Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

वस्तुयथार्थता ‘अविरल बग्दछ इन्द्रावती’ ( “केही प्रतिभा केही प्रवृत्ति “पुस्ताकाको धारावाहिक प्रकाशन )

वस्तुयथार्थता ‘अविरल बग्दछ इन्द्रावती’ ( “केही प्रतिभा केही प्रवृत्ति “पुस्ताकाको धारावाहिक प्रकाशन )

नेप्लिज डायस्पोरा

३०, कार्तिक २०८२
images
वस्तुयथार्थता ‘अविरल बग्दछ इन्द्रावती’ ( “केही प्रतिभा केही प्रवृत्ति “पुस्ताकाको धारावाहिक प्रकाशन )

वस्तुयथार्थता ‘अविरल बग्दछ इन्द्रावती’

एउटा उपन्यासकार समयको गतिलाई राम्ररी बुझ्दछ, इतिहासको आरोह–अवरोह र जीवनलाई पक्डन्छ । सापेक्षिक विकासको स्तरसम्म पु¥याउने जमर्को गर्दछ, जीवनका स्वस्थ अनुभूति र क्षत–विक्षत पाटा–पटाक्षेपका वस्तु सत्यतालाई लिएर स्वतन्त्र अनुसन्धान गर्दछ, मोड पैल्याउँछ, निर्देश गर्छ अनि नवीन प्रवाहको आमन्त्रण गर्दछ । एक अर्थमा उसले इतिहासलाई सच्चा मोड प्रदान गर्दछ ।

‘अविरल बग्दछ इन्द्रावती’ कथाकार रमेश विकलको दोस्रो उपन्यास प्रयोग । प्रथमको तुलनामा निकै सफल, जीवनजगत् र उसका आभ्यान्तरलाई अभिव्यक्ति गरिएको उपन्यास । इन्द्रावती किनारका माझी–दनुवारको सफल धर्काचित्र– भनौँ उनीहरूको जीवनधाराको टिपोट । अति नै संयमित भएर प्रयोग गरिएको यस उपन्यासले ‘खैरेनीघाट’पछिको आञ्चलिकतालाई बिर्साएको छ भने ‘सुम्निमा’ र ‘माधवी’ पछिको साँस्कारिक–साँस्कृतिक विशेषतालाई आफ्नै सन्दर्भमा टिपेको छ ।

अति यथार्थ तर सरल, जीवनमा जीवनत्वको सञ्चार पनि उपमा विम्ब विधानमा पछि रहेर पनि सम्प्र्र्रेष्य प्रयोग भनौँ नेपाली उपन्यास विधाको एक अभिप्राप्ति । प्रथमतः कथाको कथानकता ‘प्राकृतिक–प्राणी’ माझीहरूको जीवनधारासँग सम्बद्ध छ । उपन्यास प्रस्ट्याउँछ उनीहरूमा थुप्रै लालसाहरू सन्निहित छैन– बेसुरा पनि छैनन्, पाखुरा र परिश्रमले प्रकृतिपृष्ठमा बाँचेका उनीहरूमा साँचो अर्थमा जीवनबोध पनि छैन ।

घाट कुर्नु, केही मेलापात मुख्यतः साँस्कारिक काममा रहनु, थोरै सपनामा सादा जीवनवृत्ति चलाउने उनीहरूको मनोइरादा वा संस्कार । इन्द्रावती बगिरहन्छ– उसले आफ्नो प्राकृतिकता वरण गरेकै छ, माझी सम्प्रदाय पनि जीवन प्रणालीमा नवीन अनुभूति बिनै सादा भएर पहिलेदेखि बाँचिरहेका थिए– बाँच्नु प्राकृतित्व; नवीनतातिरको मनोत्सर्गता सायद सुस्त थियो वा शून्य । जसरीतसरी बाँचेका थिए भनौँ, परिश्रममा हाँसेका थिए भनौँ, धर्म र संस्कारको नाममा उनीहरूले ऐँजेरु पनि त बोकेका थिए तर अन्तरङ्ग सफा थियो, आर्तनादको प्रश्न थिएन रे !

समर्थन गर्दछ उपन्यास र दावा गर्छ इन्द्रावतीकै बदलिँदो प्रवाहसाथ माझी सम्प्रदायले पनि जीवन पद्धतिमा गत्यात्मकता स्वार्जन गर्न पाउनुपर्छ । उपन्यास द्वन्द्वात्मक परिवेशमा छ । द्वन्द्व चरमता त्यति शिथिल वा ढिलो पनि देखिन्न न कृत्रिम वा अस्पष्ट नै लाग्छ । जीवनले आफ्ना आत्मलघुताका साथ आफूलाई नभोगोस् । अन्तरङ्ग अनुसारको क्रियात्मकता बिपनाको दुनियाँमा उसले हिँड्ने बाटो हो । सपाट बाटोको यात्रा उसको विशेषता, त्यही आर्जन गर्नु जीवत्व भनाँैँ उसको सही मूल्य । उपन्यासको परोक्ष मनोभाव यही वस्तुसत्यता हो; जसको फलाप्तिमा तर ऊ मौन रहन्छ ।

संस्कार र यसका विकृतिहरू समाज सञ्चालनका प्रविधि नबन्नुपर्छ, मानवीय स्वत्व स्वयम् प्रस्टिने, फक्रिने मौका भनौँ अङ्कित हुने माध्यमको खोजी गरोस्– प्रगतिशील दर्शन यही भन्दछ । जीवन निर्वाहका भौतिक प्रश्नहरूलाई संचेतन माध्यममा विश्लेषण, पर्गेलन र अनुसन्धान यस दर्शनका विशेषता जुन ‘अविरल बग्दछ इन्द्रावती’मा ‘सोभिते’मा प्रस्ट छ । व्यक्तिता निरूपण कला–कर्म हो यथार्थता व्यक्तिता निरूपणको प्राथमिक आधार । दुईलाई अनासन्न कोणमा राखेमा उपन्यासले मानवीय ‘स्व’ र साङ्गतिक मूल्य पर्गेल्न सक्ने थिएन । त्यसो भएन यथास्थानमा रहेर, यथार्थताको विश्लेषणमा ऊ अधिक रह्यो ।

माझीको एउटा अन्तर्विरोधको प्रश्न विजनता यथार्थ व्यक्ति ‘स्व’ सानोकाजीको क्रूरता विजनता अङ्कुराउनुको कारण हो । यसै अन्तर्विरोध र प्रश्नहरू साथ उपन्यासले जैवनिक परिष्कृति भनाँै प्रागतिक जीवन उपभोगको प्रबल उद्वेगन निर्वाह गर्न पुग्छ । गिरी मास्टर ‘क्याटालिक्स एजेन्ट’ (वा अप्रत्यक्ष सहायक) मात्र हो । ऊ ‘पर्खालभित्र र बाहिर’को मास्टरजत्तिको समीपता जाहेर गर्दैन । माझी सम्प्रदायले समयावधिक उनीहरूको मानवीय मूल्यलाई अनुभूत गर्न सक्ने प्रयत्न गर्दै छन् तर केही बुझेको मास्टर गिरीमा कमजोर आत्मनिर्णय र जीवनपथका प्रकाशहरू पनि मधुरा प्रतीत देखिन्छन् ।

मनोविवशतालाई यहाँ निम्त्याइन्छ तर सञ्चेतन विवशताको पुच्छर नबन्नुपर्ने । प्राकृतिक ‘स्व’ र मानवीय ‘स्व’को तादात्मिक मूल्यमा पनि उपन्यासको वैशिष्ट्य छ । ‘अविरल बग्दछ इन्द्रावती’ अविरल बग्ने माझी जीवनधाराको इतिहास हो भनौँ प्राकृतिक प्रवाह । मानवीय प्रकृतिको चित्रणमा सजीवता ल्याउन तथा यथार्थ उद्बोधनलाई सहायक बनाउन प्रकृति र मानवमा अन्तर तादात्म्यता कायम गरेका होलान् उपन्यासकारले । चाहे जेहोस्, ‘अविरल बग्दछ इन्द्रावती’ माझी सम्प्रदाय र उसको जीवनयापनको सपाट प्रतिचित्रको संवेदिक सूत्र हो ।

‘अविरल बग्दछ इन्द्रावती’ एक युगीन सन्दिग्धता–कला अन्तरङ्गको सरल प्रकाशन भएकाले उसको यथाताथ्यिकता कलामा रहनु कला कर्मको अपरिहार्यता हो । कलाकार युगीनतालाई आफू माध्यमबाट परिव्यक्त गर्दछ । सम्पूर्णमा ऊ आफू ‘स्व’को बोधमात्र भएकोले आफू केन्द्रित विचारोद्गमन विचारोत्कर्ष कलामा रहन्छ नै । युग नबोलेको सिर्जना ‘स्व’विहीन भनौँ दूराग्रहता हो । सफल कलाकर्ता सर्जकले सिर्जनामा सत्यको विश्लेषण गर्दछ । सत्य प्रकृति हो – समय उसको कालिक प्रवाह । युगीन सत्य भन्न खोजिएको कलाकरण सत्य हो ।

लेखक भनौँ सर्जक समय र प्रकृति विधानमा मानव र उसको मूल्यको विश्लेषण गर्दछ तर परम्पराबाट विमुक्ति सांस्कारिक प्राणी भएकोले नरहन सक्छ । स्वच्छन्दतावादीहरू प्रवेशमा पूर्णतः निर्बाध स्वच्छन्द रहने गर्छन्, शास्त्रीयवादीहरू पूर्ण परम्परा मान्छन् र परम्पराको गतिमा आत्मिकीकरण र परिष्कृति खोज्दछन्, प्रगतिवादीहरू यथाताथ्यिक गवेषण भौतिकवादी सन्निकटतामा गर्दछन् । त्यहाँ दुई विचारको परस्पर द्वन्द्व हुन्छ । केही सन्दिग्धता प्रस्टिन्छ, विमुक्तिको उपाय सङ्केतमा रहन्छन्– रमेश विकलका कथा÷उपन्यास प्रयोगमा सामाजिक यथार्थताको सविस्तार विश्लेषण हुन्छ, त्यसैले उनी व्यवधानमा निदानप्रति सूक्ष्म सङ्केत गर्दछन् ।

के ‘नयाँ सडकको गीत’, के ‘बूढो भ्वाइलिन’ अनि ‘सुनौली’ वा यही ‘अविरल बग्दछ इन्द्रावती’ सबैमा त्यहाँको जीवनले सुसङ्गतको खोजी– मानवीयताको जाहेरी, प्राकृतित्वको पुनस्र्थापन र अन्तरजनित व्यक्तिताले व्यक्तिने पथ समातेको पाइन्छ । उनको अवचेतन माध्यमहरू शिथिल र फितला प्रतीत छन् पारिजातका तुलनामा । उनको वस्तुविधानको आयातन पनि सीमित हो– पारिजातको भन्दा । पात्रहरू ‘स्व’बोधको कमी भएबाट विद्रोह र द्वन्द्वको उपक्रम पनि सानो रहन्छ– पारिजातको तुलनामा ।

पारिजातको कथाविधान, पात्रचयन र पृष्ठसङ्गठनमा पूर्ण प्रौढता पाइन्छ– अनिदो पहाड भनौँ वा पर्खालभित्र पर्खालबाहिर तर सहजता विकल र पारिजातका दुवै किसिमका सिर्जना–प्रयोगमा पाइन्छ । त्यसैले दुवै वास्तविक दुनियाँका सफल धर्काचित्रका हस्ताक्षर बने । ‘अनिदो पहाडसँगै’, ‘पर्खालभित्र पर्खालबाहिर’, ‘अविरल बग्छ इन्द्रावती’को तुलनामा युगीनताको बोधमा पनि अघि नै रहन्छ । त्यहाँका पात्रहरूमा व्यक्तिसत्ता प्रगति विकास र समाजको यथोचित पूर्ण सञ्चेतन रहन्छ, ‘अविरल बग्दछ इन्द्रावती’, ‘पर्खालभित्र पर्खालबाहिर’को अपेक्षा प्रतीक साथै ग्राम्यजीवनको प्रयोग भएकाले पनि आफैमा सन्दिग्धता जाहेर गर्दछ ।

मास्टर बाबु, ज्वाला सबै सङ्घर्षका पुजारी हुन्, पूर्ण आश्वस्त छन्, आत्मनिर्भर छन्, मास्टर गिरी, सोभिते, नारने आदिमा युगबोधको विजनता फुट्नैमात्र लागेको छ । त्यसैले उनीहरूमा सन्दिग्धता रहनु स्वाभाविक पनि हो तर बाटुलीको विशेषता लालगेडीमा पर्याप्त छ । सोभितेका अभियानमा शुभकामनाले साथ दिन्छे लालगेडी, मास्टर बाबुको अभियानमा उसै गरी बाटुली रहन्छे । दुवैमा प्रागैतिक आदर्शता छ, दुवै निर्बोधझैँ लाग्छन् दुवैमा प्रतिरोध प्रतिहिंसा र प्रतिवादको भावोत्कर्षता प्रतिगामीप्रति छ । चौघेराका आइमाईमात्र बनेका छैनन्, परिश्रममा मुस्कुराएका छन् उनीहरू ।

सहानुभूतिले आफू रोएका छैनन््, पसिना र अदम्यताका निर्बोध छन्, बाध्यताले समर्पण निम्त्याएको छैन बरू विद्रोह दन्क्याएकै छ ।

त्यसो त सानोकाजी र बूढाकाजीका विचारधारामा पनि पार्थक्य आइसकेको छ । बूढाकाजी दयामा शोषणको अधिकार जमाउन चाहन्छन्, सानोकाजी क्रूरताले शोषणअधिकारको अधिनायकत्व जमाउँछन् । बूढाको विचारअनुसार समयकै प्रवाहसँग शोषण प्रवृत्तिमा पनि क्रमिक परिवर्तन गरिनुपर्छ जसले गर्दा अप्रत्यक्षतः फाइदा पनि होस्, शोषण पृष्ठभूमि पनि दरिलो होस्, सानोकाजी बन्दुक र धाकको आडमा हठिताले शोषणलाई उपयोग गर्दछ ।

बूढाकाजी– शुद्ध सामन्तवादको चरित्र

सानोकाजी– खिचडीवादको उपज ।

बूढाकाजीमा कूटनीतिक भावना छ । ऊ त्रिलोचनलाई कूटनीतिको पाठ सिकाउँछ– ‘हेर साना ! गाउँमा अब पहिलेको जस्तो स्थिति छैन । मुलुकको हैकममा आएको परिवर्तनले गर्दा आज हाम्रा ग्रहदशा टेढा छन् । त्यसैले हावाको दिशा हेरेर बाँसले झैँ आफूलाई केही नुहाउनु नै अक्कलदारी ठहर्छ । ……. इन्द्रावतीको भेलमा पौडँदा बाँकटे हानेर सोझै हेलिनुभन्दा बरु भ्यागुते चालले त्यसका धारसँगै छड्के खेलेर केही तल गएर उत्रनु वेश हुन्छ ।’ स्वभाव नैरन्तरिक हो, बदलिँदै जान्छ । भूमापछि लालगेडी, सोभिते, बूढाकाजी पछि सानोकाजी सबैमा वैचारिक दृष्टिकोण, जीवनगत धारणा, व्यावहारिक स्वभाव परिवर्तित छ ।

इन्द्रावतीको गतिमयता आफ्नै रफ्तारमा बदलिँदो छ । जीवन प्रणालीमा स्तब्धता होइन, सन्दिग्धता हुँदै परिष्कृतितिरको अर्धचैतनिक मनोत्कर्ष उपन्यासले परोक्ष पृष्ठधारमा राख्दछ । त्यो प्रकृतिगत सत्य पनि हो जसले गर्दा उपन्यासलाई नाटकीय संयोजन र कृत्रिम विधानबाट बचाएको छ । सानोकाजीको क्रूरता र हठ नुहँदो हो त बूढाकाजीले प्रवाहसँग समन्वयतिर पो सम्झौता गर्ने थिए । यो अझ सन्दिग्धता होइन र ? जेहोस् रमेश विकल बहुतै सतर्क रहेका छन् र त सहजता छ माझी जीवनको प्राकृतिक जीवनचर्याको ।

सम्प्रेषणीयता ः कला प्रयोग प्रयोक्ताको स्वविम्ब पनि भएबाट उसका मानसिक भावाविभावहरू प्रयोजनकै अनुरूप सम्प्रेषणीय पनि हुनुपर्छ । अर्थात् कला सम्पूर्णतः कलाकार ‘स्व’को स्थापन हो । अतः कला सफलता विफलताका प्रश्नमा प्रसारित भाव कतिसम्म अन्त्यमा ग्रहणीय हुन्छको आधार रहन्छ । ‘अविरल बग्दछ इन्द्रावती’ सम्प्रेषणीयतामा सफलै देखिन्छ भलै वर्णनविधान, शिल्पसंयोजन र उपमायोजनको अल्पता रहन्छ–पारिजातजस्ता सफल उपन्यास प्रयोक्ताको भन्दा । सम्प्रेषणीयता उसको आन्तरिक द्वन्द्वका स्थानमा प्रष्टतः सफल–विफल छुट्टिने गर्छ ।

आजका कलाविधानमा केन्द्रीय सङ्गठनलाई मान्यता दिइन्न तर परम्पराको संदिग्ध प्रयोग भएकोले यस उपन्यासमा स्पष्टता देखिन्छ । मानसिक उत्कर्षताले उपन्यासको सम्प्रेष्यतामा श्रीवृद्धि गर्दछ भने उपन्यास जीवन्त र शाश्वत पनि भइदिन्छ । मानसिक द्वन्द्व भन्नाले यहाँ आन्तरिक सङ्घर्ष भन्ने बुझिन्छ । सोभिते, बूढाकाजी, लालगेडी तथा भुमामा देखिने न्यून मनोऊहापोह र त्यसको परिद्वेलनले मानसिक उत्कर्षता ल्याएको छ भने युग, समाज र व्यक्ति ‘स्व’हरू क्रमिक परिद्वेलनमा व्यक्ति ‘स्व’ले निर्णयात्मक स्तरता कायम गर्न विलम्ब गर्दछ तर यस किसिमको द्वन्द्वभूमिमा विलम्बता रहे पनि शिथिलचाहिँ पक्कै छैन भन्ने पूर्ण सङ्केत पनि उपन्यासले दिन्छ । सोभिते इन्द्रावती बगरैबगर हिँड्यो । अब सम्प्रेषण सूत्रले रहस्य तथा कौतूहल निम्त्याउँछ ।

हिँड्नु समस्याबाट पलायन ? आफैप्रति निरूक्तता ? कि इन्द्रावतीकै प्रवाहसँग जीवनधाराको गत्यात्मकताको खोजी ? वा सङ्घर्ष चर्काउन विकल्पको खोजका लागि यात्रा ? उपन्यास ‘हिँड्यो’सम्म भन्छ, कता हिँड्यो प्रश्न बाँकी नै छ । यस किसिमको पात्रको मनोगत उद्वेलनलाई विश्लेषण प्रविधिले भनौँ वर्णनवृत्तिले कुनै नवीनता निर्वाह गरेको भए सम्प्रेषणीयता अझै बढ्न सक्ने सम्भावना थियो । अझ सम्प्रेषण विशिष्टताका खातिर चरित्रको मनोविह्वलतालाई वृत्तात्मक आवर्तनमा प्रस्तुत गरिनु उत्तम थियो ।

प्रकृतिचित्रण तथा उपमाविधानले पनि उपन्यासकारले सम्प्रेषणीयतालाई सरल र प्रभावोत्पादक बनाउन प्रयत्न गरेका छन् । कुनै विषयवस्तुलाई संशोधनमा प्रस्तुत गरिन्छ वा विशेष आपत्ति आइपर्छको सङ्केत प्रकृतिको सहाराले दिने सांस्कारिक प्रवृत्ति उपन्यासमा मौजुदा देखिन्छ । उपन्यास द्वन्द्वात्मक परिवेशतिर अघि बढ्दै छ । यस स्थितिमा पुरानो रीतिरिवाज, दुनियाँ र नयाँ विचारमा मनको क्रियात्मकताप्रति उपन्यास प्रकृतिबाटै यसो भन्छ– ‘साँझ अब बिस्तारै आफ्नो बूढौलीतिर ढल्कँदै जान थाल्यो ।

अँध्यारोको पर्दाले वरिपरि वातावरण तल खोलाको विस्तृत बगरमाथि सुलीकोट, हल्देको नाक, बिष्टेको वन सबैलाई एउटै कुम्लोमा गुट्मुट्याएर झन्डै एउटा कालो थुप्राको रूपमा मात्र राखिदियो तर दशैँको शुक्लपक्षको रात हुनाले एकादशीको चन्द्रमाको तीन चौथाइको गोलो कालो र शून्य आकाशको पूर्वी भागमा लाल्टिनको हण्डाझैँ चम्किएर तैपनि ती अँध्यारामा गुट्मुटिएका वन, डाँडा, रूख, खोला, बगरलाई सकेसम्म आकृतिमा प्रस्ट्याउने जमर्को भने गर्दै थियो ।

सम्प्रेषण  कहीँ  वक्र  गरेर  प्रतीकहरूको  प्रयोग  गरेर  पनि उपन्यासकारले सम्प्रेषित भावमा आधिकारिक अनुभूति जमाउने प्रयत्न गरेका छन् । “तर के त अन्धकारले सूर्यलाई निलेकै हो त ?…. होइन अन्धकारले धरतीलाई त एकैपल्ट निल्न सक्दैन भने धरतीभन्दा लाखौँ गुणा ठूलो सूर्यलाई निल्न सम्भव छ ?”…..जस्ता अभिव्यक्तिबाट पनि सम्प्रेषणीयता कायम गर्न खोजेका छन्, तर यसको अर्को कारण पात्र सजीव, स्वतन्त्र र सक्रिय हुनुपर्छ भन्ने कुरा उपन्यास विचार गर्दैन । त्यसो त उद्देश्योन्मुखताको धारा अधिक पात्रहरूको कारण पनि त टुट्न सक्छ वा हुनुपर्ने जति प्रबलतामा रहन सक्दैन । परिणामतः गतिशीलताको ह्रास हुन्छ भन्ने कुरामा विचार पु¥याउनु उचित थियो ।

जीवनवादी दृष्टिकोणबाट हेरौँ— औपन्यासिक दृष्टिकोण जीवनवादी धारणामा प्रष्ट रूपमा अघि बढ्छ जबसम्म सानोकाजी त्रिलोचन सिंहको हवेलीकाण्डले उनीहरू (सोभितेहरू) जेल जान बाध्य भए । प्रायः अशिक्षित, अल्पज्ञानी व्यक्तिमा पनि ‘स्व’बोध र सोको निदानमा क्रियात्मक भूमिका खेलेको भावना रहन्छ भनौँ जीवनलाई प्रगतिवादी कोणबाट उनीहरूले नियालेका छन् त आफ्नो प्राकृतिक हक मूल्य र महत्ताको द्वन्द्व चल्छ उपन्यासमा ।

माझी स्वभावतः सीधा–साधा सम्प्रदाय, परिश्रमी सम्प्रदाय, सहयोगी सम्प्रदाय र युगौँदेखि शोषिँदै आएका सम्प्रदाय, उनीहरूमा जीवनप्रति नौला अनुभूतिका सान्धानिक आलोकहरू नखुलेका होलान्, ती थोरै चेतना उत्प्रेरकले खुलाउँदैमा कसरी बढेर जीवनलाई एक सरल रेखासँग र जिकज्याक परिवेशसँग तुलना गरे । स्वभावतः समयकै प्रवाहमा मानवीय स्वभाव, दृष्टिकोण र मूल्यहरू बदलिँदै जाने गर्दछन् । त्यसमा अवरूद्धता ल्याउनुहुँदैन भन्ने उपन्यासको सारतŒव हो । प्रगतिवादी धारणानुरूप बाँच्ने प्रणालीको जटिलताबोध र उत्पीडनका साथ जीवननिर्वाहका साधनको अभावले व्यक्तिले वैकल्पिक विधानलाई गवेषण गर्दछ, प्रष्टतः त्यो सङ्घर्ष हो ।

चाहे आफ्नै अन्तरभूमिमा आफ्नै ‘स्व’ रक्षाका लागि वा समाजकै करतुत प्रणाली फेरबदलका लागि वैचारिक द्वन्द्व नै किन नहोस्को मूल मन्त्र ‘अविरल बग्दछ इन्द्रावती’ले राख्दछ तर अल्पशिक्षा, चेतन माध्यमको पूर्णता नहुनुजस्ता कारणले उद्देश्य प्राप्तिमा ‘अविरल बग्दछ इन्द्रावती’ उत्तरार्धमा केही फितलो प्रतीत हुन्छ । कथाभित्र कथाका धेरै प्रवेशले द्वन्द्वात्मक विचारशृङ्खला हुनुपर्ने रूपमा कायम हुन सक्दैन भने काव्यात्मकताको अभावले प्रवाहात्मकता पनि न्यून छ ।

यस हिसाबले हेर्दा कथाकार रमेश विकल जति विशिष्ट छन्, उपन्यास केही फिक्का प्रतीत हुन्छन् तर सामाजिक असमानता, ग्राम्यजीवनका विविध अप्ठ्यारा परिवेशको निदान, गवेषण, यथार्थता र आञ्चलिक उपक्रमले कथावस्तुमा कृत्रिमताको लेशमात्र पनि रहन्न । ती हाम्रै परिवेशबाट टिपिएका हाम्रै दैनन्दिनीका भत्कोसहरू हुन् । नवीन अनुभूति उसको कर्म पनि हो र प्रयोग युगीन अभिलेख भनौँ समयकै एक गतिमापन ।

-युवराज मैनाली 

images
प्रकाशित मिति :कार्तिक ३०, २०८२ शनिवार - ०८:३९:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend