"ए सपना, दर खान जाने होइन ।" बाटाबाट चर्को आवाज सुनियो
" जाँदै गर्नोस्, म निस्कन्छु ।" सपनाले उत्तर फर्काई । सासु भने केही नबोली पिँढीमा बसेकी थिइन् । त्यत्तिकैमा पल्लाघरे माहिली आमा आइपुगिन् । "के गरेकी छौ ? तिम्री बुहारी दर खान जान्निन रे, हाम्री त अगेर गइसकी ।" माहिली आमाले साउती मारिन् ।
" के कुरा गर्छौ तिमी पनि, यो नेता मान्छे नगएर छोड्ली ? को - को जानी, के खानी भनेर बिहानैदेखि फोनमा बिजी छे ।" पहिलोले उत्तर दिइन् ।
सपना चिटिक्क परेर, " ल, म गएँ है आमा ।"
" राम ! राम !! हाम्रा पालामा दर भनेको एक दिन खाने हो, त्यै पनि उकालो-ओरालो, खोलो तरेर बल्लतल्ल माइतमा गएर खाइन्थ्यो ।" अहिलेकालाई हेर त, " एक महिना पहिलेबाट दर रे, त्यो पनि पाटी प्यालेसाँ, हेर्दाहेर्दै के चलन आ'का हुन् यस्ता ।" पहिलोले मुख बङ्ग्याइन् ।
" त्यहीँ त भन्या, भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाउँने तीज पर्व हो । पार्वतीले आफूले मन पराएको वर शिवलाई पाउन जङ्गलमा गएर पानी पनि नखाई घोर तपस्या गरेकी थिइन् । भगवान शिव प्रकट भई 'चिताएको मनोकाङ्क्षा पूर्ण होस् ।' भनी वरदान दिएका थिए ।" माहिली आमाले तीजको पौराणिक कथा जोडेर भनिन् ।
" हो त नि, हर्षोल्लासका साथ नाचगान गरी मनाउने चाड हो तर अहिले फेसन भएको छ । कहीँ संघसंस्थाका नाममा, पार्टीका नाममा, समूहका नाममा समूह देखाई ठुलो हुनुछ मान्छेलाई । " पहिलोले लामो सास तान्दै थपिन् ।
माहिली आमाले गम्भीर मुद्रामा भनिन्, " पौराणिक मान्यता बोकेका परम्परा र संस्कृति पनि देखासिकी र फेसनले गर्दा विकृति भित्रिएको पत्तै छैन ।"
- गैंडाकोट -४, नवलपुर