" सरकारले प्रगति विवरण पो सार्वजनिक गर्यो रे ! " रामनारायणले अचानक फड्काए ।
" हो नै रहेछ । पत्रिकाको पानाभरि ठूला ठूला अक्षरमा यही देख्छु ।" उद्धवले जवाफ फर्काए।
पाना पल्टाउँदा केही आय वृध्दिदर, मौजुदा दौलत, करदर आदी इत्यादीको बारेमा पाना भरिएको थियो । विकास र समृध्दिका नाराले झपक्क रंगिन बनाइएको थियो । नेपालको मुद्राको विनिमय स्थिति अमेरिकी डलरभन्दा उच्च लाग्ने । काम गर्नेले हल्ला गर्न नपर्ने । सबै चकित भए ।
" हो रहेछ । यातायात कार्यालय गए ढड्डा दलालहरू पल्टाउने, एम्बोस्ड नम्बर र राष्ट्रिय परिचय पत्रको सूची विश्व बैँक पल्टाउने, राष्ट्र बैँकको पाना निजी बैँकले पल्टाउने र मन्त्री र प्रधानमन्त्री बनाउने फेरि अर्कै शक्ति ।" विदुरले चसक्क चस्काए ।
" त्यही त ! देश जताबाट चलाए पनि चल्न त चलेकै छ, है ! " चियावालाले चियाको गिलास टेबलमा राख्दै थपे ।
" म झोले हो ।" केही दिन पहिला भाइरल वाक्य यसरी नै सामाजिक सञ्जालको भित्तामा देखा परेको थियो । देशको खस्किँदो स्थिति भन्नै परेन । आर्थिक मन्दी आफैँ डलरको रेटले बताउँथ्यो । उक्त अवस्थालाई मध्यनजर गर्दै एक वृध्दले भने, " दास बन्नुभन्दा कमजोरले विवेक प्रयोग गरेर उचित निर्णय गर्दै मालिक बन्नुपर्छ ।"
- हेलम्बु-६, सिन्धुपाल्चोक