मूलबाट निस्केको पानी
अरू कसैको तीर्खा मेट्न हो कि
आफ्नो सपनाको सागर भेट्न
आफू जन्मेको मुहान छोडेर
अनेक हण्डर, ठक्कर खाँदै
टाढाटाढा कतै बग्दै गए झैँ
आफ्नो जन्मभूमि छोडेर
सुख र समृद्धिको खोजीमा
सकिनसकी घसृरहेछ्न
सकिनसकी उडिरहेछन हाम्रा बचेराहरू
नयाँ जीवन पाउने आशामा
सर्पले आफ्नो काँचुली छोडेर गए झैँ
छोडेर आफ्नो जन्मघरलाई!
मुहान छोडेको पानीले
आफ्नो परिवारको तिर्खा मेट्छ कि अरू कसैको?
कि मेट्छ तिर्खा ती दुवैको ?
अनेक कष्ट सहँदै बग्दा
भेट्छ कि आफ्नो सपनाको सागर?
सुखको सपनामा आकासिएर उडेको वाफ
मूलमा के आफ्नै स्वरूपमा फर्किन्छ?
कि बिलाउँछ चर्को घाममा कतै?
आफ्नो प्रिय गुँड छोडेर उडेका बचेराहरू
कुनै दिन त्यही गुँड सम्झेर फर्किन्छन् कि कतै ?
कि नयाँ गुँड बनाएर बसाइँ सार्छन् उतै ?