कुनै बेला गाउँको एउटा कुनामा माटो र काठले बनेको घर थियो मेरो । देख्नलाई खासै लोभलाग्दो थिएन । न त त्यहाँ सिमेन्टका पर्खाल थिए, न टायलको छानो । न एसीको ठण्डा हुरी चल्थ्यो, न त फोटो खिच्न वा अन्तरवार्ता लिन कुनै पत्रकार नै आउथे । अचम्म के भने त्यही घरमा पूरा गाउँ, पाहुना, र छरछिमेक सँगै बस्न पुग्थ्यो । चाडवाडमा त झन् भीडभाड नै हुन्थ्यो । सहजता थियो। सहजता थियो। सारमा भन्नु पर्दा सम्पूर्ण मानवी खुसी मुस्कन्थ्यो त्यसभित्र नै।
विवाह त्यही घरमा अनि व्रतबन्ध पनि । दशैँतिहारदेखि मेलापातका भोजभतेर सबै त्यही घरले धान्थ्यो सजिलैसित । क्याटरिङ्बाट कुनै अर्डर हुँदैनथ्यो । अचार बनाउने माइजु, चुह्लोमा भात पकाउने काकी र मासु काट्ने मामा थिए । खेल्ने ठाउँ पर्याप्त । लुकामारीदेखि डोरी तान्नेसम्म । छिमेकीका बच्चा र आफन्त सबै मजाले खेल्थे । हजुरबुबाको एउटा साइकल पनि थियो । गाउँको कसैलाई अलि टाढा जानुपर्यो भने हजुरबुबाले साइकल पछाडि राखेर पुर्याइदिनु हुन्थ्यो ।
जम्मै थियो तर त्यो घरसँग एउटा पनि सटर थिएन । आधा घर भाडामा दिएर मासिक आय निकाल्ने योजना थिएन मात्र होइन सपनाको सोचसम्म पनि हुन्नथ्यो। भान्छाको सामान राख्ने स्टोरेज पनि थिएन । त्यसको सट्टा १० जना बच्चाले लुकामारी खेल्न पुग्ने ठाउँ थियो । सबैभन्दा ठूलो दुर्भाग्य बैँकको ऋणले बनेको घर थिएन । आफ्नो पैसा खर्च नगरी किस्तामा ऋण तिर्ने जुक्ति के थाहा मेरो हजुरबाउलाई ।
त्यो आँगनमा धान सुक्थ्यो, तरकारी फल्थ्यो । खुर्सानी, अदुवा, सागसब्जी आफ्नै बारीमा उब्जन्थ्यो । दूध, घिउ, मोही गोठका अमूल्य उपहारहरू थिए । त्यसका लागि कुनै “अर्गानिक सर्टिफिकेट” चाहिँदैनथ्यो तर यो सबलाई म गरिबी ठान्थेँ ।
यही गरिबीबाट बच्न म शहर पसेँ । दुई कोठे “कोजी” फ्ल्याट भाडामा लिएँ । खाना फ्रीजबाट झिकेर बनाउने या बजारबाट किनेर खाने काम हुन्थ्यो तर त्यहाँ कुनै पाहुना आउँदा, बिछ्यौना राख्ने ठाउँ पनि थिएन,बस्ने त कुरै छाडौँ ।
मलाई अझै सम्पन्न हुन मन लाग्यो अनि विदेश पसेँ । डलर कमाएँ, तीन बेडरूमको घर बनाएँ । घर सुन्दर छ तर त्यहाँ आमा-बाबा आउँदा कहाँ सुताउने भन्ने छलफल गर्नुपर्छ । गई हाले हुन्थ्यो पनि हुन्छ अर्धचेतमा पाहुनापात आए भने दिउँसै खाजा खुवाएर बिदा गर्नु पर्छ विकल्प अर्को रहन्न । त्यो घर बैंकको ऋणले भरिएको छ । किस्ता तिर्न दिनरात खटिनुपर्छ ।
आफ्नो लागि एउटा गाडी पनि किनेँ । हजुरबुबाको साइकलजस्तो अरूको लागि होइन । त्यो पनि बैँककै ऋणमा छ । घरको आँगन छैन, करेसाबारी छैन, फल्ने/फुल्ने कुरा त सपना नै भयो । अर्गानिक अनुहार सपनामा झुक्किएर उही हजुबुबाको गाउँघर पुगे मात्र..!
त्यो पुरानो घरमा तीन पुस्ता सँगै बस्थे । सबैले भान्सामा जम्मा भएर खाना खाँदाखुवाउँदासम्म, घरको आत्मा बाँच्थ्यो ।
आखिरमा के सिकियो – ‘धनी’ हुनु भनेको ‘हामी’लाई ‘म’ बनाउनु रहेछ । एक्लै बाँच्नु रहेछ । अरूबाट अलग्गिनु रहेछ । सम्बन्ध विच्छेदित हुनु रहेछ । स्वार्थी हुनु रहेछ । दिनरात नभनी काम गर्नु रहेछ । जीवनलाई कृत्रिम बनाउनु रहेछ । मौलिकता बिर्सिनु रहेछ । साराँसमा एकलकाँटे बन्नु रहेछ, सर्पको काँचुलीजस्तै प्राकृतिक अवस्थाबाट पूर्णत: उखेलिनु रहेछ, बोक्रिनु रहेछ …मात्र बोक्रो आत्मारहितको, भाँडाकुटीजस्तै।