Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

शिरीष बन्जाडेका दुई कविताहरू

शिरीष बन्जाडेका दुई कविताहरू

नेप्लिज डायस्पोरा

५, श्रावण २०८२
images
शिरीष बन्जाडेका दुई कविताहरू

१. चिन्तन

 

कस्तूरीले कुन दिन यहाँ बिर्सियो बास छर्न ?

भोकै मर्ला तर नि कहिल्यै बाघले घाँस खान्न ।

आफ्ना स्वप्नाप्रति त जहिल्यै बाघझैँ बन्नु पर्छ ।

नौनी जस्तै तरर चुहिने जिन्दगी बुझ्नु पर्छ ।। 

 

सानै हुन्छन् बम तर ठुला गर्जना गर्न सक्छन् ।

एकै चम्ची विष ग्रहणले जिन्दगी नै निमोठ्छन् ।।

सानै होलान् तर जडीबुटी चाहिँ हुन्छन् अमूल्य ।

सानासाना चीज यदि मिले जिन्दगी हुन्छ धन्य ।। 

 

खोल्सालेझैँ सीमित पलमा गड्गडाएर हुन्न ।

खोल्साकोझैँ यदि गति लिए, लक्ष्यलाई चुमिन्न ।

पानीका ती बुँदबुँद मिली बन्छ ठूलो समुद्र ।

जुट्दा सारा जनमनहरू फेरिए बिघ्न तन्त्र ।। 

 

इच्छा होलान् सगर सलिफाझैँ अग्लिएर चुम्ने ।

हुन्छन् सच्चा मनुज जुन छन् बाँसझैँ झुक्न जान्ने ।

पंक्षी जस्तै दिनभर जता चाह छन् मस्त जाऊ

सन्ध्या बेला खुश मन लिई  गेहमै रम्न आऊ ।।

 

 

२. तँ देश छोडेर जा छोरा....!!

(कविता) 

 

छोरा, तँ जा...

अन्तै जा ।

यो देशमा केही गर्छु भन्नेहरू 

कोलमा तोरी पेलेझैँ पेलिनुपर्छ

र खली भएपछि

सडक बीचमा आगो लगाई जलिनुपर्छ । 

 

भोलि त जल्न नपरोस् भनेर भन्दैछु; 

 

ए छोरा ! बरु जा विदेशतिरका ती देशमा बस् रमा ।

आफ्नो जीवन चाहिँ व्यर्थ त नफाल् यो देशको पीरमा ।।

खोक्रो देश छ सुध्रिदैन कहिल्यै, आशै नगर्नू अब।

तेरा स्वप्नहरू अनेकन हुनन् जा पूर्ण पार्नू सब ।। 

 

तैले यो देश बदल्छु नसोच्नू

कागको भिडमा बसेको बकुल्लाले कागको नेतृत्त्व गर्न सक्दैन ।

कागको का का ले बकुल्लो फ्या फ्या पर्छ ।

लङ्गुरको मुखमा अङ्गुर राख्दैमा 

लङ्गुर बङ्गुर जत्रो बन्ला तर 

अङ्गुरको औकातमा पुग्दैन । 

 

यो देशले तेरा हजुरबा लग्यो,

बा लग्यो ।

तर केही ल्याउन सकेन....

लगेर मात्रै गयो, लगी.... रह्यो । 

 

अब तैले यत्ति बुझ्नुपर्छ:

जुन दिन हजुरबा शहीद भए भौतिक संसार छोडेर,

हो, त्यही दिन हिँडेका हुन् बा पनि घरबार छोडेर ।

बा जाँदा आमाको खुशी पनि लगेका रहेछन् त्यसैले,

आमा भन्छिन्, बाबु तँ नजानू देश भन्दै परिवार छोडेर । 

 

तेरा बाले

देश देश देश देश 

भन्दाभन्दै आफूलाई बिर्सिए ।

आफू कसैको बाउ भएको बिर्सिए,

श्रीमान् भएको बिर्सिए ।

छोरा, तँ पनि कसैको श्रीमान् हुनेछस् ।

तैले त श्रीमान् भएको नबिर्सनू ।

तेरी पनि सानी छोरी होली,

नबिर्सनू,

तैले देशलाई भन्दा छोरीलाई धेरै दिनु छ । 

 

देश भनेको माटोमात्रै होइन ।

राष्ट्रियता भनेको खोक्रो राष्ट्रमा भोकै नाङ्गै चुप लागेर बसिरहनु होइन ।

बाँसको हलो बन्दैन छोरा ।

त्यसैले तँ जा ।

प.....र जा ।

तँ गधा भएर होइन, मान्छे भएर बाँच्न पाउनुपर्छ ।

तँ देश छोडेर जा छोरा....!!

जा...... 

 

- चन्द्रौटा, कपिलवस्तु

हाल : काठमाण्डौं ।

images
प्रकाशित मिति :श्रावण ५, २०८२ आइतवार - १९:४०:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend