प्रयोग तथा मूल्य : समेली नाट्यकारिता
बालकृष्ण सम नै नेपाली नाटक परम्पराका ती अद्वितीय प्रयोक्ता हुन् जसले यस विधालाई आधुनिकता प्रदान गर्न विषयवस्तुको सुन्दर शैलीको सुसेली, अलङ्कारको माला, रसको भावानुभूति, चिन्तनको गूढता र प्रवाहशीलताको वयेली प्रदान गरे । त्यसमा गतिशीलता उमार्न प्रवाहहरूको वयेलीमा तीव्रता, प्राचीनता र अत्याधुनिकताको सङ्गम, मनोवेग र मनोदशाको उदात्तीकरणका साथै नयाँ अनुभूति र जीवनवादी प्रक्षेपको चरमता पनि प्रदान गरे । अतः नेपाली साहित्य वाङ्मयका नाट्यविधाका एकमात्र भव्य व्यक्तित्व बालकृष्ण समले आफ्नो प्रयोग चातुर्यले नेपाली साहित्य निहारिकामा अजर, अमर र अक्षुण्ण स्थान सुरक्षित गर्दै भौतिक देहलाई विश्रान्ति प्रदान गरे तर निहारिका उज्ज्वल छ, उनकै प्रयोग प्रज्वलताले ।
साहित्यका अन्य विधामा केवल आत्मस्वस्थापन, कोरा प्रलापन र वर्णनको संयोजनले लिखित रूप पाएको हुन्छ । यसो भन्दैमा अन्य विधालाई उपेक्षा गर्न खोजिएको होइन कि अन्य विधाका तुलनामा नाटकीय माध्यम सबल र सरल पनि रहन्छ । कथावस्तु, वातावरण, चरित्र एवम् कथोपकथनको प्रासङ्गिक सुन्दर संयोजनले नाटक बौद्धिक मनस्थिति नभएका व्यक्तिहरूको हृदयसम्म हार्दिक सरलता र दुःखानुभूतिजस्ता कुराहरूको प्रसारण गर्न सक्दछ । अतः नाटकमा सजीवता र गतिशीलता रहन्छ भन्नुमा अतिशयोक्ति हँुदैन । यसो हुनाको कारण नाटक पाठ्यकाव्यमात्र नभई दृश्यकाव्य पनि भएकोले हो ।
यहाँ नाटकीयपन अलग जीवन सजीव क्षणले क्रियात्मक उत्कर्षता पाएर सिधै जीवन र जगत्प्रति सामयिक सन्देशको बिगुल फुक्छ, यथार्थप्रति उन्मुख गराउँछ र प्रगतितिर पथप्रदर्शन गराउँछ । त्यसैले नाटकमा भावना र संवेदनाको सम्मिलन, मनोवेग र प्रलापनको मिलन, अनुभूति र विदीर्णताको संयोगमात्र नभई अनुभूति, संवेदना, ऊहापोह र मनोवेगको अभिव्यक्तीकरणमा प्रत्यक्षता र जैवनिक सत्यता रहेर चरित्र अभिनयले जीवित, गतिशील, क्रियान्वयन पनि प्रदान गर्दछ । त्यसैले कुन नाटककार कस्तो छ वा उसको प्रयोगले नाटकमा कस्तो स्थान सुरक्षित गर्छ भन्ने प्रश्नलाई यिनै मूल्य, मान्यता र दृष्टिकोणबाट मापन गर्नुपर्छ । नेपाली नाटकमा बालकृष्ण समको कस्तो योगदान छ ? यी प्रश्नहरूलाई पनि मूलतः उल्लिखित बँुदाहरूबाटै हेर्ने प्रयत्न यहाँ गरिन्छ ।
बालकृष्ण समको यस क्षेत्रमा आगमन हुनुअगाडि नेपाली साहित्य (यहाँ नाटक) को माध्यमिक कालसम्म प्रायशः नेपाली नाटक तिलस्मीको सिकार थियो । अलौकिकता र अस्वाभाविकताको पृष्ठभूमिमा लेखिएका नाटकहरूमा स्पष्टतः पूर्वाग्रह छिप्नाले मानवीयत्व वास्तवमा न्यून र अप्रासङ्गिक पनि थियो । त्यति वेला नाटकका पात्रहरूले अनौठा–अनौठा क्रियाहरू गर्दथे, चराचुरुङ्गी बोल्दथे, मान्छे उड्थे, कथपोकथन दैवीवाणी थियो, नाटकीय विषयवस्तु वा अन्य काल्पनिक लोक हुन्थ्यो तर हुनुपर्ने सत्यता मान्छे र प्रकृतिको सफल संयोजन यस समयमा प्रायः थिएन र केही जमर्काहरू नेपालीत्वहीन थिए । उदाहरणतः ‘सती सावित्रीको कथा’, ‘शकुन्तला’, ‘प्रियदर्शिका’, ‘कुञ्जविहारी’आदि ।
माध्यमिक कालमा मोतीराम भट्ट, पहलमानसिंह स्वाँर तथा शम्भुप्रसाद ढुङ्गेलको आगमनले आंशिक नाटकत्व लिन आँटेको देखिए तापनि मोतीराममा शृङ्गारको पूर्वाग्रह, पहलमान सिंह स्वाँरमा पाश्चात्य अनुकरण र शम्भुप्रसादमा वैदिकपना टड्कारो देखिन पुग्छ । तत्पश्चात् आधुनिक नाटकको शुरूवात बालकृष्ण सम (१९८६) ‘मुटुको व्यथा’ प्रथम नेपाली वियोगान्त नाटक लिएर देखा पर्दछन् । यहीँबाट नेपाली नाटकले आधुनिक मोड पाउन पुग्छ । नाटकको उद्देश्य त्रास र टीठ उब्ज्याएर मनलाई शुद्ध पार्नु हो भन्ने एरिस्टोटलको भनाइमा सहमत भएर हेर्दा उनका नाटक पनि सोको सामीप्य आर्जन गर्न पुगेका छन् ।
प्रथमतः ‘मुटुको व्यथा’ नै वियोगान्त नाटक हो भने ‘भीमसेनको अन्त्य’, ‘अन्धवेग’, ‘प्रेमपिण्ड’जस्ता दुखान्त नाटकलाई अघि सारेर बालकृष्ण समले हामी पाठक र दर्शकलाई दुःख र सुखको अनुभूति केही प्रतिभा केही प्रवृत्ति दिलाएका छन्, त्यो हो सुखी दुःख तथा दुःखी सुख । दुःखान्तमा सुखी दुःख र सुखान्तमा दुःखी सुखको प्रबल प्रयोग रहन्छ भने दोस्रो पक्षमा उनका पात्रीय प्रयोगले विशेष प्रवाहशीलताको आर्जन प्रभावोत्पादक अनुभूतिको निःसृति र जीवनजगत्को वास्तविक संयोजनका साथै समको जीवनवादी दृष्टिकोणले सजीवता पाएको छ । ‘
प्रेमपिण्ड’को सविता र नकुल, ‘तानसेनको झरी’को सोमन, निर्मला वा ‘मुटुको व्यथा’को माधव, कपिल वियोगशील चरित्रहरूको मनोदशालाई उनले बढो शिल्प सुन्दरताका साथ प्रस्तुत गरेर स्वाभाविक वियोग कार्यान्वयन गर्नुमा उनको वैशिष्ट्य रहन्छ साथै उनको वियोग परम्परा युनानी नाटक धारणा अनुकूल छ भन्ने भनाइ तथ्यसङ्गत पनि देखा पर्दछ । अतः हामी ‘प्रेमपिण्ड’, ‘तानसेनको झरी’, वा ‘मुटुको व्यथा’ जता मन बहलाऔँ सहानुभूति र संवेदनाको अश्रुदाना, कपिला, माधव, नकुल, सविता, निर्मला तथा सोमनजस्ता पात्रहरूलाई नदिई सुखै पाउँदैनौ किनकि उनका वियोगान्त नाटकमा नाटकीय तŒवहरूले वियोगजन्य प्रकृतिमा सार्वजनिक सत्यलाई उद्घाटन गरेको हुन्छ र तिनले क्रियात्मकता उनका नाटकमा पाउँछन् । हाम्रो मानवीय मनको अन्तर्सम्बन्ध पनि करुणा, संवेदना र विपत्ति विक्षिप्ततामा रहन्छ । त्यसैले दर्शक वा पाठकलाई आफूबोधको जीवनवादी धारणा प्रबल अनुभूत गराउनु र स्नेहार्ध परिहलमा उतार्नु नियति र समाजको प्रष्ट प्रतिविम्बमात्र नभई मानवीय स्वभावको सरल चित्र पनि हो ।
प्रकृतिको अन्तर्निहितलाई मानवीय स्वभावको अथाह परिवेशसँग नाटककार समले दाँजेका छन् । वियोगान्त परम्परामा युनानी वा पाश्चात्य परम्पराको प्रवाह उनले राखे भने संयोगान्त प्रयोगमा पूर्वीय दृष्टिकोणको प्रबलतालाई वर्णन गरे । जेहोस् ती दुवै मानवीय स्वभाव जनिने विषय हुन् रव्यक्ति दुवैमा अन्तर्निहित प्राणचेतक हो भने यसो भनिनुको तात्पर्य मानवीय प्रकृति र प्रकृतिजन्य प्रकृतिको सन्तुलन देखाउन खोजिएको हो । फट्का, भत्कोस, मुस्कान र सुखहरू प्रकृति सापेक्षमा, व्यक्तिमा अन्तरनिहित कुरा हुन् ।
उनका चरित्र पनि यसै भनाइमा प्रकृतिको अनुकरण गर्ने क्रममा लागेका छन् भने यस विषयमा पात्रीय ज्ञान निकै न्यून पनि छ । जेहोस्, दुःख र सुख, प्रकृतिको घामछायाँ, मानवका व्यथा र हाँसोमा अवतरित छन् भने नाटक परम्परामा यसैलाई दुःखान्तप्रधान वा सुखान्तप्रधान भनिने गरिन्छ । उनका नाटकमा दुवै पक्ष प्रबल देखिन्छन् । ‘मुकुन्द इन्दिरा’ तथा ‘म’ संयोगान्त नाटक हुन् तर एकै नाटकमा पनि सुखानुभूति र दुखानुभूति प्रष्टतः नाङ्गिएको हुन्छ । केवल वियोगान्त र संयोगान्त फल प्राप्तिका पृथक्मा मात्र ध्रुवीकरण हुन पुग्छन् ।
‘मुकुन्द इन्दिरा’को इन्दिरामा दुःखानुभूति, सुखानुभूतिको तुलनामा अधिक छ र पनि यसको परिणाम संयोगान्त हो । यसो हुनु सोझै प्रकृतिको अनुकरण र कलावादी, जीवनवादी प्रक्षेपको सन्तुलन गर्न खोज्नु हो । सममा यो प्रायः पूर्णत्व प्राप्तिका दिशातर्फ अभिमुख छ तर वियोगान्त नाटकमा पाउने सुखानुभूति त्यसको स्नेहार्ध परिहलले प्रायः युक्त पार्छ । कारण भनिन्छ दुःखको अभिव्यक्तिमा मानवीय अन्तर्सत्यताको उद्बोधन हुन्छ । यस दृष्टिबाट हेर्दा सममा संयोगप्रधान परिणामका नाटकहरू वियोग परम्पराका तुलनामा न्यूनसफलता आर्जन गर्दछन् ।
समको कलम मौलिक विषयवस्तुतिर अघि बढ्नाले उनले जुन विषय छोए त्यसमा जैवनिकत्वको पनि साथै सञ्चार भएको प्रतीत हुन्छ । उनले ऐतिहासिक तथा पौराणिक नाटक पनि लेखे तर विषयवस्तुमात्र त्यतिखेरका र अरू सबै आजकै झैँ लाग्नु पनि उनको नाटक प्रयोगको विशिष्ट सफलता मान्नुपर्दछ । ‘प्रह्लाद’मा जीवनत्वको सञ्चार छ, ‘भीमसेनको अन्त्य’मा सजीवताको सम्प्रेषण छ तथा ‘भक्त भानुभक्त’मा गतिशीलता छ । अर्थात् नाटकीय प्रवाह र प्रभावका खातिर सम पौराणिक वा ऐतिहासिक नाटकको मूल विषयवस्तुमा आजको जलप हिजोको कथामा साम्यबिन्दु पहिल्याई चरित्रमा सजीवता र विषयवस्तुमा गतिशीलता ल्याउन अति नै चतुर र कालिगढीपूर्ण पनि देखिन्छन् ।
समको अर्को नाटकीय विशेषता विद्यमान कुण्ठा र विसङ्गतिबाट प्रायः परित्यक्त र पथभ्रान्त जीवन पथिकहरूलाई आदर्शको पाठ, नैतिक शिक्षा र अध्यात्मवादको सञ्चार दिनु हो । के वियोगान्त, के संयोगान्त आदर्शोन्मुख समाज उनका दुवै प्रकृतिका नाटकमा रहन जाने विषयवस्तु हुन् । ‘मुकुन्द इन्दिरा’, ‘प्रेमपिण्ड’ वा जुनसुकै नाटक हुन् उनले आदर्शतामा त्यहाँको चरित्रलाई उभ्याएर पतिप्रेम, देशप्रेम, पत्नीप्रेम, भातृत्वजस्ता मानवतावादी दिग्दर्शन प्रदान गरेका छन् । त्यसैले मनोरञ्जनवादी नाटककार समको तुलनामा केही प्रतिभा केही प्रवृत्ति मानवतावादी नाटककार सम विशिष्ट छन् तर आलोचनात्मक अवलोकनमा अयोग्य चरित्रलाई पनि आदर्श सन्देशको झोली बोकाउनुमा उनमा सायद फितलोपन देखिन्छ जस्तो : ‘मुकुन्द इन्दिरा’को ज्यापू पात्र । सम मानवताको दर्शन दिन्छन् ।
त्यसैले उनलाई मानवताका पुजारी भनिन्छ । आजको जटिलताग्रस्त मान्छेको यान्त्रिक राक्षसीपनाबाट स्वाभाविकतातिर अभिमुख गराउने उनको ‘प्रह्लाद’को मूल मर्म हो । ‘प्रह्लाद’को वातावरण नरसिंह अवतारको समयमात्र होइन, आजको भौतिकता पनि हो । त्यसैले यहाँ भौतिकवादी घोडा अध्यात्मवादी निर्देशनविना नै तुफान पैयाँमा लागिरहेछ । सत्यता अध्यात्मवादको निर्देशनमा भौतिकवादको विकास हो । अतः उनी प्रह्लादको बानीबाट दुवै वादका संयोजन गराउने अभिप्राय व्यक्त गर्दै मानवताको जगेर्ना गर्नुपर्ने अपरिहार्य सत्यतामा अभिव्यक्त देखिन्छन् ।
सङ्क्षेपमा भन्दा उनको नाटकीय योगदानलाई यसरी बुँदा–बुँदामा विभाजन गरेर देखाउन सकिन्छ —
१. सम नेपाली नाटकका आधुनिक प्रयोक्ता हुन् जसले नाटकलाई आधुनिकतातर्फ उन्मुख गराउन आवश्यक सबैजसो पृष्ठभूमि तयार पारे ।
२. उनले संयोगान्त र वियोगान्त दुवै प्रकारका नाटक लेखे तापनि वियोगान्त प्रयोग नाटकीय मान्यता, मूल्य र मापनमा उत्कृष्ट देखा पर्दछन् ।
३. उनले पौराणिक, सामाजिक, ऐतिहासिक सबै प्रकारका नाटक प्रयोग गरे । प्रत्येकमा कथातŒव, वातावरण, चरित्रचित्रण, कथपोकथनजस्ता नाटकीय तत्वको सुसन्तुलन भएका उनका नाटकहरूले सजीवता आर्जन गर्न पुगेका छन् ।
४. विषयवस्तुअनुसारको कथा र चरित्रअनुसारको कथपोकथनको प्रयोगले नाटकले नाटकीयताको सिकार हुनुपरेको छैन। स्वाभाविक सत्य र सजीवप्रतीत छन् ।
५. जीवन र जगत्को यथार्थ चित्रणमा उनी सजीव देखा पर्दछन् ।
६. उनका नाटकमा विशुद्ध नेपालीपन, नेपाली जनमानस र नेपाली राष्ट्रियता हुर्केको हुन्छ ।
७. रङ्गमञ्चीय दृष्टिकोणमा उनका नाटक केही असफल भए पनि अधिकांश नाटकहरू सफल देखिन्छन् ।
८. नाटकमा भाषागत विविधता पाइनुका साथै दार्शनिक पक्षको उद्बोधन उनका नाटकमा गरिन्छ । त्यसैले तल्ला स्तरका पात्र पनि दार्शनिक बहस गर्न असामान्य सफल छन् ।
९. उनका नाटक मनोरञ्जनपरक नभई मानवतावादी देखिन्छन् ।
१०. नाटकमा उपकथा एवम् कथाको केन्द्रीय सङ्गठन सम्बन्ध नटुट्नुको कारणनाटकहरू प्रभावोत्पादक पनि छन् ।
-युवराज मैनाली