Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

निलीमा (यौन मनोवैज्ञानिक कथा) ✍️ अन्जु शर्मा

निलीमा (यौन मनोवैज्ञानिक कथा) ✍️ अन्जु शर्मा

नेप्लिज डायस्पोरा

१२, फाल्गुण २०८१
images
निलीमा (यौन मनोवैज्ञानिक कथा) ✍️ अन्जु शर्मा

  उनले आँखा नझिम्काइ टुलुटुलु हेरिरहन् । उनी गेटदेखि नजिकै सडक किनारमा बसिरहेकी थिइन् । म निकै हतारमा आएको थिएँ । सट्ट गेट खोलेर भित्र पसेँ ।

 

पवित्रा बसेको ठेगाना पनि मैले साथीहरूबाटै लिएको थिएँ । पवित्रा मेरी बाल्यकालकी साथी । धेरै बर्षको अमेरिकाको बसाइपछि नेपाल आएकी पो त ! पवित्राको बुबा ठूलै अफिसको जागिरे हुनुहुन्थ्यो । त्यहीँ भएर उनी अमेरिका गइन् । बाले नेपाल आउने जाने क्रममा अमेरिकी नागरिकता लिनुभाको रे ! आ..! जे भए पनि के भो त ? उनी र म दश कक्षासम्म सँगै पढेका हौँ ।कम्ता मिल्दैनथ्यौं । खाजा खाने, खेल्ने प्रायः सँगै हुन्थ्यो ।

मोरी ! कक्फाइट, कवर्डी, डण्डीबियो जस्ता केटाले खेल्ने खेलमा पनि मलाई जितूँला झैँ गर्ने । म विगत सम्झेर मुस्काउँदै भर्याङ्ग चढ्दै थिएँ । अचानक नजर उनैमाथी पुग्यो । उनी मलाई नै हेरिरहेकी थिइन् । मलाई कताकता लाजले काउकुती लागेजस्तो भयो । म फटाफट बैठकमा पुगेँ ।

" ओहो ! रवि तिमी !! क्या सप्राइज दिनसकेको यार !फोन त गर्नपर्छ नि । एनि वे नाइस टु मिट यू ।" पवित्रा मलाई अंकमाल गर्न आइपुगिन् । सायद पाश्चात्य संस्कारले उनलाई ख्वाप्लक्क निलेको छ । म पूर्वीय संस्कारको, त्यसमाथि सामन्य ब्राह्मण परिवारको मान्छे ।उनको व्यवहारले मलाई शारीरिक कम्पन ल्यायो । अनि म पनि हठात् उनको अंँगालोमा दह्रो गरी बेह्रिएँ । 

" के छ यार ? सो लङ्ग टाइम..! " उनी मलाई भव्य सजावट भएको बैठकमा बस्ने आग्रह गर्छिन् । अनि फ्रिजबाट चिसो  वियर निकालेर दुईवटा ग्लासमा राख्छिन् ।

" म वियर खान्नँ पवित्रा ।" 

"अरे तिमी त उही टुप्पे बाहुन ! " उनी खित्का छोडेर हाँसिन् । 

'अहिलेको जमानामा पनि सादा जीवन रंगाउन जानेको छैन ?' मलाई कताकता उनीसँग रिस पनि उठेर आयो । म पुरूषबादी समाजमा हुर्केको, पुरूष सोच हावी भएको मान्छे  पो त ! केटीभन्दा कम्जोर हुनसक्छु ? मेरो अन्तर मनले सजग गरायो ।

"ह्या ! तिम्रो मन चोरेको पो त । म पनि खान्छु ।"

मैले पनि वियर खाने निर्णय गरें । हामी दुबै वियर पिउन थाल्छौं । मभन्दा उनी बढी नै वियरको नशामा डुबेकी छन् । उनी बोतलको वियर सिध्याउँदै जान्छिन् । म उनलाई धेरै नशा लागेको अनुभव गर्छु । उनी बोल्दै गइन " रवि! तिम्ले मलाई याद गर्यौ कि गरेनौ ? मैले तिमीलाई बहुत धेरै याद गरेँ । त्यो बेला थाहा छ जतिबेला म अमेरिका गएँ, तिम्रो यादले यस्तो सताएको थियो कि अमेरिका छोडेर नेपाल आऊँ जस्तो बनायो । तर समय पनि त बलवान छ । एकातिर बाआमा अमेरिकामा, पढाइ अमेरिकामा अर्कोतिर नेपाली युवायुवतीको अमेरिका सपनाको देश । नेपालको यस्तो अस्थिर र कम्जोर राजनीतिक कारणले कुनै पनि युवा फर्केर आउन चाहँदैनन् भने म पनि किन आउने ? अहिले यो मामाकी छोरीको बिहे हुने भएको कारण नेपाल आउने मौका मिल्यो ।" उनी वियरको नशाले अझ रातोपिरो भएकी छन् । तैपनि बोल्न छोडेकी छैनन् । उनको प्याला भरिएको जवानी म नजिकैबाट नियाल्छु । मलाई मेरा कुरा राख्न मन लाग्दैन् । किनकी, म उनको प्यासी जवानीको मदहोशी भएको छु । अर्धनग्न पहिरनमा, मादक पदार्थ सेवनले लठ्ठिएकी पवित्रासँग म एक बन्द कोठामा छु । मभित्र मेरो जवानी उम्लेर आयो । म उनीसँग टाँसिएर बसें । ओहो ! क्या तातो शरीर । बिस्तारै उनको निधारमा छरिएको केशराशीलाई पन्छाएँ । उसैबेला कसैले ढोका ढक्ढक्याएको आवाजले म पुन: अर्को सोफामा सरें ।

" केही खाना ल्याऊँ कि हजुर ?"

घरैको नोकर पो रहेछ ।

" भो पर्दैन " भनिदिएँ । " बेला न कुबेला डिस्ट्रर्ब गर्दो रैछ ।" मनमनै बोलेँ ।

" ल सुनाऊ रवि तिम्रो के छ ?"

" मेरो नयाँ केही छैन । उहीँ पुरानो रिल ।" म विवाहित भएको कारण घरको कुरा सुनाउन उति धेरै चाख लागेन ।अचानक म बाहिर आँखा दौडाउँछु । एक त मेरो कम बोल्ने बानी त्यसमाथि बाहिरको दृश्यले अझै कम गरिदियो । म उत्तरविहिन भएको देखेर पवित्रा छक्क पर्दै भन्छिन्, " के हेर्छौ त्यतातिर ? .....ए ! तिन्लाई !

उनी मेरी फूपुकी छोरी हुन् । टाइफाइड बिग्रिएर त्यस्ति भएकी । मभन्दा दुई तीन बर्ष मात्रै कान्छी हुन् । फूपाजु बितेको बर्ष दिन नबित्दै फूपु हाडनातामा बिग्रेको कारण घर छोडेर हिँड्नु भएको हो रे ! कोही मरी भन्छन्, कोही भारतमा छे भन्छन् । खासमा फूपुको उति खोजी भएन् । त्यहीँ भएर हामीले यो बैनीलाई हाम्रै घरमा राखेकाथ्यौं ।हामी अमेरिका जाँदा मामाघरमा छोड्न बाध्य भैयो ।उसको पनि आफ्नो भन्ने कोही रहेनछ । तीन कक्षासम्म त पढेकी हुन् । पढाइमा अब्बल थिइन् । टाइफाइड बिग्रेपछि यस्तो भयो ।  पहिले त ठिकै थिइन् । हामी अमेरिका गएपछि यिनको स्वभावमा फरकपन आएको रे ! हिजोआज यिनको दिनचर्या फेरिएको छ भन्छन् । कति सम्झाए पनि नलाग्ने । सडकमा पुगिहाल्ने । सडक निकै प्यारो भएको छ ।" पवित्रा एकोहोरो बोलिरहिन् म चुपचाप सुन्दैरहेँ । उनका कुरा सुनेर मलाई निलिमाप्रति अझ बढी दया लागेर आयो । म हिँड्न हतार गरेँ । 

"ए रवि ! किन यति हतार गरेर जान खोजेका छौ ? तिम्रो कुरा त केही सुन्नै पाएको छैन । फेरि खाजासाजा खाएर त जाऊ । ल हेर ! तिम्रो फेव्रेट टि सर्ट ।" उनलेे सानो् झोलामा केही चकलेट र टि सर्ट उपहार स्वरूप प्रदान गरिन् ।

" मलाई अलि हतार छ । खाजा खाएर आएँ । बरू भोलि कुनै बेला निस्कन्छु ।" म सरासर बाहिरिएँ । गेट बाहिर उनै निलिमा । मेरो बाटो कुरेर बसेकी छन् । निलिमा मलाई देख्नेबित्तिकै मुसुक्क मुस्काइन् ।

'आहा ! बेदाग चन्द्रमा जस्ती ।

यस्ती सुन्दर छोरीलाई कसरी फ्याँक्न सकेको ?

मुर्ख, स्वार्थी पतीत आमा ! आमा हुनुको दायित्व निभाउन पर्छ नि । पशुपंक्षीले त सन्तानप्रति बफादार भूमिका निभाएका हुन्छन् । यहाँ मान्छेहरू मान्छे हुनुको अस्तित्वबाट गिरीसके ।' मैले निलिमाकी आमालाई मनमनै गाली गरें । फेरि मैले मेरो गाली तुरुन्तै फिर्ता लिएँ । वास्तवमा जवानीमा एक्लो महिलामा देखिने प्राकृत आवश्यकता, अनि त्यसको दुरुपयोग गर्ने बहादुर पुरूषले दमन र शोषण पनि त गरेको हुनसक्छ ! यो यौवन र योनीबिना संसार चलेको पनि छैन । यसैको कारण संसारमा बिरष्ठहरू पनि नाङ्गिएका छन् । लुकाएर लुक्न नसक्ने भनेको नै यौन प्रवृत्ति रहेछ । तैपनि मान्छेहरू यसैलाई लुकाउन खोज्छन् । हाम्रा वेद, उपनिषद, पुराणलाई नियाल्यो भने कुमारीसँग मात्रै नभएर, अर्काको श्रीमतीसँग छलकपट गरी यौनिक सम्बन्ध कायम गर्ने पनि हामीले सर्वश्रेष्ठ भनी मानिआएका भगवान नै छन् । म अनेकौं तर्कवितर्क गर्दै अगाडि बढेँ । तर म पनि जति वकालत गरे पनि अछुतो रहन सकेको छुइन् । त्यसैले त उनीलाई एकोहोरो हेर्दै अगाडि बढेँ । उनी पनि मलाई टुलुटुलु हेरिरहेकी थिइन् ।

"अम्...! " अड्के जस्तो थोरै शब्द मतिर फ्यालिन् ।उनका आँखा रसिला र अनुहारमा खुशी हराएको थियो ।पर पुगेर म टक्क अडिएँ । अझै उनका आँखा मैतिर एकोहोरिएका थिए । म निकै लजालु बनेर घरतर्फ फटाफट अगाडि बढेँ ।

   " हजुर ! आज अफिसबाट किन ढिला ? लु पहिले एक गिलास मनतातो पानी पिउनुस् । हजुरको पानी कम पिउने बानीले म आजित भैसकेँ । डाक्टरले भनेको कुरा त मान्नुपर्छ नि । ग्यास्ट्रिक समस्या भएकाले अलि बढी पानी पिउनु पर्छ । आज खाजा के खानुभयो ?"

नम्रताको नम्र बोलीले मलाई औंषधीको काम गर्छ ।

"अँ मैले खाएँ ।"

" अनि यति ढिला किन भयो त ?" अनि यो उपहार जस्तो कस्ले के दियो ? कतै केटीसँग घुम्न जानुभएको त थिएन् । उनी शंकाले घेरिएर बोल्छिन् । आइमाईको शंका गर्ने बानी पनि गज्जबकै हुन्छ भन्या !" मेरी स्कूले साथी पवित्रा अमेरिकाबाट आएकी रहिछन् । उनैले दिएको उपहार हो यो ।" उनी झन शंकाको घेरामा बाँधिइन् ।उनको उनुहार उदास भयो । उनलेे उपहारको ब्याग पनि खोल्न चाहिनन् ।

" नम्रता ! के भयो ? किन उदास भएकी ? खाना पस्क्यौ ।" मैले वातावरणलाई फरक ढङ्गले मोड्ने प्रयास गरेँ ।खाना निकै स्वदिष्ट बनाउँछिन् नम्रता । आज खाना बस्दा मलाई खानाको स्वादले खुशी दिन सकेन । उनै निलिमाको याद आयो । बिचरी के गर्दै होलिन् ? जे पनि हुनसक्छ । उनी पनि कसैको प्रेममा चुर्लुम्म डुबेकी ।अपांगले प्रेम गर्नु हुँदैन भनेर कतै लेखेको छैन क्यारे ! कुनै प्रेमीले भमराले फूलको रस चुसे जस्तो उनको यौवनको रस चुसेर धोका दिएको पनि हुनसक्छ । अर्थात् स्वच्छ प्रेमीको पर्खाइमा पर्खिरहेकी । अनि प्रेमी आउने बाटो हेरिरहेकी । यिनलाई पनि नम्रताले झैं " मैले आज मीठा खानेकुरा बनाएँ । चाख्नु त कस्तो भयो ?" यी सबै कुरामा आतुर छिन् ।

ह्या ! म कति उल्लु छु । कल्पना पनि कस्तो गर्छु । यस्ती अपांगलाई यो दरिद्र समाजको मान्छेले बिहे गर्दो हो त ?उनको भाषा कसैले बुझ्न चाहँदैनन् । फेरि किन त्यो सडकको किनारमा बस्छिन् ? कस्लाई पर्खेकी होलिन् ?" किन खान छोडेर टोलाउनु भएको ? आज खाना मीठो भएन ? कि सञ्चो भएन र ?" नम्रताको प्रश्नले म झस्किन्छु । " हैन मीठो छ ।" म अलि हतार गरेर थोरै खाना खान्छु । ज्यादा नबोली जुरुक्क उठेर शयनकक्षतिर लाग्छु । अचानक देखा परेको मेरो परिवर्तनले नम्रतालाई पक्कै शङ्का गर्ने ठाउँ छ ।

मेरो पनि मन अस्थिर भएको छ । केही गर्ने ध्यान छैन । म ओछ्यानमा पल्टन्छु । मनमा अनेकौं कुरा आउँछन् ।पवित्रा र म स्कुल पढ्दा साह्रै धेरै मिल्थ्यौं । कसैकसैले त प्रेमीप्रेमीका नै भन्न भ्याए । तर म सोझो गाउँको केटो ।गर्भे टुहुरो रे । बाउको अनुहार त थाहै छैन । एक्ली, विधवा आमाले हुर्काएकी । "दूध गुनको बुद्धि, खुन गुनको बल" भन्छन् । बाउले दिने साहस र हिम्मत त थिएन नै । आमाले मेरो बुढेसकालको सहारा भनेको तै होस् । धेरै पढ्नू, ज्ञानी हुनू भनेको चाहिँ बिर्सन सकिनँ । त्यसैले मेरो ध्यान दायाँबायाँ मोडिने कुरा थिएन । अनि म किताबको कीरो बनें । हुन त म जस्ता मध्यम वर्गीय परिवारका केटाहरूको व्यथा उस्तै उस्तै हुन्छ । पवित्रा पहिलेदेखि अलि चञ्चल केटी हो । म पनि उसलाई मन पराउँथें तर बोल्ने हिम्मत नै थिएन । जागिरे बाउकी एक्ली छोरी । आर्थिक र शैक्षिक पाटो पारिवारिक रूपमा अब्बल भएकै कारण ऊ फरासिली भएकी हुनपर्छ । एउटा कुरा त मैले सोध्न नै बिर्सेछु । अझै बिहे नभए जस्ती छ । सिन्दुर, टीका केही छैन । कस्तो टिमिक्क परेको जिउडाल होला ! लुगा त्यस्तै टिमिक्क परेका लगाकी छ । मोरी ! कट्टु समेत देखिने लुगा । विदेश बस्नेलाई लाजै हुन्न कि क्या हो ? उसलाई देख्नासाथ मलाई भने कस्तो काउकुती लागेको थियो उल्टै  तिम्रो कुरा सुनाऊ भन्दै थिई । बिहे भएको छैन भन्ठानेकी होली ! आफ्ना दुईवटा त बच्चा भैसके !"

म भित्री हाँसो अलिकति भए पनि हाँस्छु । तर के गर्ने ? मन हावाभन्दा छिटो दौडिने रहेछ । म फेरि उही  निलिमामा गएर ठोकिन्छु । " त्यो निलिमाले मलाई कम्ता गहिरिएर हेरेकी थिइन भन्या । हुनसक्छ उसले मन पराएको पुरूष काटिकुटी मैजस्तो हुँदो हो ! अर्को कुरा पनि हुनसक्छ म नै उसको मनको राजा ! नत्र मलाई त्यसरी हेर्नुको अर्थ ? उसको बोली छैन भन्दैमा सबै कुरा समाप्त हुन्छ र ? भावना त हाम्रो भन्दा अब्बल पनि हुनसक्छ नि ! बोलीबाट उसका कुनै कुरा संप्रेषण नभएपछि ऊ खेल्ने भनेकै भावनामा न हो । फेरि उसँग शारीरिक सुगठन भने कम्जोर छँदैछैन् । महिनावारी भएको समयमा अलिबढी पुरूषप्रति आकर्षण बढ्छ भन्ने पनि सुनेको छु । यौन इच्छा अपराध पनि त हैन । यो त सृष्टिको नियम न हो । नत्र किन मलाई खुट्टादेखि टाउकोसम्म नियाल्न पर्थ्यो र ? म बलिष्ठ युवक हुँ । मैले मेरो शरीर छामे दरिलो छ । अहिलेसम्म कुनै किसिमको रोगव्याध छैन । मन प्रफुल्ल छ । मन प्रफुल्ल हुनु भनेको अनुहारमा चमक हुनु भन्छन् । पक्कै निलिमाले मलाई नै मन पराएकी हुनपर्छ म मनमनै मुस्काउन थालेँ । अझै निद्रा परेकै छैन । श्रीमती किचनको काम सकेर सुत्न आइन् । अरूबेला श्रीमतीलाई खुट्टा बोकाएर सुत्न मलाई निकै आनन्द आउँथ्यो । आज उनलेे मेरो शरिरमा स्पर्श गर्दा पनि झर्को लागेर आयो । उनको हात बिस्तारै पन्छाएँ । कोल्टे फिरेँ । अझै निद्रादेवी आउन इन्कार गर्दैछिन् । मनमा तुफान चल्यो, निलिमालाई भेट्ने ।

  भोलिपल्टै म पवित्रालाई भेट्ने निहुँले निलिमालाई भेट्न गएँ । उनी आज पनि सडकमा बसिरहेकी थिइन् ।मलाई देख्नेबित्तिकै मुस्काइन् । कस्तो मीठो मुस्कान आहा ! सुनाखरी खिलखिलाउँदा पनि बन यति शोभयमान हुन्न होला ? म पनि मुस्काएँ । दोहोरो मुस्कानले प्रेमलाई निमन्त्रणा गर्यो होला ! त्यो दिनदेखि मलाई निलिमालाई भेट्न पाउँदा कताकता खुशीको सञ्चार भयो । अनि मैले यो कार्यलाई नियमितता प्रदान गरेँ । उनी पनि मलाई देख्ने बित्तिकै गेट खोलेर भित्र पस्थिन् । सायद उनलाई मेरो अँगालोमा बेरिन रहरले डोह्रयाएको हुनसक्छ । मलाई देख्दा उनका शारीरिक हाउभाउमा परिवर्तन छ । कहिले लामो मिडी माथिसम्म खिचेर लैजान्छिन्, कहिले ब्राको तुना खोलिएको हुन्छ ।म पनि उनका सेता र टमक्क परेका पिडुँलामा मोहित हुन्छु । एकदिन म निलिमालाई लिएर एउटा होटलमा जान्छु । मीठा मीठा खानेकुरा खान दिन्छु । पवित्रालाई झैं एक गिलास वियर दिन्छु । मैले जे दिए पनि उनी अमृत समान ठानेर खान्छिन् । रात छिप्पिसकेछ । वयस्क निलिमाका गाला राताराता भएका छन् । म झ्याप्प अँगाल्छु । उनी पनि खुशी भएर मेरो ओछ्यान तताउँछिन् । उज्यालो भएछ । मेरो शरिरभरि पसिना छ ।

यता दुई महिनाको नेपाल बसाइपछि पवित्रा अमेरिका प्रस्थान गरिन् । मेरो त्यो घरमा जाने बाहना पनि टुट्यो ।तर मनमा निलिमाले डेरा जमाएकी थिइन् । मलाई निकै छट्पटी भयो । करिब एक महिनापछि म निलिमालाई हेर्नकै लागि त्यहीँ बाटो हुँदै अफिस गएँ । तर आज सडकमा निलिमा कतै देखिइनन् । म केही क्षण सडक किनारमा बसेर पर्खें । तर उनी अझै आइनन् । एक जना वृद्धाले सोध्नुभो, "बाबु ! कस्लाई पर्खनुभएको ?"

" निलिमा ! एक जना बैनी यो सडक किनारमा बस्थिन् ।"

" ए त्यो लाटीलाई ? त्यो लाटीको साह्रै बिजोक थियो ।रातभरि चिच्याउने, रूने गर्थी । न कुटपिटबाट हो, न बलात्कारबाट हो ? आफ्नो त आफ्नो हुँदैन भने अर्कोले माया गरेन पो के भन्नु ? ईश्वरको लीला यस्तै हो बाबु ।हिजोआज त छोरामान्छे देख्यो कि लुगा खोल्ने, भित्री अंग देखाउने, समाउन जाने, चिथोर्ने जस्ता हर्कत गरिहाल्थी । लाटी बहुलाइ भनेर गाउँमा हल्ला पिटिएको थियो । केही सामाजिक अभियन्ताले हिजो लिएर गए भन्छन् । खै कस्ले कहाँ लगे ! एक अष्पुष्ट समाचारले मलाई घोत्लिन बाध्य गरायो । कसैको यौन तिर्खा मेट्न कसैले प्रेमको बलिदान दिनपर्छ । निलिमा कहाँ होलिन् ? के म उनलाई भेट्न सक्छु ? म उनको प्रेममा पागल भएको कुरा उनलाई म कसरी बताऊँ ? सपाङ्गहरू आफ्नो दम्भको कारण अपांग बन्दै गर्दा सच्चा प्रेम त यहाँ अपाङ्गहरूसँग मात्र हुन्छ ।

 

- रातोपुल, काठमाण्डौ ।

(२०८१ माघ ३)

images
प्रकाशित मिति :फाल्गुण १२, २०८१ सोमवार - ०९:३४:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend