Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पूजा (लघुकथा) - सुरेशकुमार पाण्डे

पूजा (लघुकथा) - सुरेशकुमार पाण्डे

नेप्लिज डायस्पोरा

२३, आषाढ २०८२
images
पूजा  (लघुकथा)  - सुरेशकुमार पाण्डे

"आहा नितिन भाई कता हो ?" बाटोमा भेटाएर जङ्गसिँहले सोध्यो । उनीहरू केही वर्ष पहिले सँगै बसेका थिए प्रवाशमा छँदा अहिले धेरै समयपछि आकस्मिक भेट भयो । त्यो पनि बाटोमा नितिन बजारबाट गाउँतिर हिँडेको जङ्गसिँह बाजारतिर ।

नितिनले पनि हात मिलायो र नजिको वरपिपलको छायाँमा दुबैजना टुक्रुक्क बसे । एकछिन एक अर्काको हालचाल सोधपुछ भयो ।

" हजुरको बसाइ कता छ नि ?" नितिनले सोध्यो । 

" हाम्रो त प्रवाशतिरनै छ भाइ बसाइ गाउँको थोरै जमिन थियो त्यहाँ सानो बा हुनुहुन्छ । उहाँले आफै लगाउनु हुन्छ । भेटघाट हुन मात्र आएको थिएँ ।"-जङ्गसिंहले जानकारी गरायो । 

" अनि हामीलाई त भुल्नुभयो होइन ?" नितिनले प्रश्न गर्यो ।

" होइन कसरी भुल्नसक्छु म भाइलाई ? बरू भाइको घर बजारमा कता छ देखेको छैन फोन पनि थिएन त्यसैले सम्पर्क हुन सकेन । " उसले उत्तरमा भन्यो ।

" अनि अहिले कहाँ हिंडेको ?" जङ्गसिंहले प्रश्न थप्यो ।

" पहाडमा भोली गाइ गोठको पूजा छ त्यसैले ।" नितिनले मुस्कुराउँदै भन्यो ।

" के पहाडमा अझै पनि छ र सम्पत्ति ?" जङ्गसिंहले सोध्यो ।

" छैन हाम्रो गोत्यारहरू हुनुहुन्छ त्यहीँ मिलेर गाइ गोठको पूजा गर्छौँ ।" जवाफमा नीतिनले भन्यो ।

" अचेल त गाउँमा पनि गाईभैँसी पाल्न धेरै कम भएछ कताकति मात्र देखिन्छन् । जङ्गसिंहले दुःख व्यक्त गर्दै भन्यो ।

" ऊ हजुरको भाइबुहारी पर्ने अनि त्यो छोरा ?" नितिनले पछि आउँदै गरेका आफ्नो छोरा र श्रीमतीतर्फ इशारा गर्दै भन्यो ।

छोराले एउटा पाठो डोराउँदै थियो आमाले पछाडिबाट पाठो धकेल्दै थिइन् ।

नजिक आएर आमा छोराले नै जङ्गसिंहलाई नमस्ते टक्राए । उसले पनि जवाफमा दुई हात जोड्यो ।

" यो पाठो बजारबाट गाउँमै लाने हो ?"-जङ्गसिंहले निधार चाउरी पार्दै सोध्यो । कालो रङ्गको पाठो कति राम्रो भर्खर पाँच छ महिनाको होला जङ्गसिँहको खुट्टामा गएर थपक्क बस्यो । उसलाई असाध्य थकाई लाग्या झैँ जोडजोडले स्वास लिंदै थियो ।

  " हजुर दाई भोली यसैको बली दिने हो ।" नितिनले प्याच्च भन्यो ।

जङ्गसिंहले पाठोतिर पिर्लुक्क हेर्यो, पाठाले पनि एकोहोरो जङ्गसिंहलाई हेरिरहेको थियो । शायद मौन कण्ठले ग्वार माग्दै थियो । तर जङ्गसिंह के गर्न सक्थ्यो ?

" उफ !. यसका त भगुवान नै हुने रहेनछन्।" जङ्गसिंह आकाशतिर हेर्दै मनमनै भन्यो ।

" हस फेरि बाँचे भेट हौँला ।" जङ्गसिँह विदा लिँदै भन्यो । 

 

- दाङ घोराही- १८

images
प्रकाशित मिति :आषाढ २३, २०८२ सोमवार - ०५:००:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend