Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गोविन्दराज पौडेलका केही मुक्तकहरू

गोविन्दराज पौडेलका केही मुक्तकहरू

नेप्लिज डायस्पोरा

१८, भाद्र २०८२
images
गोविन्दराज पौडेलका केही मुक्तकहरू

मुक्तक -१ 

 

सधैँ मृत्युले नै त हो सत्यता दिलाउने मान्छेलाई

जीवनका सबै समीकरणमा मिलाउने मान्छेलाई

आखिर शून्यता नै शून्यता छ विश्व जगत सारा यो,

प्रेमले नै त हो एकआपसमा सिलाउने मान्छेलाई ।                                       

मुक्तक -२ 

 

कसलाई थाहा छैन होला  र प्रेमले खुशी भर्दिन्छ

जस्ले निस्वार्थ भावले आफैंलाई नै अर्पण गर्दिन्छ

राख्न सके न्यानो अँगालोमा बेरेर मानवतालाई,

होइन भने मायाको सागरमा विषैविष छर्दिन्छ । 

 

मुक्तक -३ 

 

बाह्र वर्षमा त एकपटक खोला फर्कन्छ भन्छन्

जस्तो पनि पानीमाथी तेल सधैं तर्कन्छ भन्छन्

कति अथाह छ प्रकृतिको देन तर यो मान्छे सधैँ,

बैगुनी छ काटेको घाउमा नुनचुक छर्कन्छ भन्छन् । 

 

मुक्तक -४ 

 

यहाँ कोही पनि अमर भएको छैन जति धर्म गरे पनि

अति भक्तिभाव देखाएर फूलैफूलले मन्दिर भरे पनि

मृत्युपश्चात् कसैले केही लिएर गएको मैले देख्या छैन,

फगत हुने हो खरानी धनका पछि जतिसुकै मरे पनि ।

 

 

मुक्तक -५ 

 

म माटो प्रेमी हुँ यही धर्तीको माटो नै कमाउँछु

लाग्दैन छुन घिन यी हातले माटो नै समाउँछु

माटोमै जन्मे अब फेरि हुनेहो माटो नै दिन एक,

माटैमा फुल्छन् फूल अनेक माटो मै रमाउँछु । 

 

 ✍️ गोविन्दराज पौडेल      

 पाणिनि-७, अडगुरी, अर्घाखाँची ।

 

images
प्रकाशित मिति :भाद्र १८, २०८२ बुधवार - २१:११:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend