जन्मिनु प्राकृतिक नियमको
एक सुन्दर ( कुरूप?) संयोग मात्रै थियो
उसको आफ्नै इच्छाले रोजेर
होइन ऊ, यो धर्ममा जन्मिएको
जन्मेपछि नमरुन्जेल
र, मरेपछि पनि गर्नुपर्ने सबैसबै संस्कार
सिकाएकै छन् धर्मशास्त्रले
तर, ती स्रोह संस्कार
विभाजित छन् - जात अनुसार
ती उसको छैँटीमा आएनन्
खुसीका रमाइला कुनै गीत गाएनन
आएनन् ती उसको न्वारान गराउन
व्यक्तित्व अनुसारको नामले सजाउन
बोलाउनु पर्यो उसका पिताले आफ्नै भान्जालाई
जात सुहाउँदो उसको नाम राख्नलाई
ती न त उसको पास्नीमा आए
न त भोज नै खाए
व्रतबन्धको त उसलाई अधिकार नै छैन
जनै पाउने र लाउने त कुनै कुरै भएन
उसको बिहेमा पनि आएनन्
र, आएनन् ती
उसले सन्तान जन्माएर
फेरि न्वारान गर्न बोलाउँदा पनि
उसको सन्तानको बिहेमा जन्ती जान आएनन्
भोज खान पनि आएनन
आफ्नो सत्य नारायण र चौरासी पूजामा पनि
छोइन्छ भनेर उसलाई कहिल्यै बोलाएनन्
उसले त केवल
तिनीहरूकै कल्याणको निम्ति
आफ्नो सम्पूर्ण जिन्दगी अर्पिरह्यो:
कहिले ओदान, चिम्टा, अम्खोरा, गाग्री, हँसिया, कोदालो फाली आदि बनाएर
कहिले सुन्दर आभुषण बनाउन आफ्नो शिल्प खन्याएर
कहिले कपडा सिलाएर, बाजा बजाएर
कहिले गीत गाएर त कहिले नाचेर
अनि, कहिले छालाको जुत्ता सिलाएर
त कहिले तिनीहरूको फोहोर सफा गरेर
उसले नै कुँदयो तिनले पुज्ने मूर्ति
र, भर्यो बुट्टा भाव आउने गरी
तर तिनले प्राण प्रतिष्ठा गरेपछि
छुन, पुज्न नमिल्ने भयो त्यो मूर्ति उसैले
गाउँमा उसको एक्लो घर
उसलाई सधै जातकै डर
हुन पनि
उसकी आमा मर्दा शवलाई घाटमा पुर्याउन
उसका छिमेकी भै बसेका ती कोही पनि आएनन्
" राम नाम सत्य हो" भनी कसैले भजाएनन
शायद तिनले घाटमा कहिल्यै पुग्नु पर्दैन
किरिया बस्दा तिनलाई कसैले कुर्नु पर्दैन
तिनका "पवित्र" महायज्ञ लगाउन
सरकारले बनाइदिएको उसको घरमा डोजर चलाइयो
उसले टेकेको " अपवित्र" भूमी पवित्र बनाउन
दुईदुई फिट भूमी ताछेर फालियो
ती भन्छन् : वशुधैव कुटुम्बकम
खोइ तीनको लाज के ले टालियो?
उसले उनीहरूलाई छुन पाउँदैन
उनीहरू उसलाई छुन आउँदैनन्
यसरी नै बडो मुश्किलले चलिरहेको छ
तिनीहरूको कथित छुत र अछुत जीवन
उसका छोराहरू काटिएको रगतले
उसका छोरीहरू बलात्कृत भएको रगतले
चुलो छोएको निहुँमा हत्या गरिएको पीडाले
उसलाई मात्रै किन सधँभरि पोलिरहन्छ?
चैत- वैशाखको मेघ झैँ गर्जिएर
तिनका मुटुमा ढ्याङ्ग्रो ठोकी
चट्याङले झैँ तर्साएर
झिलिक्क उज्यालो बाल्दै
घनघोर वर्षापछिको बाढी झैँ उर्लिएर
तिनका मस्तिष्कको अन्धविश्वास
सधैँभरिलाई बगाउन चाहन्छ ऊ
सूर्यले अँध्यारो नष्ट गरे झैँ
मानवताको कलङ्कलाई नष्ट गरि
न्यायको फूल फुलाएर
समानताको संगीत बजाउन चाहन्छ ऊ
तिनका घृणा, अपमानलाई खरानी बनाएर
प्रेमको प्रतीक सजाउन चाहन्छ ऊ
यो धर्मले
उसलाई मात्रै अछुत बनाएर
किन यसरी सधैभरी
भतभती पोलिरहन्छ?