खगेन्द्र अधिकारी
नेपाल सरकारका पूर्व नेताहरूको कठोर आलोचक र युवा पुस्ता जेन-जीका सशक्त समर्थकको रूपमा चिनिने एसोसिएसन अफ नेपालीज इन द अमेरिकाज (एएनए) का अध्यक्ष खगेन्द्र अधिकारीले प्रधानमन्त्री श्रीमती सुशीला कार्की (सुवेदी) को कदमविरुद्ध वासिङ्टन, डी.सी. बाट एक गम्भीर वक्तव्य जारी गरेका छन्।
वक्तव्यमा प्रधानमन्त्री सुशीला कार्की (सुवेदी) ले सत्तामा पुगेपछि आफ्नो चरित्र र अडान रातारात बदलेको भन्दै उहाँमाथि गम्भीर धोकाधडी र नैतिकतामा धक्का पुर्याउने आचरणको आरोप लगाइएको छ।
सत्ता प्राप्ती र युवा-विरोधको विरोधाभास :
अधिकारीले प्रधानमन्त्री कार्कीको विगतको भूमिकालाई औंल्याउँदै प्रश्न उठाएका छन्: “आन्दोलित विद्यार्थी जेन-जी विद्रोहको समयमा त जुलुसमा घुसेर बकवास गर्दै, धेरै नै उक्साउ साथै खुबै ठुला-ठुला र तिखा भाषण गर्दै हुनुहुन्थ्यो श्रीमती सुशीला कार्की (सुवेदी) ज्यू। आज यिनै बाल-बालिका जेन-जीहरूको रक्त क्रान्तिबाटै प्रधानमन्त्री पद फुत्काएर हत्याए पश्चात किन तिनै निर्दोष विद्यार्थी जेन-जी विरुद्ध नै उल्टै ‘तिमीहरूको यो अधुरो युद्ध हो’ भन्दै रुखो तवरबाट बोल्न र यिनिहरूलाई नै अनावश्यक रूपमा उल्टै नानाथरी आक्षेप लगाएर घटिया र नीचतामा आधारित निकम्मा कार्यवाही गर्न कस्सिनु भयो?”
जनताको प्रश्न र देशको अन्तरिम नेतृत्व :
अधिकारीले प्रधानमन्त्रीको यो निर्मम पहलकदमी र रातारात बदलिएको आचरणप्रति नेपाली जनताले उहाँ र उहाँका मन्त्रीहरूमाथि अनेकौं शङ्का-उपशङ्का गरेका भन्दै स्पष्टीकरणको माग गरेका छन्।
वक्तव्यमा भनिएको छ: “देशको वर्तमान अन्तरिम कार्यकारीको हैसियतबाट यसलाई तपाईँ र तपाईँका म्यादी मन्त्रीहरू समेतले अनिवार्य रूपमा र स्पष्ट रूपमा सम्बोधन हुन जरुरी छ भन्दै देश-विदेशमा रहेका समग्र सार्वभौम नेपाली जनताले आग्रह गरेका छन्।”
अधिकारीले कलिला उमेर समूहका विद्यार्थी जेन-जीबाट भएको संवेदनशील जनआन्दोलनलाई स्वार्थी तवरबाट नजरअन्दाज नगर्न समेत सूचित गरेका छन्।
एएनए अध्यक्ष अधिकारीले अन्तमा प्रधानमन्त्रीलाई जिम्मेवार भएर, प्रजातान्त्रिक, लोकतान्त्रिक र जनपक्षीय सुझबुझका साथ देशको मर्यादित प्रशासनिक कार्यभार सञ्चालन गर्न अनुरोध गरेका छन्।
उनको स्पष्ट माग छ: नवजवान, देशभक्त र मुलुक परिवर्तनकारी जेन-जीका मर्मस्पर्शी साथै सार्वभौमिक मागहरूलाई समाधान गरे पश्चात् मात्र आम निर्वाचन गर्न समेत विनम्रतापूर्वक आग्रह गरिन्छ।
खगेन्द्र अधिकारी,
एएनए अध्यक्ष, वासिङ्टन, डी.सी., उत्तर अमेरिका