Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

पोर्चुगलका लागि नेपाली राजदूत पौडेलले सम्हाले कार्यभार

पोर्चुगलका लागि नेपाली राजदूत पौडेलले सम्हाले कार्यभार

नेप्लिज डायस्पोरा

२४, फाल्गुण २०८१
images
पोर्चुगलका लागि नेपाली राजदूत पौडेलले सम्हाले कार्यभार

भरत प्रधान

लिस्बन/ पोर्चुगल

२४ फागुन । पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले आफ्नो  कार्यभार सम्हालेका छन् ।

राजदूत पौडेलले बिहीबार राजधानी लिस्बनस्थित अल्कान्त्रामा रहेको नेपाली दूतावासमा पुगेर आफ्नो पदभार ग्रहण गरेका हुन् । यसअघि बिहीबार पोर्चुगल आइपुगेका पौडेललाई लिस्बनस्थित अन्तरराष्ट्रिय विमानस्थलमा पोर्चुगलको विदेश मन्त्रालयका शिष्टाचार विभागका अधिकारी लुइस सान्तोस र लिस्बनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रामबाबु नेपालले स्वागत गरेका थिए ।

 

पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना गरिएको हो भने पौडेल पोर्चुगलका लागि नेपाली राजदूतका रूपमा जिम्मेवारी सम्हाल्ने पहिलो राजदूत बनेका छन् । यसअघि पोर्चुगलका लागि राजदूत सिफारिस भएका शनिल नेपाल भने पोर्चुगल आउन नपाई फिर्ता बोलाइएको थियो । हाल उनी स्पेनका लागि राजदूत नियुक्त भएका छन् । सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव पौडेललाई गत साउनमा पोर्चुगलका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो भने राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिरमा उनलाई पोर्चुगलका राजदूत नियुक्त गरेका थिए ।

 

दुई साता अघि परराष्ट्र मन्त्रालयबाट आएको कर्मचारीको टोलीले राजधानी लिस्बनमा दूतावास स्थापना गरेको थियोे । भने नेपाली दूतावास लिस्बनले फ्रान्सस्थित नेपाली दूतावाससँगको सहकार्यमा गत फेब्रुअरी २१ देखि मार्च ६ तारिख बिहीबारसम्म घुम्ती सेवा सञ्चालन गरेर कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको थियोे । शिविर अवधिभर दूतावासले अधिकृत वारेसनामा प्रमाणीकरण बाहेकका अन्य प्रहरी चारित्रिक प्रमाणपत्र, नाता प्रमाणित, जन्मदर्ता, विवाह दर्तालगायतका कागजात प्रमाणीकरणसम्बन्धी 'कन्सुलर' सेवा प्रदान गरेको थियोे । 

यसैबीच हालका लागि घुम्ती शिविर सम्पन्न भएको सूचना जारी गर्दै दूतावासले यथाशीघ्र नियमित सेवा प्रवाह गर्ने जनाएको छ । दूतावासले हाल अस्थायी कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएको छ । दूतावासको स्थायी कार्यालयका लागि भवन भाडामा लिइसकिएको र कार्यालय सञ्चालनका लागि तयारी भइरहेको कार्यवाहक राजदूत नेपालले जानकारी दिए । नयाँ दूतावास भएकाले कार्यालय सञ्चालनको स्वीकृतिका लागि आवश्यक प्रक्रियाका साथै आन्तरिक तयारी भइरहेको उनले बताए ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०८१ शनिवार - १९:४१:४३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend