Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

कुलमानलाई स्वतन्त्र र वैकल्पिक राजनैतिक अभियानका युवाहरू समेटेर अघि बढ्न अमेरिकामा बसोबास गरिरहेका नेपालीहरूको सुझाव

कुलमानलाई स्वतन्त्र र वैकल्पिक राजनैतिक अभियानका युवाहरू समेटेर अघि बढ्न अमेरिकामा बसोबास गरिरहेका नेपालीहरूको सुझाव

नेप्लिज डायस्पोरा

२५, श्रावण २०८२
images
कुलमानलाई स्वतन्त्र र वैकल्पिक राजनैतिक अभियानका युवाहरू समेटेर अघि बढ्न  अमेरिकामा बसोबास गरिरहेका नेपालीहरूको सुझाव

 

बोस्टन, हाल अमेरिकाको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकामा बसोबास गरिरहेका पेशाकर्मी, वैज्ञानिक लगायत प्रवासी नेपालीहरूले सक्रिय राजनीतिमा आउन सुझाव दिएका छन् ।

 

न्यु योर्कबाट बोस्टन आइ पुगेका कुलमान घिसिङले बुधवार दिउँसो न्यु इङ्गल्यान्डवासीहरूको  सामुदायिक भवन तथा पशुपति बुद्ध मन्दिर पुगेर दर्शन गरे । साँझ बोस्टन स्थित बोस्टन तामाङ समाज लगायतका संघ संस्था द्वारा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा २०० भन्दा बढी नेपाली समुदायका सदस्यहरूको उपस्थिति थियो । उनीहरूले स्वच्छ छविका सक्षम युवाहरूलाई समेटेर अघि बढ्न सुझाव दिँदै आफूहरूको पूर्ण सहयोग हुने पनि बताए ।

 

अन्तरक्रियाको सुरुमा हार्वर्ड इनोभेसन ल्याब कम्पनीमा कार्यरत  डा. विष्णु जोशीले   हास्य व्यङ्ग्यात्मक प्रस्तुति “कता हिँडेको बिजुली बालेर?“ प्रस्तुत गरेर दर्शकलाई हँसाएका थिए ।  डा. जोशीले  ’८४ मा घरघर उज्यालो नेपाल अभियान जागोस्, कमिसन खोर दलाल र भ्रष्टलाई करेन्ट लागोस्’ भन्दै व्यङ्ग्य गरेका थिए ।

 

IMG_9315.jpeg

हालै खाडी मुलुकहरूको भ्रमणमा रहेका बेला बहराइनबाट   उज्यालो नेपाल अभियानको घोषणा गरेका घिसिङले आफू नेपाल विद्युत् प्राधिकरणमा हुँदा ऊर्जाको माग र वितरण बिच सन्तुलन मिलाउन व्यवस्थापन सुधार र चुहावट नियन्त्रण गरेर २०७३ साल कार्तिक १४ गते लक्ष्मीपूजाको दिनबाट लोडसेडिङ मुक्त नेपाल बनाउन गरेको सङ्घर्ष र मिहिनेत बारेमा सुनाए ।  उनले  जलविद्युत र ऊर्जामा लगानी गर्दा प्रतिफलको सुनिश्चितता गर्न सके मात्र  नेपाल ऊर्जा क्षेत्रमा  आत्म निर्भर बन्न सक्ने बताए । उनले उज्यालो अभियान विद्युत्को मात्रै उज्यालो नभई देशमा व्याप्त निराशाको अँध्यारो  चिर्ने र आशाको उज्यालो छर्ने अभियानको रूपमा अघि बढ्ने बताए ।

 

उनले युवाहरूका लागि स्वदेशमै  रोजगारी सृजनाको खाका कोर्ने  र गुरु योजना बनाउने योजना प्रस्तुत गरे । उनले उज्यालो नेपाल अभियानमा जोडिएर सल्लाह सुझाव दिन सबैलाई अनुरोध पनि गरे । एक प्रश्नको जवाफमा घिसिङले आफूले हालसम्म कुनै दलको सदस्यता प्रस्ट पार्दै  नियुक्ति गरेको आधारमै कुनै पनि पार्टीसँग नजोड्न आग्रह गरे। उनले प्रवासी नेपालीले मतदान गर्न पाउनु पर्ने संवैधानिक अधिकारको सरकारले कार्यान्वयन गर्नु पर्ने बताए ।

 

कार्यक्रममा उपस्थित बुद्धिजीवी तथा नेपाली समुदायका सदस्यहरूले उज्यालो नेपाल अभियानलाई प्रवासबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने लगायतका जिज्ञासा राखेका थिए । कार्यक्रम सफल पार्न पृष्ठ भूमिमा बोस्टन तामाङ समाज लगायत  स्थानीय नेपाली समुदायका सदस्य सक्रिय थिए।  बुद्ध बज्र लामा र बिनोज प्रधानले  कुलमान घिसिङको बोस्टन  यात्राको प्रबन्ध मिलाएका थिए।  भेटघाट अन्तरक्रिया कार्यक्रम सञ्चालनको व्यवस्थापन  विजय तामाङ, सुवास तामाङ, मणिक लामाले गरेका थिए र कार्यक्रमको प्रस्तुति केभिन श्रेष्ठजीको थियो। कार्यक्रमको लागी चिया पानको प्रायोजन  बोस्टन आसपासका नेपाली रेस्टुरेन्टहरू नमस्ते स्पाइस, एरोमा डिलाइट र टुकुरेले गरेका थिए।  

 

 

images
प्रकाशित मिति :श्रावण २५, २०८२ शनिवार - १७:१८:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend