तिमी एक्लो छौ
तिम्रो अघि कोही पनि छैन
र, छैन कोही पनि तिमी भन्दा माथि
सबै तिमी भन्दा निकै पछाडि छन्
र, छन् तिमी भन्दा निकै तल
जन्म्यौ तिमी समय भन्दा निकै अगाडि
तिमी एक्लो छौ
सबै तिमीभन्दा धेरै अघि छन्
तिमीभन्दा धेरै माथि छन्
र, कोही पनि बाँकी छैन तिम्रो पछाडि
जन्म्यौ तिमी समय भन्दा निकै पछाडि
बाँकी सबै त
मौरी र कमिला झैँ समूहमा मिलेर बसेका हुन सक्छन्
सँगसँगै हाँस्न अनि सँगसँगै रुन पनि सक्छन्
तिनको एकता र मेलमिलाप कति राम्रो छ !
हुन ता स्वार्थ अनुसार
आआफ्नो पेट भर्नको निम्ति
अरु कसैको सिकार गर्नको निम्ति
हाइना र जंगली कुकुर पनि
झुण्डझुण्डमा मिलेर बसेका हुन सक्छन्
सँगसँगै हाँस्न अनि रुन सक्छन्
तिमी एक्लो छौ
तिम्रो अघि कोही पनि छैन
तिमीभन्दा माथि पनि कोही छैन
र अरु सबै तिमीभन्दा धेरै पछाडि छन् ।
तिमी एक्लो छौ
अरु सबै तिमीभन्दा धेरै अघि छन्
तिमी भन्दा धेरै माथि छन्
र, कोही पनि बाँकी छैन तिम्रो पछाडि