Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

कर्ण शाक्य र "माँ बा" (पुस्तक चर्चा ) – कपिल अधिकारी

कर्ण शाक्य र "माँ बा" (पुस्तक चर्चा ) – कपिल अधिकारी

नेप्लिज डायस्पोरा

१३, कार्तिक २०८२
images
कर्ण शाक्य र "माँ बा"  (पुस्तक चर्चा ) – कपिल अधिकारी

कर्ण शाक्य र माँ बा
(पुस्तक चर्चा ” माँ बा”)

माँ बा पुस्तक लेखक कर्ण शाक्यका आमाबाबुको जीवन, संघर्ष, माया र त्यागको प्रेरणादायी कथा समेटिएको कृति हो। यसलाई जीवनी भनौँ वा स्मरणग्रन्थ भनौँ, यो हृदय छुने पुस्तक हो।पुस्तक हात परेपछि मैले निकै छिट्टै पढिसकेँ। पढ्दै जाँदा कथा नदीझैँ बग्छ, र मन त्यसैमा डुब्छ। पुस्तकको स्वाद र अनुभूति हराउन नदिई, छोटकरीमा यसको समीक्षा गर्ने प्रयास गरेको छु।किताब पढ्नुहोस्, अनि पढाइसँगै यसबाट ज्ञान, प्रेरणा र आत्मबोध लिनुहोस्। माँ बा पढेपछि नलेखी बस्न सकिएन। यो पुस्तकले कलम उठाउन बाध्य बनायो।मैले यसअघि कर्ण शाक्यका दुई नेपाली पुस्तकहरू सोच र खोज मात्र पढिसकेको छु। तर उनका अरू कृति पढेको छैन । यो १२ औं कृति रहेछ नेपाली साहित्यमा एकदमै भिन्न, भावनात्मक र जीवनदर्शनमूलक कृति हो।यो पुस्तकलाई स्मरणग्रन्थ भनौँ वा आफ्ना पूर्वजप्रतिको श्रद्धाञ्जली, दुवै रूपमा यसले हृदय छोइदिन्छ।आफ्ना पितामाताप्रतिको श्रद्धा, मानवताप्रतिको समर्पण, र अरूलाई सहयोग गर्ने हात र मनको कथा “माँ बा” साँच्चै नै एक बेग्लै र अमूल्य कृति हो।

पुस्तकमा पुरानो काठमाडौंको अत्यन्त सुन्दर वर्णन पाइन्छ।असन, लगन , प्युखा र यांगाल जस्ता स्थलहरू, जो उनका माँ बाको चार धाम हो। याँहाको मन्दिर, बिहार , चैत्य, स्तुपा , पर्व–उत्सव र इन्द्रजात्राजस्ता सांस्कृतिक प्रसङ्गहरूले पाठकलाई मानौँ समययात्रामा लैजान्छ, अतीततिर फर्काउछ। ।ती गल्लीहरू, बजारको रौनक र पुराना घरहरूको चित्रणले नेपाली सांस्कृतिक धरोहरप्रतिको लेखकको आत्मीयता र गर्व झल्काउँछ, र पाठकलाई पुरानो कान्तिपुरको सौन्दर्यतिर डोर्याउँछ। लेखकले आफ्नो माता पिताको कथा संगै आफ्नो संदेश छोरा र नाती पुस्ता सम्म संदेश दिन खोजेका छन् , दियका छन।

लेखकका पिताले एक अनाथको रूपमा जीवन सुरु गरेका थिए। आफ्ना आमाबाबुको संघर्ष, सफलताका कथा, धार्मिकता, मित्रमण्डली, सहयोगी स्वभाव, परिश्रम, कोमलता र शिक्षाबाट कर्णले जीवनका मूल मूल्यहरू सिकेका छन्। उनी भन्छन्, “म आज जे छु, त्यो मेरा बाबुआमाकै कारणले हो।”उनी शून्यबाट उठेर यहाँसम्म आएका छन्। आफ्नो उडानमा उनले आमाबाबा र सहयोगी हातहरूलाई सम्झन्छन्। लेखकले आफ्ना व्यक्तिगत पीडा, प्रेम र विफलताहरू पनि निडर रूपमा लेखेका छन्।उनका प्रेमकथाहरू विशेषगरी विदेशी युवतीहरूसँगका सम्बन्ध र वैवाहिक जीवनका प्रसङ्गहरू अत्यन्तै खुलेर प्रस्तुत गरिएको छ।यस प्रकारको आत्मस्वीकृति र खुलापनले पुस्तकलाई अत्यन्तै मानवीय र सजीव बनाएको छ।

क्यान्सरले उनका परिवारमा ल्याएको दु:खद मृत्यु र त्यसले उत्पन्न गरेको पीडालाई पनि लेखकले अत्यन्त संवेदनशील ढङ्गले चित्रण गरेका छन्। लेखकले नैतिक शिक्षाको विषयमा पनि गहिरो रूपमा चर्चा गरेका छन्। उनी प्रश्न गर्छन् “किन हाम्रो शिक्षाबाट नैतिक शिक्षा हटाइयो?” उनी भन्छन्, “नैतिक शिक्षा अनिवार्य गर्नुपर्छ।”यस सन्दर्भमा उनले जापानका नैतिक शिक्षा सम्बन्धी पाठ्यपुस्तकका उदाहरणहरू प्रस्तुत गरेका छन्। उनले Ethiconomics अर्थात् “नैतिकता र अर्थशास्त्रको मिश्रण” को विचार उद्धृत गर्दै यसको उत्थानको कुरा गर्छन्।सायद यो उनको नै मौलिक विचार वा सिद्धान्त हो। उनका अनुसार, “अर्थ कमाउने सँगै नैतिक मूल्यको अभ्यास नै जीवनको साँचो सम्पत्ति हो।” "नैतिकता संगै जोडिएको अर्थोउपार्जन " ।

नेपाली समाजलाई बिना अनुसन्धान र सोचविचार हल्लाको भरमा दौडिन नहुने, तर विवेकी बन्ने र हल्लाको पछाडि नलाग्ने चेतना जगाउने प्रयास उनले गरेका छन्। पुस्तकको एउटा विशेष अध्याय धर्ममाता ‘रानी साहेब’ माथि केन्द्रित छ — एक धर्ममाता जसले लेखकका पिताको जीवनमा अपार सहयोग पुर्‍याइन्।
उनको निधनपछि लेखकका पिताले कपाल खौराएर ४५ दिनसम्म जुठो बसेका थिए र प्रत्येक वर्ष उनको श्राद्ध गर्न कहिल्यै छुटाएनन्। कर्ण शाक्य स्वयंले पनि रानी साहेबलाई आफ्नी धर्ममाता मानेर आजसम्म श्राद्ध गर्दै आएका छन्।

यो अध्यायले नेपाली समाजमा कृतज्ञता, श्रद्धा र मानवताको अद्भुत उदाहरण प्रस्तुत गर्छ। पुस्तकमा लेखकका पिता,आमा र रानी साहेबका तस्वीरहरू पनि समावेश गरिएका छन्।त्यति मात्र होइन, रानी साहेबका छोरा र नातिको तस्वीर पनि पुस्तकमा राखिएको छ, जसले यो स्मृतिग्रन्थलाईअझ आत्मीय र जीवन्त बनाएको छ।एक राणा परिवारकी महिलालाई शाक्य परिवारले दुई पुस्तासम्म वार्षिक श्राद्ध गरेर सम्झिँदै आएको प्रसंगले मानव र मानवबीचको गहिरो सम्बन्ध र श्रद्धाको यो पक्ष अवर्णनीय बनाएको छ।

पर्यटन क्षेत्रमा नेपाललाई विश्वभर परिचित गराउने कर्ण शाक्य केवल उद्यमी मात्र होइनन् । उनी क्यान्सर सचेतना अभियन्ता, संस्कृति संरक्षणविद्, लेखक तथा आध्यात्मिक मार्गमा बढी रहेको व्यक्तित्व पनि हुन्। उनको आध्यात्मिक यात्रा यो पुस्तक नपढी थाहा हुँदैन। उनले बाल्यकालमा देखेका प्राणायाम ध्यान , आमाको धार्मिकताको बिउ उनि धेरै उमेर नागेपछी बिजबाट अङ्कुर भएको जस्तो लाग्छ। उनी आफ्नो जीवनमा सधैं ‘सोच’ र ‘खोज’, ‘म सक्छु’ जस्ता पुस्तक मार्फत समाजसेवामा ,सकारत्मकमार्गमा निरन्तर योगदान दिँदै आएका छन्। कर्ण शाक्यको जीवनदर्शन स्वयं एक प्रेरणाको स्रोत हो।

पुस्तकमा चित्रित उनको दैनिकी अत्यन्त अनुकरणीय र प्रेरणादायी छ।उनी बिहान ब्रह्ममुहूर्तमा (अन्दाजी ४ वा ४:३० बजे) उठ्छन्, माहामृत्युंजय र गायत्री मन्त्र सुन्छन्, ध्यान गर्छन्।युवा अवस्थामा गीता अध्ययन गरेका उनी अहिले त्रिपिटक पढिरहेका छन्। बौद्ध परिवारमा हुर्किएका उनले धर्म, अनुशासन र आत्मनियन्त्रणमा गहिरो विश्वास राख्छन्। उनकी आमाले बुद्ध बिहारहरूमा भ्रमण गर्न, स्वयम्भू दैनिक जान र वैरोचनको पूजा गर्न आफ्नो जीवन समर्पित गर्नुभएको थियो।यो पुस्तक केवल कर्ण शाक्य को कथा होइन, यो जीवनदर्शन, आभार र प्रेमको समिश्रण हो।यसले पाठकलाई आफ्ना अभिभावकप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र मानवताको गहिरो मूल्यबोध गराउँछ। माँ बा केवल पढ्ने पुस्तक मात्र होइन, यो अनुभव गर्ने र आत्मसात् गर्ने प्रेरणाको ग्रन्थ हो।

यसले हामीलाई सिकाउँछ ,जीवनमा अगाडि बढ्न सहयोग गर्ने सबैभन्दा ठूलो धर्म भनेको अभिभावकप्रतिको कृतज्ञता हो। करुणामयबाट कर्ण बनेका कर्ण शाक्यको पुस्तक अनमोल छ। यो पुस्तक हामीले अवश्य पढ्नुपर्छ ।

पुस्तक परिचय
पुस्तक:माँ बा ( आश बिश्वाश बिकाश ) — कर्ण शाक्यका आमाबाबुको जीवनकथा
लेखक: कर्ण शाक्य
प्रकाशक: पाणिनि प्रकाशन
प्रकाशन वर्ष: सन् २०२५ , भाद्र
पुस्तकको विधा:जीवनी / प्रेरणादायी कथा
मूल्य: रू ५५५
++++++++++++
कपिल अधिकारी 
ताइपेइ , ताइवान
२०२५ अक्टोबर २९

 

images
प्रकाशित मिति :कार्तिक १३, २०८२ बुधवार - ०८:१५:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend