‘पानीको रङ’ – शीर्षकले नै तानेको हो, सुरुमा ।
अस्ति हात परेपछि यसको आवरणले तान्यो । शीर्षक सुहाउँदो पानीको लहर छ – नीलो पानी, संभवतः समुद्रको छाल हुनुपर्छ ।
किताब उचाल्दा त्यसको आकार र वजनले तान्यो । सानो छ पुस्तक । झण्डै हत्केलामै अटाउँछ । र, उचाल्दा किन किन कपास उठाएझैं लाग्छ ।
तर, दुईचार पाना पल्टाउनासाथ तुरुन्तै अर्को अनुभूतिले छोप्यो – किताब गह्रौं छ, वजनदार छ । यसमा फुटकर कविताहरू मात्र छैनन्, काव्यिक गरिमाको अटेसमटेस उपस्थिति छ ।
कवि ऋषि बस्ताकोटीको नवीनतम कृति ‘पानीको रङ’ मा समेटिएका अधिकांश कविताले पाठकको मन हल्लाउने सामर्थ्य राख्छन् ।
करिब तीन दशकभित्र फरक भूगोल, फरक परिवेश र फरक मनोदशामा लेखिएका कवितामा विषयगत विविधता देखिनु स्वाभाविक हो । तिनमा शैलीगत विविधता पनि छ । कवितासँगै गजल, मुक्तकमा सरोबर कलम चलाउने कवि बस्ताकोटीले थुप्रै ठाउँमा काव्यिक संरचनाका धेरै आयामहरू सँगसँगै मिसाएका छन् । गजल, मुक्तकका बान्कीहरू पनि बीचबीचमा चुस्सचुस्स घुसेको/घुसाइएको अनुभव गरें मैले ।
कविता सरल छन्, गेयात्मक छन्, सम्प्रेष्य छन् । भाव र बिम्ब संयोजनले तिनलाई सघन, खदिलो बनाएका छन् । केही कविता पात्र–केन्द्रित छन्, केही प्रकृतिकेन्द्रित र केही परिवेश केन्द्रित । केही कविता सामाजिक विसङ्गति र त्यस्ता प्रवृत्तिको झाँको झार्ने उम्दा खबरदारी जस्ता पनि छन् । यी सबैमा कविले हृदय पोखेका छन्, संवेदनाको भेलबाढी खन्याएका छन् । पाठकलाई भावुक बनाउने सामर्थ्य राख्छन् थुप्रै कविताले । कतिले सामाजिक चेतनाको शंखनाद गरेका छन् र विद्रोहको उद्घोष ।
कवितामा उल्लिखित केही पात्रलाई छामेपछि लाग्छ– ती हामी नै हौं । अरु केही पात्र/प्रवृत्तिलाई कोट्याउँदा लाग्छ – ती हाम्रै वरिपरि हुर्किरहेका वनमाराहरू हुन् । तिनको सन्दर्भ उठाउँदा कवि मज्जैले पिरोलिएका लाग्छन् ।
पछिल्लो समयमा पश्चिमी दुनियामा बसेर लेखिएका कविताहरूमा आफ्नो आधारभूमिप्रति कवि ‘नोस्टाल्जिक’ लाग्छन् । त्यतिखेर कवितामा चेपे, दरौंदी, लिगलिगकोटहरू अलि सघन रुपले आएको मैले अनुभव गरें ।
सँगालोको सुरुमै राखिएको ‘पहिरो’ मास्टरपिस सिर्जना हो । ‘पानीको रङ’, ‘बादलका बुट्टाहरू’, ‘नामका कुरा नगर भाइ’, ‘पर्खाल, भित्ता र हामी’, ‘एक्ले वर’, ‘बाको जुत्ता’जस्ता उम्दा सिर्जना समीक्षकहरूले बारम्बार कोट्याउने उदाहरण हुन सक्छन् । लाग्छ– थुप्रै कविताबाट छानिएका हुन् यसमा परेका चालीस कविता । त्यसैले सबैका केही न केही पृथक प्रारूप र वैशिष्ट्य छन् । कविले यस्तै यस्तै सिर्जनाहरूमार्फत् अविरल गतिशीलताको आह्वान गरेका छन् – आफ्नानिम्ति र अरु स्रष्टाहरूका निम्ति । त्यो आह्वान हामीजस्ता पाठकका निम्ति पनि हुन सक्छ ।
उनी लेख्छन्,
‘हिँड्ने हो निरन्तर
उकालो चढे पनि हुन्छ
ओरालो झरे पनि हुन्छ
गतिशीलता हो लक्ष्य
स्थिर पो रहनुभएन,
हिँड्दै जाँदा
यात्रा त –
कहिले दायाँको गरे पनि हुन्छ
कहिले बायाँको गरे पनि हुन्छ ।’
‘पानीको रङ’ पढेपछि धेरैमा यसरी नै हिंडिरहने रहर पलाउनेछ, पक्का ।