Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

लडाइँः अस्तित्वको ! -आर. बी. निश्चल

लडाइँः अस्तित्वको ! -आर. बी. निश्चल

नेप्लिज डायस्पोरा

६, मंसिर २०८२
images
लडाइँः अस्तित्वको ! -आर. बी. निश्चल

 

म मूर्खलाई

किन यस्तो लाग्छ–

यहाँ मान्छे लडिरहेका छ्न् ?

हातहतियार लडिरहेका छन् ?

 

वास्तवमा

यहाँ मान्छे लडिरहेका छैनन्

हातहतियार लडिरहेका छैनन्

 

यहाँ त

धर्म लडिरहेका छन्

दर्शन लडिरहेका छन्

विचार लडिरहेका छन्

भाषा, कला, सँस्कृति र साहित्य लडिरहेका छन्

मूल्य, मान्यता र सभ्यता लडिरहेका छन्

मान्छेका जीवनशैली लडिरहेका छन्

माटो लडिरहेका छन्

अस्तित्व लडिरहेका छन्

 

यो लडाइँ

मान्छेमान्छेका बीचको होइन

हातहतियार बीचको होइन

जीवनमरणको लडाइँ हो

यो लडाइँ त अस्तित्वको लडाइँ हो

 

तर म मूर्खलाई किन लाग्छ–

यहाँ मान्छे लडिरहेका छन् ?

हातहतियार लडिरहेका छन् ?

 

कथामा

रामले मोहिनी अस्त्र चलाएर

खर, दुषणका सेनालाई भ्रमित पारेर मारे झैँ

मान्छेहरूका मोहिनी अस्त्रमा

जिजस क्राइष्ट छन्

पैगम्बर मोहम्मद छन्

त्तेतीस कोटी देवीदेवता छन्

बुद्ध छन्

गुरु नानक छन्

तिनका भाषा, कला, सँस्कृति, साहित्य छन्

मूल्य, मान्यता, सभ्यता छन्

तिनका रगत र पसिना छन्

तिनका जीवनशैली छन्

तिनका अस्तित्व छन्

 

लड्ने हामी त केवल निमित्त हौँ

 

मोहिनी अस्त्रको भ्रममा परेर

आफ्नैलाई मारिरहेछौँ—दुश्मन ठानेर

मरिसकेका मान्छेका नाममा लडेर

मरिरहेछन् बाँचेका केही मान्छेहरू !

images
प्रकाशित मिति :मंसिर ६, २०८२ शुक्रवार - १०:०७:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend