Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

आनन्द के हो ?

आनन्द के हो ?

नेप्लिज डायस्पोरा

२९, बैशाख २०८२
images
आनन्द के हो ?

आनन्द दृश्य वस्तु हैन अनुभव मात्र हो आखिर आनन्द के हो? हामीले जे ठानिरहेका छौ, त्यही हो त आनन्द? आनन्द के मा छ त? आनन्द प्राप्ति नै जीवनको उद्देश्य हो भने, कुन आनन्द प्राप्त गर्दा लक्ष्य पूरा हुन्छ ? विशेष रूपमा आनन्द चार (४) प्रकारका हुन्छन् : १) शारीरिक आनन्द : भौतिक पदार्थहरूको संयोगबाट वनेको शरीर हो र सो शरीरले स्थूल (ठुलो) पदार्थको अनुभव गर्नु, शारीरिक आनन्द हो । देखिने शरीरको लागि मात्र भरण पोषण, लाउनु, खानु-पिउनु, डुल्नु, हिँड्नु आदि र जसरी पनि आफ्नो शरीरलाई मात्र पोषण गर्नुपर्छ सोच्नु, अरूहरूको अवमूल्यन गर्नु र भौतिक सुख सुविधा र खानको लागि मात्र क देखि ज्ञ सम्मको काम गरेर नि नथाक्ने आनन्दलाई जडसुत्रवादी शारीरिक आनन्द भनिन्छ ।

२) इन्द्रिय आनन्द : इन्द्रियहरुवाट सूक्ष्म बिचारहरू प्रवाह भइरहेको हुन्छ, ती बिचारहरू निक्लिने द्वारहरूलाई सूक्ष्म इन्द्रिय भनिन्छ ।

इन्द्रिय दुई (२) प्रकारका हुन्छन् : - ज्ञानेन्द्रिय : जिब्रो, नाक, आँखा, कान, छाला

  • कर्मेन्द्रीय : मुख, हात, गोडा र गोप्य अङ्ग

यिनै दुई इन्द्रियभित्र रहेका दस इन्द्रियहरुवाट मन, बुद्धि, चित्त र अहङ्कारका विषयहरू बहन्छन् । ती वहने तत्त्वहरूबाट हुने आनन्द, सूक्ष्म इन्द्रिय आनन्द हो। यो आनन्द शारीरिक आनन्द भन्दा सूक्ष्म रहेको छ । यसमा उच्च-निच र गाह्रो-सार्होको विवेचना हुन्छ ।

३) मानसिक आनन्द : सम्पूर्ण दृश्य पदार्थहरूको सङ्कल्प गरि व्यवहारिक रूपमा प्रयोग गर्नु, मानसिक आनन्द हो । मनले नै सृष्टि गर्छ र सो सृष्टिमा वाधा आए मन नै आत्तिई विभिन्न प्रकारका आरोह, अवरोह गर्दै शिथिल भए जस्तो अनुनय- विनय गरी एकत्वलाई अनेकत्त्व ठानी नित्य अनभिज्ञ भई जो दौडिरहन्छ र आफूले दौडिएको आफैले प्रमाणविना आनन्द मान्छ, त्यो अपरिपक्व आनन्दलाई मानसिक आनन्द भनिन्छ ।

४) वास्तविक आनन्द : आत्मीय एकत्व आनन्द, वास्तविक आनन्द हो । सो एकत्व मै व्यापकत्त्व छ । जस्तै: पानीको प्यास नरिवलको जटाले मेट्दैन तर जटासहितको नरिवल नभई त्यो भित्र रहेको पानी पिउन सकिँदैन। पानीको प्यास लागेको प्यासीलाई जटा सहितको नरिवल हातमा दिएर पानीको प्यास मेटिँदैन, प्यास मेट्नको लागि युक्ति, बुद्धि लगाएर सर्वप्रथम त जटाले ढाकेको नरिवलको खबटामा पुग्नुपर्छ, त्यसपछि खवटोवाट भित्र नरिवलको बोक्रा हुन्छ, सो बोक्राभित्र गुदी र बल्ल गुदीभित्र पानी रहेको हुन्छ । पानी, आधार सहित त्यति भित्र रहेको हुन्छ, त्यो आधार नरिवलको गुदी, बोक्रा, खपटो र जरा यिनै चारको संयोगमा मात्र पानी छ । पानीले नै नरिवलको गुदीको गुदित्त्व, बोक्राको को बोक्रापनमा ताजपन, खबटामा थिवत्व र पानीकै कारणले जटा थिर रहिरहेको हुन्छ ।

यदि पानी नभए, त्यो जटा नरिवलको अस्तित्व रहँदैन , तुरुन्तै नास हुन्छ। त्यो पानी नै वास्तविक ज्ञान हो (आत्मीय ज्ञान) । सो पानी प्राप्त गर्न समग्र नरिवल आवश्यक पर्छ र सो पानी विना नरिवलको अस्तित्व रहँदैन ।

नरिवलको जटाजस्तो शारीरिक आनन्द हो, त्यस्तै नरिवलको खबटा जस्तो इन्द्रिय आनन्द हो भने नरिवलको गुदीजस्तो मानसिक आनन्द हो र सो पानी जस्तो नै आत्मीय आनन्द हो । पानी नपिएसम्म तिर्खा मेटिँदैन, तिर्खा मेटिनु नै वास्तविक आनन्द प्राप्त गर्नु हो । आनन्द दृश्य वस्तु हैन अनुभव मात्र हो, र तत् आनन्द नै वास्तविक आनन्द भएको हुँदा सो विषयको खोजिबाट मात्र वास्तविक आनन्द प्राप्त हुन्छ ।

सो वास्तविक ज्ञान (आत्मीय ज्ञान) प्राप्त गर्नको लागि आजभन्दा २५६९ बर्सअघि यज्ञीय देशको नेपालको लुम्बिनीको तिलौराकोट राज्यमा पिता तत्कालीन राजा शुद्धोदन र माता रानी मायादेवीका दरबारमा वैशाख शुक्ल पूर्णिमाका दिन जन्मिएका सिद्धार्थ गौतम पनि राजाको छोरो हुँदा हुँदै शारीरिक , इन्द्रिय, मानसिक आनन्दले अपूर्ण भएको हुँदा वास्तविक ज्ञान/आनन्द (आत्मीय ज्ञान) को खोजीमा भौतिक आनन्द वा सुखबाट बाहिरिई वास्तविक ज्ञानको अनुभवको खोजीतर्फ लागेका थिए। त्यस्तै हामी प्राणिमात्र सबैले पनि वास्तविक ज्ञानको अनुभव गरेर आफ्नो जीवनलाई सार्थकता दिन सक्नु पर्छ।

विभिन्न प्रकारका भ्रम तथा मिथ्या भोगलाई तुच्छ मानी आत्म केन्द्रीत भई वास्तविक ज्ञानको अनुभव वा खोजीमा लाग्नु पर्छ । अनि मात्र आनन्द प्राप्त हुन्छ ।

images
प्रकाशित मिति :बैशाख २९, २०८२ सोमवार - १९:४४:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend