Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

साहित्यकार गीता भण्डारीको गद्य कवितामा के छ ? (समीक्षा) -तोयानाथ सुबेदी

साहित्यकार गीता भण्डारीको गद्य कवितामा के छ ? (समीक्षा) -तोयानाथ सुबेदी

नेप्लिज डायस्पोरा

२३, जेठ २०८२
images
साहित्यकार गीता भण्डारीको गद्य कवितामा के छ ? (समीक्षा) -तोयानाथ सुबेदी

, साहित्यिक चाैतारी नेपालकी केन्द्रीय अध्यक्ष गीता भण्डारीसँगको पहिलो भेट विश्व नेपाली साहित्य महासंघ र साहित्यिक चाैतारी नेपालले नेपाल प्रज्ञा प्रतिष्ठानकाे सभा हलमा केही वर्ष अगाडी गरेकाे साहित्यिक कार्यक्रममा भएकाे थियाे । तर उहाँकाे पूर्ण परिचय  प्रत्यक्ष लिन पाएकाे थिइन, दिनदिन उपहारमा प्राप्त अन्य पुस्तकहरूको चाङ बढ्दै गए पनि, उहाँसँग थप भेटघाट र नजिकबाट चिन्ने अवसर भने खासै भएन । त्याे बेलामा सामान्य परिचय मात्र भएको थियाे र त्यसै बेलामा याे 'एक्काइसाैँ शताब्दीमा हामी' भन्ने गद्य कविता सङ्ग्रह सप्रेम उपहार दिनु भएकाे थियाे । अहिले समय, परिस्थिति विभिन्न कारणले अनौठो लागि रहेको छ । उपहार दिनेले पनि आशा राखेकाे हुन्छ केही प्रतिक्रियाकाे, त्यसैले अब भने सबैबाट प्राप्त भएका पुस्तकहरूको विस्तृत समीक्षात्मक लेख नलेखे पनि छोटो खाले समीक्षा लेखेर दिनेछु भन्दै गीता भण्डारी बहिनीकाे याे कविता सङ्ग्रह पढेर के पाएँ त ? भन्ने विषयमा छाेटाे टिप्पणी गर्ने प्रयास गरेको छु, कस्ताे लाग्यो प्रतिक्रिया दिन नभुल्नु हाेला । 

 

याे कविता सङ्ग्रहमा जम्मा २० वटा कविताहरू समावेश भएका छन् । कृतिको आकार हेर्दै चिटिक्क परेको पकेट बुक (एम्ड्रोइड मोबाइल साइज जस्तो) जो गोजीमा राखेर बसको यात्रा होस् या नजिकैको चियापसलमा चियाको चुस्की लिँदै पढ्न सकिने, हेर्दै लोभ लाग्दो उतिबेला नै नलागेको होइन । कृतिको पहिलाे शीर्षकमा 'एक्काइसाैँ शताब्दीमा हामी' भन्ने शीर्षकबाट सुरु गरी अन्त्यमा 'पाेथी बास्छे र अण्डा पार्छे' भन्ने शीर्षकमा टुङ्ग्याइएकाे उक्त कृति समग्रमा बिम्बात्मक रूपमा प्रस्तुत गरिएका कविताहरूले समाजमा रहेका विभिन्न विकृति र बिसंगतिसँगैं तेराे र मेराेपनलाई पेचिलो प्रहार गरेको पाइन्छ । मानवीय  छुवाछुत, आफ्नै पहिचानकाे निम्ति समाजबाट झेल्नु परेका कुरा, धनी र गरिबबीच राखिने सामाजिक दृष्टिकोण, आफ्नाे मुलुक प्रकृतिले भरिपूर्ण भएर पनि स्राेत र साधनकाे सही सदुपयोग नगर्नु र सधैँ मागेर खाने प्रवृत्तिकाे घुमाउराे पाराले धावा बाेलेकाे पाइन्छ । आफूले जीवनमा भाेगेका कथाव्यथा र मानिस-मानिसबीच तँछाडमछाड गर्दै रातदिन सम्पत्तिकै मात्र पछाडी किन दाैडिरहेकाे छ ? आखिर जीवनकाे टुङ्गाे छैन एकदिन मरेपछि केवल कात्राेले छाेपेर खरानी पारिने छ भन्ने बुझेर पनि अबुझ भएर किन यसरी दाैडिरहन्छ त ? भन्ने गहन भाव व्यक्त गरिएकाे पाइन्छ । साथै हामीले सहर हेर्दा जति राम्रो देखिए पनि दिनदिनै मान्छेहरूकै कारणले कुरुप हुँदै गरेकाे कुरा, गरिबीले अस्पताल र न्यायालयमा भाेग्नु परेका समस्या तथा पाेथीले अण्डा पार्ने र चाराे खाेज्नु पर्ने बाध्यतालाई उजागर गर्दै महिलालाई समाजले हेर्ने फरक सामाजिक दृष्टिकोणलाई उदाङ्गाे पारेकाे देखिन्छ । आज एक्काइसौं शताब्दीमा आइपुग्दा पनि हाम्रो सोचले समाज परिवर्तनको निमित्त कहिले अग्रसर हुने ? भन्ने चिन्तन बोकेको यस कृतिमा समग्रमा हाम्रै समाज बोलिरहेको भान हुन्छ ।

IMG_7582.jpeg

अन्त्यमा, कविता लेख्नेले कुन दृष्टिकोणले लेखेकाे हुन्छ ? त्यसकाे गहिराे अध्ययन नगरी समीक्षा गर्नु अत्यन्त गाह्राे पक्ष हाे त्यसैले याे सङ्गहमा सङ्ग्रहित बीस वटा कविताले समग्रमा सम्पूर्ण मानवीय चरित्रमा देखिने भेदभाव, नातावाद, कृपावाद र अन्यायवाद आदि कुराहरू बाेकेकाे पाइन्छ । लेखकको भाव र लेखन शैली हेर्दा 'एक्काइसौं शताब्दीका हामी'ले धेरै कुरा बोल्न खोजेको देखिन्छ । लेखक गीता भण्डारी बहिनीलाई मेराे अनन्त शुभकामना छ । यस्ता कृतिहरू निरन्तर पढ्न पाइरहुँ कृति सफलताको पुन: शुभकामना छ । जय साहित्य । 

 

२०८१ बैशाख २८

images
प्रकाशित मिति :जेठ २३, २०८२ बिहिवार - ०७:३८:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend