" उफ ! यो दुनियाँमा पनि के के देख्नुपर्छ ! "- रिनाले बिनाको नजिकै बस्दै भनिन् ।
" के भयो दिदी किन त्यसरी निराश हुनुभएको ?"- बिनाले आश्चर्य मान्दै प्रश्न गरी ।
" हेर बिना यता तिम्रो सफल अप्रेसनबाट कति राम्रो बाबु जन्मियो । हामी कति खुसी छौँ उता यही अस्पतालको अर्को बेडमा भर्ना भएकी थिइन् एउटी महिला बिचरी अप्रेसनकै समयमा मृत्यु भयो । अब कसरी हुर्केला त्यो अभागी बालख ? "- रिनाले दुःख व्यक्त गर्दै भनी ।
" हो र दिदी धेरै दुःख लाग्यो सुन्दा ।"- बिनाले पनि दुःख जताइ । उनीहरूको माइतीगाउँ एउटै थियो । तर बिना दलित परिवारकी भएकोले खासै आउने जाने थिएन ।
" तिमीले चिनेकी छौ होइन ?"- रिनाले सोधिन् ।
" हो नि दिदी चिनेकी छु उनी मेरो माइतीगाउँ की उपाध्यकी छोरी हुन् । हामीले गाउँमा छँदा एउटै स्कुलमा पढेका हौँ ।"- बिनाले भनी ।
" ऊ त मरेर गई बालकलाई कसरी जोगाऊँ ?! " भन्दै उसको सासु बिलाप गर्दै छन् बाहिर । बिनाले जानकारी गराइन् ।
" बिचरा......!! मेरो दुध खान मिल्ने भए त मैले केही महिना उसलाई पनि पाल्ने थिएँ ।"- बिनाले हिजै जन्मिएको आफ्नो बालखतिर हेर्दै भनी ।
" त्यसो न भन् नानी तिमी त महान हौँ । अब मेरो छोराको वंश धान्ने यही हो । बाबुलाई अमृतपान गराएर बचाइदेऊ न सक्छौ भने ।"- मृत्यु भएकी महिलाको सासुले रोइरहेको बालख लिएर बिनाको बालखको नजिक सुताउँदै भनिन् ।
- दाङ घोराही - १८