Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मौन विद्रोह (कविता) ✍️ नैना अधिकारी

मौन विद्रोह (कविता) ✍️ नैना अधिकारी

नेप्लिज डायस्पोरा

२१, जेठ २०८२
images
मौन विद्रोह  (कविता)     ✍️ नैना अधिकारी

बोल्न त मन थियो

तर कहाँबाट सुरु गरौँ थाहा थिएन

मनमा कुरा थिए 

आधा अधुरा

बेमौसमी फलजस्ता 

 

कसैलाई थाहा छैन्

मैले भित्र कतिबेला आगो बालेँ

तर म आफै चुप रहेँ 

किनभने

बोल्नुभन्दा नबोलेकै उचित लाग्थ्यो 

 

सबै ठिकै छ भन्ने अनुहार लगाएर हाँस्नेहरू

भित्र कतै भत्किँदैछन् 

र म

त्यही मौनता हेरेर

विद्रोह गरिरहेछु

नबोली 

 

सोध्न मन लाग्छ 

कसरी चुप बस्न सकिन्छ यति बेला ?

तर म आफै चुप छु

सङ्केतले भन्छु 

भयो, अब धेरै भयो 

 

शब्दहरू लेख्ने प्रयास गरेँ

धेरैजसो काटेँ

कतिखेप भुलेर आँसु पोखिए पन्नामा

त्यो पनि पुछेँ

किनभने 

यो पनि त

मौनता नै हो,

होइन र ? 

 

म विश्वास गर्छु 

कहिलेकाहीँ विद्रोह गर्नु

नारा होइन,

मुटुको गहिराइबाट निस्किएको सुस्केरा पनि हुनसक्छ 

र म,

अहिले त्यही सुस्केरामा

एक्लै लडिरहेछु 

बिना आवाज,

तर चिच्याइरहेछु । 

 

- कामरूप मेट्रो, असम, भारत ।

images
प्रकाशित मिति :जेठ २१, २०८२ मंगलवार - २२:५६:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend