Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अन्धकारको विजय ( लघुकथा )

अन्धकारको विजय ( लघुकथा )

नेप्लिज डायस्पोरा

१३, चैत्र २०८१
images
अन्धकारको विजय  ( लघुकथा  )

कुनै समय थियो, जब अन्धकार नै जीवनको अन्तिम सत्य मानिन्थ्यो। यो सत्यलाई टालटुल पार्ने प्रयास कहिल्यै गरिएको थिएन। किनकि अन्धकारले प्रश्न सोध्न दिदैनथ्यो, अन्धकारले उत्तर खोज्न आवश्यक पार्दैनथ्यो। तर एकदिन, विद्युत् संस्थानमा कार्यरत एक मूर्ख व्यक्तिले यो निष्ठा तोड्न खोज्यो। उसले उज्यालो ल्यायो, लोडसेडिङ हटायो, अनि मानिसहरूलाई देख्ने, सोच्ने, बुझ्ने सुविधा दियो।

तर यो सत्ताका लागि खतरनाक थियो। उज्यालो भनेको हिसाबकिताब गर्ने, ठगी देख्ने, अनि सधैं भर अन्धकारमा बाँच्नेहरूको अनुहार प्रष्ट देख्ने माध्यम हो। व्यापारीहरू त्रसित भए— उज्यालोमा उनीहरूको खेल खुल्थ्यो। मन्त्रीहरू झस्किए— उज्यालोमा अनुहारहरू पढ्न सकिन्थ्यो। अनि अन्धकारका संरक्षकहरू उठे— “यो व्यवस्था भत्काउनु पर्छ!” आदेश आयो, “अन्धकारको विजय सुनिश्चित गर!”

त्यसपछि उसलाई हटाइयो। फेरि रात घनीभूत बनाइयो। व्यापारीहरू अब निश्चिन्त थिए, उनीहरू महसुल तिर्नुपर्ने बाध्यता हटिसकेको थियो। मन्त्रीहरू ढुक्क थिए, उनीहरूको छायाँ फेरि अदृश्य भइसकेको थियो। अन्धकारको शासन पुनः स्थापित भयो, र देशले साँच्चै उज्यालोको विजय मनायो— अन्धकारको झिलिमिलीभित्र।

--युवराजमैनाली

 

images
प्रकाशित मिति :चैत्र १३, २०८१ बिहिवार - १९:११:५५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend