Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

भ्रम ( लघुकथा )

भ्रम ( लघुकथा )

नेप्लिज डायस्पोरा

७, बैशाख २०८२
images
भ्रम ( लघुकथा )

शून्यता फैलिएको थियो । कुनै दिशा थिएन, न त कुनै सीमाना । समयको गणना अर्थहीन थियो । केवल एक स्वरूप । अव्यक्त र अस्पष्ट त्यहाँ उभिएको थियो ।
द्रष्टा आए हेरे । शून्यको बीचमा एउटा आकृति देखियो… एक सिंहासन । खाली । तर फर्किने बेलामा उनीहरूको आँखा अन्योलले झल्कियो ।
“त्यहाँ कोही थियो ।”
“कोही छैन” अर्को स्वरले प्रतिवाद गर्यो ।
भीडको कानमा साउति झैँ एउटा भिन्न आवाज प्रतिध्वनित भयो “ऊ फर्किएको छ ।”
“तर ऊ कहाँ गएको थियो र?” अर्कोले सोध्यो ।
शब्दहरू निस्किएनन् । केवल मौनताको घेराभित्र एउटा प्रत्युत्तर गुञ्जियो: “ऊ कहिल्यै कतै गएको थिएन । ऊ त हाम्रै दृष्टिमा थियो, हाम्रै सम्झनाभित्र, हाम्रै विश्वासमा ।”
त्यो मौनतालाई चिर्दै एक निडर आत्मा अघि बढ्यो । उसले सिंहासनतर्फ हात बढायो । छुन खोज्यो । छोयो । एकाएक अदृश्य ज्वालाले उसको आत्मालाई छोप्यो । कम्पनले उसको अस्तित्वलाई चकनाचुर बनायो ।
“सिंहासन छ,” भीडले भन्यो, “तर कोही छैन ।”
रात आयो । हावाले हराएको धुन गुनगुनायो ।
“ऊ फेरि सर्नेछ,” कसैले बिस्तारै भन्यो ।
तर कोही सरेन । केवल प्रतीक्षाको गहिराइ बढ्दै गयो ।
शहर निदायो ।
बिहान जब सूर्यले शून्यलाई सुनौलो रङ्गले पोत्दै गयो, भीडले फेरि सिंहासन हेरे ।
त्यहाँ नयाँ आकृति थियो ।
तर के त्यो उ नै थियो?
वा केवल सिंहासनले रचेको अर्को भ्रम?

-युवराज मैनाली

images
प्रकाशित मिति :बैशाख ७, २०८२ आइतवार - २०:५०:४७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend