ उसको शरीरबाट । निलप्रसाद कर्णाली सेन्ट भनेर जिस्क्याउँछ । जँुगा पनि कहिले मिलाउँदैन । दाँत पनि सफा गरेको देखेकै छैन । कपडा मयलले कटकटिएका छन् ।
लामो समय यतै बस्न परे हामी पनि झन्डै सुकराम बन्छौ होला । सुकराम नाम मात्र नभएर परिस्थिति पनि हो ।
सुकराम आज शनिवार हो, तिमी र म भेरी किनारमा पानी तताएर नुहाउनुपर्छ ।
‘हस साव दाउरा ल्याउँछु ।’ सुकराम हाजिरी जबाफमा निपुण छ । भने पछि नमानेको कहाँ छ र ? तर बुवाजस्तो मानिसलाई यो गर, ऊ गर भनेर के भन्ने ?
पानी तात्दैछ तर भेरीको चिसो सिरेटोले मननै कामेको छ । माझफालतिरबाट घामको किरण त आएको छ तर ती कलिलो किरण भेरीको चिसोसँग टिक्न सकेको छैन। कानमा रेडियो राखेर पानी तात्ने प्रतीक्षामा छु । सुकरामका आँखा भने मतिरै छन् । रेडियो सुन्न त मलाई हेरिरहनुपरेन, कान थापे पुग्छ । होइन, यो उसको आदत हो ।
शनिवार दिउँसोभरि रेडियो सुन्नेवाहेक काम भएन । साथी भने यही नेशनल पानासोनिक रेडियो । किताब पनि, मनोरञ्जन पनि, समाचार पनि यही रेडियो । एभरेडी व्याट्री भने पाइएकै छ ।
रेडियो र मेरो प्रेम देखेर सुकराम पनि ताजुप मान्दो हो ।
चिया ल्याउने क्रममा सुकरामाले भनिहाल्यो ‘यो साव कति रेडियोलाई कति माया गर्च’ ?
मायाभन्दा पनि समय काटेको हो सुकराम । अरू के गर्नु छ र ? कि म पनि अरू साव जसरी नै पिउन र तास खेल्न जान प¥यो ।
सुकराम कर्णाली स्पेसल मेनु तयार गर्दैछ । म भने विज्ञान प्रविधि कार्यक्रम सुन्दैछु । जाडोले होला भोक पनि लागेको छ । खाना छिटो तयार भए हुने भन्ने आशामा छु । काठमाडौँमा भए भोक पनि त्यति लाग्दैनथ्यो, चिया चार पाँच पटक लिइसक्थेँ । यहाँ त दूध भएको चिया पाउन पनि नेपालगञ्जतिर झर्नुपर्छ ।
टेवलमा कर्णाली स्पेसल राख्दै सुकरामको आदेश जारी भो ‘साव खान आऊ’ ।
सुकराम अकण्टक रेडियोतिर आँखा लगाइरहेछ । म भने खाना खाँदैछु । ‘साव रेडियोमा बोली कसरी आउँछ ? कति मीठो आवाज, आएर पनि सक्दैन । कति भरेको छ ?’
गीत होइन विज्ञानको कुरा आएको छ, यो पनि तिमीलाई मीठो लाग्यो ?
‘आउच साव । कान्छी मट्याङ, हरियो डाँडामाथि..कालिपारे...पनि आउँच.।’
गीतका भाकाहरू पनि, शब्दहरू पनि ठाउँ अनुसार हुन्छन् । डोल्पाको शा....आ शैलीका भाकाहरू रेडियोले टिप्न भ्याएको छैन । हिन्दी चलचित्रका गीतहरू डोल्पामा यत्र तत्र बज्छन् तर शहरतारा, फोक्सुुण्डो, धो तिन्जेका शब्द भाकाहरू रेडियो नेपालले टिप्न भ्याएको छैन । यहाँका काठमाडौं पुुगेका कलाकारले पनि आफ्नै ठाउँलाई भुलेका छन् । आफ्ना गाउँका भाका घन्केको भए सुकराम अझ कति रमाउथ्यो होला ?
मैले खाना खाइसकँे, ऊ रेडियोलाई नै नियालीरहेको छ । आज त खाना सोध्न पनि भुल्यो । सुत्नेवेलामा पनि रेडियोतिर हेरेर मात्र गयो । खै के गर्छ सुकराम ।
ऊ कहिले पनि परिवार, घर र व्यवहारको कुरा गर्दैन । उसका परिवार पनि भेट्न आएको देखेको छैन । तलब झिकेर खाद्यको चामल पठाइदियो सबै ड्यूटी पूरा ।
अफिसबाट आउँदैथिएँ, सुकराम मेरो सिरानीमा राखेको रेडियो झिकेर वल्टाई–पल्टाई हेर्दै रहेछ । सायद बजाउन खोजेको होला । मलाई देख्नासाथ आत्तिएर मुख नै रातो बनायो ।
के गरेको सुकराम ? रेडियो सुन्नुप¥यो ? आज त फर्मायसी गीत सकियो । तिमीलाई मन पर्ने आउँदैन, अरू कार्यक्रम र समाचार मात्र आउँछ ।
अर्को दिन रेडियो सुुन्दै खाना खाँदै थिएँ रेडियोमा अकण्टक आँखा लगाउदै उसले प्रश्न ग¥यो ‘सावको सरुवा कहिले हुन्छ ?’
अचम्म मान्दै प्रतिप्रश्न गरेँ ‘किन र सुकराम’ ?
सावको सरुवा होला र रेडियो मागूँला भनेर ।
म खग्रङ्ग भएँ, उसले रेडियोमा क्वारक्वात्र्ती हेरिरहनुको अर्थ त बल्ल बुझेँ, र भनेँ यो रेडियो लिनका लागि मेरो सरुवा हुनुपर्दैन, अहिलेनै लाऊ ।
प्रसन्न मुद्रामा सुकरामले केही नवोली रेडियो दुई हातले झम्ट्यो ।
धन्न भन्ने हिम्मत ग¥यो । मनमा कुरा खेलाएर बसेको भए रेडियोको आशक्तिले अरू कुरा पनि हुनसक्थ्यो । मनै त हो, म एक्लै सुत्थेँ । त्यति बलिष्ठ सुकरामको मनमा पाप पलाएको भए१
-गोपी मैनाली