Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

‘हामीले हिमाल उठायौं एसियाको माझमा’ सही कि गलत -पेशल पोख्रेल

‘हामीले हिमाल उठायौं एसियाको माझमा’ सही कि गलत -पेशल पोख्रेल

नेप्लिज डायस्पोरा

११, कार्तिक २०८२
images
‘हामीले हिमाल उठायौं एसियाको माझमा’ सही कि गलत -पेशल पोख्रेल

‘हामीले हिमाल उठायौं एसियाको माझमा’ (घिमिरे)

‘कुन शक्तिका सामुमा कहिले हामी झुकेथ्यौं !’ (घिमिरे)

‘हिमालझैं अटल यो झुकेन यो कहिल्यै

लत्रेन यो कहिल्यै जङ्गी निशान हाम्रो ।’ (रिमाल)

यी पङ्तिले पाठकलाई दिग्भ्रमित पारेको लागेर चार दिनअघि थोरै लेखेको थिएँ । पढ्नेमध्ये धेरैले मनकै कुरा लेखिदिएको प्रतिक्रिया दिनुभयो ।

तर केहीले लेख्नुभयो, ‘घिमिरे, रिमालहरूले गीत लेखेका हुन्, इतिहास लेखेका हैनन् । कविता, गीत पढ्दा हृदय चाहिन्छ। हृदयले पढ्नुस्, पूर्वाग्रही दिमागले समीक्षा नगर्नुस् ।’ उहाँहरूले साहित्यको सिर्जनशील पक्ष अनि व्यञ्जना, लक्षणा र उपमालाई नबुझेको वा बुझ पचाएको आरोप समेत लगाउनुभयो । 

ती पङ्ति फेरि दोहोर्याएर पढें । 

घिमिरेले लेखेका छन्, ‘हामीले हिमाल उठायौं एसियाको माझमा ।’

फेरि अल्मलिएँ । एसियाको माझ खोज्दै जाँदा ताजिकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, किर्गिस्तानतिर पुगिंदो रहेछ । मोटामोटी भूगोल नियाल्दा पनि उत्तरपश्चिमी चीनतिर पुगिंदो रहेछ । हाम्रो नेपाल र हाम्रा हिमालहरू त एसियामा निकै दक्षिणतिर रहेछन् । एसियाको माझ हैन, माझतिर वा अलि तल्तिरै झर्दा पनि नभेटिने, निकै तलै झर्नुपर्ने ।

अब भन्नुहोला – शाब्दिक अर्थतिर जाने ? ध्वन्यार्थ खोजेको, बुझेको खोई ?

त्यसो भए एकैछिन उपमा, लक्षणा, व्यञ्जनाकै कुरा गरौं । कुनै अग्लो उपलब्धि, उदाहरणीय वैभव, अप्रतिम सौन्दर्य वा कुनै विकटताका रूपमा हिमाललाई औंल्याइएको हो भने पनि हामी (नेपाली)ले त्यत्रो उपलब्धि, त्यत्रो वैभव, त्यो पनि एसियामै दृष्टान्त हुने गरी कहिले कसरी जुटाएछौं, मैले भेट्टाउन सकिनँ । सौन्दर्य वा विकटता त प्रकृतिका अवयवहरू हुन् । स्वयं स्थापित कुराहरूलाई हामीले उठाएको भन्न मिल्दैन होला ।

‘कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं !’ चाहिँ घिमिरेले आफूलाई अरुभन्दा प्रवल देशभक्त देखाउने आवेगमा लेखेका हुन सक्छन् । ब्रिटिस–इण्डियासँग थुप्रै युद्धमोर्चामा हारेर देशले एकतिहाई भूमि चढाएको इतिहास घिमिरेले नपढेका पक्कै थिएनन् ।

‘रातो र चन्द्रसूर्य’ मा त रिमाल झन् पटकपटक चुकेका, चिप्लिएका रहेछन् । 

‘जिउँदो रगत’, ‘आलो रगत’, ‘तातो रगत’ का कुराले शौर्य र जोश मात्रै जनाउँदैनन् । अरु के के जनाउँछन् – त्यो यहाँ अहिले नलेखौं । 

नेपाली झण्डा देश र स्वाभिमानको प्रतीक हो । तर, यो कहिल्यै नझुकेको, नलत्रेको, नहारेको कुरा सत्य होइन । ‘हिमालझैं अटल यो झुकेन यो कहिल्यै,

लत्रेन यो कहिल्यै, जङ्गी निशान हाम्रो’ मा अर्को बिल्कुलै फरक आशय दिने ध्वन्यार्थ/भावार्थ मैले चाहिँ भेटिनँ । 

‘यो जन्मिदै जगतमा कैयौं प्रहार आए, 

साम्राज्य दुई हारे, हारेन शान हाम्रो’ ले झन् मज्जैले अल्मल्याउँछ । नेपाल कहिले जन्मिएथ्यो भन्ने ऐतिहासिक तथ्य रिमाललाई थाहै नभएको त होइन होला । वा, उनी अल्मलिए र हामीलाई पनि अल्मल्याए । किराँतकाल, लिच्छवीकाल, मल्लकालमा पनि नेपाल थियो भन्ने कुरासमेत संभवतः उनले बिर्सिए । 

अब जाऊँ गीतको अन्तिम अंशतिरः

‘गाईसरि छन् साधु जो जो यहाँ जगत्मा

सबको शरण बलियो, जङ्गी निशान हाम्रो ।’

केही भारतीय, नेपाली मूलका भुटानी र केही बर्मेलीले शरण लिएका एकाध घटनाबाहेक यो अंशलाई पुष्टि गर्ने धेरै ऐतिहासिक दृष्टान्त भेटिदैनन् । जगतभरिकै सुधीजनलाई सदासर्वदा शरण दिने आश्रयस्थल जसरी उनले झ्याम्मै ठोकिदिएका छन् ।

राष्ट्रगान मानिएका सिर्जनामा अलि सङ्गतिपूर्ण उपमा र धेरथोर यथार्थको अपेक्षा त हुन्छ नै ।  तिनमा घिमिरे र रिमाल दुबै चुकेकै हुन् । चुकेका मात्रै होइन, राष्ट्रवादको घोलमा असत्य/अर्धसत्यको चास्नी हालेर पाठकलाई उल्लु बनाएकै हुन् । 

केही शुभचिन्तकहरूको आग्रहलाई सम्मान गर्दै ती गीत फेरि हृदयले नै पढें र यी तथ्यहरूलाई ढाकछोप गर्न खोजें । तर, अहँ ! सक्दै सकिएन । 

यसमा मजस्ता पाठक दोषी कि स्रष्टा ?

images
प्रकाशित मिति :कार्तिक ११, २०८२ सोमवार - २०:४४:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend