Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

हाम्रा शाखा देश विदेशमा स्थापना भएका छन् -शर्मिला सापकोटा

हाम्रा शाखा देश विदेशमा स्थापना भएका छन् -शर्मिला सापकोटा

नेप्लिज डायस्पोरा

१३, आश्विन २०८२
images
हाम्रा शाखा देश विदेशमा स्थापना भएका छन्  -शर्मिला सापकोटा

साहित्यिक चौतारी नेपालकी केन्द्रीय सदस्य साहित्यकार शर्मिला सापकोटा स्वर्गीय बुवा यदुनाथ तथा आमा तेजकुमारी उपाध्यायकी सुपुत्रीको रूपमा गण्डकी प्रदेशको पर्वत जिल्ला, कुश्मा न. पा. २ खुर्कोटमा जन्मिनुभएको हो । प्रवीणता प्रमाणपत्र तहसम्मको शिक्षा हासिल गर्नुभएकी सापकोटा आइ.पी. सापकोटा 'ईश्वर' सँग वैवाहिक जीवनमा बाँधिनु भएको छ । उहाँका दुईवटा सन्ततिका रूपमा प्रमिश र प्रिन्स सापकोटा रहेका छन् ।

पहिलोपटक मुक्तक प्रकाशन गरेर साहित्यमा उदाउनु भएकी सापकोटाले साहित्यिक कृतिहरू हैसियत - ६ (संयुक्त गजल सङ्ग्रह २०७७) 'सारथी' संयुक्त गजल सङ्ग्रह (२०७७) सँगसँगै अन्य थुप्रै साहित्यिक साप्ताहिक, मासिक, वार्षिक पुस्तक तथा पत्रपत्रिका, अनलाइन मिडियाहरूमा गजल, कविता, मुक्तकहरू प्रकाशित गरिसक्नुभएको छ । 

 सारथी साहित्य परिवारकी सञ्चालक रहनुभएकी सापकोटा त्यसबाहेक साहित्यिक चौतारी नेपालको केन्द्रीय तथा आजीवन सदस्य र साहित्यिक चौतारी नेपाल गण्डकी प्रदेशकी सचिव अनि सगरमाथा साहित्य प्रतिष्ठानमा समेत आबद्ध हुनुहुन्छ । आफ्ना साहित्यिक योगदान बापत उहाँले सारथी साहित्य परिवार, हाम्रो मझेरी साहित्य प्रतिष्ठान, गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठान आदिबाट सम्मानितसमेत भइसक्नुभएको छ । उहाँसँग साहित्यिक चौतारी नेपालको सन्दर्भबाट गोमविक्रमले गर्नुभएको कुराकानीको सारसंक्षेप यस प्रकार छ  : - 

गोमविक्रम :-  साहित्यिक चौतारी, नेपालमा कसरी आकर्षित र आबद्ध हुनुभयो ?  

शर्मिला सापकोटा :- जानी नजानी मनका भावना पोख्ने प्रयास गर्दागर्दै मुक्तक, गजल, कविता, छन्द कविता सिक्ने हुटहुटी चलिरहन्छ । त्यस्तै संघ संस्थाहरूमा काम गर्दै जाँदा अझै राम्रा संस्थाहरूमा आबद्ध हुँदा अनि अझै विशिष्ट व्यक्तिहरूसँग चिनजानको अवसर र सिक्ने अवसर प्राप्त हुन्छ । मलाई यस कार्यमा वरिष्ठ साहित्यकार आदरणीय दिज्जु शोभा खनाल कोइरालाज्यूको मुख्य भूमिका रहेको कुरा स्मरणीय छ । ४० भन्दा बढी शाखा भएको संस्था मेरो मात्रै होइन सबैको नजर र रोजाइमा पर्नु स्वाभाविकै हो ।

गोमविक्रम :- साहित्यिक चौतारी नेपाललाई दिगो र अमर संस्था बनाउन हजुरको सल्लाह ?

शर्मिला सापकोटा :- वि. सं. २०७१ बाट सामान्य म्यासेन्जर कलबाट  सुरुवात भएको संस्था आज यति धेरै फड्को मार्ला भन्ने सायद कसैलाई लागेको थिएन होला, जति संस्था वृद्धि हुँदै गएका छ्न् त्यति नै जिम्मेवारी बढेर जाने गर्दछ, तसर्थ यस संस्थामा रहनुहुने सम्पूर्ण पदाधिकारीज्यूहरूले आ-आफ्नो जिम्मेवारी बहन गर्दै हातमा हात साथमा साथ मिलाएर अगाडि बढ्नुपर्छ 

। संस्थाले बनाएका नीति-नियम तथा निर्देशन हामी सबैले पालना गर्नुपर्दछ ।

गोमविक्रम :- साहित्यिक चौतारी नेपालका निम्ति चुनौतीका कुराहरू ? अनि हजुरको सुझाव ?

शर्मिला सापकोटा :- अहिले सयौंको संख्यामा साहित्यिक संस्थाहरूको जन्म भएका‌ छ्न् । संस्था जन्मिनु ठूलो कुरा होइन टिकाउनु ठूलो कुरा हो । एउटा संस्था स्थापना गर्दा के होला ? कसो होला ?? टिकाउन सकिने हो कि होइन ? भन्ने चिन्ता हुन्छ भने ४० भन्दा बढी शाखा रहेको यस संस्थालाई सँगसँगै हिँडाउनु र शिखरमा राखेर टिकाउनु अरु चुनौतीपूर्ण छ । संस्थाले चौतर्फी रूपमा काम गरिरहेको छ कार्यक्रमलाई निरन्तरता दिन धेरै गाह्रो छ जो संस्थाले सहजै गरिरहेको छ यो सामान्य कुरा होइन । सम्पूर्णको एकताले जस्तोसुकै कार्य पनि सफल पार्न सकिन्छ, सबैको मन मिल्नुपर्छ  । संस्थामा राजनीतिको गन्ध आउनु हुँदैन, यसले मनमुटाव सिर्जना हुन्छ ।

गोमविक्रम :- नेपाली साहित्यलाई साहित्यिक चौतारी नेपाल मार्फत् विश्व साहित्यको बजारसम्म पुर्याउन के गर्न सकिएला ?

शर्मिला सापकोटा :- हाम्रा शाखा देश विदेशमा स्थापना भएका छन् । विदेशमै जन्मेर उतै हुर्किएका नेपाली बालबालिकाहरू नेपालीपन नेपाली मन भए पनि भाषा सजिलै बुझ्न सक्दैनन् । यस्तो अवस्थामा साहित्य सिर्जनालाई विभिन्न भाषामा अनुवाद गर्न सकियो भने अन्य देशमा पनि नेपाली साहित्यको चर्चा हुन सक्छ । विदेशीहरू पनि नेपाली साहित्यमा रुचि राख्न, पढ्न सक्छन् कि ? कतिपय विदेशी पुस्तक नेपाली अनुवाद भएका हामीले रुचिका साथ पढिरहेका पनि छौँ । 

गोमविक्रम :- अन्य संस्थाभन्दा कुन कुराले साहित्यिक चौतारी नेपाल फरक छ ? वा बनाउन सकिन्छ ? 

शर्मिला सापकोटा :- अन्यभन्दा साहित्यिक चौतारी नेपाल बिल्कुलै फरक छ । अनि बिशुद्ध साहित्यिक सेवा मात्रै नभएर सामाजिक सेवामा समर्पित संस्था हो यसले भूकम्पको समयमा होस या अन्य बाढी पहिरो दैवी प्रकोप अनि असह्य बिरामीहरूलाई  भौतिक रूपमा पनि र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक सहयोग गरिरहेको छ  ।

गोमविक्रम :- साहित्यिक चौतारी नेपाललाई सघाउन मिडियाको भूमिका कस्तो देख्नुहुन्छ ? 

शर्मिला सापकोटा :- एकदमै महत्त्वपूर्ण भूमिका मिडियाको रहेको छ । अहिलेको डिजिटल प्रविधिको युगमा भौतिक रूपमा उपस्थित हुन नसक्ने अवस्थामा पनि मिडिया मार्फत कार्यक्रमबारे पढ्न, सुन्न र हेर्न सकिन्छ । सा. चौ. ने. लाई पनि विभिन्न मिडियाले सहयोग गरिरहेका छन् । कार्यक्रमको पत्राचार कार्यक्रम सम्पन्नका समाचारदेखि लिएर विभिन्न अन्तर्वार्ता कार्यक्रम प्रसारण गरिरहेका छन् ।

गोमविक्रम :- यस संस्थामा राम्रो योगदान दिएको व्यक्तित्व कसलाई कसरी सम्झिनु हुन्छ ?

शर्मिला सापकोटा :- म साहित्यिक चौतारी नेपाल गण्डकी प्रदेशको एक कार्यकाल सदस्य र सचिवको दोस्रो कार्यकालमा अनि केन्द्रको पहिलो कार्यकालमा छु । म आएदेखि नै अध्यक्षको भूमिकामा आदरणीय गीता भण्डारीज्यूलाई पाइरहेको छु । उहाँ एक सशक्त नारी श्रष्टा हुनुहुन्छ एक गृहिणी हुनुहुन्छ समाजसेवी अनि पत्रकार पनि हुनुहुन्छ । एउटी महिलालाई घरकै काम भ्याइनभ्याई भएको महशुस हुन्छ । यति धेरै संस्थाको बागडोर कसरी सम्हाल्न सक्नुहुन्छ ? यसमा उहाँको ठूलो योगदान छ । उहाँ महान् नारी हुनुहुन्छ । साहित्यिक चौतारी नेपालमा आवद्ध स्रष्टाहरूका कृति आफ्नो  वार्षिकोत्सव समारोहमा नि-शुल्क विमोचन गर्नु पनि अत्यन्तै सराहनीय कार्य रहेको छ ।

गोमविक्रम :- आफ्नो तर्फबाट संस्थालाई के सन्देश दिन चाहनुहुन्छ ? 

शर्मिला सापकोटा :- साहित्यका विभिन्न संस्थामा आवद्ध हुँदै गर्दा प्रदेश हुँदै अहिले केन्द्रसम्म पुग्न सफल भएकी छु । केन्द्रसम्म पुर्याउन पहल गर्नु हुने आदरणीय व्यक्तित्वहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दै यहाँसम्म आउँदा धेरै आत्मीयता अनि सिक्ने अवसर पाएकी छु । यस्तै आत्मीयताको सधैँ अपेक्षा गर्दै चौतारी सबैको छानो बन्न सकोस् चौतर्फी सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु । 

  धन्यवाद !! 

साहित्यिक चौतारी नेपालसँग सम्बन्धित उहाँका संकलित ‌केही तस्बिर झलकहरू 

att.OS8GOf7HJcWVhG--64ViroL6-35wwMCRZRR4vEXxCRc.jpeg

 

att.vAMaFpOX444cQ5zm4aufaTXndNBmds60uERCYjbezQM.jpeg

 

att.ONm9zEZDP9nG8jT6z-sqJ1QdOlyBUIc1dn951HWHM6o.jpeg

 

att.P1G_JuFlJjxzEi6gbDa2z4FQXSEWaR7nSrlAGGi59qg.jpeg

 

att.z1ji2JteGUkUaAR4cNlsiMMmQ0YFpMd7iugUQxRkFTI.jpeg

 

att.dhNmoiDHirf_9L0bVwj2zzAoZeJss4ymlKQj2n7lF0I.jpeg

 

 

att.R7Qz0nMqQguwbayS7pGG0ogMLtyXcEw50FCuYslRYB0.jpeg

 

att.9XvdpbOl63xYekynDG90dfX_4GQT0CiOTruR_DnTlmg.jpeg

 

att._XOfSWJS7sJFr1nKdkzECEsgAwplKVDZyyEzRTHXErU.jpeg

 

images
प्रकाशित मिति :आश्विन १३, २०८२ सोमवार - १८:३९:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend