यमलाल बिछ्यौनामा पल्टेर दलिनतिर एकोहोरो हेरिरहन्छन् । आफू सुतेको कोठाका भित्ता, झ्याल, ढोका तथा त्यस घरका अंशअंशमा आफ्ना रगतपसिनाको सम्बन्ध जोडिएको महसुस हुन्छ । बूढीलाई गुमाएको पनि बाह्र वर्ष पुगिसकेको थियो । दिनमा पचास चोटी पुकार गर्दा पनि कालले उनको वेदना सुनेको थिएन । उनलाई एक घडी बाँच्ने इच्छा नभएर पनि अकालमा ज्यान फाल्न भने सक्दैनन् । उनको सबै पल वेदना र छटपटीमा बितिरहेको हुन्थ्यो । साठी वर्षकै उमेरमा उपचार नपाएर यो संसारबाट बिदा भएकी श्रीमतीलाई बरू उनी भाग्यमानी सम्झन्थे र भन्थे– “ ऊ त मेरै काखमा गई । आफूले सके जति सुसार पनि गरेँ । बूढाबूढी सँगै बसेर रून्थ्यौं । कहिले विवश हाँसो हाँस्थ्यौं । अहिले जस्तो दिनरात एक्लै बस्नु त पर्थेन । ”
हुन पनि उनलाई करक्क माया गर्ने धर्तीमा एकजना मान्छे थिएन । संसार उछिनापाछिना गर्दै धन कमाउने रिले दौडमा मस्त र व्यस्त थियो । कसका दुःख बुझ्ने कसलाई फूर्सद छ र ? जसरी भए पनि चार पैसा जोड्नु थियो । अर्कोभन्दा धनी बन्नु थियो । आफूलाई यस धर्तीमा कसले ल्यायो । कहाँबाट कसरी यो ठाउँमा पुगियो । हातखुट्टा कसले लगाइदियो । आँखा कसले खोलिदियो । त्यो अवस्थामा ल्याइपुर्याउन बाबुआमाले केकस्ता परिस्थितिको सामना गर्नुपर्यो ? केकस्ता अवस्था गुजारे । उनीहरूकाप्रति पनि आफ्नो केही दायित्त्व हो कि भन्नेतर्फ चेष्टा गर्ने सन्तान विरलै देखिन्छन् ।
पुरानो फुसको छानो भएको एकतले घरलाई यो अवस्थासम्म ल्याइपुर्याउन यमलालका बूढाबूढीले जिउमुँढ धसेर मात्र सम्भव भएको थियो । दिनको भोक र रातको निन्द्रासम्म बिर्सेर उनीहरूले मरिमेटी गर्दथे । पँधेरो टाढा भएकाले छोराछोरी सुताएर रातीमा पानी पुर्याउँथे । कुटपिस पनि सबै रातीमै गर्थे । प्रायः घरभित्रका काम सबै रातमा नै हुन्थे । सम्पत्तिका नाममा एकहलको मेलो पुग्ने बारी र चार रोपनी कुलो नलाग्ने टारी खेत थियो । यो जमिनमा सम्भव हुनेसम्मका खेतीबाली लगाएर पाँच जनाको परिवार धान्दै आएका थिए ।
यमलालले जीवनमा सानो सङ्घर्ष गरेनन् । उनकी सहधर्मिणी पनि हरेक सुखदुःखमा साथ दिने खालकी थिइन् । जिउमुँढ धसेर खान पुग्ने जमिन भए पनि नगद पैसा आउने कुनै सजिलो बाटो थिएन । दिनरात माटोसँग भिडेर राम्रो उब्जनी गरी आफूले खाएर बचेखुचेको अन्न, गेडागुडी, तोरी, फलफूल, चुक, बेसार, बाख्रापाठा, भैंसी बेचेर दैननदिनका समस्या टार्थे । दिनभर घरबाहिरको काममा दुःख गरेर साँझको खाना खाइवरी उनीहरू ढिकीजाँतोमा बस्थे । जाँतो पिस्नु त उनीहरूको थकाइ मेट्ने मेलो जस्तो हुन्थ्यो । पँधेरो टाढा भएकाले एक खेप पानी ल्याउन पनि एक घण्टा लाग्थ्यो । गोठमा भैंसी, गाई, बाख्रा आफ्ना बुताले भ्याउनेभन्दा बढी नै पाल्ने गर्थे । वस्तु धेरै पाल्दा एकातिर खेतबारीमा मल धेरै पर्थ्यो र खेतीबाली राम्रो हुन्थ्यो भने अर्कातर्फ भैंसीबाट दूध, घीउ, बाख्राबाट खसीबोका बेचेर आयआर्जन गर्न पाउँथे । वर्षेनी एउटा थोरे भैंसी लैनो बनाएर बेच्थे । जसबाट भएको आम्दानीबाट घरखर्च चलाउने र बालबच्चा पढाउने गर्जो टार्थे ।
उनीहरू आफूले मुटु फुट्ने गरी दुःख गर्थे । सन्तानको भविष्य सुखद होस् भन्ने चाहन्थे । हामीले जस्तो ढुङ्गामाटामा लडीबुडी खेलेर मात्र हाम्रा सन्तानले खानु नपरोस् भनेर सकिनसकी पढाउन कस्सिएका थिए । ठुलो छोरा विष्णुले एस.एल.सी उत्तीर्ण गरेपछि आफैले पढेको स्कुलमा निजी स्रोतको जागिर पायो । यमलालको दुःख र परिश्रम देखेर नै स्कुल व्यवस्थापन समितिले विष्णुलाई स्कुलमा नियुक्ति दिने निर्णय गरेको थियो । खेतीपाती र डिँगाबाच्छाबाट हुने आम्दनाीमा निर्भर भएर सम्पूर्ण घरव्यवहार चलाउनुुपर्दा यमलाललाई खर्च धान्न धौधौ पर्दथ्यो । हरेक कठिन परिस्थितिमा साथ दिने श्रीमती र मितव्ययी छोरा भएका कारण दुःखसुख गरेर पनि उनको घर येनकेन चलिरहेको हुन्थ्यो । यस्तै अवस्थामा छोराको जागिरबाट केही नगद आउने बाटो बनेपछि उनलाई धेरै राहत महसुस भयो ।
यमलाल असाध्यै इमान्दार व्यक्ति थिए । यसर्थ उनले आफ्ना तीनै भाइ छोराहरूलाई पनि जस्तै सङ्कट र आपतविपदमा पनि इमानको बाटो छोड्न नहुने सल्लाह दिन्थे । 'ऋण लागे कमाएर तिर्न सकिन्छ तर एकपटक गुमेको इमान र इज्जत कहिल्यै फर्काउन सकिन्न' भन्ने कुरामा उनी दृढ थिए । उनी भन्थे – “हेर बाबु हो ! मैले तिमीहरूलाई सम्पत्ति कमाएर सुखसुविधमा हुर्काउन नसके पनि इमानजमान गुमाएको छैन । गाउँका हुनेखानेले पनि मलाई ऋण पत्याउँछन् । विश्वासभन्दा ठूलो सम्पत्ति अरू केही छैन । अहिलेदेखि नै जागिरमा अल्झिनुभन्दा विष्णुले पनि सहर गएर राम्रोसँग पढ् । ऋण लागे पनि कमाएर तिरौंला । हाम्रा हातखुट्टा बलिया छँदासम्म तिमीहरूले केही फिक्री लिनुपर्दैन ।” तर घरको अवस्था देखेको र बुझेको विष्णुले जागिर खाएर पनि आफूले परिश्रमपूर्वक पढ्ने र प्राइभेट स्तरबाटै उच्च शिक्षा हासिल गर्ने आश्वासन बाबुआमालाई दिएको थियो ।
ठुलो छोराको स्कुलको पढाइ त घरै बसीबसी सकियो । क्याम्पस पढ्न जिल्लै छोडेर हिँड्नुपर्ने भएकाले यमलाललाई खर्च जुटाउन गाह्रै थियो । आफूले कुटो, कोदालो चलाएर जिन्दगीभर माटोमा खुरी खेलेर बिताए पनि उनले सन्तानलाई कलम समाएर जिवीका गर्ने बनाउँछु भन्ने लक्ष्य राखेका थिए । उनीहरूको रातदिनको सपना र जपना नै त्यही थियो । आफ्ना सम्पूर्ण सुखसुविधा बिर्सेर त्यसैमा लम्पट थिए । मीठोचोखो खाने भन्ने मेलापर्वमा मात्र हुन्थ्यो । घरखर्च चलाएर कसरी अलिकति बचाउने र बेचेर दुईपैसा हात पार्ने भन्ने मात्र ध्येय हुन्थ्यो । उनीहरूले सकीनसकी छोराहरूलाई पढ्ने वातावरण मिलाइदिएका थिए ।
उनले गाउँका मुखिया, जिम्मुवालका छोराले पढेर सुख पाएको देखेका थिए । एकातिर छोराले सुखपूर्वक जीवन बिताउने अर्कातिर बुढेसकालमा आफूले पनि सन्तोषपूर्वक मीठोमसिनो खान पाउने आकाङ्क्षा पनि राखेका थिए । बाबुआमाले रातदिन रगत पसिना बगाएको देखेर नै विष्णुले पनि काम गर्दै पढ्दै गर्छु भनेको थियो । निजी स्रोतको थोरै तलबमा काम गर्दै आएका शिक्षकहरूलाई दरबन्दी आएपछि प्राथमिकता दिने भएकाले नै विष्णुले त्यस स्कुलमा पढाउन थालेको थियो । उसले प्राइभेट स्तरबाटै पनि उच्च शिक्षा अध्ययन गर्न सकिन्छ भनेर बाबुआमालाई आश्वास्त पारेको थियो ।
विष्णुले प्राइभेटबाट पनि गणित विषय लिएर आई. ए. उत्तीर्ण गर्यो । बाबुआमा परिश्रमी भएकाले सबै छोराछोरी परिश्रम गर्न पछाडि पर्दैनथे । बिहान र साँझ घरको काम सघाउँथे काम छोडेका बेला पढ्नै बसेका हुन्थे । कि पढ्नु कि त कामै गर्नु भन्ने बाबुको सिद्धान्तलाई पालना गर्थे । माहिलो शिव र कान्छो कृष्ण पनि पढाइमा तेज थिए । दाजु कलेजै नगई त त्यसरी पढ्नुभएको छ । हामीले यस्तो मौका पाउँदा पनि पढेनौ भने त बेइज्जत नै हुन्छ नि भनेर साथीभाइहरूसँग कुरा गर्थे । जसरी पनि बाबुआमाको सपना पूरा गर्नुपर्छ भन्ने कुरामा एकमत थिए ।
यमलालका तीनै भाइ छोरा उत्तिकै अनुशासित र लगनशील थिए । समयको महत्त्व बुझेर आ–आफ्ना उद्देश्यमा लागिरहन्थे । घरको काममा बाबुआालाई उत्तिकै सघाउँथे । ठुलो छोराले स्कुलमा नि.मा.वि.को दरबन्दी पाएपछि आर्थिक रूपमा पनि त्यो परिवार अलि सबल भयो । माहिलो कान्छो छोरा पनि एस.एल.सी उत्तीर्ण गरी उच्च शिक्षा हासिल गर्न भनी सहर गए । दाजुले कमाउने र भाइहरूले पढ्ने गरून्जेल त यमलाललाई अलि सहज भएको थियो । विष्णु विवाह गरेको वर्ष दिन नहुँदै छुट्टिएपछि मनमा अलिकति ठेस लाग्यो ।
क्याम्पस पढ्न गएका शिव र कृष्णलाई पनि अब केही काम खोज्नुपर्छ कि बुवाले दुईदुई जनालाई खर्च कसरी पठाउने ? भन्ने लाग्यो । शिवले आई. ए. उत्तीर्ण गरेपछि एउटा किराना गल्लाको होलसेल पसलमा काम गर्दै बी.ए.पढ्न थाल्यो । भाइ कृष्णलाई तिमीले काम गर्नुपर्दैन । राम्रोसँग पढे हुन्छ भन्ने सल्लाह दियो ।
माहिलोले व्यवस्थापन विषय लिएर पढेको हुँदा लोकसेवा आयोगको तयारी पनि गर्न थाल्यो । आफूले दुःख गरेर पनि भाइलाई पढ्ने वातावरण मिलाइदिएको थियो । कान्छोको मुख्य विषय अङ्ग्रेजी थियो । उसले पनि सधै दाजुलाई मात्र कति दुःख दिने अब केही काम गर्नुपर्छ भनी कामको तलासमा थियो । यसै क्रममा उसले एउटा बोर्डिङ् स्कुलमा पढाउने काम पाइहाल्यो । दुवै दाजुभाइले काम गरेर पढ्न थालेपछि बाबुआमालाई पैसा पठाउने टन्टै भएन । बरू उनीहरूले नै सहरबाट बाबुआमालाई लत्ताकपडा र अन्य सामग्री पठाइदिन्थे ।
यमलालका बुढाबुढीले छोराहरू अब गरी खाने भए भनेर सन्तोषको सास फेर्न पाएका थिए । आफूहरूका दुःखका दिन सकिँदै छन् भन्ने कुरामा ढुक्क थिए । जेठो छुिृट्टएर बसे पनि कान्छो र माहिलोले राम्रो गरेका हुँदा बुढाबुढी उनीहरूमाथि आश्रित थिए । उनीहरूलाई खर्च पठाउन नपरेको हुँदा डिँगाबाच्छा पनि केही घटाएका थिए । यसर्थ कामको लोड पनि केही कम भएको थियो ।
यस्तैमा एक दिन यमलालका माहिला छोराले त नेवार्नी केटी विवाह गर्यो रे भन्ने गाउँभरि हल्ला चल्यो । गाउँमा सबैलाई थाहा भइसक्दा पनि यमलालका बुढाबूढीले थाहा पाएनन् । एकदिन उपल्लारे कान्छीले तिम्रा विद्वान् छोराले त नेवार्नी विवाह गरेर ठुलै उपति गरेछ नि भनेर सुनाई । यमलालले छोरा शिवलाई फोन गरेर सोधे । उसले भन्यो –“हो बुवा सुप्रभा मैले काम गर्ने साहु निरञ्जन श्रेष्ठकी छोरी हुन् । मैले अन्तर्जातीय विवाह गरें बुवा । उनी असाध्यै व्यवहारिक र असल छन् । धनी बाबुकी छोरी भए पनि कत्ति पनि मातेकी छैनन् । हजुरहरूलाई राम्रो सेवा गर्छिन् । गाउँलेका कुरा सुनेर छोराले गल्ती गर्यो भनी चित्त नदुखानुहोस् । छोराबुहारीले हाम्रो सेवा गर्छन् भन्ने कुरामा ढुक्क भएर बस्नुहोस् ।”
माहिलो छोराका कुरा सुनेर बुढाबुढी छाँगाबाट खसेजस्तै भए । छोराले आफूहरूलाई जिउँदै मारेको आभाष भयो । विवाह जस्तो कुरामा त्यति गम्भीर निर्णय गर्दा पनि एकपटक नसोध्दा उनीहरूको मन असाध्यै कुँडियो । सास बन्द होला जस्तो भयो । उडायो सपना सबै हुरीले भन्ने गीत धेरै बेरसम्म उनीहरूको कानमा गुञ्जिरह्यो । आफ्ना सपना छोराहरूबाट क्रमशः तुहिँदै थिए । अब उनीहरूको भरोसाको आधार एउटा कान्छो छोरो मात्र थियो ।
जेठो पहिल्यै छुट्टिएर बस्यो । माहिलोले साहुकी छोरी विवाह गरेकाले अब गाउँ नफर्कने निश्चित भयो । कान्छो छोरो पनि बजारतिरै भास्सिएला भन्ने डर भएपछि यमलालले कान्छोको विवाह पनि बेलैमा गरिदने विचार गरे । उसलाई तेरो पनि विवाह गर्नुपर्यो घर आइज भनी बोलाए । बाबुको आज्ञा बमोजिम कृष्ण घर आयो । पल्लो गाउँका काशिराम पाण्डेकी छोरी नम्रतासँग उसको विवाह भयो । केटीले पनि आई.ए. सम्म पढेकी रहिछ । अब यमलाल दम्पत्तिका आशा र भरोसाका आधार यिनै कान्छा छोरा र बुहारी मात्र रहे ।
विवाह भएको केही महिनापछि नेपालमा भनेजस्तो जागिर पाइने अवस्था छैन बुवा त्यसैले जापानको लागि स्टुडेन्ट भिसामा कोसिस गरेको छु भन्ने कुरा गर्यो । अब तँ पनि हामीलाई छोडेर जाने भइस् । बुढाले नेपालमा पनि त केही गर्न सकिन्छ भन्ने कुरा गरे । नेपालमा बसेर पेटभरि भात पनि खान पाइँदैन । मिलेसम्म कोसिस गरौं नमिले यतै केही गर्छु भनी बाबुलाई टालटुल पार्यो । बाबुसँग कुरा गरेको दुई महिनामा जापानका लागि कृष्णको भिसा आयो ।
उसले भन्यो । बुवा म जापान गएर केही वर्षमै काठमाडौंमा घर बनाउँछु । बुहारी जापान गए पनि हजुरहरूलाई काठमाडौंमै लगेर राख्छु । केही चिन्ता नलिनुहोला । कृष्ण जापान गयो ।
आफू गएको छ महिनामा श्रीमतीलाई पनि जापान बोलायो । घरमा बुढाबुढीलाई छोडेर बुहारी पनि गई । सुरुसुरुमा त कृष्णले बाबुआमालाई दुःख नगनुर्, स्वास्थ्यको ख्याल गर्नु, चाहिएका पैसा हामी पठाउँछौं भनी फोन गरिरहन्थ्यो । जतिजति दिन बित्दै गए त्यतित्यति टेलिफोन आउने क्रम पनि पातलिँदै गयो । आक्कलझुक्कल मात्र फोन गर्थे । जापान गएको दुई वर्षमा काठमाडौंमा घडेरी किनेको हल्ला आयो । तर बाबुआमालाई जानकारीसम्म दिएनन् । पहिलो वर्ष नेपाली पन्ध्र हजार पठाइदिएपछि फेरि पैसा पनि पठाएनन् । पैसा पठा न बाबु भन्दा स्टुडेन्ट भिसामा आउनेलाई त यही कमाउ यहीँ पोख ठिक्क हुँदो रहेछ बुवा अर्को महिना पठाऊँला है भनेर टार्दथ्यो ।
समय बित्दै गएको थियो । यमलालका बुढाबुढी सन्तानै नभएका मान्छे जस्तै भए । जेठो छोरो गाउँमै भएकाले कहिलेकाँही भेट्नसम्म आउँथ्यो तर केही समस्या छ कि भनेर सोध्दैनथ्यो । माहिलो विवाह गरेपछि गाउँ नै फर्केको थिएन । कान्छोले पनि यदाकदा फोन गर्थ्यो अरू केही पठाउँदैनथ्यो ।
यस्तै स्थितिमा यमलालकी श्रीमती एकाएक बिरामी भइन् । उनीहरू वृद्ध भएकाले पहिले जस्तो दुःख गर्न पनि सक्दैनथे । एउटो भैंसी र बाख्रो मात्र पालेका थिए । भैंसी पनि बाँठे बसेकाले घरमा एक मुठी दुधसम्म थिएन । बारीमा मल नपरेकाले खेती पनि पहिले जस्तो राम्रो हुँदैनथ्यो । घरमा विक्री गर्ने कुनै वस्तु थिएन । दुईचार पैसा देख्न पनि दुर्लभ थियो ।
यमलालकी श्रीमती रातदिन पेट दुख्यो भनेर अमारिन्थन् । गाउँका काठेपाते औषधि खान केही बाँकी राखेका थिएनन् । कुनै औषधिले पनि व्यथा बिसको उन्नाइस हुँदैनथ्यो । गाउँको स्वास्थ्यचौकीले दिएका औषधि, त्रिफला, लवडभास्कर चूर्ण र अविपत्तिकर चूर्ण जे खाए पनि उनलाई अलिकति पनि बिसेक भएन । सहरका राम्रा अस्पतालमा लगेर उपचार नगरेसम्म सञ्चो नहुने छाँट देखिएको थियो ।
बूढीको अवस्थाले यमलाललाई बेचैन बनायो । आफैले सहर लिएर जान बाटाखर्च बाहेक उनीसँग पैसा थिएन । दुःखसुख गरी छोरा पढाएका हुँदा बूढीका जिउमा आधा तोला सुन पनि थिएन । सुन जोडेको भए बेचेर उपचार गर्न सकिन्थ्यो । बैङ्कको खाता र बैङ्क व्यालेन्स भन्ने थाहासम्म थिएन । ऊ बेला छोरा पढाएपछि हामीलाई केही चाहिँदैन भन्ने भयो । अहिले छोरा अर्कैका मुट्ठीमा छन् । बाबुआमाको नजिक बस्नसम्म रूचाउँदैनन् । श्रीमतीका अगाडि बसेर बाबुआमालाई फोनमा सञ्चोविसञ्चो सोध्नसम्म डराउँछन् । बाबुआमालाई सानो कुरा दिनुपरे पनि उनैको अनुमतिविना दिन सक्दैनन् । कस्तो परिस्थितिमा आएर फसियो भन्दै आफ्नै भाग्यलाई धिक्कारे ।
भोक लाग्दा पनि पटुका कँसेर दुःख गरिन् । सुत्केरीमा पनि स्याहारसुसार र आराम पाइनन् । यसर्थ यमललालकी श्रीमती उमेरैमा अत्यन्तै जीर्ण भइन् । छोरा र बुढालाई खाना खुवाउन पाए आफूलाई पनि चाहिन्छ भन्ने उनको कहिल्यै ध्यान हुँदैनथ्यो । जिउमा उमेर र बल छउन्जेल त उनले भोकभोकै पनि धेरै दुःख गरिन् । अहिले उमेर घर्केको र रोगले पनि डसेको हुँदा साठी वर्षमै असी वर्षकी रोगी जस्ती देखिन्थिन् । घीउ, दुध खान होउन्जेल मानो भर्न पाए एउटा गर्जो टर्छ भन्नेतिरै उनको ध्यान हुन्थ्यो । दुई पैसा कसरी जुटाउने र छोरालाई आँखा देखाएर सुखी बनाउने भन्ने सुर मात्र रहन्थ्यो । तर अहिले बिरामी हुँदा आफ्नै हाटोबाटो अड्कियो ।
आमा धेरै विरामी भई राम्रो अस्पतालमा लगेर उपचार गर्नुपर्यो भनेर यमलालले पटकपटक छोराहरूलाई सुनाए । नजिकै छुट्टिएर बसेकी जेठी बुहारीसँग पनि रोइकल्लाइ गरे । कान्छोसँग बसेपछि उसैले उपचार गर्नुपर्छ भन्ने जिकिर जेठो छोराको थियो । उसले गाउँमा शिक्षकको जागिर खाएर आफ्नै खर्च पनि धान्न नसकेको कुरा बाबुआमालाई सुनायो । माहिलो छोरो विवाह गरेपछि गाउँ नै फर्केको थिएन । उनीहरूले घर आइज भनेर बोलाएका पनि थिएनन् । बाबुआमालाई फोनसम्पर्क गर्न समेत छोडेको थियो । आफूसँग बसेका छोराबुहारी जापानमा थिए । कान्छो छोरासँग आमाको उपचार गर्न पैसा पठाइदे भन्दा स्टुडेन्ट भिसामा जापान आउनेको कमाइ नै नहुने रहेछ । यहीँ कमाउ कलेजको शुल्क बुझाउ ठिक्क भएको छ । मसँग त्यहाँ पठाउन पैसै छैन । उसले बरु तपाईंहरूका नामको जग्गा छ नि त्यही बेचेर उपचार गर्न कसो होला बुवा भन्ने कुरा पो गर्यो ।
अहिले सारा मान्छे गाउँ छोडेर सहर पसिरहेका छन् । गाउँमा बस्ने हो । परिश्रम गरेर खाने हो भन्ने कसैलाई छैन । पुगोस् नपुगोस् सबैलाई सहरमा बस्नुपरेको छ । लाहुरेका श्रीमती पनि लोग्ने बाकसमा आउँछ कि, अङ्गभङ्ग भएर आउँछ केही निधो हुँदैन छोराछोरी पढाउने बहानामा सहरमै बस्नुपरेको छ । गाउँमा दुःख गर्न नसक्ने बुढाबुढी मात्र छन् । यस्तो स्थितिमा त्यो बारीको कान्लो कसले किन्छ र बेचू बाबु भनेर बुढा फोनमै भक्कानिएर रोए । बाबुको गला अवरुद्ध भएर बोल्न नसकेपछि बल्ल दाइको खातामा पच्चीस हजार राखिदिन्छु आमालाई अस्पताल लगेर देखाउनुहोस् भन्ने कुरा कान्छोले गर्यो ।
जेठो छोरा विष्णुका साथमा यमलालले बूढीलाई लिएर उपचार गर्न सहर गए । उनलाई चेक जाँच गर्दा आन्द्रामा अल्सर भएको पत्ता लाग्यो । तत्काल उपचार गरे राम्रो हुन सक्ने सम्भावनाका कुरा डाक्टरले गर्यो । अवस्था जटिल भइसकेकाले औषधिले सञ्चो नहुने, अपरेसन गर्नुपर्ने कुरा बतायोे । उनीहरूसँग भएको पैसा सक्किइसकेको थियो । अपरेसनको लागि पैसाको फेरि व्यवस्था गर्नुपर्ने भयो । डाक्टरसँग घर गएर पैसाको व्यवस्था गरेर तुरून्तै आउँछौ भनी गाउँ फर्किए ।
डाक्टरको कुराले बुढीको अवस्था जटिल भइसकेको बुझेपछि यमलाल धेरै चिन्तित भए । आमाको अपरेसन जतिसक्दो छिटो गर्नुपर्छ भनी छोराहरूलाई सुनाए । जापान फोन गरेर छिटो पैसा पठाइदिन आग्रह गरे । तर आमा बिरामी हुँदा जेजति वेदना छोराहरूमा हुनुपर्थ्यो त्यो पटक्कै देखिएन । यस्तो अवस्थामा उनले अतीत यसरी सम्झे –“आमाले आफू भोकै बसेर यिनीहरूलाई खुवाई । काम गर्दा मेलामेलामा सँगै लगेर हुर्काई । पानीका गाग्रीमाथि र घाँसका भारीमाथि छोरा राखेर हिँडी । जसले मिठोचोखो खान दिए पनि आफ्नो मुख बाँधेर तिनैलाई खुवाई । ती बिरामी हुँदा एकपटक आँखा नलगाई रातभरि चिन्तित भएर बसी । आफू खाली खुट्टा हिँडेर पनि उनीहरूलाई सुखसुविधा जुटाइदिने प्रयत्न गरी । सानो सम्पत्तिमा पनि विशाल मन बनाएर उनीहरूको पढाइलेखाइमा दत्तचित्त भई तर त्यही आमा गम्भीर विरामी हुँदा भने छोरा ………..।”
विडम्बना तिनै छोरा आज आमा बिरामी भएर जीवनमरणको दोसाँधमा हुँदा पनि कत्ति पनि संवेदनशील भएनन् । आज उनीहरूलाई आमाभन्दा पैसा बढी प्यारो छ । बाबुआमा मरे पनि अब उनीहरूलाई फरक पर्दैन । किनकि उनीहरूको डेट स्कस्पाएर भइसकेको छ । मरेर गए पनि फरक नपर्ने बाबुआमाका निम्ति चार पैसा खर्च गर्नु पनि बेकार लाग्ने भएछ । बुढेसकालमा माया गर्दैनन्, रोग लाग्दा उपचार गर्न खोज्दैनन् भने यी सन्तान हुनु र नहुनुमा के अन्तर रह्यो । बरू सन्तानै नभएका भए जोरीपारी हाँस्ने त थिएनन् । यिनका सन्तानले कस्तो संस्कार सिकेर यिनलाई सुखसन्तोष देलान् ? अहिले तिघ्रामा बल छ, । तुजुक भएसम्मका त हुन् यिनका फूर्ति । सधै यस्तै ठम्ठम्ती बलिया त यिनीहरू पनि रहने होइनन् होला । कति सोच्न नसकेका । छोराछोरीकै अगाडि हामीलाई हेला गर्दा के सोच्दा हुन् ती केटाकेटी पनि । भोलिबिहान हामी जस्तै असक्त भएपछि बल्ल थाहा पाउलान् । छोराछोरीले माया नगर्दा कति मन दुख्छ भन्ने कुरा भन्दै यमलाल एक्लै मनमनै भुतभुताइरहे ।
अपरेसनको तयारीकै क्रममा चार महिना बित्यो । छिमेकी दाजुभाइ भित्रको एक जना भाइ पर्नेले यमलालको जिउनी अंश किनिदिने कुरा गर्यो । उसले गाउँको पाखो बारी, मलाई पनि त्यति चाहिएको त होइन तपाईंलाई उपचार गर्नै अप्ठ्यारो परेकाले खाइदिन्छु भनी आयो । यमलालले तिम्रै मुखको मोलमा खाऊ मैले मूल्य गर्दिन भनेपछि उसले एक लाख पन्ध्रहजार दिने कुरा गर्यो । यमलालले बुढीको अपरेसन गरेर गाउँ फर्केपछि जग्गा पास गरिदिने सर्तमा पैसा बुझे ।
यमलालले ठुलो छोरोलाई बोलाएर आमाको उपचारका निम्ति स्कुलमा विदा लिन आग्रह गरे । परीक्षाको बेलामा बिदा पनि पाइने हो कि होइन । परीक्षा सकिएपछि जाऊँला भनेर उम्कन खोज्यो । उतिबेलै गनुपर्ने अपरेसन पाँच महिना हुन लाग्यो अब बेर गर्नुहुँदैन जसरी नि बिदा मिला भनेपछि मात्र उसले स्कुलमा बिदा लियो । उनीहरू बिरामी लिएर फेरि सहर गए । पहिलेकै अस्पतालमा गई उही डाक्टरलाई भेटेर पुरानो रिपोर्ट देखाए । अल्सरको बिरामीलाई यतिका दिनपछि मात्र ल्याउने ! यस्तो के गरेको । समयमै ल्यााउनु पर्दैन ? भनेर डाक्टरले उनीहरूलाई साफसँग झपार्यो । विभिन्न कठिनाईले आउन ढिला हुन गयो भनेर बुढाले डाक्टरसँग दुखेसो पोखे । घरको तीतो र वास्तविक कुरा भने गरेनन् ।
डाक्टरले फेरि बिरामीको चेकजाँच गर्यो । तुरून्त अपरेसन गर्ने भएपछि डाक्टरले औषधि पनि दिएको थिएन । पाँचपाँच महिनासम्म अल्सरको बिरामीले उपचार नपाउँदा क्यान्सर तेस्रो स्टेजमा पुगिसकेको रिपोर्ट आयो । क्यान्सर शरीरभरि फैलिइसकेकाले अपरेसन गरे पनि निको नहुने पैसा भने धेरै खर्च हुने कुरा डाक्टरले गरेपछि दुखाइ मात्र कम गर्ने औषधि लिएर यमलाल निराश हुँदै बुढीलाई लिएर गाउँ फर्के ।
बिरामीको अब दिनगन्ती सुरु भइसकेको थियो । आमालाई माया मार्नुपर्दा पनि कसैको चेहरामा उदासी थिएन । मनमा अलिकति पनि पिर परेन । एउटा बुढा बाहेक कसैलाई पनि दुःख लागेन । यमलाललाई भने दिनमा भोक न रातमा निन्द्रा केही पनि थिएन । उनकी सुखदुःखकी सहयात्री अब केही दिनकी पाहुना मात्र थिइन् । उनीहरू निराश भएर बसिरहेका हुन्थे । उनीहरूका ओंठभन्दा पनि आँसुसहितका आँखा एकआपसमा बोलिरहेका देखिन्थे । आफ्ना स्वास्थ्यको पनि कत्ति प्रवाह नगरी सन्तानका लागि मरिमेटेर दुःख गरेका दिन सम्झदा मुटुमा गाँठो पर्थ्यो । घरिघरि भक्कानो छुट्थ्यो । बाबुआमाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गामुढामाथि भन्ने उखान चरितार्थ भएको अनुभूति हुँदै थियो दुवैलाई ।
श्रीमतीका दबदबाले छोरा चुइँक्क बोल्न सक्दैनथे । घरमा सासूससुरालाई हेला गर्ने उनका बुहारीहरूले माइतमा बाबुआमालाई हेला गरिदिए भनेर आफ्ना भाउजूबुहारीलाई सत्तोसराप गर्न भने पछि पर्दैनथे ।
यमलालकी श्रीमतीले दिनप्रतिदिन अन्न निल्न पनि छोड्दै गएकी थिइन् । खाने रूचि पनि मर्दै थियो । एकातिर व्यथाले पेल्दै जाने अर्कोतर्फ खाना पनि नरूच्ने गर्दा उनी दिनप्रतिदिन गल्दै थिइन् । सन्तानबाट अपेक्षाकृत साथ र माया नपाउँदा मन पोलिरहेको थियो । बिरामी बुढीको अवस्था देख्दा यमलालको मन पनि गल्दै र कुँडिँदै थियो । बुढा दह्रै हुनाले बुढीको स्याहारसुसार भने सकेसम्मको गरेका थिए । बुढाले आफ्ना लागि दुःख पाएको देख्दा बुढीले रुँदै भन्थिन् –“मलाई त बुढा तपाईंले स्याहारसुसार गर्नुभयो । म मरेपछि तपाईंले कति दुःख पाउनुहोला । बिरामी हुँदा पानी तताएर खान कसले देला । बाँकी जीवनको गुजारा कसरी गर्नुहोला । एक्लै पिँढीमा बसेर दिन कसरी कटाउनुहोला । हातखुट्टा, जिउ दुख्यो भने कसले थिचिदेला । छोरा पनि असाध्यै अविवेकी भए ।” बुढी घरिघरि बुढाको मुखमा हेरेर भक्कानिन्थिन् । कोठामा बसेर आँसु बगाउनु र विगत सम्झेर विलौना गर्नु उनीहरूका निम्ति दैनिकी जस्तै भएको थियो ।
बिरामी बुढीले रातदिन आफ्नो चिन्ता गरेको देख्दा बुढा अझ दुःखी हुन्थे । उनलाई पनि लाग्थ्यो –“अहिले त व्यथाले गलेकी भए पनि बुढी साथमा छे । अरू गर्न नसके पनि आँसु बगाउन त साथ दिन्छे । यो पनि अस्ताएपछि मनैदेखि माया गर्ने मेरो मान्छे .संसारमै कोही हुने छैन । दुनियाँलाई नाफानोक्सानको मात्र मतलब छ । अरूको त कुरा परै छ आफैले जन्माएका सन्तानलाई पनि बाबुआमामाथि कमाइ वा नाफा चाहिएको छ ।”
घरको धन्दा गर्न सक्दासम्म त उनीहरूबाट नाफै थियो । बुढी बिरामी भएर थला परेपछि बुढाले पनि घरका काम गर्न भ्याएनन् । आमा मर्न लागेको भन्दा कान्छो छोरालाई बारी बाँझिएको पिर थियो । पानी प्यास लाग्ला, अरू केही कष्ट होला भनेर बुढाले बुढीलाई एकछिन पनि छोड्दैनथे ।
एकदिन बिहान यमलालकी बुढीले सधैको निम्ति यो संसार छोडिन् । सकस भएको पनि थाहा पाएनौं भनी वरपरका दाजुभाइ तथा इष्टमित्र पनि दौडेर आए । बुढाले एक्लै तुलसीका मठसम्म पुर्याउन नसक्दा बुढीको प्राण भित्रै गइसकेको थियो । ठुलो छोरो शिक्षक भएकाले स्कुल हिँडिसकेको थियो । आमाको मृत्यु भएको थाहा पाएर दौडेर आयो । माहिलो सहरमा भएकाले छिमेकीले उसलाई पनि आमा बितेको खबर गरे । घरमा घटना घटेको कुरा कान्छोलाई पनि जानकारी गराए । जेठो आएर आमाको शवको छेउमा बसेर चिच्याएर रून लाग्यो –यति छिटो छोडेर जानुभयो । यति छिटै छोडेर जानुहोला भन्ने कल्पनासम्म गरेको थिइन आमा । हामीलाई टुहुरा पारेर जानुभयो भन्दै टाउको ठोकेर रोयो । दुनियाँलाई चर्तिकला देखाउनु थियो देखायो । बाबुआमासँग करेसो जोडिएको घरमा बस्ने जेठाले डाक्टरले मृत्युको घोषणा गरी बिदा दिएर पठाएकी आमालाई सात दिनदेखि भेट्नसम्म आएको थिएन । आमालाई केही खाने इच्छा छ कि भनेर सोधेन । कुनै दिन आमाले खाऊन् भनेर कुनै खानेकुरा र फलफूल बोकेर आएन ।
बुढीको प्राणपखेरू उडेपछि बुढा खिन्न मुद्रामा बसेर टोलाइरहेका थिए । फूलमाला र रामनामीले छोपेर बुढीको शव घाटतिर लगे । बुढाका हातखुट्टा नलागेका हुँदा घाट जान सकेनन् । दाहसंस्कारको काम सम्पन्न भएपछि काजकिरियाको मेलो अगाडि आयो ।
माहिलो छोरो विवाह गरेदेखि गाउँ नै फर्केको थिएन । साह्रै मन दुखेकाले बाबुले उसलाई फोन गरेका थिएनन् । छिमेकीहरूबाट घरका कुरा एकएक थाहा पाएर बसेको थियो । सहरको महाजनकी छोरी विवाह गरेको हुँदा पक्कै पनि उसलाई पैसाको कमी थिएन होला । चारपाँच महिनासम्म आमाको अपरेसन हुन नसक्दा आमाको उपचार मैले गर्छु भनेर घर आउन सकेन । आमा मरेको दोस्रो दिन बुढी लिएर हस्याङफस्याङ गर्दै घर आइपुग्यो । आमा मरिन् भनेर एकछिन कोकोहोलो मच्चाएर रोयो । उसको पनि कपाल खौरीदिए र दाजुसँगै किरियामा बस्यो ।
पाँचौं दिनबाट गरुडपुराण पनि लगाए । आफन्त, दाजुभाइ र इष्टमित्र फलफूल र अन्य खाद्य पदार्थ बोकेर भेट्न आइरहे । बुढीको बिरामी हुनुपूर्वको एउटा दिव्य फोटो माला लगाएर टेबुलमाथि राखिएको थियो । फोटोका छेउमा अगरबत्ती पनि बालिएको थियो । शोकपुस्तिकाको छेउमा टीकाको थाली र केही फूल पनि राखिएको थियो ।
त्यहाँ आएका आफन्त र इष्टमित्रले शोकपुस्तिकाका पाना रङ्गाइरहेका हुन्थे । यमलालकी श्रीमती, विष्णु, शिव र कृष्णकी आमा रामकुमारीको साठी वर्षकै अल्पायुमा असामयिक निधन भएका कारण हामी अत्यन्त मर्माहत तथा स्तब्ध भएका छौं । शोकको यस घडीमा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त समस्त परिवार जनमा गहिरो समवेदना व्यक्त गर्दछौं । यस दःुखद घडीमा परमेश्वरले शोकलाई शक्तिमा बदल्ने र धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्ने कामना गर्दछौं जस्ता आशयका समवेदनाहरू लेखिरहेका थिए । तर त्यो घरमा शोक परेको जस्तो आभाषै थिएन । शोकमा परेका थिए त एकजना यमलाल मात्र । उनले भने अर्धाङ्गिनीलाई गुमाएका हुँदा जिउँदो लाश झैं बनेका थिए ।
किरिया बसेका छोरा, भेट्न वा समवेदना व्यक्त गर्न आएका आफन्त र इष्टमित्र कसैको अनुहारमा पनि मलिनता थिएन । धेरै पछि जुट्न पाइएको भनेर गफमा मस्त थिए । वरपरका छिमेकी महिलाहरू पुराण सुन्दै पात खुट्दै गरिरहेका थिए । मेलापात, घाँसदाउरा, पानीपँधेरो सँगै हिँडेका छिमेकी महिलाले भने बेलैमा उपचार नपाएर विष्णुकी आमालाई छिट्टै मर्नुपर्यो भनेर पिर मानिरहेका थिए ।
पुराण वाचन गरिरहेका पण्डितले धेरै दान दिए मात्र मृतात्मा स्वर्ग जाने अन्यथा प्रेत बनेर घरको वरिपरि घुमिरहने र दुःख दिइरहने कुरा गर्दै थिए । पुराण सुन्ने धेरै जसोलाई पुराणका कुरा सबै साँचा लागिरहेका थिए । उनीहरूलाई बाँचुन्जेल पेटभरि खान नपाए पनि मरेपछि स्वर्ग जान दान त गर्नैपर्दो रहेछ भन्ने लागिरहेको थियो । आफूलाई बहुमूल्य सामान तथा मोटो दक्षिणा हात लागोस् भनेर पुराणमा लेखेका भन्दा अझ धेरै कुरा बढाइचढाइ गरेर पण्डितले पुराण भट्याइरहेका थिए ।
किरियाकाष्टा चलेको सातौं दिनका दिन कान्छो कृष्ण पनि जापानबाट आइपुग्यो । बेलैमा अल्सरको उपचार गरेर आमालाई बचाउने प्रयत्नमा सबै छोरा चुके । दुनियाँका अगाडि आमा मरिन् भनेर चिच्याएर रुन भने एक भाइ पनि चुकेनन् । कान्छो पनि एकछिन चिच्याएर पछि शान्त भयो । सबैका हँसमुख देख्दा घर मान्छे मरेको जस्तो थिएन । त्यहाँको वातावरण वा दृश्य हेर्दा कुनै पूजा वा विवाहको निम्ति मान्छे जुटेर तयारी गर्दैगरेको जस्तो देखिन्थ्यो ।
घरमा विभिन्न किसिमका फलफूल टनाटन थुप्रिएका थिए । कतिलाई तिनै फलफूल पखाल्ने, काट्ने र बाँड्ने काममा खटाइएको थियो । कसैले सर्वत, तातो पानी र चिया बाँडिरहेका थिए । हिजो त्यही घरमा बुढी बिरामी भएर मृत्युशैयामा हुँदा एकदाना फलफूल देख्न मुस्किल भयो । कहिलेकाँही वरपरका इष्टमित्रले घरमै पाकेका केरा, मेवा, जुनार, भूइँकटहर ल्याइदिन्थे । बिरामीले सहरबाट आउने फलफूल देख्नसम्म पाइनन् । अहिले उनकै नाममा घरमा खाइनसक्नु फलफूल जम्मा भइरहेको थियो । उही बुढीका नाममा ओल्लो गाउँ पल्लो गाउँ, सहर, आफन्त, कुटुम्ब सबैतिरबाट फलफूल र अन्य सामग्री बोकेर मान्छे ओइरिइरहेका थिए । छोराहरूका चेहरामा मातृशोकको आभाषै थिएन त्यसैले शोकमा उपस्थित भएका इष्टमित्र, आफन्त, दाजुभाइ कसैको चेहरामा कत्ति पनि मलिनता थिएन ।
बुढालाई ती दिनको याद आइरहेको थियो जुन बेला बुढीले एक गास अन्न निल्न सक्दिनथिन् । उनले चाहेर पनि बुढीलाई फलफूल खुवाउन पाएनन् । बेलैमा सामान्य उपचार पनि गर्न नपाएर बुढी गुमाउनु परेकोमा बुढाको मन अमिलो भएको थियो । आफ्नो हातमा कौडी थिएन । वृद्धभत्ता पाउने उमेरै भएको थिएन । गाउँलेसँग हत्ते देखाएर, सन्तानले माया गरेनन् भनेर तिनीहरूका इज्जत फालिदिन पनि उनीहरूको मनले मान्दैनथ्यो । छोराहरूलाई दुःख परोस् भनेर श्राप दिन पनि सक्दैनथे । असह्य भएका बेला हाम्रा जस्ता सन्तानका आस गर्ने दिन तिनका पनि आउँछन् । छोराछोरीले आफूलाई हेला गर्दा बाबुआमाको मन कति दुखे होला भनेर बल्ल चाल पाउलान् अधर्मीले भनी चित्त बुझाउँथे ।
छोरा साना छँदा आमा छोराहरूले मीठोचोखो खान पाएनन् भनेर रुन्थी । त्यही आमा बिरामी पर्दा छोराले माया गरेनन् । उपचार गरेनन् । के खान्छेस् आमा भनेर सोधेनन् । भेट्न पनि आएनन् भनेर रोइरहन्थी भन्दै बुढा भावुक भए । ओछ्यानमा थला परेकी आमा मरेर जाँदा एक किसिमले भन्ने हो भने छोराहरूको दुःख सकिएको थियो । हाडछाला बेरिएकी त्यो रोगी आमा अब कसलाई पो के काम लाग्ने थिई र । त्यही भएर पनि काजकिरियाको समययावधि शोकको अवसर जस्तो नलागेर उनीहरूलाई महोत्सव जस्तो लागिरहेको हुँदो हो । कसैको पनि दुःख सकिएको दिन शोकको दिन हुँदैन । त्यो त खुशीको वा रमाइलो दिन हुन्छ । दुःख सकिएको दिन त उत्सव वा पर्वको दिन पो हुन्छ । यसर्थ मेरा छोराको दुःख सकिएकाले अहिले मेरो घरमा पनि उत्सवका दिन आएका छन् । शोक त केबल मेरा लागि मात्र हो । छोराबुहारीहरूका लागि त अब त्यो काम नलाग्ने आमा बाँचेर बोझ हुनुभन्दा मरेर गएरै हलुङ्गो भएको छ । दुःख सकिएकाले सबै प्रफुल्ल मुद्रामा छन् ।
बुढीभन्दा पहिले म मर्न पाएको भए यो सबै रमिता मैले देख्नुपर्ने थिएन । उमेरै नपुग्दै मर्नु परे पनि हे बुढी ! तँ बरू भाग्यमानी भइस् । तँलाई त मृत्योत्सव देख्नुपरेन । आमा गुमाउँदा रूखबाट पहेंलो पात खसे जति पनि पीडा बोध नहुने सन्तानका चेहरा देख्नुपरेन । म त कति धेरै अभागी रहेछु यो सबै देख्नुपर्यो । मुटुमा किलो ठोके जस्तो पीडाबोध गर्नुपर्यो । तैंले विगतमा तिनै सन्तानलाई गरेको माया र तिनका लागि गरेको दुःख सम्झेर मलाई सम्हालिन धेरै गाह्रो भयो । सन्तानका चर्तिकला हेर्दाहेर्दा म थाकिसकें । भित्रभित्रै पाकिसकें । मनैदेखि गलिसकें । यो सबै देखेर बाँच्नुभन्दा मेरो मुटु पनि फुटिदिए सधैका निम्ति दुःखको भवसागरबाट मुक्ति पाउने थिएँ । दुःखको दलदलबाट उम्कने थिएँ । मृत्योत्सव मनाउनेहरू पनि एकैपटक बोझबाट उम्केर हलुङ्गो टाउको बनाएर बस्ने थिए ।
- बुटवल उपमहानगरपालिका -१२, तामनगर, हाल : तानसेन पाल्पा ।