वर्तमानले निल्दा ( कविता )
साहसका अनगिन्ती दृष्टान्तहरूथिए
आँटका प्रशस्त उदाहरणहरू थिए
प्रतिकूलताको सामना गर्ने क्षमता थियो
भविष्य चिहाउने क्षमता थियो
जाँगरहरू जताततै पोखिएका थिए
कुशल व्यवस्थापनका घटना परिघटना थिए
तर ती सबै कुरा इतिहास भइसके
इतिहासले निर्मम वर्तमान निम्त्याएकोछ
विगतका ती गाथाहरू
केवल सम्झनाका झाँकी भएकाछन्
सम्झनाका खुड्कामा परिणतभएकाछन्
हेर्दाहेर्दै आफ्नै सामुन्नेमा
ती गर्वानुभूतिहरू विलय भएकाछन्।।
थाहापाएर बुझेर पनि पत्याउनै गाह्रो जस्तो
संझदा पीडाको भक्कानो फुट्ला जस्तो
विगतको सम्झनाले मुटु चिमोटिएला जस्तो
कस्तो निष्ठुर हुनसकेको हो यो वर्तमान
सम्हालियौं भन्दाभन्दै अश्रुसागरको बाँध फुट्ला जस्तो।।
न श्रवणशक्तिले साथ दिन्छ
न दृष्टिको कुनै भरोसा छ
न त मस्तिष्कको सवलता छ
विस्मृतिको प्रहार वर्षिरहेकोछ ।।
स्थुलरूपमा मानिस भएपनि
अपूर्णताको बिम्ब भएजस्तो
न मर्छु भनेर मर्न पाइन्छ
न त बचाइको सार्थकता छ
सजाय भुक्तान गरिरहेको अपराधी जस्तो।
न विगत बुझ्न र सम्झनसकिन्छ
न त वर्तमानका परिदृश्य चिन्न सकिन्छ
विगतबाट हुत्याइएको जस्तो
वर्तमानले अस्वीकार गरेजस्तो
न इतिहास सम्झेर बाँच्नु
न वर्तमान सम्झेर मर्नु ।।
आफूले चाहेर केही नहुने जस्तो
आफैंबाट बहिष्कृत भएजस्तो
अरूकै खटनमा अरूकै इशारामा
अकिञ्चन् र अवोध्य भएर बाँचे जस्तो ।।
-हरिप्रसाद उप्रेती
वरिष्ठ अधिवक्ता