Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

आमालाई प्रश्न ( कविता )

आमालाई प्रश्न ( कविता )

images
आमालाई प्रश्न ( कविता )

हिजै हो जस्तो लाग्छ
भुन्टी संग गट्टा खेलेको
गाँउ भरीका साथी बटुलेर
माटाका भाँडाकुटी खेलेको
मलाई
अझै गट्टा खेल्न मन छ।
मलाई
अझै भाँडाकुटी खेल्न मन छ।
आमा!
तिम्लेपनि यै उमेर पार गरेर आएकी हौ नि?
किन बुझिनौ मेरो मनस्थिती
किन हेरिनौ मेरो परिस्थिती
तिमीले
न घर धन्दा सिकायौ ?
न भान्सामा कहिले चढायौ ?
न त ब्यवहारिक कुरा सिकायौ
अनि कहिले
कसरी परिपक्व बनायौ ?

त्यसबेला
म
भाँडाकुटीकि बेहुली भन्दा
अलि ठूली थिए होला
आमा!
जामा र सारीको अन्तर बुझ्ने
मेरो उमेर थियो र?
माईती र घरमा
गरिने ब्यवहार केलाउने
सामर्थ थियो र?
पोथीले चल्ला छेपे झै
तिमिले त मलाई
मातृत्वले छोपेकी हुन्थ्यौं।
एक्कासि तिम्रो ममता
कता बिलायो?
तिमि किन कठोर बन्यौ?
जानी जानी
म फुच्ची केटीलाइ किन ऐठन गरायौं?
नानु बाट
बुहारीको सम्बोधनमा पुरायौ ?
नगरेका काम गर्न पठायौ ?
आफ्नै सारीमा अल्झेर
मेरो निधार चर्केको
तिमीले देखिनौ!
सबैको चाहना पुरा गर्दा
तिम्री छोरी हराएको भेटिनौ !

 

मेरो भलो सोच्ने
तिमीभन्दा अर्को को थियो होला ?
मेरो भविष्यको बारेमा सोच्ने
तिमी बाहेक को थियो होला ?
आमा!
म पश्न गर्न चाहान्छु
नाबालक अन्माउदा
तिम्रो मुटु कामेन?
मारे पाप पाले पुण्य भन्दै
धर्मगाठो बुझाउँदा
तिम्रो हात कामेन ?
भन न आमा
अबोध बालकलाई
पराईको साथ पठाउदा
रुप रंग फेराई
महिला बनाइ पठाउदा
तिमी सन्तुष्ट थियौ ?
आमा!
त्यो पल
तिमीले के सोचेकी थियौ ?

@ सरिता अर्याल – काठमाडौ नेपाल।

images
प्रकाशित मिति :पौष ६, २०८१ शनिवार - ००:११:३५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend