Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एमालेले बाटो रोकिदिएपछि पूर्वराष्ट्रपति भण्डारीको अबको यात्रा कति सहज र के छन् विकल्प ?

एमालेले बाटो रोकिदिएपछि पूर्वराष्ट्रपति भण्डारीको अबको यात्रा कति सहज र के छन् विकल्प ?

नेप्लिज डायस्पोरा

९, श्रावण २०८२
images
एमालेले बाटो रोकिदिएपछि पूर्वराष्ट्रपति भण्डारीको अबको यात्रा कति सहज र के छन् विकल्प ?

काठमाडौं – नेकपा (एमाले) नेतृत्वले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा नफर्काउने स्पष्ट निर्णय गरेसँगै, अब उनको राजनीतिक यात्रा कता मोडिन्छ भन्नेबारे राजनीतिक वृत्तमा ठूलो बहस सुरु भएको छ।

विशेषगरी, उनी पार्टी विभाजनको नेतृत्व लिन्छिन् वा नयाँ दल खोल्छिन् भन्ने अड्कलबाजीले चर्चा पाएको छ। उनको राजनीतिक सक्रियताको समर्थक आलोचना दुवै भइरहेका बेला पार्टीमा फर्किने ढोका बन्द भएसँगै माझकिरातकी छोरी भण्डारीका अघि देखिएका विकल्पहरुमा यो लेख आधारित छ ।

पूर्व राष्ट्रपति भइसकेको ब्याक्तिको पदीय गरिमाको नैतिकता र विवेकलाई टाढा राख्ने हो भने वर्तमान संविधान र कानुनबाट उनले राजनीतिक स्वतन्त्रलाई कतै अंकुश लगाउने ठाउँ छैन ।

भण्डारीलाई एमालेमा आउन रोक्ने पार्टीको निर्णय के थियो ?

मंगलबार  सकिएको केन्द्रीय कमिटी बैठकले सम्मानित राष्ट्रपति भइसकेको व्यक्ति दलको कार्यकर्ता बन्न नमिल्ने निष्कर्ष निकालेको थियो  । पार्टीमा सक्रिय राजनीति गर्ने उनको चाहाना संविधान र व्यवस्थाको मर्मविपरीत रहेको एमालेले ठहर गरेको छ । भण्डारीलाई राजनीतिमा आउन रोक्ने गरी एमाले केन्द्रीय कमिटीबाट अनुमोदित निर्णयमा भनिएको छ ।

‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टी राजनीतिमा सक्रिय हुने विषयले पार्टीको गम्भीर ध्यानाकर्षण गराएको छ । नेपालको संविधानको भाग– ६ धारा (६१) मा राष्ट्रपतिको व्यवस्था छ,’ एमालेको निर्णयमा भनिएको छ, ‘सोही धाराको(२)मा राष्ट्रपति देशको राष्ट्राध्यक्ष हुने, सोही धाराको(३) मा राष्ट्रिय एकताको प्रवर्द्धन, सोही धाराको (४)मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने र धारा २६७ को (२)को व्यवस्थाबमोजिम नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ ।

‘मुलुकको राष्ट्राध्यक्ष राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतीक, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन भन्ने निष्कर्ष निकालिएको छ,’ एमालेले भनेको छ, ‘यसले जनतामा, प्रणालीमा, व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर गरेको छ । त्यसकारण बैठकले पूर्व राष्ट्रपतिलाई उच्च सम्मान व्यक्त गर्ने निर्णय गरेको छ ।’ संविधानका केही व्यवस्था देखाएर एमालेले साझा  व्यक्ति  दलको कार्यकर्ता बन्न नहुने निर्णय अनुमोदन गरेसँगै विद्याको एमालेमा आइ राजनीति गर्ने ढोका बन्द भएको हो ।

पार्टीभित्रको असन्तुष्टिलाई समर्थन र विभाजन

एमालेको पछिल्लो नीतिप्रति असन्तुष्ट केही समूहहरू विद्या भण्डारीको पक्षमा रहेको देखियो । केन्द्रीय कमिटी बैठकको र निर्णयमा आएको फरक मतले त्यसलाई पुष्टि गरेको छ ।

त्यसलै भण्डारीको पहिलो प्रयास बाहिर बसेर एमाले पार्टीभित्रै नयाँ धार बनाउने वा विभाजनकारी लाइनको नेतृत्वलाइ सहयोग गर्दै पार्टी विभाजनमा पुर्याउनु ।  यो संभावना प्रवल रहेको छ ।  त्यसले एमाले भित्र पुनः संकट सिर्जना हुनसक्ने राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।

अब पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने पार्टी बरिष्ठ उपाध्य इश्वर पोखरेलले बैठकहरुमा ओलीमाथि बढाएको दवावले विद्यालाई पार्टीमा नयाँ धार अगाडी बढाउने स्पेस दिएको छ । तर यो विषय कति संभव हुन्छ भन्ने विषय भने एमाले भित्र रहेका नेताहरुको आटमा निर्भर पर्ने देखिन्छ ।

नयाँ दलको खोल्ने सम्भावना?

नेपालको वर्तमान राजनीतिक परिदृश्य हेर्दा नयाँ दलको सम्भावना सधैं खुला हुन्छ। विद्या भण्डारीले महिला नेतृत्व र युवामुखी एजेन्डासहित नयाँ दल बनाउने निर्णय गरे, एमाले बाट असन्तुष्ट समूह, पुराना महिला नेतृ र नयाँ पुस्ता उनको पक्षमा आउन सक्छन्। यद्यपि, नयाँ दल बनाउन ठूलो जनसमर्थन र वित्तीय स्रोत आवश्यक हुने भएकाले यो कदम तत्काल लिन कठिन देखिन्छ। तर नयाँ दल निर्माणका लागि मदन भण्डारी फाउन्डेसनको प्रयोग गरिएमा भने यो विकल्ल धेरै टाढा छैन । जसको संकेत भण्डारीकी छोरी उषाकिरण भण्डारीले दिएकी छन् । विद्या भण्डारीलाई एमालेमा निषेध गर्ने एमालेको निर्णयले आफु अच्ममा नपरेको सार्वजनिक प्रतिक्रिया दिएकी छन् ।

‘तपाईंहरू मध्ये कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें । तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ? निर्णय र निर्णयमा पुग्न गरिएका तिकडम दुवैबाट म चाहिँ अचम्मित छैन। म खुसी छु कि यो खुला रूपमा बाहिर आयो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

पुष्पलालको परिवारले एमालेमा नैतिक समर्थन जनाउन किन नचाहेको होला भन्ने विगतमा आफूलाई लाग्ने गरेको भए पनि एक महिनादेखि त्यसबारे ज्ञान बोध भएको उनले बताएकी छिन् ।

‘अनि, आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग!! मलाई उहिले-उहिले लाग्थ्यो किन उहाँको परिवार नेकपा एमालेमा नैतिक समर्थन गर्न पनि देखिने गरी प्रस्तुत हुँदैन, हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैं देखिने गरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोही अनुरूप कोशिश गरियो । तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्‍याउने रहेछन् । र नैतिक समर्थन खोज्दैनन् पनि। यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो- त्यस कारण यो प्रकरणलाई धन्यवाद !,’ उनले लेखेकी छिन् ।

सामाजिक कार्यको नेतृत्व गर्दै अन्तराष्ट्रिय राजनीतिमा भूमिका विस्तार  

उनको तेस्रो विकल्पको रुपमा कुनै नयाँ दल गठन वा विभाजनको नेतृत्व नगरी महिला सशक्तिकरण र जलवायु परिवर्तन जस्ता मुद्दामा अन्तर्राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका विस्तार गर्ने । विभिन्न प्रजातन्त्रिक मुलुकहरुको उद्हरण हेर्दा यो विकल्प पनि उनको लागि उत्ति नै लाभदायी देखिन्छ । तर माझकिरातकी छोरी भण्डारी यो विकल्प लिने पक्षमा देखिएकी छैनन् । उनी सक्रिय राजनीतिको चाहाँनाबाट टाढीने अवस्था तत्काललाई देखिएको छैन । भर्खरै सम्पन्न चीन भ्रमणमा चीनले पूर्व राष्ट्रपति भन्दा पनि एमाले नेताको रुपमा दिएको सम्मानले उनलाई थप उत्साहित बनाएको छ ।

  • -अनिता चापागाँई
  •  

images
प्रकाशित मिति :श्रावण ९, २०८२ बिहिवार - ००:१४:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend