सांसद्हरूलाई खुलापत्र
— लीला लुइटेल
माननीय सांसद्ज्यूहरू,
नेपालको संविधानले व्यवस्था गरेअनुरूप कानून निर्माण गर्न, सरकारका कामकारबाहीको निगरानी गर्नलगायत अन्य अनेक जिम्मेवारी दिएर नेपाली जनताले तपाईंहरूलाई व्यवस्थापिकामा पठाएको हो । यसका अतिरिक्त संसद्मा सरकारका कार्यबारे प्रश्न सोध्नु, विभिन्न विषय र समस्यामा ध्यानाकर्षण प्रस्ताव राख्नु अनि आवश्यकताअनुरूप आलोचना गर्दै समस्याको समाधान दिनु तथा कार्यपालिका र सोअन्तर्गतको निकायलाई नियन्त्रण र निर्देशन गर्नु पनि तपाईंहरूको कर्तव्यभित्र पर्छ । नेपालको संविधानले २७५ सदस्य रहेको प्रतिनिधि सभा र ५९ सदस्य रहेको राष्ट्रिय सभासहित केन्द्रमा दुई सदनात्मक सङ्घीय संसद् हुने व्यवस्था गरेको छ । सङ्ख्याको हिसाबले निकै ठूलो रहेको र यति धेरै जिम्मेवारी पाएको व्यवस्थापिकाबाट नेपाली जनताले अपेक्षा गरेको सामान्य कुरामा पनि तपाईंहरू किन चुक्नुभयो ?
माननीयज्यूहरू,
अरूले लेखिदिएको चिर्कटो पनि पढ्न नजानेर संसद्मा तमासा देखाउने सांसद्हरूको बारेमा मलाई यहाँ केही भन्नु छैन तर हाम्रो संसद्मा उच्चशिक्षाको प्रमाणपत्रधारी सांसद् पनि हुनुहुन्छ र तीमध्ये कतिपयले विदेशी विश्वविद्यालयमा पढेको धक्कु लगाउने पनि गर्नुहुन्छ । यदि तपाईंहरू अर्काे ग्रहका एलियन होइन र यसै धर्तीको नेपाल भन्ने देशका बासिन्दा हुनुहुन्छ अनि आफूलाई उच्चशिक्षित ठान्नुहुन्छ भने तपाईंहरू यस देशको प्रशासनमा पनि चासो राख्नुहुन्न भन्ने पुष्टि हुन्छ ।
एउटा सचेत नागरिक एवं तपाईंहरूको मतदाता भएको हैसियतले तपाईंहरूसँग प्रश्न सोध्न पाउनु मेरो अधिकार हो भन्ने मलाई लागेको छ । सन्दर्भ हो अहिले सरकारले धम्की दिएर राख्न बाध्य बनाइएको इम्बोस्ड नं. प्लेटको ।
१. सिङ्गो राष्ट्रको पहिचान बोक्ने भाषा राष्ट्रिय अस्मितासँग गाँसिएको विषय पनि हो । अर्कोतिर नेपालको संविधानको धारा ७ (१) मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ’ भन्ने स्पष्ट व्यवस्थालाई कुल्चिएर नेपाली भाषालाई पूर्णतया बन्देज लगाउने नियतबाट प्रेरित भई गरिएको गैरसंवैधानिक फैसलामा तपाईंहरूको के स्वार्थ लुकेको छ ?
२. नेपाल सरकारको निर्णयबमोजिम नेपाल राजपत्रमा प्रकाशित कानूनसरह मानिने निर्णयलाई लत्याएर मन्त्रीस्तरीय निर्णयबाट मनोमानी गर्न मिल्दैन भन्ने कुराको जानकारी तपाईंहरूलाई छ कि छैन ?
३. पर्यटकका लागि अङ्ग्रेजी भाषा चाहिन्छ भन्ने कुतर्क तेर्स्याउने दुष्प्रयास कसैले पनि नगरोस् । सवारीसाधनमा प्रयोग हुने भाषा विदेशीहरूका लागि नभएर मूलतः नेपालीहरूका लागि हो भन्ने कुरा घामजस्तै छर्लङ्ग छ । अनि अर्काे कुरा आफ्नो देशको भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने देशहरूमा पर्यटनको विकास भएकै छैन त ?
४. अन्तर्राष्ट्रिय अभ्यासको हवाला दिई कसैले कुतर्क गर्ने दुष्प्रयास कसैले नगरोस् किनकि विश्वका धेरै देशमा आफ्नै राष्ट्रभाषामा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राखिएको कुरा तपाईंहरुलाई जानकारी छ कि छैन ?
५.नेपालका यातायात कार्यालयहरू कर्मचारीले नभई बिचौलियाले चलाएको कुरा तपाईंहरूलाई थाहा छ कि छैन ? थाहा छ भने तपाईंहरू यसबारे अहिलेसम्म किन बोल्नु भएन ?
६.सरकारले स्मार्ट लाइसेन्स बाँड्ने भनेर राजस्व उठाएको यत्रो समय बितिसक्दा पनि देशका अधिकांश सवारी चालकहरू विना सवारी अनुमति प्रमाणपत्र (लाइसेन्स) का नाममा एउटा चिर्कटो बोकेर हिँड्न बाध्य भएको कुरा तपाईंहरूलाई थाहा छ कि छैन ? थाहा छ भने तपाईंहरू यसबारे अहिलेसम्म किन बोल्नु भएन ?
७. यसरी राजस्वसमेत उठाइसकेको सानो एउटा लाइसेन्ससम्म समयमा दिन नसक्ने सरकारले इम्बोस्ड नम्बर प्लेट नराखे जरिवाना गर्ने, जेल हाल्ने भनी जनतालाई धम्की दिएको कुरा तपाईंहरूलाई थाहा छ कि छैन ? थाहा छ भने तपाईंहरू यसबारे अहिलेसम्म किन बोल्नु भएन ?
८. इम्बोस्ड नम्बर प्लेटका लागि आवश्यक पूर्वाधार नै तयार छैन भन्ने कुरा तपाईंहरूलाई थाहा छ कि छैन ? थाहा छ भने पूर्वाधार तयार नभएको अवस्थामा हतार गर्नुहुँदैन भनेर तपाईंहरू अहिलेसम्म किन बोल्नु भएन ?
९. सबैभन्दा संवेदनशील सन्दर्भ इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि राखिए कम्प्युटरले पढ्न सक्तैन भनेर सरकारले दिउँसै रात पारेका सन्दर्भमा तपाईंहरू किन मौन रहनुभयो ? उच्चशिक्षित एवं विदेशी विश्वविद्यालयमा पढेको धमास दिने माननीयज्यूहरू पनि यस्तो दिउँसै रात पार्ने सरकारी रवैयाको विरुद्ध बोल्न किन नसकेको ?
प्रविधिले मान्छेलाई कि मान्छेले प्रविधिलाई बनाएको ? यति कुरा पनि तपाईंहरूलाई थाहा छैन ? विद्युतीय सञ्चारको जमानामा प्रविधिको हाउगुजी देखाएर यथार्थलाई ढाकछोप गर्दा नेपाली जनताले पत्याउँछन् भन्ने ठान्नुभएको छ ? प्रविधिको हाउगुजी देखाएर प्रचलित वर्णलाई मास्ने दुष्प्रयास कसैले पनि नगर्नुहोला । यस काममा प्रयोग हुने प्रविधिलाई सहजतापूर्वक निर्माण एवं सञ्चालन गर्न सक्षम भइसकेको नेपाली जनशक्तिको अपमान गरी प्रविधिका लागि विदेशीको मुख ताकिएको यस हर्कतले तपाईंहरूलाई अलिकति पनि लज्जाबोध भएन ?
विद्युतीय सञ्चारको एउटा सशक्त माध्यम अन्तर्राष्ट्रिय स्तरको गुगलले समेत मान्यता दिइसकेको र नेपाली भाषाबाट अन्य भाषामा तथा अन्य भाषाबाट नेपाली भाषामा सहज रूपमा अनुवाद भइरहेको अवस्थामा नेपाली जनताका लागि चाहिँ असहज र असम्भव देख्ने कुन रोगले छोएको छ तपाईंहरूलाई ? यसरी अद्यावधिक प्रविधिको ज्ञान नभएको अभिनय गर्नु तपाईंहरूको विवेकहीनताको पराकाष्ठा होइन र ?
१०. अदालतमा विचाराधीन रहेको मुद्दाबारे कसैले कुनै निर्णय गर्न नपाउने व्यवस्था तपाईंहरूलाई थाहा छ कि छैन ? थाहा छ भने यसबारे किन चुप ?
११. रोमन लिपि प्रयुक्त नम्बर प्लेट कति प्रतिशत नेपालीले पढ्नसक्छन् भन्ने ठान्नुभएको छ ?
१२. नेपालमा चल्ने सवारीसाधनमा प्रत्यक्षतः नेपाली नै संलग्न हुने भएकाले अङ्ग्रेजी भाषामा मात्र नम्बर प्लेट राख्दा दुर्घटना गरेर, गराएर भाग्ने चालकको सङ्ख्या अत्यधिक बढ्ने देखिन्छ । अहिले नम्बर प्लेट नेपालीमै हुँदा त नियतवश दुर्घटना गराएर चालक फरार भइरहेका छन् भने अधिकांश नेपालीले अङ्ग्रेजी अक्षर नबुझ्ने स्थिति स्पष्ट हुँदाहुँदै अङ्ग्रेजी भाषाको मात्र प्रयोग गर्दा त्यसको परिणाम के हुन्छ ? नेपालीमा हुँदा कुनै सवारीसाधनले कसैलाई ठक्कर दिई भागेमा त्यहाँ वरिपरि रहेका सामान्य साक्षर व्यक्तिले पनि नम्बर टिपेर ट्राफिकलाई खबर गर्नसक्ने स्थिति रहेको छ तर अङ्ग्रेजीमा लेखिएको नम्बर प्लेट सामान्य साक्षरको त के कुरा, उच्च शिक्षितलाई समेत हेर्ने बित्तिकै तत्काल बुझ्न र टिप्न कठिन हुन्छ । यसर्थ यसले दुर्घटनाजन्य अपराध बढाउने कुरामा तपाईंहरूको ध्यान किन नगएको ?
माननीयज्यूहरू,
तपाईंहरू देशभित्रै भइरहेका यस्ता सरकारी कामकारबाहीमा समेत अद्यावधिक नहुनाको कारण के हो ? कि अहिले बजारमा हल्ला चलेजस्तो यति अरब र उति अरबको केही प्रतिशत तपाईंहरूको भागमा पनि आइपुग्ने हुनाले हो ? होइन भने आफ्नो विवेक र अस्तित्वलाई सत्ताको पैतालामुनि घुसार्न लाने तपाईंहरूबाट नेपाली जनताले के आशा गर्ने ? तपाईंहरूको यस्तो अपरिपक्व एवं अविवेकी क्रियाकलापले सम्पूर्ण नेपालीको भावनामा गहिरो चोट पुगेको छ ।
जनताले तपाईंहरूलाई मत दिएर पठाएको सांसद्को लोगो लगाएर राज्यकोषबाट सुविधा खान मात्रै होइन भन्ने कुरामा तपाईंहरूको ध्यान गएको छ ? अहिलेसम्म संसद्को कुर्सीलाई आफ्नै ओछ्यान सम्झेर निन्द्रा पु¥याएको, बैठकमा उपस्थितै नभई बैठकभत्ता खाएको आदि अनेक अनैतिक क्रियाकलापलाई समेत बिर्सेर नेपाली जनताले तपाईंहरूको साथ दिँदै आएका हुन् । अहिले देशमा मडारिएको यस्तो अन्योलको स्थितिलाई बेवास्ता गरी चुप लागेर बस्नुभयो भने भविष्यमा नेपाली जनताले तपाईंहरूको अस्तित्वमाथि नै धावा बोल्नसक्ने कुरा गम्भीर ढङ्गले सोच्नुहोला ।
माननीयज्यूहरू,
संसद् राष्ट्रकै प्रमुख अङ्ग भएकाले यसप्रति सदा आस्था र सम्मान राख्नु एउटा नागरिकको दायित्व हो भन्ने कुरामा म सदैव सचेत छु तर संसद् र सांसद् एउटै होइनन् भन्ने मेरो बुझाइ रहेको छ । सांसद् व्यक्ति भएकाले एउटा व्यक्तिबाट गल्ती हुँदैन भन्नु कुतर्क मात्र हुनजान्छ । आम नेपालीको अस्तित्वलाई बेवास्ता गर्दै नेपाली भाषा बहिष्कार गरिएको यस अवस्थाप्रति व्यक्ति सांसद्हरूले निहित स्वार्थवश सहमति जनाएको देख्दा मौन रहन एउटा सचेत नागरिकको विवेकले मलाई पटक्कै दिएन । यदि कसैले यसलाई बङ्ग्याएर सांसद्को मानहानिका रूपमा व्याख्या गर्छ भने त्यसबापत सजाय भोग्न म मात्र होइन, नेपाल राष्ट्र एवं नेपाली भाषाप्रति आस्था राख्ने हरेक नेपाली तयार छन् भन्ने कुरा माननीयज्यूहरूलाई जानकारी गराउँछु ।
अन्त्यमा,
अहिले तपाईंहरूका नाममा यो पत्र लेख्नाको तात्पर्य अङ्ग्रेजी भाषाको विरोध होइन । एक्काइसौँ शताब्दीको विद्युतीय सञ्चारको युगमा अङ्ग्रेजी भाषालाई प्रतिबन्ध नै लगाउनुपर्छ भन्ने आशय हाम्रो छैन तर अब जारी गर्ने भनिएको इम्बोस्ड नम्बर प्लेटमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा लेख्ने व्यवस्था गर्दा हुने अप्ठ्यारो के ? मलगायत हरेक नेपाली यी प्रश्नको जबाफको प्रतीक्षामा छौँ ।
मिति : २०८२–५–९ लीला लुइटेल
नेपाली भाषाप्रेमी सचेत नेपाली नागरिक
कीर्तिपुर, काठमाडौँ