Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ प्रकाशित

लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ प्रकाशित

नेप्लिज डायस्पोरा

२३, जेठ २०८२
images
लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ प्रकाशित

जेठ २० गते २०८२, वालिङ, स्याङ्जा । लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ प्रकाशित भएको छ । साहित्य क्षेत्रमा कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीत लेखनमा समेत सक्रिय रुपमा कलम चलाउँदै आउनु भएका उहाँको यो पहिलो कथा–कृति हो । 

 

पेज टर्नर प्रा.लि.द्वारा प्रकाशित कथा–कृतिमा वियोगीले विशेषतः पश्चिम नेपाल अर्थात् गण्डकी पानीढलो, त्यसमा पनि स्याङ्जा जिल्लाभित्र प्रचलित भाषिक सौन्दर्य तथा माओवादी द्वन्द्वको पृष्ठभूमिमा सिर्जित नेपाली समाजका अनेक पाटालाई उत्खनन् गरेको पेज टर्नरका कार्यकारी निर्देशक जयराम तिमल्सिनाले बताउनु भयो । 

 

तिमल्सिनाका अनुसार यथार्थवादी धारका कथाहरूमा सामाजिक विभेद, असमानता तथा जनयुद्धका त्रासदी समेटिएका छन् । सङ्ग्रहमा बालावयका स्वरलहरीमा मिसिएर आएका अनेक लोकभाकाका मूर्च्छना र लोक–संस्कृतिको सुगन्ध पनि पाइन्छ । स्याङ्जाको टाकुरामा टेकेर उडेका भावना मध्यपश्चिम, सुदूरपश्चिम र पूर्वतिरसमेत डुल्न भ्याएका छन् । पर्यावरणीय चेत र वस्तुवादी धार कथाका मुख्य सार हुन् । 

 

करिब २ दशकदेखि पत्रकारितामा सक्रिय वियोगीसँग विगतमा नेपाल समाचार-पत्र, नागरिक दैनिक लगायत विभिन्न दैनिक तथा साप्ताहिक पत्रिकामा काम गरेको अनुभव रहेको छ । हाल उहाँ नेपालको पहिलो ऊर्जा सम्बन्धी अनलाइन तथा अर्धवार्षिक पत्रिका ‘ऊर्जा खबर’को सम्पादकको जिम्मेवारीमा रहनु भएको छ । 

 

साहित्य लेखनमा विशेष रुची राख्ने वियोगी विशेषतः कथा र निबन्ध विधामा कलम चलाउनु हुन्छ । ‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८’ मा उहाँको निबन्ध ‘कोरोनाको कर्खा’ प्रथम भएको थियो । त्यस्तै, ‘डिसहोम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता’ को पहिलो संस्करणमा उहाँको ‘टाउको’ शीर्षकको कथा दोस्रो भएको थियो । उहाँको शब्द सिर्जनामा करिब एक दर्जन जति आधुनिक तथा लोक–आधुनिक गीत रेकर्ड भएका छन् । 

‘सत्यम्’ कथासङ्ग्रह यही जेठ २४ गते, शनिबार एक समारोहका बीच काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा लोकार्पण गरिने प्रकाशकले जानकारी दिनु भएको छ ।

images
प्रकाशित मिति :जेठ २३, २०८२ बिहिवार - ०७:३६:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend