Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

झुण्डिएको तस्वीर

झुण्डिएको तस्वीर

नेप्लिज डायस्पोरा

२९, माघ २०८१
images
झुण्डिएको तस्वीर

हो ! त्यो देखिनेगरी झुण्डिएकोछ
चलमल नगरी अविचल भएर झुण्डिएकोछ
सबैलाई एउटै नजरले हेरिरहेकोछ
निरव क्षणहरूलाई पारगरिरहेको छ
कोलाहलहरूलाई पचाएकोछ ।।

यातना पाएको अपराधी जस्तो भएर
नीरन्तर रूपमा झुण्डिरहेकोछ
उसले ककसलाई र कतिजनालाई देखिसक्यो
तैपनि उ मौन भएर हेरिरहेको मात्र छ।।

आफू प्रति विश्वास नभएर आफैले साक्षी राखेजस्तो
सत्ता र शक्तिको फूर्तिलाउने प्रमाणपत्र देखाएजस्तो
पात्रलाई अविरल रूपमा व्यङ्ग्य पस्किरहेजस्तो
उनै माथि अविरल खबरदारी गरिरहेजस्तो ।।

न उ बोल्छ कहिल्यै न बोलाउँछ
न मुस्काउँछ र प्रेम वर्षाउँछ
नहासाँउछ न त रुवाउँछ नै
उ त मौनता मात्र सझाउँछ।।

हो उ पात्रको आदेश पालनगरेर
जिउँदै इतिहास भए झैं गरी
सम्वाद गर्न तत्पर रहे झैं गरी
कर्तव्यपरायण सुरक्षाकर्मी झैं उँभिरहेछ ।।

अशेष प्रश्नहरू जन्माइरहेछ
अनन्त उत्तरहरू खोजिरहेछ
जीवनका केस्राहरू केलाइरहेछ
शालिनता भन्दा कर्तूत बताइरहेछ।।

हो उ पात्रको प्रतिनिधित्व गर्छ
भावनाको बायूयानमा यात्रा गराउँछ
आत्मरतीमा सभ्यताको बिम्ब बन्नखोज्छ
साँचो अर्थमा भद्दा प्रदर्शनीको प्रतिक बन्नखोज्छ
मानौ ! उ घृणा र तिरस्कारको भाव पिइरहेछ ।।

म छक्कपरेर हेर्नेगर्छु
उ मरेर बाँचेको हो कि
जिवत्व नै गुमाएको हो
पौरख बोलिरहेको हो कि
पात्रसँगै तर्सिएको हो ??

म बुझ्नैसक्तिन
म भन्नैसक्तिन
बुझेर नबुझे जस्तो
नबुझेरै बुझेजस्तो
भन्नै नसकिने
खै! कस्लाई कस्तो
कस्लाई कस्तो ?

-हरिप्रसाद उप्रेती
वरिष्ठ अधिवक्ता

images
प्रकाशित मिति :माघ २९, २०८१ मंगलवार - २०:०३:४३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend