Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

भाषा मार्फत सिर्जनात्मक रूपमा व्यक्त गरिने कलात्मक अभिव्यक्ति नै साहित्य हो - अध्यक्ष गीता भण्डारी

भाषा मार्फत सिर्जनात्मक रूपमा व्यक्त गरिने कलात्मक अभिव्यक्ति नै साहित्य हो - अध्यक्ष गीता भण्डारी

नेप्लिज डायस्पोरा

२७, श्रावण २०८२
images
भाषा मार्फत सिर्जनात्मक रूपमा व्यक्त गरिने कलात्मक अभिव्यक्ति नै साहित्य हो  - अध्यक्ष गीता भण्डारी

गीता भण्डारी 

(अध्यक्ष)

साहित्यिक चौतारी नेपाल 

 

झापा, गौरादह नगरपालिका वाड नं. ३ निवासी बुवा छबिलाल भण्डारी र आमा अम्बिका भण्डारीकी कान्छी सुपुत्रीको रुपमा वि. सं. २०४१ असार १ गते जन्मिनु भएकी आदरणीय स्रष्टा गीता भण्डारीले गौरादह माविबाट एस.एल .सी. उतीर्ण पश्चातको अध्ययन भने पर्साको वीरगन्ज महानगरपालिका अन्तर्गत ठाकुरराम बहुमुखी कलेजमा गर्नु भएको हो । हाल स्नातकोत्तर (मास्टर) तहमा अध्यनरत भण्डारीको वैवाहिक सम्बन्ध भने मोरङको बयरवन घर भइ हाल वीरगन्ज बस्दै आउनु भएका चिन्तामणी घिमिरेसँग भएको हो । भण्डारीका दुई सन्तान छन् । कर्म थलोको रुपमा वीरगन्ज - १५ नं. भिस्वा निवासी भण्डारी प्राइभेट कम्पनीमा जागिर गर्नुको साथ साथै विभिन्न संघ संस्थाहरूमा आबद्ध हुनुहुन्छ । सानै उमेरदेखि हरेक कुरामा अलि जिज्ञासु र उत्सुकताले भरिपूर्ण स्वभावकी भण्डारी हेर्दा शान्त भद्र स्वभाव र अत्यन्तै सरल लाग्ने उहाँको साहित्य लेखन पनि कलिलै उमेरमा भएको पाइन्छ । कक्षा ७ मा पढ्दैदेखि कयौ छोटा छोटा महानवाणी (कोटेसन) संकलन सँगै छोटा कविताबाट सुरु गरेको वहाँको लेखाइ कविता, गीत, गजल, मुक्तक, कथा, लघुकथाहरूमा अनवरत रुपमा चलिरहेको पाइन्छ । उहाँको पहिलो प्रकाशित कविता 'समय' राष्ट्रिय दैनिक पत्रिकामा छापिएको हो । त्यसपछि उहाँका सिर्जनाहरू थुप्रै पत्रपत्रिका र सञ्चार माध्यमहरूमा बजेका छन् भने भण्डारीका दुई कृति प्रकाशित भइसकेका छन् । 

१. भावार्पण गजल सङ्ग्रह (२०७८)

२. एक्काइसौं शताब्दीमा हामी कविता सङ्ग्रह (२०७९)

भण्डारी साहित्य लेखनमा मात्रै होइन, सञ्चार क्षेत्रमा समेत उत्तिकै दख्खल राख्नु हुन्छ । काबिल खबर डट कमको सम्पादक तथा महिलाद्वारा सञ्चालित पत्रिकामध्ये नेपाल सन्देशको नियमित स्तम्भकार समेत रहनु भएको भण्डारीका करिब ५०० भन्दा बढी लेख तथा आलेख प्रकाशित छन् भने थुप्रै साहित्यिक अन्तर्वार्ताहरू पनि लिनु भएको छ । यसबाहेक उहाँ श्रमिकहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को राष्ट्रिय कमिटी सदस्य हुन्हुन्छ भने समग्र उद्योग ट्रेड युनियन नेपालको शिक्षा सचिव र व्हिन महिला कमिटीको प्रमुख हुन्हुन्छ । त्यस्तै उहाँ  अन्तर्राष्ट्रिय संगठन इन्ड्रस्ट्रियल महिला कमिटी नेपालको को चेयर (Co - chair) समेत हुनुहुन्छ । विभिन्न संघ संस्थासँगै सामाजिक कार्यहरूमा सक्रिय भण्डारी साहित्यिक चौतारी नेपाल नामक संथामा वि. सं. २०७२ सालदेखि निरन्तर कार्य गर्दै आउनु भएकी भण्डारीले विभिन्न सम्मान प्राप्त गर्नु भएको छ, वडा नागरिक मञ्च, मध्य नेपाल सन्देश, नेपाल-भारत साहित्यिक महोत्सव , भोजपुरी प्रतिष्ठान, लक्ष्मी साहित्य समाज, मझेरी साहित्य प्रतिष्ठान सञ्चारशिप लगायत थुप्रै संस्थाहरूद्वारा सम्मानित भइसक्नु भएकी सष्टा साहित्यिक चौतारी नेपालको केन्द्रीय सदस्य, केन्द्रीय सचिव, केन्द्रीय महासचिव हुँदै हाल संस्थाको केन्द्रीय अध्यक्ष जस्तो नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएकी आदरणीय गीता भण्डारीसँग साहित्यिक चौतारी नेपालसँग सम्बन्धित रहेर संस्थाका सदस्य तथा नेप्लिज डायस्पोराका साहित्यिक सम्पादक गोमविक्रमद्वारा गरिएको संक्षिप्त कुराकानी यसप्रकार रहेको छ : - 

 

गोम-  साहित्यिक चौतारी नेपालमा कसरी जोडिनु भयो ? 

 

 गीता - सानैदेखि केही लेख्ने गुनगुनाउने स्वभाव ममा थियो एकदिन एउटा कार्यक्रमको शिलशिलामा मेरो भेट दुर्गा भुसालसँग भयो उहाँले साहित्यिक संस्था चौतारीको बारेमा कुरा गर्नु भयो र मैले चासो राखेर यस संस्थामा जोडिएकी हुँ ।

त्यो बेला संस्था सुरु भएको करिब छ महिना मात्रै भएको थियो । त्यसपछि म निरन्तर यहीँ संस्थामा आबद्ध मात्रै होइन साधारण सदस्य, केन्द्रीय सदस्य, सचिव, महासचिव हुँदै हाल केन्द्रीय अध्यक्षको पनि यो दोस्रो कार्यकालको अन्तिम चरणमा छु । चौतारी बाहेक म नारायणी वाङमयमा समेत आबद्ध छु त्यसबाहेक अन्य  साहित्यिक संस्थाहरूमा आबद्ध छैन जति योगदान गरेको छु चौतारीमै बसेर गरेको छु । 


att.tY7gtrPxFZLa1AlhtE62Cwjri5vunGDVXLKwmUu58z4.jpeg

गोम - साहित्यिक चौतारीमा लामो समय मात्रै होइन कार्यकारी पदीय जिम्मेवारी समेत निर्वाह गर्नु भएको छ संस्थाको बारेमा केही बताइदिनुस् न ? 

 

गीता - साहित्यको प्रथम उपयोगिता भनेकै आनन्द हो । जस्ले कामलाई काम, दायित्वलाई कर्तव्यबोध गर्न सक्यो भने जीवन र जगतलाई बुझ्न सकिन्छ । साहित्यले जति लेख्ने प्रेरणा दिन्छ, त्यत्तिकै पढ्‌ने भोक र आवश्यकता पनि जगाउँछ । त्यहीँ भोकले मलाई यो संस्थामा टिकायोभन्दा अत्युक्ति नहोला । साहित्यको विकास अनि विस्तारसँगै सामाजिक कार्यको उद्देश्य बोकेर साहित्य सिर्जनाको बीज उम्रिएको आज दशौं वर्ष पूरा गरी एघारौं वर्षमा हुर्किरहेको छ । सामान्य कुराकानी पश्चातको प्रयासबाट सुरुवात गरिएको यो संस्था अहिले अन्तर्राष्ट्रिय स्तरको बन्न सफल भएको छ र यो सम्भव हुनुमा चौतारीमा रहनु भएका समस्त स्रष्टाहरूको अथक मिहिनेत र लगनशीलताको कारण भएकोमा कुनै दुईमत छैन । चौतारी केवल १/२ जनाको योगदानले मात्रै चौतारी पक्कै बनेको होइन चौतारीलाई सही यात्रामा अगाडी बढाउन वरिष्ठ सल्लाहकारको रुपमा प्रा. डा. भिम खतिवडा जो संस्कृत विश्वविद्यालयको शिक्षाध्यक्ष जस्तो गरिमामय पदीय जिम्मेवारी उठाउने कुशल व्यक्तित्व समालोचक, त्यस्तै साहित्यको आकाशमा जुर्मुराउँदो बहुआयामिक व्यक्तित्व प्रा. डा. देवी नेपाल जस्ता अग्रज दिग्गजहरूको सल्लाह र सुझावले चौतारीको मार्ग फराकिलो र चौडा छ भने सल्लाहकार तथा संस्थापक अध्यक्ष सन्दीप सङ्ग्रौला दिलदु:खीको अथक मेहनत प्रभा आचार्य दिदीको उर्जावान घच्घचाइले गर्दा नै आज हामी सातै प्रदेश, जिल्ला तथा इकाई कमिटी र बाह्य अर्थात् परदेशमा गरी ४० औं शाखा बनाउन सफल भएका छौ । साथै अपत्यारिलो सामाजिक कार्य, अकल्पनीय आर्थिक सहयोग र साहित्यको विस्तारलाई उचाइँमा पुऱ्याउन सकेका छौं भन्न पाउँदा अत्यन्तै खुसी लागेको छ । चौतारी केन्द्रीय कमिटी हाल १७ जनाको रहेको छ भने एक जना भाषा शुद्धीकरण प्रशिक्षक समेत हुनुहुन्छ ।

 

गोम - हाल नेपालमा कति वटा शाखा छन् ? नेपाल बाहिरका शाखाको बारेमा पनि बताइदिनु हुन्छ कि ? 

 

 गीता - साहित्यिक चौतारी नेपालका हाल नेपालमा सातवटा प्रदेशमा शाखा रहेका छन । सबै शाखाहरू सक्रिय रहेका छन् भने प्रादेशिक शाखाहरूमध्ये कोशी, वाग्मती र कर्णालीमा महिला स्रष्टाहरूले नेतृत्वदायी भूमिका निभाउँदै आउनु भएको छ । बारामा जिल्ला कमिटी छ त्यसै गरी स्कुलका विद्यार्थी भाइबहिनीहरूलाई लक्षित गरी २४ इकाई कमिटी बिस्तार गरेका छौं भने नेपाल बाहिर परदेशमा बसेर काम र जीवनको सन्तुलनसँगै साहित्यिक यात्रामा चौतारीसँग जोडिएको छ भारत, मलेशिया, साउदी अरब, ग्रीस, इजरायल, जापान, अमेरिकासम्म चौतारीको छहारी पुग्न सकेको छ । यसरी हेर्दा हामी ४० शाखा र कमिटीमा रहेका सदस्यहरू करिव १००० छौं भने आजीवन सदस्यको संख्या करिब ५ दर्जन रहेको छ । 


att.YO-tEdcSnT0uOkqPObKnjUUe5UlgCKnScrmH-gFWdLw.jpeg

गोम-  संस्था बनाउनभन्दा टिकाउन चुनौतीपूर्ण हुन्छ भन्छन् यस्लाई कसरी हेर्नु भएको छ ? 

 

गीता - यो सत्य कुरा हो । कुनै पनि कार्यको शुरुवात गर्न जति सजिलो हुन्छ त्यो भन्दा दशगुना बढी त्यो कार्यको संरक्षण गर्न हुन्छ । चौतारीमा पनि त्यहीँ हो । एउटा साहित्यिक समूह बनाउँदा कस्तो होला ? चल्छ कि चल्दैन ? टिकाउन सकिन्छ कि सकिन्न भन्ने जिज्ञासाले सुरुवात गरिएको हुन्छ भने संस्था खोलिसकेपछि सक्रिय हुन र टिकाउन वास्तवमै चुनौतीपूर्ण कार्य हो । साहित्यिक चौतारी नेपाल आज यहाँसम्म त्यत्तिकै पुगेको पक्कै होइन । हिजोआज सामाजिक सञ्जालमा च्याउ झैं संस्थाहरू उम्रनु, टुसा नपलाई बिलिन हुनु सामान्य जस्तो देखिन्छ । निक्कै तामझामका साथ गठन भएका साहित्यक संस्थाहरू  छोटो समयमै बिलाउने गरेका कयौं उदाहरण हामीसित छन् । तसर्थ संस्था खोल्नु, दर्ता गर्नु दर्तावाल संस्थालाई टिकाएर यो उचाइसम्म पुर्याउनु वास्तवमै ठूलो कुरा हो । दर्ता नवीकरण अडिट, साहित्यिक गतिविधि, शाखासँगको समन्वय, वार्षिक  योजना अनुसारको काम यी सबै कुरा तबसम्म मात्रै सम्भव  हुन्छ जब संस्थामा एकता हुन्छ । लगनशीलता हुन्छ राजनीतिको गन्धबाट टाढा स्वतन्त्र नभएसम्म संस्था टिक्न सक्दैन, साहित्यिक चौतारीमा एकता छ । साहित्यको मर्म, कडा मेहनत, समयको व्यवस्थापन इत्यादि सबै कुराको तालमेल भएकै कारण एउटा उदाहरणीय संस्था बनेको हो भन्नुमा कन्जुस्याइँ गर्नु हुँदैन । आज संस्थालाई यो उचाईसम्म ल्याउनु कम चानचुने कुरा होइन । यस्ता थुप्रै चुनौतीहरू आए तर सामूहिक लगनशीलता र अग्रजहरूको प्रेरणाले थप उर्जा प्रदान गर्यो । बनाएका कार्य योजनामा सबैको साथ प्राप्त भए जस्तोसुकै चुनौती पनि पार गर्न सकिन्छ भन्ने उदाहरण साहित्यिक चौतारी नेपाल हो । जो पहिलो वार्षिकोत्सव मनाइरहँदा अब दोस्रो के होला ? भन्ने प्रश्नसँगै सम्पन्न हुन्थ्यो दोस्रो त भयो अब तेस्रो यो भन्दा उत्कृष्ट बन्छ बन्दैन ? भन्दाभन्दै आज एघारौं वार्षिकोत्सब मनाउँदै गर्दा बाह्रौं अझ उत्कृष्ट र भव्य मनाउन सकिन्छ कहिले आउला भन्ने योजना बनिहाल्छ यो उत्सुकता सहितको उर्जा अहिलेको अवस्था हो । 

 

गोम - नेपाली साहित्यलाई साहित्यिक चौतारी नेपाल मार्फत विश्व साहित्यको बजारसम्म पुर्याउन के गर्न सकिएला ? तपाईंको विचारमा ?

गीता - हामीले के भन्ने गरेका छौं भने जहाँ पुग्छन् नेपाली त्यहीँ पुग्नुपर्छ नेपाली भाषा तथा साहित्य । हामी नेपाल बाहिर जाँदै गर्दा केवल व्यक्ति होइन हाम्रो धर्म संस्कृति भाषा स्वभाव शैलीसँगै नेपाल पनि पनि सँगसँगै जान्छ । तसर्थ हामीले हाम्रो भाषा तथा साहित्य जिवित राख्न हाम्रो बारेमा मात्रै होइन देशको बारेमा पनि लेख्नुपर्छ छातीमा देश बोकेर हिँड्ने प्रत्येक नागरिकलाई जन्मेको माटोको चिन्ता हुन्छ । मानव जीवन सञ्चालनका एउटा मुख्य माध्यम हो भाषा । भाषाबिना हाम्रो दैनन्दिनी चल्न सक्दैन । भाषा नै मानव जीवन सञ्चालनको मेरुदण्ड हो । मानिस जहाँ बस्छ त्यही बसाइका आधारमा उसको भाषा विकसित हुन्छ भने अर्को माध्यम हो नेपाली साहित्यको अनुवाद । आज हामी जो जहाँ भए पनि हामीलाई जोड्ने भनेकै भाषा हो तसर्थ नेपाली साहित्यको अनुवाद हुन सक्यो भने विश्व माझ साहित्यलाई फैलाउन सकिन्छ । नेपालकै कुरा गर्ने हो भने पूर्वेली नेपालीले बोलेको पश्चिमेली नेपालीले बुझ्न सकिरहेका छैनन् भने तराईका नेपालीले बोलेको पहाडी नेपालीले बुझ्न अप्ठ्यारो छ तसर्थ चौतारीले आफ्नो मुखपत्र मार्फत भाषा अनुवादको शुरुवात गरेको छ । यसैगरी नेपाल बाहिर पनि नेपाली साहित्य पुर्याउन अनुवाद हुनु अति आवश्यक छ ।

 

att.xsa6jymuA6FxXrtEkM9JpIDlUdzYUYqGxKfoJky5VNc.jpeg

 

गोम - चौतारीको एघारौं वार्षिकोत्सव सम्पन्न गर्दै गर्दा चौतारीलाई यहाँसम्म पुर्याउन योगदान गर्नेहरूलाई कसरी सम्झिनु भएको छ ? 

 

गीता - चौतारी न हो, चौतारीमा आउने जाने प्रक्रिया भइरहन्छ । साहित्यिक चौतारी नेपालको स्थापनाको बेला साहित्यिक समूह खोल्ने चर्चा गर्दा मात्रै दुई जना हुनुहुन्थ्यो चौतारी संस्थापक अध्यक्ष एवम् हाल सल्लाहकार सन्दीप सङ्ग्रौला दिलदु:खी र रितु प्रियसीको सक्रियतामा बिस्तारै एउटा समूह निर्माण भयो । सुभद्रा घिमिरे, गोविन्द भावुक, चारखोले शिशिर लिङ्दम, नवीन अनुपाद, रुपक प्रनिल, मुना सिग्देल लगायतका स्रष्टाहरूले साहित्यिक समूहको निर्माण गरेर साहित्यिक गतिविधि गर्न थाल्नु भो त्यसपछि थुप्रै स्रष्टाहरू जोडिनु भो, छुट्नु भो नाम नै लेख्न थाले लामो लिस्ट बन्ला तर नलिई नहुने नाम साहित्यिक चौतारी नेपाललाई संरक्षण गर्न अथक मेहनत आर्थिक सहायतादेखि लु है गर्नुपर्छ अगाडि बढ्नुपर्छ भन्ने हुटहुटी बोकेर चौतारीलाई काँध हाल्ने आदरणीय संरक्षक स्व. सावित्रा लुइँटेल घिमिरेको नाम चौतारी कहिल्यै पनि भुल्ने छैन आज उहाँको भौतिक शरिर छैन तर उहाँबाट प्रेरित हामीले सदा सम्झिरहने छौ ।

अब तपाईंको प्रश्न कसरी सम्झिनु हुन्छ योगदान गर्नेलाई भनिरहँदा चौतारीलाई मैले नेतृत्व लिएपछि हरेक वार्षिकोत्सवमा चौतारीमा लामो समय रहेर योगदान दिने एकजना स्रष्टालाई सम्मान गर्ने गरेका छौ । गतवर्षको वार्षिकोत्सवमा तत्कालीन वरिष्ठ उपाध्यक्ष चारखोले शिशिर लिङ्दमलाई सम्मान गरेका थियौं । यति मात्रै होइन चौतारीका ४० शाखाहरू छन् जसमध्ये उत्कृष्ट दुई शाखा जसले वर्षभरीमा उत्कृष्ट ढङ्गले साहित्यिक गतिविधि गर्छ ती मध्ये दुई शाखालाई समेत सम्मान गर्ने गरिएको छ ।

गोम - अन्त्यमा, भन्नै पर्ने र नसोधिएको कुरा केही भए बताइदिनुस न ? 

 

गीता - सर्वप्रथम त आभारी छु । आज संस्थाको बारेमा यति कुरा राख्ने अवसर दिनु भएकोमा । कुनै पनि संस्था चलायमान हुन संस्थाका पदाधिकारी सहित सदस्यहरूको सक्रियता आवश्यक हुन्छ । 'साहित्य भनेको के हो ?' ले थुप्रै उत्तर बोकेको हुन्छ तर वास्तवमै साहित्यकार हुन समाज बुझेको हुनुपर्छ ।

समाज परिवर्तन गर्न हामीले लेख्न सक्नुपर्छ यहाँको माटो, पानी, हावा, प्रकृति, राजनीतिक यी सारा कुरा खोतल्न सके वास्तवमै समाज परिवर्तन सम्भव छ र त्यसको लागि पहिले पढ्नुपर्छ अहिले अध्ययन गर्ने भन्दा पनि सामाजिक सञ्जालका कुराहरूमा बढी ध्यानाकर्षण भएको देखिन्छ यो अहिलेको बडो चिन्ताको विषय हो । लेख्नु अगाडी पढ्नु आवश्यक छ यति भन्न चाहन्छु । धन्यवाद ।

 

गीतकार सतीश चापागाईको तिम्रो मन कोमल छ...

images
प्रकाशित मिति :श्रावण २७, २०८२ सोमवार - १९:१८:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend