“ आमा, फेरि भेट्न आएको छु ।” राम वृद्धाश्रमको ढोकाबाट भित्र पस्यो ।
वृद्धा मुस्कुराइन्, तर उनका आँखा रसाएका थिए; “ बाबु, तिमी आइरहँदा मलाई जीवन बाँचेको अनुभूति हुन्छ ।”
रामले आदरसाथ वृद्धाको हात समायो । मनमा न्यानोपन उम्लियो; “ आमा, अब म तपाईंलाई यहाँ छोड्दिनँ । आफ्नो घरै लैजान्छु ।”
वृद्धा एकाएक काँपिन्; “ घर…? तिमी मेरा कुन छोरा हौ ? मैले तिमीलाई चिनेकै छैन ।”
राम स्तब्ध भयो ।
“आमा, हिजो त तपाईंले मलाई छोरो सम्झनुभएको थियो नि !”
वृद्धाले टाउको हल्लाइन् ।
“बाबु, मेरो साँचो छोरो त विदेशमा हराएको छ । म त सबैलाई छोरा भन्छु । ”
रामको अनुहार निलो भयो । उसको स्वर थर्थरायो; “ अनि म ? तपाईंले आमा भन्नु भएपछि त म त पुरै विश्वासमा बाँचिरहेको थिएँ ।”
वृद्धाको आँखा आँसुले छोपिन थाल्यो ।
“ साँचो भन्छु बाबु ! म तिम्रो आमा होइन । तर तिमी मेरो छोराभन्दा पनि ठूला लाग्छौ ।”
राम मौन भयो । आकाशमा कालो बादल उम्लियो । उसको आँखाबाट पनि अश्रु बग्न थाल्यो ।
उसले मनमनै सोच्यो; “ कसैलाई ‘आमा’ भन्न सजिलो छ, तर आमा पाउन भने जीवनै लगानी गर्नुपर्छ ।”
०००
२०८२ भदौ ०९
सिद्धार्थटोल, उदयपुर