Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मूकदर्शक (कथा) ✍️ कथाकार शारदा खनाल

मूकदर्शक (कथा) ✍️ कथाकार शारदा खनाल

नेप्लिज डायस्पोरा

४, बैशाख २०८२
images
मूकदर्शक  (कथा)  ✍️ कथाकार शारदा खनाल

बाबु तिमीले विवाह नगरेर ठूलो भूल गर्‍यौ । अझै गरे पनि केही बिग्रेको छैन । तिमीलाई एक्लै देख्दा हामीलाई रातमा निन्द्रा पनि लाग्दैन । हामी बाबाआमाको मनको भावना बुझेर विवाह गर छोरा, हामीले छोडेर गएपछि तिमीलाई माया गर्ने कोही पनि बाँकी रहेन बाबु । सधै हातखुट्टा, शरीर बलियो रहिरहँदैन । बिरामी पर्दा पानी तताएर दिने, समयसमयमा औषधी खुवाउने, निधार छाम्ने, ज्वरो आउँदा पानी पट्टी दिने, के मिठो हुन्छ ? भनेर सोध्ने र तिमीले खान नसक्दा कर लगाएर बलपूर्वक खुवाउने, पिर मान्ने र अर्को चिज बनाएर दिने मान्छे कोही पनि हुने छैन बाबु ।

 अहिले तिमीले कमाएको दुईचार पैसामा सबैले र्‍याल काढिरहेका छन् । त्यही हात पार्नका निम्ति हानथाप गर्दै मायाको नाटक गरिरहेका छन् । भएको जायजेथा कसलाई दिन्छ मैले पाउँछु कि पाउँदिन भन्ने मात्र सबैलाई पिरलो छ । तिम्रै सम्पत्तिका कारणले दाजु कमल र भाइ रामचन्द्रका बिचमा शीतयुद्ध चलिरहेको छ । तिम्रो सम्पत्तिमा गिद्धे दृष्टि लगाउने मान्छे धेरै छन् । परपरका दाजुभाइ र आफन्तले पनि लोकाचार पार्छन् । तर तिम्रो लागि के कति कर्तव्य निर्वाह गर्नुपर्ने हो त्यसको बारेमा कसैले दिलदेखि सोचिरहेका छैनन् । तिमीले त्यतिका पढेर के भयो बाबु ! आफ्नै भविष्यको बारेमा सोच्न नसकेपछि । हामी बाबाआमालाई निश्चिन्त भएर खुट्टा पसारेर मर्न पनि दिने भएनौ । मरिसक्दा पनि हाम्रो आत्मा तिम्रै पिरले भड्किरहन्छ ।

बाँचुन्जेल तिम्रो अवस्था देख्दा हामी बाबाआमा सधैँ बेचैन रह्यौँ । मृत्युपछि पनि हाम्रो आत्माले शान्ति पाउन सकेन । तिमी अफिसबाट फर्कदा तिम्रो भोक, तिर्खा बुझ्‌ने, सञ्चो विसञ्चोको ख्याल गर्ने, दुःख, मर्का बुझ्‌ने कोही पनि छैन । दुःखसुखमा साथ दिने तिम्रो आफ्नै मान्छे भएन बाबु । तिमीले आफ्नो भाग्य आफै फाल्यौ । हामी बाबाआमाले पिर मानेर भित्रभित्रै जले पनि केही काम लागेन । भरसक तिमीलाई एक्लै छोडेर नमरौं भनेर हामी बाबाआमाले कति नै प्रयत्न गर्‍यौं तर तिमीले वास्ता गरेनौं । हाम्रा कुरा सुन्दै सुनेनौ । हाम्रो पीडा बुझ्‌दै बुझेनौ । उमेर र पदले ठुला भइसकेका हुँदा आफ्नै सन्तान भए पनि हामीले एकोहोरो दबाब दिएर तिम्रो विवाह गरिदिन पनि सकेनौं ।

कमल र रामचन्द्रको घरबार कति राम्रोसँग जमिसकेको छ । तिम्रो पनि हामी त्यस्तै भएको हेर्न चाहन्थ्यौं । तर बाबु तिमीले हाम्रो भावना बुझेनौं । अरू सबैमा ज्ञानी भएर पनि यो कुरामा ज्यादै हठ लियौ । तिमीहरू थियौ र हामीले दुःख पाउनु परेन । तिम्रो विवाह गरिदिने हाम्रो चाहना त त्यसै खेर गयो–गयो तिमीलाई माया गर्ने कोही नभएर बुढेसकालमा धेरै दुःख पाउने भयौ ।

      शून्य कोठामा एक्लै निदाइरहेका पुरूषोत्तमलाई सपनामा उनकी आमाले भनेका भनाइ हुन् यी । आमा त्यसरी बोलेपछि उनी झसङ्ग भएर निद्राबाट ब्यूँझे । ब्युझिँदा उनलाई सपना र विपना छुट्ट्याउन गाह्रो भयो । सपना भनून् भने एकछिन अघिसम्म उनकी आमा कोठामा खडा भएर बोलिरहेकी थिइ्‌न् । विपना भनून् भने उनी त एघार वर्ष अघि नै यो संसार छोडेर गइसकेकी थिइन् । आमा बितेको आठ महिनापछि बाबा पनि बितेर लगातार बिस महिना उनीहरूले आशौच बार्नुपरेको थियो । पुरूषोत्तमले आँखा खोलेपछि उनलाई आमासँग मनको पीडा पोखौं जस्तो लाग्यो तर त्यो सपना भएको र उनले आमालाई गुमाइसकेका हुँदा सम्भव हुने कुरा थिएन । मेरी आमालाई बाँचुन्जेल मेरो धेरै पिर भएर नै यस्ता सपना देखिन्छन् भन्ने कुराको बोध भयो । उनी अतीत र वर्तमानको तुलना गर्दै धेरैबेरसम्म भक्कानिएर एक्लै रोइरहे ।

मध्यरातमा निद्राबाट ब्युझिएका पुरूषोत्तमका मनमा धेरै कुरा खेलेकाले उनका आँखा फेरि जोडिन सकेनन् । घरि यता घरि उता कोल्टो फर्कदैं, अनेक तर्कवितर्क गर्दै रात बिताए । बाबाआमाको अटुट र निस्वार्थ मायाको विश्लेषण गर्दै वेदनामा रात बिताए ।

उज्यालो भएपछि बिछ्यौना छोडेर कोठा बाहिर निस्के पनि रातिको सपनाले उनको मन र शरीर हलुङ्गो हुन सकेन । ब्रह्मलीन बाबाआमाको चेहरा दिनभरि मनमष्तिष्कमा आइरह्यो । मडारिइरह्यो । नेपाल सरकारको सहसचिव पदमा कार्यरत पुरूषोत्तमलाई त्यो दिन अफिस गएर पनि कसैसँग बोल्न मन लागेन । मन नलागी–नलागी आफ्नो जिम्मेवारीका काम गरे । उनको अनुहारमा झल्किएको नैराश्यता देखेर कार्यालयका अन्य कर्मचारीहरूले पनि चाल पाए । सरलाई आज सञ्चो छैन कि धेरै निराश र थकित देखिनुहुन्छ भनेर सोधे । उनले त्यस्तो केही छैन । ठिकै छु भनेर हल्का जवाफ दिँदै परिस्थितिलाई टालटुल पार्न खोजे । तर दिनभरि नै कसैसँग खुलेर हाँस्ने बोल्ने गरेनन् ।

अफिस समय सिद्धिएपछि उनी फेरि आफ्नै शून्य कोठामा पुगे । कोठामा राखिएको टेलिभिजन, मोबाइल र यत्रतत्र छरिएका पुस्तकहरू मात्र उनको मन भुलाउने माध्यम थिए । उक्त दिन उनलाई रातिको सपनाले फेरि सोच्न बाध्य बनायो । यति वर्ष अघि स्वर्गवास भएकी मेरी आमाले सपनामा आएर किन यस्ता कुरा गर्नुभयो । आखिर माया त मलाई आफन्त जति सबैले नै गर्दछन् । जता गए पनि हाइहाइका साथ इज्जत गर्छन् । श्रद्धा गर्छन् ।

दाजुभाउजूको परिवारलाई पनि हरेक समस्यामा साथ दिदै आइरहेको छु । सबै भतिजाभतिजीहरूले आफ्ना बाबाआमालाई भन्दा बढी माया मलाई नै गर्दछन् । कहिलेकाँही भाइबुहारीकहाँ जाँदा त्यहाँ पनि राम्रो इज्जत गर्दछन् । तर जन्मदिने आमाले सपनामा आएर तँलाई कसैले माया गर्दैनन् भन्नुको अर्थ के हो ? आमाको आत्माले देखेको कुरा मैले देख्न नसकेको हो कि ?  यी कुरा केकति सत्य हुन् ? सपना भनेको सपनै हो कि ? बाबाआमाको मायामा त थोरै पनि खोंट हुँदैन । स्वार्थ हुँदैन ।  बितेको यतिका वर्ष पुगिसक्दा पनि बाबाआमाको आत्मा मेरै लागि भड्किरहेको छ कि क्या हो ? मैले ठुलै भूल त गरिन ? बाँचुन्जेल पनि मेरै कारणले बाबाआमा दुःखी रहिरहनु भयो मृत्युपछि पनि उहाँहरू यस कुराबाट मुक्त हुन सक्नुभए जस्तो छैन भन्दै उनले कोठामा बसेर एक्लै सोचिरहे । धेरैबेर सोचेपछि आमाले भनेका कुरामा विचार गर्नैपर्ने भयो । अब दाजु र भाइका परिवारले गर्ने मायामा स्वार्थ छ कि छैन त्यो परीक्षण गर्नुपर्‍यो भन्ने सोच बनाए ।

  नेपाल सरकारको उच्च पदमा कार्यरत पुरुषोत्तमले आफ्नो जिवीकोपार्जनका निम्ति राम्रै पैसा कमाएका थिए । बाबाआमा छँदैदेखि घरका एकएक सदस्यको माग पूरा गर्नु उनको ठेक्का जस्तै थियो उनले करले होइन रहरले नै सबैको लागि खर्च गर्दै आइरहेका थिए । बाबाआमाको मृत्युपछि पनि दाजुभाइ भतिजाभतिजी, भाउजूबुहारी सबैलाई त्यत्तिकै माया गर्दै आइरहेका थिए । आफूले साँचो मनले माया गरेपछि यिनीहरूलाई पनि माया गर्न कर लाग्छ भन्ने उनको धारणा थियो ।

वास्तवमा नजिकका आफन्तहरूले उनको सम्पत्ति हात पार्न मायाका अनेकौं नाटक गरिरहेका थिए । एकदिन पुरुषोत्तमले आज सबैले एकै ठाउँमा खाना खाएर रमाइलो गर्ने भनी भाइको परिवारलाई समेत आफ्नो घरमा बोलाए । खाना खाएर बसेको बेलामा उनीहरूको बुद्धि विचार गर्न पुरुषोत्तमले एउटा गम्भीर कुरा सबैलाई सुनाए । उनले भने –“आजसम्म मैले सबैको हित हुने काम गरेँ । अब रहेको सम्पत्ति सामाजिक काममा प्रयोग गर्ने सोच बनाएको छु । बाबाआमाको नाममा ठाउँठाउँमा अक्षयकोष राख्ने चाहना छ । त्यसैले अब मबाट धेरै आशा कसैले नगर्नु है  । मैले पनि परलोक सपार्ने काम गर्नैपर्‍यो । यो घर पनि मरणोपरान्त पाउने गरी कुनै सहयोगी संस्थालाई दिने विचार गरेको छु । शेषपछि आफ्नो नाम रहने कुनै कार्य गर्न नसक्ने हो भने पैसा  कमाएको पनि अर्थ रहन्न । साथीभाइहरूले पनि यस्तै कार्य गर्ने सल्लाह दिएका छन् । मेरा दाजु र भाइलाई यो विचार कस्तो लाग्छ ? ”

पुरुषोत्तमको प्रश्नको जवाफ कसैले पनि दिएनन् । मात्र सबैले मुखामुख गरेर अनुहार अँध्यारो पारे । यस कुराले विशेष आघात भाउजूलाई परेको उनलाई आभाष भयो । किनकि देवरानीको त बस्न काठमाडौंमा आफ्नै घर थियो । दाजुको हेटौडामा त घर थियो तर काठमाडौंमा थिएन ।

पुरुषोत्तमले आफ्नो सबै सम्पत्ति संघसस्थालाई नदिएर केही मात्र दिने धेरै आफ्नै भतिजाभतिजीलाई दिने मनशाय बनाइसकेका थिए । आफूलाई वास्तविक माया गर्छन् कि आफ्नो सम्पत्तिलाई त्यो मात्र परीक्षण गर्नु थियो । जन्म दिने आमाले सपनामा भनेका कुराले उनलाई सशङ्कित मात्र होइन सोच्न बाध्य बनाएको थियो ।

त्यसैदिनदेखि नै दाजु र भाइका सपरिवार उनीसँग खुलेर बोल्न छोडे । भाउजूले त अझ यतिका वर्ष चाकरी गरेर के भयो । आफ्नै भतिजो हुँदाहुँदै सम्पत्ति अन्तै संघसंस्थामा दिने रे भन्दै छिमेकी एउटी महिलासँग फलाकेको समेत उनले सुने ।

बिहानमा बिछ्यौनामा पुग्ने चिया अब डाइनिङ्ग टेबुलमा गएर कुर्नुपर्ने भयो । चियाको रूपरङ्ग पनि फेरियो । अफिसबाट फर्कदा कोठामै खाजा पुग्थ्यो । अब भाउजूले पानी तिर्खा समेत सोध्न छोडिन् । साँझको खाना खाएपछि दाजु चाहिँ भाइको कोठामा कुराकानी गर्न र बस्न पुग्थे । भाउजूका दबाबले सोझा दाजु पनि बाङ्गिएर कोठा मै जान छोडे । भतिजाभतिजी पनि पहिलेभन्दा धेरै फरक भइसकेका थिए । दाजुका परिवारका सदस्य काम परे अथवा पुरुषोत्तमले बोलाए मात्र बोल्ने भएका थिए ।

यसपछि एकदिन पुरुषोत्तम अफिसबाट सिधै भाइको घरमा गए । भाउजूसँग आज साँझ भाइको घरतिर जान्छु । त्यतै बस्छु, । भोलि मात्र यहाँ आउँछु भन्ने कुरा सुनाए । तर उनी नाजवाफ भइन् । सधै दाजु आउनुभयो भनेर उत्साहित हुने भाइ रामचन्द्रले पनि त्यसदिन पहिले जस्तो चासो दिएनन् । दाजुप्रति गर्नैपर्ने औपचारिकता मात्र निभाए । बुहारीले पानी पियास लागेको छ कि भनेरसम्म सोधिनन् । आफैले पानी मागेर खाए । गृहकार्यमा व्यस्त भतिजाभतिजीहरू ठुलाबाबा आएको चाल पाएर पनि बाहिर निस्केनन् । पहिलेपहिले आउँदा गेट बज्यो कि दौडिएर उहीँ पुग्थे ।

एकछिन बसेपछि भाइबुहारीले खल्लो चिया ल्याएर दिइन् । यसअघि उनी त्यहाँ जाँदा निकै श्रद्धा गर्दथे । मिल्ने र सम्भव हुनेसम्मको भोजन तयार हुन्थ्यो । दाजुलाई के खाने इच्छा छ भन्नोस् है भन्थिन् बुहारी । पहिले आउँदा भतिजाभतिजीहरू आएर उनको काखमै लडिबुडी खेल्थे । अब सधै यतै बस्नोस् सधै ठुलाबाबाकोमा मात्र किन बस्ने भनेर ठुलो जोड गर्दथे । जता गए पनि उनको तानातान हुन्थ्यो । केटाकेटीले मात्र होइन भाइ र बुहारीले समेत सधै त्यहाँ किन बस्नुपर्‍यो । हामीसँग बसे पनि त हुन्छ नि भनेर निकै कर गर्थे । हामीले पनि हजुरको सेवा गर्ने अवसर पाऊँ भनी आग्रह गर्दथे । भतिजाभतिजीहरूले आफूलाई चाहिने सामग्रीको सूची नै बनाएर बसेका हुन्थे । तर यो पटक जाँदा  उही घर हो र भन्ने भइसकेको थियो । मान्छे सबै फेरिएका थिए ।  

       उता दाजुका परिवारले पनि उनको पुरै वास्ता गर्न छोडिसकेका थिए । उनी कुनै दिन विचार गर्न बिना जानकारी साथीभाइहरूसँग बाहिरै बसे पनि उनको मोबाइलमा एक कल फोनसम्म आउँदैनथ्यो । कता गयो भनेर खोजी नै हुँदैनथ्यो । घरमा पुगे भने साँझबिहान खाने खानाको सम्म भाग लाग्थ्यो । नास्तापानी, भोकतिर्खा कसैले सोध्दैनथे । पुरुषोत्तमले घरव्यवहार चलाउनोस् भाउजू भनेर महिनैपिच्छे पैसा दिन्थे । घरमा अरू बेला कति थरी खानेकुरा बन्थे । कुनै खानाको पनि उनलाई भाग लाग्दैनथ्यो । काठमाडौंमा उनले बनाएको साढे तीनतलाको घर थियो । माथिको डेढतला आफ्नै घरको प्रयोजनमा ल्याइएको थियो भने तलबाट दुईतला भाडामा लगाएर मासिक छत्तीस हजार पैसा आउँथ्यो । भाडाको त्यो रकम पनि पुरुषोत्तमले भाउजूलाई नै बुझेर घरखर्चमा लगाउनुहोस् भनेका थिए । घरमा खान लगाउन त्यसैले पुग्थ्यो ।

माहिला पुरुषोत्तम र कान्छा रामचन्द्रको राम्रो नोकरी भएको हुँदा दुई भाइका सल्लाहले पुर्ख्यौली सम्पत्ति सबै जेठो दाइ कमललाई दिएका थिए । कमलले पनि नपढेका त होइनन् । उनी राजनीतितर्फ लागेकाले जागिर खाएनन् । इमान्दार हुनाले लाभको पद भने उनले कहिल्यै पाएका थिएनन् ।

उनीहरूको पुर्ख्यौली सम्पत्तिमा चितवनको पर्सा बजार नजिकै चार बिगाहा खेत थियो । अर्कैले खेतीपाती गरे पनि दुई भाइकै परिवारलाई खान पुगेर केही बेच्न समेत पुग्ने आयस्ता आउँथ्यो । भाइ रामचन्द्र नेपाल सरकारको शाखा अधिकृत थिए । दाजुको नगद हात लाग्ने कुनै पेशा नभएको हुँदा पुरुषोत्तम दाजुसँगै बसेका थिए । भाइले काठमाडौंमा घर बनाउँदा दोस्रो तला थप्ने पैसा पनि उनैले दिएका थिए ।

      आमाले सपनामा झस्काएपछि मात्र पुरुषोत्तमले आफ्ना दाजुभाइका सपरिवारलाई राम्रोसँग चिन्ने मौका पाए । उनले आमाले सपनामा भनेका कुरा सत्य हुन् त भन्ने विचार वा परीक्षण गर्न समूहमा त्यस्तो कुरा गरेका थिए तर त्यो कुरा वास्तविक हुन आएपछि आमा आमा नै हुन् उनले बोलेका कुरा पनि कहिले पो मिथ्या हुन्थे र भन्ने लाग्न थाल्यो ।

अहिलेसम्मको आफ्नो पसिना सबै ती विवेकहीनहरूको लागि खर्च गरेकामा पश्चाताप भयो । आफ्नो लगानी व्यर्थ भएको अनुभूति भयो ।  दाजुको कमाइ नभएको हुँदा भतिजो कमाउने नहुँदासम्म आफ्नै घरमा राख्ने निश्चय गरे । उनको मन भने निकै कुँडियो ।

यतिन्जेल विवाह नगरी बसेकोमा धेरै पछुतो भयो । आफूले मन पराएकी केटी सिर्जना कार्कीलाई बाबुआमाले विवाह गर्न अस्वीकार गरेपछि सिर्जनाले अनिच्छाबस अर्कै केटासँग विवाह गरेकी थिइन् । आफूले रोजेकी केटी विवाह गर्न नपाएपछि  पुरुषोत्तमले कहिल्यै विवाह नगर्ने अठोट गरेका थिए । छोराले भिष्मप्रतिज्ञा नै गर्ला भन्ने कुरा बाबुआमाले बुझ्‌न सकेनन् । अन्तजार्तीय विवाह किन गर्नुपर्‍यो आफ्नै जातकी पनि मन पर्ने केटी पाइएली नि भन्ने लाग्यो ।

पुरुषोत्तमले आफ्नी छोरी सिर्जनालाई मन पराउने रहेछन् । उसलाई नपाएपछि विवाह नै नगर्ने प्रतिज्ञा गरेछन् भन्ने कुरा थाहा पाएपछि  सिर्जनाका बाबुआमाले सम्म धेरै पश्चाताप गरे रे ।

सिर्जनासँग विवाह गर्न नदिएका कारण पुरुषोत्तम अविवाहित बस्दा उनका आफन्त सबैलाई ठुलो चिन्ता भयो । बाबाआमा र आफन्तहरूले विवाह गरिदिन कस्ताकस्ता पढेका र उच्च घरानका केटीका कुरा चलाएका थिए । पुरुषोत्तमको एकोहोरे हठी स्वभावका अघि कसैको पनि केही लागेन । आज यसलाई एक्लै देख्नपर्नु भन्दा अन्तर्जातीय विवाह भए पनि गर्न दिनुपर्दो रहेछ भनेर बाबाआमा निकै पछुताए । सिर्जना अर्कैकी भइन् । पुरुषोत्तमको पिर मान्दामान्दै बाबाआमा ब्रह्मलीन भए । आफैले प्राणभन्दा बढी माया गरेका मान्छेहरूले धोका दिएपछि मात्र पुरुषोत्तमको घैंटोमा घाम लाग्यो ।

बाबाआमा छउन्जेल उनलाई एक्लै छु भन्ने महसुस नै भएन । उनका हरेक समस्या आमाबाटै समाधान हुन्थे । बाबाआमाको शेषपछि पनि भाउजूबुहारीका स्वाङ्ले भ्रममा परेर घरका सबैलाई आफ्नो ठान्ने भूल गरे । आफूले सबैलाई माया गरे । निस्वार्थ माया गरेपछि आफूले पनि माया पाउने कुरामा विश्वस्त भए ।

 आफूलाई आत्मैदेखि माया गर्ने मानिस अहिले जगतमै कोही नभएको महसुस भयो । सपनामा आमाले भने जस्तै सबैलाई सम्पत्ति मात्र कता दिन्छ भन्ने पिरलो भएको पाए । सबैले मलाई होइन मेरो सम्पत्तिलाई माया गर्दा रहेछन् भन्ने निर्ष्कषमा पुगे ।

    आफन्तको आफूप्रतिको स्वार्थी व्यवहार बुझेपछि उनलाई आफूले गरेको कठोर निर्णयप्रति निकै पछुतो भयो । सच्चालीस वर्षको उमेरमा उनले विवाह गर्ने मनस्थिति बनाउन पनि सकेनन् । बेलैमा विवाह गरेको भए मेरो सुखदुःखमा साथ दिने श्रीमती र काखमा लडीबुडी खेल्दै हुर्कने र आफूलाई माया गर्ने छोराछोरी हुन्थे । परिश्रम गरेर जोडेको सम्पत्ति पनि मलाई वास्तविक माया गर्नेले नै पाउँथे । आखिर मेरो लगानी बालुवामा पानी पोखे जस्तै भयो भनेर निकै दुःखी भए ।

पुरुषोत्तमले अब रहेको सम्पत्ति भेडाको मासु हुन नदिने अठोट गरे । केही रकम प्रात:स्मरणीय बाबाआमाका नाममा विद्यालय तथा मन्दिरहरूमा अक्षयकोष राख्ने र अन्य सामाजिक काममा लगानी गर्ने प्रतिज्ञा गरेर बिछ्यौनामा पल्टिए ।

अर्कोदिन बिहान अफिस जाँदा बाटामा पूर्व प्रेमीका सिर्जनासँग एकाएक भेट भयो । उनीहरूको भेट बिस वर्षदेखि भएको थिएन । सिर्जनालाई पुरुषोत्तमको बारेमा लगभग सबै कुरा थाहा थियो तर सिर्जनाको बारेमा पुरुषोत्तम पूरै अनभिज्ञ थिए । सिर्जना पनि उपसचिव भइसकेकी रहिछन् । हेटौंडाबाट सरुवा मिलाएर पुरुषेत्तमकै अफिस स्वास्थ्य मन्त्रालयमा आएकी रहिछन् । त्यो दिन उनको त्यहाँ हाजिर हुने पहिलो दिन रहेछ ।

त्यसैदिन दिउसो उनीहरू दुवै नास्ता खान अफिस बाहिर रेष्टुरेन्टमा गए । दुवैले आ–आफ्ना दुखेसा पोखे । सिर्जनाका श्रीमान्‌ले चारवर्ष अघि सडक दुर्घटनामा ज्यान गुमाएका रहेछन् । ती कुरा गर्दा सिर्जनाको गला अवरुद्ध भयो । छात्रवृत्तिमा चौथो वर्ष डाक्टर पढ्दै गरेको उनको एउटा छोरा रहेछ  । मनमा अनेक वेदना भए पनि दुवैले पुरानो माया सम्झेर खुसी हुने प्रयास गरे । सँगै बस्न भाग्यमा नभए पनि एउटै अफिसमा काम गर्दा दिनदिनै भेट त हुने भयो भनी पुरुषोत्तमले सिर्जनाको मुखमा हेरेर मुसुक्क हाँसे । सिर्जनाले हजुरको चाहना भए हामीलाई अब सँगै बस्न कसैको तागतले छेक्न सक्दैन भनेपछि पुरुषोत्तमले बरर्र आँसु झार्दै भने – “म आज पनि तिम्रै पुरुषोत्तम हुँ सिर्जना ।”

सिर्जना र पुरुषोत्तमका बिचको प्रेमकहानी छोरा अन्वेषणलाई पनि थाहा थियो । उसले पनि ती प्रेमिल जोडीको पुनर्मिलन चाहेर मम्मीलाई आफ्नो बारेमा निर्णय लिन सल्लाह दिएको थियो । मनैदेखि चाहेको मान्छेसँग जोडिएर जीवनलाई अगाडि बढाउने चाहना भएर नै सिर्जना सरुवा भएर काठमाडौं आएकी थिइन् । विछोडिएका जोडीको पुनर्मिलन भएपछि दुवैको सँगै जिउने इच्छा पूरा भयो । उनीहरूको आत्मिक प्रेमले सार्थकता पायो । एक्लै भएकी छोरीले आफ्नै प्रेमीलाई जीवनसाथी पाएपछि सिर्जनाकी आमा पनि असाध्यै खुसी भइन् । पुरुषोत्तमले ब्रह्मलीन बाबाआमाको भड्किएको आत्माले पनि शान्ति पाएको अनुभूति गरे ।  नभन्दै पुरुषोत्तमले सिर्जनासँग विवाह गरेकै रात हाम्रो छोरा एक्लै छैन । अब उसको पिर हामीलाई भएन । आफूलाई भन्दा बढी माया गर्ने श्रीमती अब उसको साथमा छ भनी सपनामा बाबाआमा असाध्यै खुसी भएको देखेँ । 

 

- बुटवल उमनपा -१२, तामनगर, हाल : तानसेन पाल्पा ।

images
प्रकाशित मिति :बैशाख ४, २०८२ बिहिवार - २२:२४:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend