" ए तारा ! तारा !! दर खान जाने होइन ?"
बाहिरबाट चर्को आवाजमा सुनियो ।
" जाँदै गर्नु, म आउँदै गरौंला !" ताराले उत्तर फर्काई ।
यत्तिकै बोल्दा बोल्दैमा पल्लाघरे आमा टुप्लुक्क आइपुगिन् ।
" तिम्रो बुहारी दर खान जाने रे । " साइली आमाले साउती मार्दै भनिन्, " हाम्री त पहिले नै गइसकी । "
तारा चिटिक्क परेर भन्दै थिई, " आमा म गएँ है । "
" हाम्रो पालामा माइतीमा दर खाएर आइन्थ्यो । अहिलेकालाई पार्टी प्यालेस लगाएर दर नखाइ नहुने ।" भन्दै मुख बङ्ग्याइन् ।
" त्यही त भन्या । भाद्र शुक्ल द्वितीयाका दिनमा मनाउने पर्व तीज हो । पौराणिक धारणा अनुसार,
पार्वतीले पानी समेत नखाई घोर तपस्या गरेर महादेव आफूलाई मन परेको वर मागेकाले महादेव स्वयं प्रसन्न भएर वर दिएकाले यो चाड मनाउन थालियो । " आमाले तीजको पौराणिक कथालाई जोडेर भनिन् ।
" हो, त नि, हर्षोल्लासका साथ नाचगान गरी मनाउने चाड हो । अहिले फेसन गरी मनाउने चाड पो भैदिएको छ । पार्टीको नाममा, संघ सस्थाका नाममा, समूहका नाममा । भित्र जेजे खाए पनि दारु नै खाएर अर्धनग्न भएर नाचेको भिडियो र फोटा त नहाले हुने हो नि ! " लामो श्वास तान्दै उनी घरभित्र पसिन् ।
- पोखरा ।