हृदयमा अल्झिएको
एक इतिहास
यो पोर्तो शहर
छातीमा रक्सीका घ्याम्पा
र सन्की नाविकहरु बोकेर
आफ्नै लयमा आन्ध्र महासागर भेट्न
हतारिएको छ दौरो नदी
चुपचाप सब तमासा हेरिरहेको
लुइस पुल
तोप बोकेर दुश्मनलाई चुनौती दिइरहेको
सेरा द पिलारको धार्मिक र सामरिक अड्डा
ती पुराना ढुंगे सिंढीहरु ।
तिम्रो हृदयमा कोरिएको
मेरो चित्र जस्तो
एउटा पुरानो आलाप
मेरो उर्वरवयको
जीवन पोखिएको
त्यो पुरानो पूर्तगाल
अर्थात्
पोर्तो
पोर्तोसंग
प्रेमका कहिल्यै नतुरिने
केस्रा केस्रा कथाहरु छन्
पोर्तोसंग
कति छन्
वियोगका कथाहरु
पोर्तोसंग
जीजीविशाका अनगिन्ति
व्यथाहरु छन्
आफैसंग चित्त नबुझेर दौरोमा बगेका
व्यथाहरु छन्
नपत्याए
चुपचाप हेरिरहेको लुइस पुललाई सोध
बगिरहेको दौरोलाई सोध
खोंचका ढुंगाहरुलाई सोध
टायलका राता छानाहरुलाई सोध
घर छोड्नेलाई सोध
घरको महत्व
आँगनको छेउमा
तिमीलाई पर्खिरहेको
महिरोको महत्व
हँसिया अर्जाप्ने
लेउ लागेको
ढुंगाको महत्व
एक गुमनाम शहर
एक गुमनाम म
र मेरा गुमनाम सपनाहरु
पोर्तो
त्यही सपनाहरु पोखिएर
कला बन्न नसकेको
भताभुङ्ग चित्र हो मेरो मथिङ्गलको
युद्धमा गएकाहरु सम्झंदै
फादो गाइरहेछन कतै
कतै फातिमाको आराधना चलिरहेको छ
देश बदल्न बन्दूक बोकेको
सगरमाथाको युवक
एसेलु टिपिरहेछ
गाबोरमा तानिरहेछ
जुत्ताको पैतालो
पोर्तो
अनन्त फैलिएको
महासागरको आरम्भ हो
र
सिंगो बैंसको अन्त्य
पोर्तो
आँफैमा
एक अमूर्त चित्र
१० फरवरी ०२५
जेनेभा
