Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पाठ्यक्रमबारे नैतिक एवं बौद्धिक चेत र नौटङ्की-— लीला लुइटेल

पाठ्यक्रमबारे नैतिक एवं बौद्धिक चेत र नौटङ्की-— लीला लुइटेल

नेप्लिज डायस्पोरा

२५, फाल्गुण २०८१
images
पाठ्यक्रमबारे नैतिक एवं बौद्धिक चेत र नौटङ्की-— लीला लुइटेल

 

अहिले नेपाली विषयको पाठ्यक्रमबारे अनेक प्रकारका रोइलो एवं नौटङ्की देखाउन थालिएको छ । यसरी रोइलो गर्दा परिस्थिति र खेमा विचार गरी पारिजात हटाइयो, विश्वेश्वर हटाइयो, क्षेत्रप्रताप हटाइयो, प्रगतिवाद हटाइयो अनि महिला लेखक राखिएन भन्नेजस्ता अनर्गल प्रचार गरिएको पनि सुनिन थालेको छ । यस्ता क्रियाकलापका पछाडि सीमित व्यक्तिको व्यक्तिगत स्वार्थ, ईर्ष्या, कुण्ठा र पूर्वाग्रहले काम गरेको त्रिविसँग सम्बद्ध सबैलाई जानकारी नै छ । यसप्रकारका ईर्ष्या एवं द्वेषको बीज २०४३–२०४४ तिर रोपिएको हो । तत्कालीन विभागीय प्रमुखबाट विद्यार्थीले प्राप्त गरेको अङ्क तलमाथि पारेको तथ्य सम्बद्ध सबैलाई ज्ञात भएकै कुरा हो । यसबारे थप जानकारी चाहिए सबै प्रमाण सुरक्षित छन् ।

आफूले विद्यार्थीको परीक्षाफलमा तलमाथि पारेको लाज छोप्न तत्कालीन विभागीय प्रमुखको दिमागमा अर्को आइडिया फुरेछ, त्यो हो अब उसलाई लेखनमा अगाडि सार्ने असफल प्रयास । यसका लागि उनीहरू पनि लेखक भएको भ्रम शिक्षक, विद्यार्थी, अभिभावक तथा विश्वविद्यालयका आँखामा छारो हालेर उनले तत्कालीन सत्ताको दुरुपयोग गरी आफ्ना झोले र चम्चेहरूलाई गजबको मौका दिएकै हुन् । यसका लागि उनले संसारमा कहीँ नभएको जात्रा पाठ्यक्रममा देखाए । यसको उदाहरणका रूपमा तत्कालीन पाठ्यक्रममा प्रकाशकको नाम ‘नेपाली केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर’  राखी लेखकको नामै नभएका थुप्रै पुस्तक पाठ्यक्रममा समावेश गरे । यससम्बन्धी केही उदाहरण तल दिइन्छ —

 

प्राथमिक र माध्यमिक नेपाली साहित्यको रूपरेखा

नेपाल समालोचना

नेपाली गीतिसङ्ग्रह

आधुनिक नेपाली कथा भाग ३

आधुनिक नेपाली गीत गजल

समालोचना पद्धति र नेपाली समालोचना

यी पुस्तकमा लेखकको नाम उल्लेख नगर्नाको कारण स्पष्ट छ । आफ्ना झोले र चम्चेहरूको उद्धारका लागि झुठको खेती गरेकामा केही शिक्षकले आपत्ति जनाएपछि उनीहरूको नामै उल्लेख गरेरसमेत नलेखिएका पुस्तक पाठ्यक्रममा राखियो । यसको उदाहरण हेरौँ—

ठाकुर पराजुली — नव गद्य

चूडामणि बन्धु र अन्य — नेपाली बालसाहित्यको सर्वेक्षण

लामो समयदेखि नेपाली केन्द्रीय विभागबाट प्रकाशित भनी नलेखिएका पुस्तक उल्लेख गर्ने रोगले हालसम्मै प्रचलित पाठ्यक्रमलाई पनि छोडेन । अहिले पाठ्यक्रम निर्माण गर्दा यस्ता विकृति हटाइएपछि उनीहरूमा भुइँचालो जान थालेको हो । दिउँसै रात पार्ने यस्ता विकृतिहरू पनि आफ्नो अनुकूल हुँदा प्रगतिशील हुने हो र ? जग हँसाउने यस्ता विकृति हटाउँदा कसैको मानसिकतामा भुइँचालो जान्छ भने त्यो उनीहरूकै समस्या हो, जस्तै—

 

यसरी विद्यार्थी, नेपाली भाषासाहित्य र विश्वविद्यालयलाई धोका दिएर उनीहरूलाई अनैतिक एवं अनधिकृत मौका दिँदा पनि केही गर्न नसकेको नौटङ्की हो अहिलेको रोइलो । अहिले उनीहरूको नौटङ्कीमा हुँइया मच्चाउनेहरू पनि यस्तै पाठ्यक्रम पढेर र पढाएर आएका हुन् । यदि उनीहरूमा नैतिक चेत थियो भने यसबारे अहिलेसम्म किन मौन बसेका ? बौद्धिक तथा नैतिक चेतविहीन यत्तिका विद्वान्हरूले नेपाली विभागद्वारा प्रकाशित कृतिको खोजी किन नगरेका अनि यसबारे प्रश्न किन नउठाएका ? उनीहरूले यस्ता विकृतिका विरुद्ध बोल्न नसक्नुको कारण उनीहरूकै लागि आरक्षित नछापिएका पुस्तकको लेखक बन्न पाउने सुवर्ण मौका नै हो । नैतिक एवं बौद्धिक चेत भन्ने कुरा आफू अनुकूल नहुँदा मात्र हुने हो र ?

गुरुले सिकाइदिएको यस्तो आइडियाले उनीपछिका चेलाचपेटाहरूलाई पार्नुसम्म प्रभाव पा¥यो । फलस्वरूप  वर्षौँसम्म चलेको त्यो पुरानो पाठ्यक्रम परिवर्तन भएर नयाँ पाठ्यक्रम निर्माण गर्दा पनि प्रकाशनै नभएका, लेख्दै नलेखिएका पुस्तकको चाङ लगाउने रोगबाट नेपाली पाठ्यक्रम मुक्त हुन सकेन । नेपाली केन्द्रीय विभागले विना लेखकका पुस्तक प्रकाशन गरेको उल्लेख गर्न उनीहरूलाई अलिकति लाज लागेछ र अर्को आइडिया फुराएछन् र साझा प्रकाशनको नाम दुरुपयोग गर्न थालेछन् । साझा प्रकाशनको नाम दुरुपयोग गर्दा पनि उनीहरूले दुवै प्रकारले गरेका छन्, लेखकको नाम उल्लेख गरेर र उल्लेखै नगरी । यसको केही उदाहरण तल दिइन्छ–

नेपालका विविध भाषाको साहित्यिक रूपरेखा

भारतीय नेपाली साहित्य

नेपाली कविता भाग ३

नेपाली गीत गजल भाग २

पूर्वआधुनिक नेपाली पद्य (एमए)

पूर्वआधुनिक नेपाली गद्य (एमए)

पूर्वआधुनिक नेपाली साहित्य

साहित्य र समाज (एमए)

कतिपय लेखक भनाउँदाहरूलाई ‘यो पुस्तक कहाँ पाइन्छ’ भनी अलि सोझासाझा विद्यार्थीले सोधे भने कसैले ‘साझातिर खोज्नुस् न’ भन्छन् रे अनि कसैले चाहिँ  ‘अहिले बजारमा सकिएको होला’ भन्छन् रे । साझामा बुझ्न जाँदा त्यहाँका कर्मचारी भने यस खाले कुनै पनि पुस्तक प्रकाशनका लागि नआएको कुरा सुनाउँछन् रे । बिचरा सोझा विद्यार्थी कसको कुरा पत्याऊन् ? अझ कतिपय ‘इमानदार विद्वान् लेखकहरू’ त  ‘लेखिएकै पो छैन’ भनेर दाँत ङिच्च पार्छन् रे, कठैबरी !

तत्कालीन पाठ्यक्रम निर्माताहरूले नेपाली केन्द्रीय विभाग, साझा प्रकाशनका अतिरिक्त अन्य कथित प्रकाशकको पनि नाम दुरुपयोग गरी नलेखिएका पुस्तक एमएको पाठ्यक्रममा यसरी समावेश गरेका छन्–

लेख्दै नलेखिएका पुस्तकको लेखक कहलाएर एमएको पाठ्यक्रमको शोभा बढाउने सौभाग्य पाठ्यक्रम निर्माणमा संलग्न महामहिमका सम्बन्धित क्षेत्रको ज्ञानै नभएका सुपुत्रलाईसमेत निगाह भएको उदाहरण माथि रातो घेरा लगाइएको पुस्तकबाट प्रस्ट हुन्छ ।

यस्ता गुन्डागर्दी एवं जघन्य अपराधका लागि जी, हजुर गर्दै चाचाचुमा रमाउने बौद्धिकवर्गले आफ्नो प्रतिक्रिया विद्यार्थी, विश्वविद्यालय एवं सम्पूर्ण नेपाली भाषासाहित्यप्रेमीलाई कसरी दिन्छन् होला ?

तत्कालीन विभागीय प्रमुखले आफू सेवानिवृत्त भइसकेपछि पनि आफूले गरेको अनर्गल गुन सम्झाउँदै आफ्नो नछापिएको पुस्तक राख्न दबाब दिएकै हुन् र उनका चेलाचपेटाहरूले उनको नछापिएको पुस्तक एमएको पाठ्यक्रममा राखिदिएर गुन यसरी तिरेकै हुन्–

यो किताब कहाँ पाइन्छ होला ? कसैले देख्नुभएको छ भने जानकारी पाऊँ ।

विद्यालय तहको गाइड पनि पाठ्यक्रममा

आफ्ना प्रभुले लेखेको विद्यालयस्तरीय गाइडलाई समेत लामो समयसम्म विश्वविद्यालयस्तरीय पाठ्यक्रममा समावेश गर्दा हाम्रो बौद्धिकवर्ग चाचाचुमै रमाइरह्यो, कोही बोल्न सकेनन् । उदाहरणका रूपमा तलको पुस्तक हेरौँ–

यसले आफ्ना मालिकको कुन्नि केजाति बासना आउँछ भन्ने पुष्टि गरेकै हो त ? यसले उनीहरूको अस्तित्व, मर्यादा र स्तरमा कुनै आँच आएन ? कठैबरी !

यी त भए कमसेकम न्वारानसम्म भैसकेका पुस्तक, पाठ्यक्रमको शोभा बढाउने सौभाग्य पाएको ताराकान्त पाण्डेद्वारा लिखित भनिएको पुस्तकको त न्वारानसमेत गर्न नभ्याई पाठ्यक्रममा राख्न बाध्य भएछन् । एमएको पाठ्यक्रममा राखिएको उक्त पुस्तक हेरौँ–

माथि केही उदाहरण प्रमाणका लागि मात्र उल्लेख गरिएका हुन् । त्रिवि, नेपाली विषयको बिए र एमएको पाठ्यक्रम पल्टाएर हेर्दा यस्ता कुकृत्यको ओइरो देखिन्छ । सुप्रसिद्ध लेखकको नाम उल्लेख गरी नछापिएको पुस्तकलाई पाठ्यक्रममा संलग्न गराउँदासमेत ‘यो पुस्तक त छापिएको छैन’ भन्न पनि नसक्ने गरी मालिकहरूको निगाहले हाम्रो कथित बौद्धिकवर्गलाई अत्यन्त निरीह, दृष्टिविहीन एवं वाक् विहीन बनाएको उदाहरण हो डायमन शमशेरको प्रस्तुत कृति–

यसरी कहिल्यै नछापिएको उपन्यास बिएको तीन वर्षे र चार वर्षे गरी लामै समयसम्म पढाएको अभिनय गर्दै हाम्रा विद्वान्हरूले विश्वविद्यालयको तलब खाइरहे तर चुइँक्क बोल्नसमेत सकेनन् । यसको कारण अब यहाँ व्याख्या गरिरहनु नपर्ला ।

झुटको खेती

अहिले पाठ्यक्रममा रोइलो गर्नेहरूले अनेक जालझेल गर्दै प्रगतिवादमा आस्था राख्ने व्यक्ति भेट्दा पारिजात हटाइयो, प्रगतिवाद हटाइयो अनि प्रजातान्त्रिक साथी भेट्दा विश्वेश्वर हटाइयो तथा राप्रपाका साथीहरू भेट्दा क्षेत्रप्रताप हटाइयो भनी अनर्गल प्रचार गर्दै हिँडिरहेका छन् तर यी व्यक्ति पाठ्यक्रमबाट हटाइएका होइनन्, पाठ्यक्रममा भएको पुनरावृत्तिलाई संशोधन गरिएको हो । पाठ्यक्रममा अनेक प्रकारका गुन्डागिरी देखाउनेहरूले पहिले पाठ्यक्रम बनाउँदा लापरबाही गरेर एउटै तहमा विभिन्न शीर्षक राखी एउटै व्यक्तिबारेमा भएका भएका पुनरावृत्तिलाई अहिलेको पाठ्यक्रमले संशोधन मात्र गरेको हो । उनीहरूले झुटको खेती गरेर त्रिविसँग असम्बद्ध मानिसहरूलाई भ्रममा पारिरहेका छन् । यस विषयमा कसैलाई कन्फ्युजन भए अहिलेसम्म पढाइ भएको र अहिले निर्माण गरिएको पाठ्यक्रमलाई तुलना गरेर हेर्ने सुविधा प्राप्त छँदैछ ।

अख्तियारको हस्तक्षेप

केही समयअगाडि नेपाली विषयको पाठ्यक्रम निर्माण समितिमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गरेको कुरा कसैबाट पनि छिपेको छैन । अहिले नौटङ्की देखाउनेहरूकै मिलेमतोमा तत्कालीन विभागीय प्रमुखले विश्वविद्यालयको प्रशासनिक प्रक्रियालाई लत्याएर रामकृष्ण बान्तवाको ‘सघन तुवाँलो’ नामक उपन्यासलाई विभागको दर्ताचलानी रेकर्ड उल्लेख गरी पाठ्यक्रममा राखिएको पत्र पठाए । यो कुरा राष्ट्रिय स्तरका टेलिभिजन र अनेक  छापाबाट हर्षबढाइँका साथ प्रचारप्रसार पनि गर्न लगाए, अनेक होटलमा खानपान गरेर मनोरञ्जन गरेको टिभीमा समेत देखियो । यसमा ठूलै लेनदेन तथा हङ्कङ भ्रमणको लोभ देखाइएको पनि सुन्नमा आएकै हो । यसको पुष्टिका लागि त्यसबेलाका पत्रिकामा प्रकाशित समाचारको अंश यहाँ उल्लेख गरिन्छ–

 

परदेशमा श्रम बेचेर नेपाली साहित्यको सेवा गरिरहेको एउटा निर्दोष साहित्यकारलाई बलिको बोको बनाएर यी विद्वान्हरूले साहित्यकारको संवेदनामाथि उपहास गरिरहे । हङ्कङ भ्रमणको लोभ र उताबाट छरिएका कनिकाको मोलतोल नमिलेको हल्ला सत्य हो भने यो निन्दनीय मात्र नभएर जघन्य अपराध पनि हो । यदि हाम्रा चेतनशील बौद्धिकवर्गको यसमा सहमति र सक्रियता थिएन भने यस्ता हर्कतका विरुद्ध आवाज उठाउन अनि अनेकतिर छापिएका समाचारको खण्डन गर्न उनीहरूलाई केले छेक्यो होला ? त्यतिखेर उनीहरूको अस्तित्व, विवेक र बौद्धिक चेत कुन मुसाको दुलाभित्र पसेको थियो ?

कुण्ठा र ईर्ष्या

अहिलेको पाठ्यक्रमको विरोध गर्न उचाल्ने प्रमुख व्यक्ति नेपाली विभागकै सदस्य भएको र विश्वविद्यालयको नेतृत्वमै विराजमान भएको कुरा सर्वविदितै छ । यदि उनमा विद्यार्थी, विश्वविद्यालय एवं नेपाली भाषासाहित्यप्रति कर्तव्य एवं जिम्मेवारीको बोध थियो भने त्यतिखेर यस्ता अपराधप्रति किन प्रश्न नउठाएको अनि आफू नेतृत्वमा हुँदा यस्ता जघन्य अपराधमाथि हस्तक्षेप किन नगरेको ?  यसको कारण स्पष्टै छ— उनलाई त विभिन्न व्यक्तिलाई फकाएर, लोभ देखाएर अनि पदको धमास दिई अनेक प्रकारका त्रास देखाएर अर्थात् गुन्डागर्दी गरेरै भए पनि विद्यालय तहका हरेक कक्षामा र विश्वविद्यालय तहका विभिन्न पाठ्यक्रममा विराजमान हुनु नै थियो । यसका लागि कसैलाई तथ्यप्रमाणको आवश्यकता पर्छ र ? यो त भयो व्यक्ति प्रवृत्ति, अनि अहिले नौटङ्की देखाउनेहरूले यसको विरोध गर्नुको साटो चाचाचुमै रमाउनुमै आफू सुरक्षित रहने भ्रममा रहिरहे तर आफू कम्फर्ट जोनमा रहेको भ्रममा आफ्नो विवेक र बौद्धिकता अर्काको पैतालामुनि घुसार्दा आफ्नो अस्तित्व कहाँ पुग्छ भन्ने चेतना हाम्रा ‘विद्वतवर्ग’ मा कहिले पलाउने होला ?

मुसाको दुलोबाट छिर्ने दुष्प्रयास

पाठ्यक्रममा ढोका तथा झ्यालबाट छिर्ने दुष्प्रयास असफल भएपछि प्रुफ रिडरसँगको मिलेमतोमा विश्वविद्यालयलाई धोका दिँदै पास भएर आइसकेको पाठ्यक्रममाथि अनधिकृत रूपले हातैले थप्न लगाउने हर्कतसम्म पनि भएकै हो, जस्तै—

यस सम्बन्धमा उहाँकै सहकर्मीहरूद्वारा चलाइएका अत्यन्त निम्नस्तरका क्षुद्र हल्लाहरू यहाँ उल्लेख गर्न मेरो विवेकले दिँदैन र गर्दिन पनि किनकि कसैको व्यक्तिगत जीवन मेरो चासोको विषय होइन । अहिलेको पाठ्यक्रमका विरुद्धको नौटङ्की आफू मुसाको दुलोबाट छिर्न नपाएको पीडा हो भन्ने कुरा यसबाट प्रस्ट हुन्छ । यदि यो गलत हो भने सम्बन्धित व्यक्तिको प्रतिक्रिया सार्वजनिक होला नै । यसरी आफूले अनधिकृत हर्कत गर्न पाए उही काम आदर्शले भरिपूर्ण एवं प्रगतिवादी हुने र नपाए संसारै डुब्ने मनस्थितिको व्याख्या कसरी हुन्छ भन्ने जबाफ जसले दिए पनि हुन्छ ।

सन्दर्भ : महिला साहित्यकार

पाठ्यक्रममा पारिजात राखिएन भन्ने भ्रम पनि फैलाउन खोजिँदैछ । वर्तमान बिएको पाठ्यक्रममा अनिवार्य र ऐच्छिक दुवैतिर पारिजातका कथा एवं उपन्यास तथा एमए तहमा उपन्यास समावेश गरिएको छ । यसैगरी तोया गुरुङका कविता दुवै तहमा समावेश छन् । वानीरा गिरी, मञ्जु काँचुली, बेञ्जु शर्मा, उषा शेरचन, देवकुमारी थापा, कल्पना प्रधान, प्रेमा शाह, माया ठकुरी, पद्मावती सिंह, भागिरथी श्रेष्ठ, मञ्जु काँचुली, इन्दिरा प्रसाईं, शारदा शर्मा आदिका रचनाहरू बिएको सम्बद्ध विधामा समावेश गरिएको छ । यसैगरी रमा शर्माद्वारा सम्पादित पुस्तकलाई पाठ्यपुस्तकका रूपमा समावेश गरिएको छ । पारिजातलाई हटाएको भन्ने मिथ्याको प्रचार गर्ने र तिनका हुँइयाको पछि लाग्नेहरूले एकपटक पाठ्यक्रम राम्ररी पल्टाएर मात्र प्रतिक्रिया दिने हो कि ?

यसरी पाठ्यक्रममा मुसाको दुलोबाट छिर्ने सामर्थ्य राख्ने, चाचाचु गरेरै भए पनि आफ्ना नलेखिएका पुस्तक राख्नसक्ने, विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मै आफ्नै रचना जसरी पनि राख्न लगाउने हर्कत मात्रै भयो । अहिले नौटङ्की देखाउने विद्वान्हरूमा महिलाप्रति सदासयता थियो भने त्यति बेला आवाज किन नउठाएको ? अनि विश्वविद्यालयको केन्द्रीय नेतृत्वमा आफू पुगेका बेला महिला साहित्यकारका रचना राख्ने प्रयास किन नगरेको ? यत्रतत्र सर्वत्र आफ्नो अनि मालिक्नीको रचना राखिए मात्र महिलालाई श्रद्धा गरेको हुने हो र ? महिलाप्रतिको श्रद्धा र सदाशयता पनि आफ्नै स्वार्थअनुकूल व्याख्या गरिने कस्तो रोगले छोएको हाम्रा विद्वान्हरूलाई ?

सन्दर्भ : मध्यपश्चिम विश्वविद्यालयको

‘जेठा मामाको त भाङ्ग्राको धोती कान्छा मामाको के गति’ भन्ने नेपाली उखान मध्यपश्चिम विश्वविद्यालयमा चरितार्थ भएको छ । त्रिभुवन विश्वविद्यालयमा दिइएका अनैतिक एवं आपराधिक मौकाको उपयोग गर्न नसकी सोही प्रकारका कुकृत्य एवं अपराधकै फोटोकपी गरी मध्यपश्मिाञ्चल विश्वविद्यालयको पाठ्यक्रममा पनि कथित विद्वान्हरूले कुकृत्य एवं अपराधको पराकाष्ठा देखाएका छन् । यस विश्वविद्यालयको नेपाली बिए र एमए को पाठ्यक्रममा पनि नलेखिएका पुस्तकको ओइरो लगाइएको छ ।

यस्ता लेख्दै नलेखिएका पुस्तकहरूको लेखक हुने सबैभन्दा भाग्यमानी लेखक रमेशप्रसाद भट्टराई रहेका छन् । यस विश्वविद्यालयको पाठ्यक्रममा पाठ्यपुस्तककै रूपमा उनका निम्नलिखित कथित पुस्तक समाविष्ट छन्–

कविता सिद्धान्त

उपन्यास सिद्धान्त

आधुनिक नेपाली उपन्यासको इतिहास

आधुनिक नेपाली नाटकको इतिहास

समालोचना सिद्धान्त

पाश्चात्यका समालोचना : सिद्धान्त र प्रयोग

डायस्पोरा सिद्धान्त

सिर्जनात्मक लेखन : पद्धति र प्रयोग,

नेपाली रङ्गमञ्च र चलचित्रको सिद्धान्त

यति मात्र नभई डा. रामप्रसाद ज्ञवालीको ‘आधुनिक नेपाली कविताको इतिहास’ र ‘आधुनिक नेपाली समालोचनाको इतिहास’ शीर्षक पुस्तक पाठ्यक्रममा विराजमान छन् । यसैगरी दयाराम श्रेष्ठका ‘स्नातक कविता सञ्चय, स्नातक काव्य सञ्चय, स्नातक कथा सञ्चय, स्नातक नाटक सञ्चय, स्नातक समालोचना सञ्चय’ तथा ‘स्नातकोत्तर निबन्ध सञ्चय, नेपाली समालोचना सञ्चय’ जस्ता नलेखिएका थुप्रै पुस्तकले यी पाठ्यक्रमको शोभा बढाएका छन् ।

उल्लिखित कथित पुस्तक त्रिवि सेवा आयोगको प्रयोजनार्थ ‘कीर्तिपुर फोटोकपी सेन्टर’ बाट रातारात तयार गरिएका र सेवा आयोगले आइएसबिएन विनाका किताबलाई स्वीकार नगर्ने चाल पाएपछि रातारात नक्कली आइएसबिएन राखेर बुझाएका हुन् भने भन्नु केही छैन । आफ्ना प्रभुहरूद्वारा सुसम्पन्न यस्ता गुन्डागर्दीबारे हाम्रा बौद्धिकवर्गको दृष्टिकोण के होला कुन्नि ? माथि उल्लिखित पुस्तकबारे आफ्ना प्रतिक्रिया सार्वजनिक गर्न कथित लेखक तथा आफूले प्रभु मानेका व्यक्तिका यी पुस्तकबारे प्रतिक्रिया सार्वजनिक गर्न हाम्रा विद्वत्वर्गलाई पनि मेरो चुनौती छ ।

अर्कोतिर यसै पाठ्यक्रममा समाविष्ट डा. वेदव्यास उपाध्यायको ‘नेपाली यात्रा संस्मरण सिद्धान्त र इतिहास’ शीर्षक पुस्तकबारे जानकारी माग्दा उहाँले ‘छिः मान्छे कति हावादारी भएका’ भन्दै आफ्नो यस शीर्षकको पुस्तक नछापिएको बताउनुभयो ।

‘हामी त त्रिभुवन विश्वविद्यालयका ‘विद्वान्’ पो हौँ । विद्यालय तह र मध्यपश्चिम विश्वविद्यालयका पाठ्यक्रमसँग हाम्रो कुनै सरोकार छैन’ भन्ने कुतर्क कसैले ते तेर्स्याउँछ भने त्यस्तालाई ‘राम ! राम !’ भन्नुबाहेक अर्को कुनै विकल्प छ र ?

यसरी हाम्रा विश्वविद्यालयमा कुनै दुखै नगरी लेखक बन्नपाउने विद्वान्हरूको कमी छैन, नलेखिएका पुस्तकहरू पाठ्यक्रममा राखिदिएर आफ्ना झोले, चम्चेहरूलाई गुन लगाउने मौकाको सदुपयोग गर्न विश्वविद्यालयका सत्तासीन विद्वान्हरूले कुनै कसर बाँकी राखेका छैनन् । यसले लेखक भनाउँदाहरूलाई आफू लेखक भएको आत्मरतिमा रमाउने अनि विषयक्षेत्रबाहिरका मानिसहरूलाई गफ दिने मसलाको रूपमा काम गरेको हुनाले उनीहरूलाई त ठूलै तुष्टि मिलेको हुनुपर्छ । कुनै दुखै नगरी लेखक हुन पाएकामा एकथरी विद्वान् आत्मरतिमै रमाइरहे अनि लेख्दै नलेखिएका पुस्तक पाठ्यक्रममा समावेश गरिदिएर आसेपासेलाई गुन लगाउन पाएकामा गुन गर्नेहरू पनि मक्खै परिरहे । कहिल्यै नलेखिएका, नछापिएका पुस्तक पढाएरै उनीहरूले विश्वविद्यालयको तलब खाइरहे तर मालिकहरूको निगाहका अगाडि आफू विवेकहीन, दृष्टिविहीन, वाक् विहीन बन्नपुगेको चेतना कहिले पनि पलाएन । यसको कारण अब यहाँ व्याख्या गरिरहनु नपर्ला । भलै विद्यार्थी, नेपाली भाषासाहित्य र विश्वविद्यालयको अस्तित्व खाडलमै पुरियोस् कसलाई के मतलब ?

माथि उल्लेख गरिएका तथ्यहरूबाट अहिले पाठ्यक्रमका विषयमा नौटङ्की देखाउनेहरूको अभीष्ट नेपाली भाषासाहित्य एवं शैक्षिक अवस्थाको चिन्ता नभई तलका बुँदाहरूबाट प्रेरित भएको प्रस्टै देखिन्छ—

१. व्यक्तिगत ईर्ष्या र पूर्वाग्रह

२. विना परिश्रम लेखक भएर आत्मरतिमा रमाउने मौका गुमेको

३. मुसाको दुलोबाट छिर्ने दुष्प्रयास असफल भएको

४. बौद्धिक एवं नैतिक चेत स्खलन भएको

५. सत्य र यथार्थ नबुझी प्रभु र प्रभुनीको इसारामा नाचेको

६. सत्ताका अगाडि निरीहता

७. झुटको खेती

अहिलेका पाठ्यक्रममा उनीहरूका यसखाले कुनै पनि दुष्प्रयासहरू सफल नभएका कारण नै यस्ता नौटङ्की देखाउन थालिएका हुन् । अहिले नौटङ्की देखाउने अनि समर्थन जनाउने महामहिम विद्वत्वर्ग आफ्ना प्रभुहरूका यस्ता आपराधिक क्रियाकलापमा चुइँक्क बोल्न नसक्नुले उनीहरू पनि यस्ता अपराधमा सहभागी एवं सक्रिय भएको स्पष्ट हुँदैन र ?

नेपाली भूगोल, भाषा, जातीयता, संस्कृति आदि विभिन्न पक्षमा प्रहार भइरहेका सन्दर्भमा यस्ता अनेक विकृतिहरूको ओइरो लगाएर नेपाली भाषासाहित्यको पठनपाठनमाथि नै वितृष्णा उत्पन्न गराई सिङ्गो नेपाली जातिलाई नै विनाशको खाडलमा धकेल्ने अनेक परिपञ्चमध्येकै शृङ्खलामा उनीहरू बोल्न नसक्नु वा नचाहनुको कारण अब सबैलाई प्रस्ट भएको हुनुपर्छ । नेपाली भाषालाई चारैतिरबाट आक्रमण गरी थिल्थिल्याएर कमजोर तुल्याउने दुष्प्रयास असफल भइसकेपछि नेपाली भाषाकै खेतीबाट जीवन धानिरहेका व्यक्तिहरूबाटै नेपाली भाषालगायत शिक्षा प्रणालीलाई नै ध्वस्त पार्ने अभीष्टले प्रेरित यस्ता दुष्कर्म अत्यन्त निन्दनीय छन् भन्ने कुरामा दुई मत नहोला । अन्यथा यस्ता कुकृत्य एवं अपराधले भरिएका पाठ्यक्रम उनीहरूका लागिचाहिँ आदर्श एवं प्रगतिशील हुनुपर्ने कारण के ?

पाठ्यक्रम निर्माणका सिद्धान्त, प्रक्रिया, सीमा, कमजोरीबारे सबै जानकार नहुन सक्छन् र यो जरुरी पनि छैन तर यस्ता कुकृत्यलाई जघन्य अपराध भन्न कुनै सिद्धान्तको ठेली पढ्नुपर्दैन, दिउँसै रात पार्ने यसखाले कुकृत्यका विरुद्ध आवाज उठाउन विश्वविद्यालयको डिग्रीधारी पनि हुनुपर्दैन अनि कुनै विश्वविद्यालयसँग सम्बद्ध पनि हुनुपर्दैन । आफ्नो विवेक र बौद्धिक चेतलाई कसैको पैतालामुनि नघुसारे पुग्छ ।

यी यस्ता क्रियाकलापमा उनीहरूको सहमति र सक्रियता नभए अझै पनि आफ्ना प्रभु, प्रभुनीको इसारामा ननाची विवेकपूर्ण ढङ्गले यस्ता गुन्डागर्दीका विषयमा प्रामाणिक एवं तथ्यपूर्ण प्रतिक्रिया सार्वजनिक गर्न सम्बद्ध सबैलाई म चुनौती दिन्छु ।

आफ्नाका कुकर्म र अपराध पनि सुकर्म हुने र अर्काका सत्कर्म पनि भ्रम फैलाएर, रोइलो मच्चाएर नकारात्मक व्याख्या गरिने नेपाली राजनीतिमा देखिएको दलीय रोगले नेपाली विषयको बौद्धिकवर्गलाई ग्रस्त पारेको छ र यसको प्रत्यक्ष प्रभाव पाठ्यक्रममा परेको सप्रमाण उल्लेख गरिएको छ । अहिले यसखाले अनेक नौटङ्की देखाइनुको मुख्य कारण पाठ्यक्रमलाई फुटबल बनाएर आफू ठालु पल्टिने अनि आत्मरतिमा रमाएर अन्यत्र गफ दिन नपाइने भो चिन्ताले नै हो भन्ने कुरा पुष्टि हुन्छ ।

अन्त्यमा

प्रस्तुत लेख लेखेबापत अनेकप्रकारका षड्यन्त्र, गालीगलौज, धम्कीलगायत अरिङ्गालको गोलो ममाथि फालिने सम्भावना पनि नभएको होइन । यसभन्दा अगि राष्ट्रिय स्तरको छापा कान्तिपुरमा ‘नलेखिएका पुस्तक पाठ्यक्रममा’ तथा ‘कठै विश्वविद्यालय !’ शीर्षकका दुई लेख प्रकाशित भएपछि यी कुरा मैले भोगेकै हो । यिनै बौद्धिकवर्गबाट मेरो आलोचना भएकै हो । अझ मेरो घरमै गुन्डा पठाइएको पनि हो । त्यतिले पनि नपुगेर बीचैमा फोन गरी गुन्डा हाम्रो घरमा प्रवेश गरे नगरेको बुझेको पनि हो । हामीमाथि आक्रमण गर्न पठाइएका गुन्डा र हाम्रो संवादको रेकर्ड कसैले सुन्न चाहन्छ भने त्यो पनि सुरक्षित छ । यति हुँदाहुँदै पनि कसैको धम्की एवं गालीगलौजको त्रासले कसैका अनैतिक स्वार्थ, अपराध, कुण्ठा तथा ईर्ष्याका नाममा आफ्नो विवेक बन्धक राख्नुहुँदैन भन्ने कुरामा म सदैव अडिग छु ।

सामान्य मान्छेले कल्पना पनि गर्न नसक्ने यस्ता हर्कत एवं गुन्डागर्दीका सन्दर्भमा माथि उल्लेख गरिएका तथ्य एवं दृष्टिकोण कसैलाई अतिशयोक्ति लागेमा र तिनमा कसैको विमति भएमा सप्रमाण खण्डन गर्न म सबैलाई हार्दिक अनुरोध गर्दछु ।

अर्को कुरा माथि उल्लेख गरिएका पाठ्यक्रम सन्दर्भबाहेक कतिपय व्यक्तिको कुण्ठा आर्थिक पाटोसँग पनि जोडिएको छ । राज्यले निर्धारण गरेको कर नतिर्नु संसारमै राज्यविरोधी अपराध मानिन्छ र कर नतिर्दा राज्यले दण्डसजाय पनि दिन्छ । राज्यले उठाउने कर एवं दण्डसजायसँग व्यक्ति सम्बन्धित हुँदैन भन्ने कुरा सबैलाई चेतना होस् । आवश्यक परे यस सन्दर्भ पनि सप्रमाण विवरण पेस हुनेछन् ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०८१ आइतवार - २१:३४:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend