एनआरएनए एक अन्तर्राष्ट्रिय संस्था हो । यसको स्थापना सन् २००३ मा विश्वभर रहेका प्रवासी नेपालीहरूलाई संगठित गर्ने उद्देश्यले गरिएको हो। यसको मुख्य लक्ष्य भनेको प्रवासी नेपालीहरूलाई एकताबद्ध गर्नु, नेपालमा लगानी र विकासका अवसरहरू सिर्जना गर्नु, र विदेशमा रहेका नेपालीहरूको हक, हित र पहिचानको संरक्षण गर्नु हो।
यो संस्था नेपालबाहिर अस्थायी वा स्थायी रूपमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूको साझा र प्रतिनिधिमूलक संस्था हो — जसले ‘एक देश, एक पहिचान’ को भावनालाई अन्तर्राष्ट्रिय स्तरमा बोक्छ।
यो संस्थाको राष्ट्रिय समन्वय समिति अमेरिकामा नयां नेतृत्व चयन गर्ने समय भएको छ । साथै अमेरिकाभरीका स्टेट च्याप्टरहरुमा पनि नयां नेतृत्व चुन्ने बेला आउंदैछ ।
निर्वाचनको समय नजिकिदै गर्दा नयां नेतृत्वकर्ताहरुको खोजी पनि हुदैछ र कहि कतै म पनि उठ्दैछु भनेर नेतृत्वको आकांक्षा गरेका आवाजहरु अमेरिकाभरी सुन्नमा पाईन्छ ।
नेतृत्वको आकांक्षा राख्नुअघि, हरेक व्यक्तिले आत्मसमीक्षा गर्न जरुरी छ —
के म समुदायको विश्वासपात्र छु?
के म विविध नेपाली समुदाय, विशेषतः नयाँ पुस्ताको आवाज बन्ने तयारीमा छु?
सशक्त नेतृत्व भाषणमा मात्र होइन, कृयाशीलता, पारदर्शिता, र दीर्घकालीन सोचमा देखिनुपर्छ। एक जिम्मेवार उम्मेदवारको एजेन्डाले NRNA मात्र होइन, नेपाल र सम्पूर्ण नेपालीको हितमा काम गर्छु” भन्ने स्पष्ट प्रतिबद्धता बोकेको हुनुपर्छ।
• नयाँ अनुहारलाई अवसर दिऔं।
• संस्था पारदर्शी बनाऔं — सबै निर्णय र लेखाजोखा खुला गरौं।
• डिजिटल सहभागिता बढाऔं — प्रवासी नेपालीहरूको प्रत्येक आवाजलाई सुन्ने वातावरण बनाऔं।
• व्यक्तिगत पदभन्दा संस्थागत नीतिमा विश्वास गरौं — NRNA लाई सबैका लागि साझा बनाऔं।