Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

लघुकथा- धैर्यता

लघुकथा- धैर्यता

नेप्लिज डायस्पोरा

१०, फाल्गुण २०८१
images
लघुकथा- धैर्यता

लघुकथा- धैर्यता

बाबुसँगै बस कुरिरहेको गणेशले भन्यो-“हे बाबा,कति बेर कुर्नुपर्छ ? ठिक्क जानेबला आए भइहाल्यो नि ।” बाबुराम बाेलेन । केवल छोरालाई हेरिरह्यो। गणेश घरी यता घरी उता गरेर छटपटाइरहेको थियो। छोरा भुटभुटिइ रहेको देखेर बाबुरामले झोलाबाट एउटा किताब झिकेर दिदै भन्यो-“ल यो मदन पुरस्कार प्राप्त पुस्तक पढ।” गणेशले बाबुको मुखमा खाउँला जसरी हेर्यो र किताब लियो।
उसले किताबको पाना फर्काउँदै हेर्दै गर्यो। उसले शीर्षक मात्रै हेर्यो । एकछिन हेर्दै पाना फर्काउँदै गर्यो । उसले पाँच मिनेट पनि किताब हेर्न सकेन । फरर फर्कायो र काखिमा चेप्यो र फेरि छटपटाउन थाल्यो। छटपटाइरहेको छोरोलाई बाबुरामले सोधे-“त्यो किताब के विषयमा लेखिएको रहेछ ।” उसले भन्यो-” मैले त हेरिन।”बाबुले फेरी प्रश्न गर्यो-“अनि राइटर को रहेछ ।” उसले काखीबाट किताब झिकेर राइटरको नाम पढ्न थाल्यो। बाबुरामलाई थाहा भयो,छोरोले किताबमा ध्यान दिएको छैन। उसको दिमाग स्थिर छैन। त्यसपछि उसले कोटको खल्तीबाट मोबाइल झिकेर दिदै भन्यो- “ल यो युट्युबको भिडियोहरु हेर ।” गणेशले नबोलेर मोबाइल हेर्न थाले। केही मिनेट हेरेपछि उसले फेरि अर्को भिडियो बदल्यो। जतिवटा भिडियो हेर्छ ,कुनै पनि भिडियो पुरा हेरेन । उसले धेरै हेर्यो तर अलिकति हेर्दै बदल्दै अलिकति हेर्दै बदल्दै गरिरह्यो।
भिडियो हेर्दा हेर्दै बस आयो। उनीहरू बसमा चढे। बस बिस्तारै कुदिरहेको थियो। गणेशले झर्कँदै चालकलाई भन्यो-“के कछुवाको तालमा हिँडाएको गाडी हाँक्न पनि आउँदैन कि क्या हो ?” चालकले भन्यो-“साठी सत्तरीकाे स्पिडमा कुदेकै छ त ,कच्चीबाटो, घुम्तीहरु र अप्ठ्यारोमा उडाउनु त ?”। चालकले उसको भनाइलाई व्यवास्ता गरी स्पिकरको आवाज ठूलो बनायो । केही बेरमा उनीहरू खाना खाने ठाउँमा पुगे। सबैजना खानाखाने टेबलमा बसे । होटलवालाले सबैको अगाडि खाना र पानी राखिदियो । थालमा हालेको खाना खाइसकेपछि गणेशले थप खाना माग्यो ।
केही बेरमा खाना ल्याएर आएको कर्मचारीलाई गणेशले भन्यो-“कस्तो स्लो सर्भिस अलि छिटो गर्न सकिँदैन । पैसा त पुरै लिन्छ होला नि?” कर्मचारी नबोलेर भात खनाइदियो र गयो।
गणेशले फटाफट खाएर शौचालय गयो। शौचालयबाट फर्कने क्रममा शौचालयको ढोकाको जस्ताले उसको हात काट्यो। काटिएको हातबाट रगत चुहाउँदै हतारमा गाडी चढ्यो । रगत बगिरहेको देखेपछि बाबुरामले उसलाई स्वास्थ्य केन्द्रमा लगे र टिटिसुई लगाउन लगाए । नर्सले सुई लिएर पाखुरामा बिस्तारै घोच्दै थिइन् बाबुरामले हातले ठेलिदिए। गणेशले चिच्याउँदै भन्यो-“ऐया बिस्तारै गर्नुपर्दैन ।”
बाबुरामले जोडले छोराको गालामा हिर्काउँदै भने-“अरुलाई बिस्तारै सिकाउने तेरो धैर्यता खोई ? न कुनै किताबको पानामा अडिन्छ तेरो दिमाग। न कुनै सडकमा ।न कुनै भिडियोमा । न कुनै स्थानमा। के भएका अहिलेका मान्छेहरू? धैर्यताको नामै छैन।” छोराको व्यवहार देखेर चिन्तित बाबुराम मनोचिकित्सक खोज्न हिँडे। गणेशले गालो छामेर बाबु गएको बाटो हेरिरह्यो

 

गोपीराम भण्डारी
टोखा काठमाडौँ

images
प्रकाशित मिति :फाल्गुण १०, २०८१ शनिवार - ०७:४१:०८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend