प्रिय 'पारिजात'
यो हाडमासुलाई
माटोको जिम्मा लगाएर
आउनेछु तिम्रो समीप र सोध्नेछु तिमीसँग,
तिमीले सकम्बरी र सुयोगवीर लेख्दा
साल्गीको बलात्कृत आँसु लेख्दा
अन्तरमुखी र अपरिभाषित आँखा लेख्दा
एउटा अपमान सही
एउटा तिरस्कार सही
एउटा अपवाह सही
कसैकी रण्डी हुन पर्यो कि परेन ?
कसैकी वेश्या हुन पर्यो कि परेन ?
मलाई शङ्का लाग्छ
कतै उपमाहरूको भारीले
आशंका र कपोकल्पित दिग्भ्रमहरूले
तिमीलाई बाँझो राखेको त थिएन ?
म मेरा घाउहरू देखाएर सोध्नेछु तिमीलाई
तिमीले ती घाउहरू
उतै छोड्यौ कि सँगै लिएर आयौ ?
त्यहाँ जस्तै पोल्छ कि शितल छ यहाँ ?
कट्कटी दुख्ने हातगोडाका जोर्नी
अशक्त फोक्सोको उकुसमुकुस
त्यहाँभन्दा बेसी
दुख्यो कि दुखेन मनको धरातल ?
प्रिय पारिजात
फुलेपछि नझर्ने जीवन केको छ र ?
तिमी झर्यौ एउटा उचाइमा पुगेर
म भुइँमा पोखिनुको
बाटोमा छरिनुको
हजारौं पैतालाले कुल्चिनुको
एउटा तितो कहानी लिएर आउनेछु
मेरा सवालहरअंको जवाफ खोजिराख है !!
- काभ्रे, पाँचखाल ।